तीन महिनामा पन्ध्र हजार विदेशी पर्यटक पुगे मुस्ताङ « Khabarhub

तीन महिनामा पन्ध्र हजार विदेशी पर्यटक पुगे मुस्ताङ


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गण्डकी– मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ। पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आवागमन बाक्लिएको हो। असोज–मङ्सिर नेपालको मुख्य पर्यटकीय याम हो । जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालयका अनुसार गत साउनयता १५ हजार तीन सय २८ विदेशी पर्यटकले मुस्ताङ घुमेका छन् । 

‘चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा सार्क मुलुकका १३ हजार ९८ र सार्कबाहिरकाका दुई हजार दुई सय ३० पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्’, संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले भने, ‘मुस्ताङ भित्रने विदेशी पर्यटकमा भारतीयको सङ्ख्या बढी छ, भारतीय धार्मिक पर्यटक मुख्य गरी मुक्तिनाथको दर्शन भ्रमणका लागि आउँछन् ।’

उनले कोभिड–१९ महामारीका बेला सुस्ताएको मुस्ताङको पर्यटन विस्तारै लयमा फर्किरहेको बताए। अघिल्ला वर्षको तुलनामा मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल भने केही घटेको पाइएको कार्यालय प्रमुख रेग्मीले उल्लेख गरे। ‘मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको तथ्यांक त राख्ने गरिएको छैन, तैपनि यो वर्ष मुस्ताङमा नेपालीहरूको आवागमन कमै देखिन्छ’, उनले भने।

गत वर्षको तुलनामा आन्तरिक पर्यटक मुस्ताङमा धेरै कम भित्रिएको जोमसोमस्थित होटल सिर्जना होटल एण्ड थकाली भान्छाघरका सञ्चालक मनगुना थकालीले बताए। ‘दसैँको वरिपरि आन्तरिक पर्यटकको चाप बढ्थ्यो, होटल पाहुनाले भरिभराउ हुन्थे, अहिले मुख्य याममै होटलका कोठा खाली छन्’, उनले भने, ‘आर्थिक मन्दीको असर मुस्ताङको पर्यटनमा पनि देखिएको छ, दशैँपछि आन्तरिक पर्यटक बढ्ने आशा छ ।’

मुस्ताङ जोड्ने सडक कमसल हुँदा पनि पर्यटकको आवागमन सहज हुन नसकेको थकालीले बताए। ‘वर्षायामको तुलनामा अहिले सडक केही सुधार त भएको छ, तर स्तरीय सडक नहुँदा मुस्ताङ आउने पर्यटकले ठाउँ–ठाउँमा सास्ती खेप्नुपर्ने अवस्था छ’, उनले भने ।

मुख्य याममै पर्यटक कम आएपछि मुस्ताङ र आसपासका होटल तथा पर्यटन व्यवसायी चिन्तित छन् । म्याग्दी हुँदै सडकमार्ग र पोखराबाट हवाईमार्ग भएर पर्यटक मुस्ताङ पुग्छन् । मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ काटेर पनि पर्यटक मुस्ताङ छिर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रबिन कडरियाले बताए। विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । 

‘समग्रमा मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या बढेको पाइए पनि सार्क मुलुकबाहिरका पर्यटकको सङ्ख्या भने घट्दै गएको देखिन्छ’, प्रमुख डा कडरियाले भने, ‘मुस्ताङ घुम्ने विदेशी पर्यटकमध्येमा अधिकांश भारतीय धार्मिक पर्यटक छन् ।’ मुस्ताङस्थित मुक्तिनाथ क्षेत्र विश्वभरका हिन्दूमाझ पवित्र धार्मिकस्थल मानिन्छ । 

मुक्तिनाथकै बाटो भएर बौद्ध भिक्षु पद्यसम्भव बौद्ध धर्म प्रचारका लागि तिब्बत गएको हुँदा त्यस क्षेत्र बौद्धहरूको पनि तीर्थस्थलका रूपमा चिनिन्छ । मुक्तिनाथ मन्दिरको दर्शन गरेमा ‘मोक्ष’ प्राप्त हुने जनविश्वास छ । मनोकाङ्क्षा पूरा हुने र पितृहरूको उद्धार हुने आशामा बर्सेनि हजारौँ तीर्थयात्री मुक्तिनाथ क्षेत्र पुग्छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ७ : २७ बजे

ओलीको जिकिर : सरकारले अझै निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि

‘सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले

सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता

एजेन्सी– मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबीच तेहरानको

मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने

काडमाडौं– यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

रोग नियन्त्रणमा खानपान र औषधिको भूमिका : यस्ता छन् भ्रम र यथार्थ

काठमाडौं– अहिलेको समयमा मानिसहरू आफ्नो खानपानका बारेमा निकै सचेत भएका