फाइल फोटो

आर्थिक

दसैँमा समेत सुनसान छन् वीरगञ्जका पसल

By खबरहब

October 19, 2023

वीरगञ्ज- बडादसैँ आएसँगै वीरगञ्ज बजारमा चहलपहल बढेपनि यहाँ सञ्चालित सबै पसल प्रायः सुनसान नै देखिन्छन् ।

सीमावर्ती भारतीय सहर रक्सौलबाट सहजै खरिद गरिएका लत्ताकपडा, खाद्यान्न तथा इलेक्ट्रिक, इलोट्रोनिक्सका सामान सहजै नेपाल भित्रिन थालेपछि वीरगञ्जको खुद्रा कारोबार घट्दै गएको व्यापारी बताउँछन् ।

भन्सारमा लाग्ने करले गर्दा वीरगञ्जको तुलनामा रक्सौल बजारमा केही वस्तुको मूल्य सस्तो छ । सस्तो भएकाले यहाँका ग्राहक रक्सौल बजारबाटै सामान खरिद गर्छन् । वीरगञ्ज बजारको कारोबार घट्दै गएको विद्युतीय खुद्रा कारोबारी दीपक सर्राफको भनाइ छ । उनले व्यापारको यस्तै अवस्था रहे छठपर्वपछि वीरगञ्जका आधी पसल बन्द हुने बताए ।

गत वर्षको दसैँभन्दा यसपालिको दसैँमा कारोबार अत्यन्त कम भएको कपडा व्यापारी पङ्कज रौनियारले सुनाए । दसैँतिहारका बेला सबैभन्दा बढी खरिद बिक्री हुने टिभी, फ्रिज, वासिङ मेसिनजस्ता इलोट्रोनिक्सका सामानको कारोबार गत वर्षको तुलनामा यस वर्ष ७० प्रतिशतले घटेको खुद्रा व्यापारी विकासकुमार अग्रवालले जानकारी दिए । उनले दिनप्रतिदिन खस्किँदै गएको खुद्रा कारोबारलाई जोगाउन सरकारले आर्थिक नीतिमा सुधार ल्याउन जरुरी रहेको बताए ।

कोरोना महामारीका कारण थलापरेको नेपाली अर्थतन्त्र राम्ररी तङ्ग्रिन नपाउँदै आएको आर्थिक मन्दीले समग्र नेपाली अर्थतन्त्र नै अप्ठ्यारोमा परेको बेला नेपाली अर्थतन्त्रलाई सही दिशातर्फ डोहोर्याउन सरकारले गम्भीरतापूर्वक पहलकदमी लिनुपर्ने व्यापारी बताउँछन् ।