भुटानी भूमिमा चीनको गिद्धे नजर | Khabarhub Khabarhub

भुटानी भूमिमा चीनको गिद्धे नजर


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हालै भुटानका प्रधानमन्त्री लोटे छिरिङले एक अन्तरवार्तामा आफ्नो मुलुक र चीनबीच सीमा विवादलाई स्थायी रुपमा समाधान गर्नका लागि सम्झौता हुन लागेको जनाएका थिए । तीन चरणको रोडम्याप अघि सारेर चीनले भुटानसँगको सीमा समाधान गर्न आनाकानी गरिरहेको आरोप लाग्ने गरेको छ । चीनले छिमेकी मुलुकको सीमामा घुसपैठ गर्ने र भूमि मिच्ने गरेको आरोप पनि खेप्दै आएको छ ।

चिनियाँ सीमामा रहेका १७ विवाद समाधान हुन बाँकी छ । आलोचकहरुले चीनमाथि सुरुमा सीमा विवाद उत्पन्न गर्ने र पछि वार्ताका क्रममा राजनीतिक लाभ लिन खोज्ने गरेको आरोप पनि लगाउँदै आएका छन् ।

भुटान र चीनबीच ४७० किलोमिटर लामो सीमा रहिआएको छ । यद्यपि दुई मुलुकबीच हालसम्म कूटनीतिक सम्बन्ध स्थापित भइसकेको छैन । दुबै मुलुकले सीमा विवाद समाधान गर्नका लागि सन् १९८८ र १९९८ मा दुई सम्झौता गरेका थिए । सन् २०२१ मा सीमा विवाद समाधानका लागि नयाँ रोडम्यापबारे सम्झौता भएको थियो । सन् १९८४ यता दुई मुलुकबीच २४ चरणमा वार्ता भइसकेका छन् भने यसबारे छलफल गर्न दुई मुलुकका प्रबुद्ध समूहको बैठक १० पटकसम्म बसिसकेको छ ।

सन् २०१७ मा चीन–भुटान सीमामा रहेको दोक्लम क्षेत्रमा विवाद उत्पन्न भएसँगै दुई मुलुकबीच ५ वर्षसम्म वार्ता अवरुद्ध भएको थियो । दोक्लम घटनाको ५ वर्षपछि दुई मुलुकले सीमा समाधानका लागि तीन चरणको रोडम्यापमा हस्ताक्षर गरेका थिए ।

चीन र भुटानबीचको सीमा विवाद मुख्यगरी दुई क्षेत्रमा केन्द्रित हुने गरेको छ । चीन, भुटान र भारतबीच रहेको दोक्लम त्रिदेशीय सीमा क्षेत्रमा पनि सीमा विवाद कायम छ । सन् २०१७ मा चीन र भारतबीच भएको सम्झौतामा तेस्रो मुलुकसँग विवाद रहेको क्षेत्रमा सबै पक्षको सहभागिता बिना समाधान नगरिने समझदारी भएको थियो । २७० वर्गकिलोमिटरको यस क्षेत्रबारे तीन चरणको रोडम्यापमा पनि केही उल्लेख भएको छैन ।

यता भुटानी प्रधानमन्त्रीले चीनसँग यस क्षेत्रबारे पनि छलफल भएको जानकारी दिएका छन् । यदी यस विषयमा सम्झौता भएको खण्डम दक्षिण एसियाको क्षेत्रीय आयम नै प्रभावित हुने विश्लेषकहरु बताउँछन् । रणनीतिक रुपमा महत्वपूर्ण मानिने उक्त क्षेत्रमा चीनले आफ्नो प्रभाव जमाएको खण्डमा के होल भन्ने चिन्ता उत्पन्न हुन थालेको छ ।

दुई मुलुकबीच तिब्बतनजिकै रहेको भुटानी भूमि पासामलुङ र जकार्लुङ साटफेरबारे पनि सम्झौता हुने बुझिएको छ । सन् १९९७ मा पनि चीनले भुटानसमक्ष ‘प्याकेज’ मा प्रस्ताव गरेको बताइन्छ । यसअनुसार भुटानले पासामलुङ र जकार्लुङ उपत्यका पाउने र यसको सट्टामा चीनले दोक्लमसहित पश्चिमी क्षेत्र प्राप्त गर्ने उल्लेख रहेको बताइएको छ । आफ्नो रणनीतिक हित संरक्षण गर्नका लागि यस प्रस्तावलाई भुटानले खारेज गरिदिएको थियो ।

यता चिनियाँ पक्षले भने भुटानको पश्चिमी सीमा क्षेत्रमा लामो समयदेखि आँखा गाड्दै आएको छ । दोक्लमबाट चीनले छुम्बी उपत्यकामा पहुँच पाउने र यसबाट भारतको महत्वपूर्ण सिलिगुडी करिडोरमा पनि चीनले रणनीतिक लाभ प्राप्त गर्ने बताइएको छ । चीनले भुटानी सीमा क्षेत्रमा पनि संरचना निर्माण गरिरहेको छ ।

यसबाहेक चीनले सन् २०२० मा पूर्वी भुटानको त्रासिगाङ क्षेत्रमा साक्तेङ वन्यजन्तु आरक्षसमेत समेटेर आफ्नो भौगोलिक दाबीलाई पनि बढाएको थियो । भारतको अरुणाचल प्रदेशसँग सीमा जोडिने साक्तेङ क्षेत्रमासमेत चीनले आफ्नो सार्वभौमिकता दाबी गरेको घटनालाई दबाब बढाउने रणनीतिका रुपमा हेरिएको छ ।

यस्तै, चीनले सीमा क्षेत्रमा २ सयभन्दा धेरै भौतिक संरचना निर्माण गरिसकेको छ भने अन्य संरचना निर्माणको काम तीव्र गतिमा अघि बढाएको छ । यसबाट चिनियाँ पक्षलाई रणनीतिक लाभ मिल्ने देखिन्छ । यससँगै चीनलाई यस क्षेत्रमा सैनिक थप गर्न एवम् निगरानी गर्नसमेत सहज हुने देखिन्छ । छिमेकी मुलुकसँग वार्ता गर्ने र लाभ लिने चिनियाँ रणनीतिबाट यस क्षेत्रमा अझ ठूलो विवाद उत्पन्न हुने विषयमा क्षेत्रीय मुलुकहरु सचेत हुनुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ८ : १४ बजे

कैदीले सीप सिकाए, लिम्बू दम्पती व्यवसायी बने

काठमाडौं– कर्म गर्ने लक्ष्य लिए जति विघ्नबाधा आए पनि मानिस

भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा पक्राउ

भारतमा सूचना प्रविधि सेवाको क्षेत्र ६.६ प्रतिशतले वृद्धि

काठमाडौं– भारतमा सूचना प्रविधि सेवाको क्षेत्र सन् २०२३ मा ६

श्रीलंकामा खाद्यान्नको मूल्य वृद्धि

काठमाडौं– संकटग्रस्त श्रीलंकाको वार्षिक मुद्रास्फीति मे को ०.९ प्रतिशतको तुलनामा

बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

काठमाडौं– निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ