ब्याटिङ, बलिङ र विराट कोहलीको विश्वकप फाइनल | Khabarhub Khabarhub

ब्याटिङ, बलिङ र विराट कोहलीको विश्वकप फाइनल



काठमाडौँ– जब मुम्बईमा विराट कोहलीको ‘रेकर्ड ब्रेक’ शतक र मोहम्मद शामीको ‘मिराकल’ बलिङले भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुग्यो, त्यतिबेला विश्वभरका धेरै क्रिकेटप्रेमीले दोस्रो सेमिफाइनलबाट अष्ट्रेलिया ‘फाइनलिस्ट’ चाहन्थे ।

कारण एउटै थियो, भारत र अष्ट्रेलिया क्रिकेटका महारथी हुन् । जसरी त्यो सोचियो, त्यसरी नै कठिन रुपमा दक्षिण अफ्रिकालाई कोलकत्तामा ३ विकेटले हराउँदै अष्ट्रेलिया फाइनलमा पुग्यो । पहिलो सेमिफाइनलमा भारतले न्युजिल्याण्डलाई ७० रनले हराएको थियो । दुवै सेमिफाइनल रोचक थिए ।

तर अब प्रतिक्षा केवल फाइनलको छ । जुन रोचक मात्रै होइन, दशकौँदेखि प्रतिक्षा गरिएको फाइनल पनि हो । क्रिकेटमा अष्ट्रेलिया र भारतको नाम आफैँमा रोचक र कीर्तिमानले भरिएका खेलाडीका कारण झन् चर्चामा रहन्छ ।

अहिले पनि क्रिकेट भन्ने वित्तिकै पहिले अष्ट्रेलिया र त्यसपछि भारतको नाम आउँछ । यी दुई देशको क्रिकेट फाइनल फुटबलमा ब्राजिल र अर्जेन्टिनाको जस्तै हो ।

च्याम्पियन्स लिग फूटबल सम्झिने हो भने झन् रियल मड्रिड र बार्सिलोनाको फाइनल नसोचेको जस्तै रोचक हुन्छ । क्लब फुटबलमा रजाईँ गरिरहेका यी दुई टिमबाट खेलेका मेस्सी र रोनाल्डोका कारण पनि दुवै स्पेनिस टोली प्राय चर्चामा रहन्छन् ।

विश्वभर फूटबल जति लोकप्रिय छ, पछिल्लो समय क्रिकेटले पनि केही लय समातेको छ । खासगरी भारतीय सुपरब्याटर विराट कोहलीले क्रिकेटलाई नयाँ उचाइ दिइरहेका छन् । जसका कारण आउँदो ओलम्पिकमा क्रिकेटलाई पनि प्रतियोगितामा समेटिएको छ ।

सचिन तेन्दुलकरपछि महान क्रिकेटरका रुपमा अघि बढिरहेका विराट कोहलीले गर्दा पनि यो विश्वकप चर्चित र रोमाञ्चित बनेको छ । विराटले यसै विश्वकपमा सचिनका दुई ठूला रेकर्ड ब्रेक गरे ।

पहिलो सचिनको एकदिवसीय क्रिकेटमा सर्वाधिक ४९ शतकको कीर्तिमान भंग गर्दै सेमिफाइनलमा ५० शतक पूरा गरे । दोस्रो एउटै विश्वकपमा सर्वाधिक ६७३ रन बनाएका सचिनलाई उछिन्दै कोहलीले यस विश्वकपमा ७११ रन जोडेका छन् ।

फाइनलमा पनि शतक वा अर्धशतक बनाउन सके विराटको यो कीर्तिमान आफैँमा धेरै ठूलो हुनेछ । जुन जोकोहीले तोड्न कठिन हुनेछ ।

अहमदाबादमा आइतबार हुने फाइनलमा भारत र अष्ट्रेलियामध्ये कुनै एक टिमले विश्वकप जित्नेछ । तर यो विश्वकप कसले जित्छ ? भन्ने अनुमान र अड्कलबाजी पूरापूर सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।

यद्यपि यो विश्वकपमा मुख्य तीन वटा कारण विशेष छ । यी तीन फ्याक्टरले नै यो विश्वकप फाइनललाई झन् विशेष बनाउनेछ । जसकारण यो विश्वकप कसले जित्न सक्छ भनेर अनुमान लगाउन झन् सजिलो हुनेछ ।

विराट कोहली
विराट कोहली वर्तमान विश्व क्रिकेटका एक मात्रै सुपरस्टार हुन् । खेलाडीका रुपमा सन् २०११ मै एकदिवसीय विश्वकप जितिसकेका कोहलीका लागि यो विश्वकप विशेष छ । किनकी उनले आफ्नै कप्तानीमा सन् २०१९ को विश्वकप जित्न सकेनन् । इंग्ल्याण्डमा भएको त्यो विश्वकपमा भारत सेमिफाइनलमा न्युजिल्याण्डसँग पराजित भएर बाहिरिएको थियो ।

त्यसअघि कप्तानकै रुपमा कोहलीले च्याम्पियन्स ट्रफी, विश्व टेस्ट च्याम्पियनसिपको फाइनल हारेका छन् । कप्तान र खेलाडीका रुपमा कोहलीले पछिल्ला विश्वकप खेलिरहँदा भारत सेमिफाइनलबाट अघि बढ्न सकेन ।

यसपटक उनकै शतक बलमा भारत फाइनल पुगेको छ । र, घरेलु मैदानमा जसरी पनि रोहित शर्माको कप्तानी र उत्कृष्ट लयमा रहेको भारत विश्वकप जित्न चाहन्छ । उसका लागि सबैभन्दा ठूलो शक्ति विराट कोहली हुन् । जसले यो विश्वकपमा सचिनको पनि सर्वाधिक रनको रेकर्ड ब्रेक गर्दै ७११ रन बनाइरहेका छन् ।

अनि एकदिवसीय विश्वकपका उत्कृष्ट ब्याटरका रुपमा ५० शतकको आँकडा पार गरेका छन् । यसरी विश्वकपमा ५० शतक बनाउने उनी एक मात्रै खेलाडी हुन् । एकदिवसीयमा मात्रै १३ हजार बढी रन बनाएका कोहलीले समग्रमा २६ हजार बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् ।

सचिनको एक सय शतकको कीर्तिमान भंग गर्न मात्रै बाँकी राखेका कोहलीले यो विश्वकप जितेमा सचिनकै सरह महान क्रिकेटरका रुपमा सम्मान, साथ र विश्व क्रिकेटप्रेमीबाट समर्थन पाइरहनेछन् ।

भारतीय टिममा विराटका साथै कप्तान रोहित शर्मा, युवा ओपनर ब्याटर शुभमान गिल, मिडल अर्डरमा श्रेयास आयर र केएल राहुल पनि उत्कृष्ट फर्ममा छन् । जसका कारण समूह चरणबाटै अपराजित रहँदै भारत फाइनलसम्म पुगेको हो ।

विराटको तुलनामा अष्ट्रेलियामा यतिबेला उत्कृष्ट खेलाडी छैन । उनको प्रतिष्पर्धीका रुपमा स्टिभ स्मिथलाई लिइएपनि बल टेम्परिङ प्रकरणले कप्तानी गुमाएपछि स्मिथ पुरानै फर्ममा फर्किन सकेका छैनन् ।

यस विश्वकपमा पनि स्मिथको प्रदर्शन औसत छ । डेभिड वार्नर, मिचेल मार्सग्लेन म्याक्सवेल जस्ता ब्याटरका कारण अष्ट्रेलिया फाइनलसम्म पुगेको हो ।

खतरनाक बलर
यो विश्वकप फाइनल सबैभन्दा उत्कृष्ट बलरहरूको भिडन्त पनि हो । खासगरी भारतीय टिममा तीन जना फास्ट बलरहरूको ‘कम्बिनेसन’ उत्कृष्ट रुपमा जमेको छ । सेमिफाइनलमा त मोहम्मद शामीे ७ विकेट लिँदै न्युजिल्याण्डको पाली ध्वस्त गरेका थिए ।

जसकारण पहिलो सेमिफाइनललाई उनले ‘शामी फाइनल’ बनाउन सफल रहे । विराट कोहलीको कीर्तिमानी शतक र श्रेयस आयरको आक्रामक शतकलाई पनि छायामा पार्दै शामीले ७ विकेट लिएर आफूलाई ‘म्यान अफ द म्याच’ बनाउन सफल भएका थिए । त्यसमाथि आईसीसीको वरियतामा आफूलाई उत्कृष्ट बनाउन सफल मोहम्मद सिराजजस्प्रित बुम्राहका कारण भारतको बलिङ आक्रमण रोक्न अष्ट्रेलियालाई चुनौति छ ।

शामी, सिरज र बुम्राहको बलिङकै कारण पहिलो खेलमै अष्ट्रेलिया भारतसँग पराजित भएको थियो । जुन खेलमा विराट कोहली र केएल राहुलले झण्डै शतक बराबर रन बनाएका थिए ।

अर्कोतर्फ अष्ट्रेलियासँग पनि उत्कृष्ट र खतरनाक फास्ट बलरको टिम छ । अष्ट्रेलियालाई सफल बनाउन उत्कृष्ट बलिङ आक्रामक टिम बनाएका मिचेल स्टार्क, प्याट कुमिन्सजोश हेजेलवुडलाई पन्छाउन भारतीय टिमलाई पनि चुनौति छ ।

तर घरेलु पिच भएका कारण भारतलाई त्यसको सिधा फाइदा छ । समूह चरणमै भारतले आफ्नो उत्कृष्ट बलिङका कारण दक्षिण अफ्रिका, इंग्ल्याण्ड र नेदरल्याण्ड्सलाई सस्तैमा अलआउट गरेको थियो ।

शामी यो विश्वकपमा २३ विकेटका साथ सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा छन् । उनी यो विश्वकपमा तीनपटक म्यान अफ द म्याच भइसकेका बलर पनि हुन् । सोही कारण उनलाई रोक्न अष्ट्रेलियालाई सबैभन्दा धेरै चुनौति छ ।

यस्तै अष्ट्रेलियाका एडम जाम्पा भने २२ विकेटका साथ दोस्रो स्थानमा छन् । फाइनलमा जसले उत्कृष्ट प्रदर्शन गर्दै धेरै विकेट लिन्छ, उसैले अर्को इतिहास बनाउने समय पनि छ ।

इतिहास बिर्साउने फाइनल
यसपटकको फाइनल सम्झिनलाई एकपटक सन् २००३ को फाइनलमा जानुपर्छ । जहाँ भारत र अष्ट्रेलिया फाइनल पुगेका थिए । त्यतिबेला सौरभ गांगुलीको कप्तानीमा रहेको भारतीय टिम उत्कृष्ट र अब्बल थियो ।

सचिन तेन्दुलकर, वीरेन्द्र सेहवाग, राहुल द्रविड जस्ता खेलाडी हुँदा पनि भारत उपाधि चुम्नबाट चुकेको थियो । जबकी गांगुली भारतीय टिमलाई विदेशी भूमिमा जिताउन र उत्कृष्ट बनाउन सँधै उत्कृष्ट योगदान दिने कप्तानका रुपमा चर्चित छन् ।

रिकी पोन्टिङको नेतृत्वमा रहेको अष्ट्रेलियाले उपाधि जित्यो । त्यतिबेला फाइनलमा हारेको बदलासहित भारत अहमदाबादमा अष्ट्रेलियालाई हराउँदै उपाधि जित्न चाहन्छ । त्यसका लागि ब्याटिङ र बलिङ दुवैतर्फ भारत उत्कृष्ट छ ।

त्यसमाथि विराट कोहली विशेष बनेको यो विश्वकपमा भारत अपराजित रहँदै विश्वकप जित्ने सबैभन्दा उत्कृष्ट र उत्तम समय भएको टिमसमेत देखिन्छ ।

यसअघि लगातार तीन विश्वकप घरेलु टिमले जितेकै कारण पनि भारत त्यसमा भाग्यमानी हुन सक्ने आँकलन छ । सन् २०११ मा भारतले घरेलु भूमिमै विश्वकप जित्दा सन् २०१५ मा अष्ट्रेलियाले घरेलु मैदानमा उपाधि उचालेको थियो ।

सन् २०१९ को विश्वकप रोमाञ्चक रुपमा इंग्ल्याण्डले पनि आफ्नै घरेलु मैदानमा जितिरहँदा यसपटक भारतलाई आफ्नै घरेलु मैदानमा वर्षौँपछि विश्वकप जित्ने सुनौलो अवसर छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १० : ०४ बजे

डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी