काठमाडौँ- वामपन्थी धारका दलहरु एकीकृत हुन सकिरहेका छैनन् । कम्युनिष्ट पार्टी सिद्धान्त र विचार भन्दा फरक रूपमा रहेको भन्ने आरोप लागेको छ । वाम शक्ति एक ठाउँमा आउने प्रयास गरिरहँदा यसलाई मिल्न नदिने शक्तिहरू सक्रिय रहेको बताइन्छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पछिल्लो सत्ता सहकार्य दुई महिनामै टुट्यो । अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार नेपाली कांग्रेससँगको सहकार्यमा अगाडि बढिरहेको छ । पछिल्लो राजनीतिक तरलताका आधार के-के हुन् ? किन नेपालमा स्थिर राजनीति अगाडि बढ्न सकेन ? यसै विषयमा आधारित रहेर पूर्व राजदूत एवं वामपन्थी चिन्तक कमलप्रसाद कोइरालासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :
नेपालको राजनीतिमा विदेशी हस्तक्षेप कसरी सुरु भयो ?
२००७ सालमा नेहरुले राजा त्रिभुवनलाई हाईज्याक गरेर दिल्ली पुर्यायो । नेपाली कांग्रेसको योजना पाल्पा लाने थियो र श्री ५ महाराजको वैधानिक न्यायिकता लिने भन्ने थियो । त्यही कुरा इन्डियाले थाहा पाएर राजालाई दिल्ली पुर्याइदियो । नेपाली कांग्रेसका नेता र राजालाई भेट गर्न नै दिएनन् । मोहन शमशेर र त्रिभुवनकोबीचमा सम्झौता गराए । त्यो बेलादेखि नै नेपालको आन्तरिक राजनीतिमा विदेशीको हस्तक्षेप सुरु भएको हो ।
तपाईंले त्रिभुवन र बीपीको प्रसंग जोड्नुभयो । त्यो समयमा भारतसँगको सम्बन्ध कस्तो थियो ?
केही नेताहरुका लागि भारतसँगको सम्बन्ध वास्तवमा कहिल्यै खराब भएन । त्यो अवधिमा मात्र होइन । वि.सं. २०५२-२०६२ सम्म माओवादी जनयुद्ध चल्यो । माओवादीलाई बस्ने ठाउँसमेत भारतले दिएको थियो । प्रचण्ड, बाबुराम, कृष्णबहादुर महराको बास दिल्लीमा थियो ।
समतामूलक नेपाल निर्माण गर्नको लागि जनयुद्ध कोसेढुङ्गा बन्यो भनेर फागुन १ गते जनयुद्ध दिवस मनाउने सरकारी निर्णय भयो । यसमा के भन्नुहुन्छ ?
अहिलेको समयमा त्यो अवधिका विद्रोही सत्तामा छन् । जसले आफ्नो योगदानको सम्झनाका लागि यसो गरेको हुन सक्छन् ।
अहिलेको व्यवस्था कस्तो लागिरहेको छ ?
प्रजातन्त्रको ह्रास भयो र अनावश्यक संघीयता आएर पुँजीगत खर्च बढ्यो । उठेको पैसा सबै घुस र भ्रष्टाचारमा गएको छ । देशले ८८१ जना मन्त्री पाल्नु परेको छ । विकास गर्नुपर्ने पैसा सबै तलब भत्तामा नै गयो । यसले देशको विकास हुन दिएको छैन । मलाई यसले प्रगति भएको जस्तो लाग्दैन । यसले गर्दा नेपालमा स्थायित्व हुन नदिने अवस्था धेरै भयो। अहिलेको राजनीतिक नेतृत्वमा अविश्वास धेरै छ । किन समीकरणहरू फेर बदल भइरहेका छन्। नेपालमा राजनीतिक नेतृत्व नै छैन । आजकलका ठूला राजनीतिक दल विदेशी शक्तिको रिमोर्टबाटै चलेका छन् ।
माओवादी केन्द्र र एमाले अहिले किन एक ठाउँमा बस्न सकेनन् ?
नेकपा बन्नुमा उत्तरी छिमेकीको देन थियो । संविधान बनाउँदा भारतले मधेसलाई उचालेको थियो । दलहरूबीचमा आपसी समझदारी कम भएको कारण यस्तो भयो । अहिलेका दलमा सत्ता मात्रै केन्द्रमा छ । अहिले पनि देशको राजनीति सन्तुलित अवस्थामा छ भन्ने अवस्था छैन । पदको भागबन्डाको पछाडि दौडिएर सत्ताको लागि तँछाडमछाड भइरहेको छ ।
अहिलेको नेपालको राजनीतिमा कसले के स्वार्थ राखेको छ ?
विदेशी शक्तिले नेपालको अस्थिरतामाथि स्वार्थ राखेका छन् । किनकि त्यसो गर्दा विकास हुँदैन । उल्टो द्वन्द्व मात्र भइरहन्छ । आर्थिक विकास हुँदैन । जसरी यो संघीयता ल्याइयो । त्यो बाटो ठिक छैन । यसले ५५ प्रतिशत जति पुँजीगत खर्च बढेको छ । देश चलाउन विदेशीको सहयोग माग्नुपर्ने अवस्था आएको छ। अहिलेका नेताहरू जनतालाई धेरै बेवकुफ बनाउन जान्ने मात्रै भए । शक्ति केन्द्रको चलखेलले एक अर्को बीच एकता हुन नदिने अवस्था छ । कसैले कसैलाई मान्दैनन् । अहिले नेपालको राजनीतिमा न त ओलीले प्रचण्डलाई मान्छन् न त अरूले अन्य कुनै नेतालाई नै मानेका छन् ।
उपराष्ट्रपतिको चुनावमा साझा उम्मेदवार ल्याउन नसक्नुको कारण के देख्नुहुन्छ?
नेपालको राजनीति व्यक्तिवाद हाबी भयो । सबै आफ्नो स्वार्थ कसरी पुरा हुन्छ त्यतै लागेका छन् । पार्टीका कार्यकर्ता नेताको चाप्लुसी गर्न भन्दा अरु जान्दैनन् । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी भएका छन् । जसरी राष्ट्रपतिमा रामचन्द्र भए त्यसरी उपराष्ट्रपतिका लागि सत्ता गठबन्धन एक भएन। हाम्रोमा सिद्धान्तवादी नेता नै भएनन् ।
अहिले संसद र सरकारको भूमिका कस्तो देख्नुभएको छ ?
नेपालमा भरोसा गर्न योग्य सदन देखिएन । त्यो निकायले देश विकासको विषयमा चिन्ता गरेको पनि सुनिएन । यसरी विकास हुँदैन । वास्तवमा हाम्रा मतदाताको चेतना नै कम भयो । त्यसैले यिनै नेतालाई पटकपटक मतदान गरेर पठाएका छन् । यो नै गलत भएको छ ।
मतदाताको चेतना किन माथि उठ्न नसकेको होला ?
यो प्रणालीमा जनताको चेतनास्तर सुधार हुँदैन । नेताहरूलाई विदेशीको सहयोग रहेसम्म यस्तै अवस्था रहन्छ । त्यस कारण देशको स्थिति कमजोर अवस्थामा पुगेको छ । यसको सुधारका लागि मतदाताको चेतनास्तरमा सुधार हुनुपर्छ ।
(एभिन्युजसँगको सहकार्यमा कुसुम गौतमले तयार पारेको सामग्री)
प्रतिक्रिया