कास्कीमा एकसातादेखि तुवाँलो, हिमशृङ्खला नै देखिँदैनन् « Khabarhub

कास्कीमा एकसातादेखि तुवाँलो, हिमशृङ्खला नै देखिँदैनन्


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

कास्की – कास्कीमा तुवाँलो लाग्न थालेको एक साताभन्दा बढी भयो। यसले गर्दा यहाँबाट देखिने हिमशृङ्खला राम्रोसँग नदेखिएको त्यति नै समय भयो। यस क्षेत्रमा घुम्न आउने पर्यटकको रोजाइ हिमालको दृश्य नजिकबाट नियाल्नु पनि हो तर, नयाँ वर्षदेखि यहाँका डाँडा तुवाँलोले डम्मै छेकेको छ। यही कारण पर्यटकको आवागमनमा समस्या भएको छ।

नयाँ वर्षमा पर्यटकीय गाउँ घान्द्रुक घुम्न पुगेकी चितवनकी पवित्रा सापकोटा हिमाल देख्न नपाएको गुनासो गर्दै हुन्थ्यो। रमणीय गाउँबाट हिमाल हेर्न नपाउँदा खल्लो महसुस भएको उनको भनाइ थियो। “चितवनबाट जे सोचेर घान्द्रुक घुम्न आयौँ। त्योभन्दा राम्रो लाग्यो”, पवित्राले भनिन्, “तर, यहाँबाट हिमाल नजिकै देखिन्छ भन्ने सुनेका थियौँ। हुस्सुले गर्दा हिमालको दर्शन नै पाइएन। अलि खल्लो मससुस भयो।”

घान्द्रुकका होटल व्यवसायी किसम गुरुङ पनि पाहुनालाई हिमाल देखाउन नपाउँदा नरमाइलो लागेको बताउँछन्। घान्द्रुकबाट हिमालको स्पर्श नजिकबाट लिन पाउनु यहाँको विशेषता भए पनि नयाँ वर्षयता घान्द्रुक पुगेका पर्यटक त्यसै फर्कनुपरेको उनले सुनाए। “घान्द्रुक सौन्दर्य र संस्कृतिमा धनी छ। यसैका लागि धेरै पर्यटक यहाँ आउनुहुन्छ”, गुरुङले भने, “तर, नयाँ वर्षमा घुम्न आउनुहुने पाहुना हिमाल नहेरी फर्कनुभएको छ।”

केही दिनदेखि लागेको कुहिरोका कारण घान्द्रुक पुग्ने पर्यटक कम भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिएका छन्। घान्द्रुकमा नयाँ वर्षको दिन दुई हजार एक सय पर्यटक पुगेको उनले बताए। अहिले त्यो सङ्ख्या घटेर दैनिक तीन सयमा झरेको छ।

कुहिरोको प्रभाव पोखरामा पनि परेको छ। कोरोनापछि थला परेको पर्यटन क्षेत्रमा नयाँ वर्षले केही आशा जगाए पनि कुहिरोले मारमा पारेको छ। चैतको अन्तिम साता लेकसाइड क्षेत्रको होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतको हाराहारीमा रहेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। तर, त्यो घटेर ३० प्रतिशतमा झरेको अध्यक्ष सुवेदीको भनाइ छ। तुवाँलोका कारण पर्यटन क्षेत्रमा निकै नोक्सान खेप्नुपरेको उनले बताए।

पाहुना आउने अपेक्षा भइरहँदा तुवाँलोका कारण विमानस्थलमा उडान अवरोध हुँदा त्यसको मार पर्यटन क्षेत्रले खेप्नुपरेको उनले जानकारी दिए। “यो बेला धेरै आन्तरिक पाहुना पोखरा आउने तयारीमा थिए। हाम्रो अनुमानमा कम्तीमा पाँच हजार पर्यटक एकसातामा प्रभावित भए। हवाई उडान प्रभावित हुँदा  सबैतिर डामाडोल बनायो”, सुवेदीले भने, “पर्यटन क्षेत्रले तुवाँलोका कारण मात्र करोडौं रुपैयाँ नोक्सान खेप्नुपरेको छ।’

अहिले पोखरा–मुग्लिन बाटो स्तरोन्नतिको चरणमा छ। सोही कारण धुलो र लामो समय लाग्ने झन्झटले पाहुना हवाई माध्यमबाट पोखरा आउन चाहन्छन् तर, कुहिरोले उडान नहुँदा यात्रु अलपत्र परेको सुवेदीले बताए। “होटल बुकिङ गरेका पाहुना बेलैमा पोखरा आउन सकेनन्, त्यसले गर्दा होटलका कोठा नै रित्तै छन्”, सुवेदीले भने।

बाक्लो तुवाँलोले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान दिनहुँ जसो प्रभावित भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिएका छन्। एकसातामा एकदिन (गत सोमबार) मात्र तोकिएका सबै उडान भएका थिए। “भिजिबिलिटी कम भएर उडान र अवतरण नभएको हो। पोखरामा मात्रै होइन, धनगढीमा प्रभाव थियो, इटहरीमा र सिमरामा पनि प्रभाव थियो”, प्रमुख गौतमले भने। पोखरा विमानस्थलमा उडान हुनका लागि तीन हजार सात सय मिटर भिजिबिलिटी आवश्यक पर्ने विमानस्थल प्रमुख गौतमले सुनाए।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  १ : ०० बजे

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : विशेष महाधिवेशन पक्षको बहिष्कार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान बस्दैछ।

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत