दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार « Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 7 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दिनभर आज मातातीर्थमा दर्शनार्थीको घुइँचो, अर्थ मन्त्रालयमा तीनजना सल्लाहकार नियुक्त, आन्दोलन फिर्ता लिन मिटरब्याज पीडितलाई सरकारको आग्रह, भेरीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्युलगायत समाचारले प्रमुख स्थान पाए ।

मातातीर्थमा दर्शनार्थीको घुइँचो

आज (शुक्रबार) वैशाख कृष्ण औँसी अर्थात् मातातीर्थ औँसी । यसदिनलाई आमाको मुख हेर्ने दिनको रुपमा मनाइने गरिन्छ ।

मातातीर्थ औंसीमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ ।

आमालाई विभिन्न खानेकुरा, कपडा तथा मन पर्ने वस्तु उपहार दिने चलन छ भने दिवंगत आमाको सम्झनामा तर्पण दिएर आमाप्रति श्रद्धाभाव प्रकट गरिन्छ । सोहीक्रममा काठमाडौँको थानकोटस्थित मातातीर्थमा बिहानैदेखि दर्शन गर्नेको भीड लागेको छ।

दिवंगत आमाको सम्झनामा मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्ने गर्दछन्।

अर्थ मन्त्रालयमा तीनजना सल्लाहकार नियुक्त

सरकारले अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन्।

अर्थमा पौडेल र पाण्डे दुवैजना अवैतनिक रुपमा खटिने महतले जनाएको छ। पौडेल राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष हुन् भने पाण्डे पूर्व सदस्य हुन् । नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक भट्टलाई काजमा अर्थमन्त्रालय तान्न लागिएको हो ।

यसैगरी भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक हुनुका साथै लामो समय राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग र बैंक सुपरीवेक्षण विभागको नेतृत्व सम्हालिसकेका भट्ट अहिले बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख हुन् ।

आन्दोलन फिर्ता लिन मिटरब्याज पीडितलाई सरकारको आग्रह

सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गरेकी छन्।

‘मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ’, उनले भनिन्, ‘उजुरी फिर्ता लिएर सरकारलाई सहयोग गरिदिनु होला ।’ सरकारले लिएको अग्रसरतालाई निरुत्साहित पार्ने गरी आन्दोलन नगर्न पनि उनले आग्रह गरिन् ।

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले सो समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाइएको बताइन् ।

नायब सुब्बासहित लेखापढी व्यवसायमाथि आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बासहित लेखापढी व्यवसायीलाई भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ ।

कार्यालयले जलेश्वर, महोत्तरी, भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा रामकृष्ण पण्डित र भू-सेवा केन्द्रका लेखापढी व्यवसायी शुभाष चन्द्रलाल कर्णविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार नायब सुब्बा पण्डितले दाखिला खारेज गरी जग्गाधनी पुर्जासमेत दिलाइदिने भन्दै सेवाग्राहीसँग नौ हजार घुस मागी लेखापढी व्यवसायी कर्णलाई राख्न दिई भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले निजलाई सेवाग्राहीसँग नौ हजार घुस लिँदै गरेको अवस्थामा अघिल्लो वर्ष फागुन १८ गते नियन्त्रणमा लिइएको थियो ।

उपनिर्वाचनको तयारी पुरा

निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनको तयारी पुरा भएको जनाएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि तयारी पुरा भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

निर्वाचनका लागि सम्पूर्ण सामाग्री मतदान स्थलमा पुगिसकेको उनले बताए । त्यस्तै सहायक प्रवक्ता अर्यालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न गर्नका लागि बिहीबार रातीदेखि मौन अवधि सुरु हुने जानकारी दिए ।

उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने उनको भनाइ छ ।

उनले आचारसंहितलाई कार्यान्वयन गराउन जिल्लास्तरीय अनुगमन संयन्त्रका साथै स्थानीय प्रशासन सक्रिय रहेको जिकिर गरे ।

कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए शपथ

कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ खुवाएका हुन् ।

बुधबार हुने भनिएको शपथ रोकिएको थियो। कांग्रेसको केन्द्रीय नेतृत्वको दबाबमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए। बिहीबार बिहान कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निवासमा भएको छलफलबाट नियुक्ति र शपथ गराउने सहमति जुटेको थियो।

मुख्यमन्त्री शर्माले कांग्रेसबाट सिफारिस भएका आर्थिक मामिला तथा योजना मन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गराज पोख्रेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा माओवादी सांसद उर्मिला विश्वकर्मालाई नियुक्त गरेका थिए ।

विश्वकर्मा यसअघि भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्री थिइन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय संख्या संशोधन गरेपछि उनलाई मन्त्री नियुक्त गरिएको हो।

भेरीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु

भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा दुई जना श्रमिकको मृत्यु भए छ भने ८ जना घाइते भएका सुर्खेत प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज भट्टराईका अनुसार गम्भिर घाइते ३ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि ल्याउने तयारी भइरहेको छ । अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

पुलमा हिँडिरहेका तीन जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् । बेपत्ताहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच, मृत्यु हुनेमा भारतको बहराइचका ४० वर्षीय प्रशान्त राजकुमार र सोही ठाउँका ३० वर्षीय धर्मेन्द्र हरीजन चमार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार उक्त घटना क्रेन चालक नवलपरासीका २६ वर्षीय निरजकुमार चौधरी, भारतको बहराइचका ५० वर्षीय मैकु गौतम, सोही ठाउँका ३० वर्षीय गोरख नाथ, २५ वर्षीय सञ्जय गौतम, १९ वर्षीय सोनु चमार, ४९ वर्षीय गोपाल चमार र ६० वर्षीय राजकुमार हरीजन चमार रहेका छन् ।

अन्नपूर्णमा बेपत्ता आरोहीको जीवितै उद्धार

म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ ।

भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु आज बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन् । सोमबारदेखि बेपत्ता मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहान १०ः३० बजे सात हजार ५०० मिटरको उचाइबाट जीवितै उद्धार गरेको सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाइँले जानकारी दिए।

‘हेलिकप्टरले अन्नपूर्ण हिमालबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिएको छ’, उनले भने। परिवारका सदस्यका अनुसार मालुको अवस्था गम्भीर छ । मालु सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका थिए । आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा मालु बेपत्ता भएका थिए ।

अन्नपूर्ण हिमालबाट यसअघि मङ्गलबार भारतीय आरोही २७ वर्षीय बलजीत कौरको पनि जीवितकै उद्धार गरिएको थियो । काठमाडौँ लगिएकी कौरको अवस्था सामान्य रहेको ट्रेकिङ कम्पनी पायोनियर एडभेन्चरले जनाएको छ । अन्नपूर्ण आरोहण गरेर फर्कंने क्रममा कटल्याडका आरोही नोयल हान्नाको मंगलबार मृत्यु भएको थियो । हान्न सेभेन समिट ट्रेकबाट अन्नपूर्ण हिमाल आरोहणमा गएका थिए ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङको भूगोलमा अवस्थित छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो ।

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समुहका ४५ जनाले अनुमति लिएका थिए । बुधबारसम्म ३५ जनाले आरोहण गरिसकेका अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए ।

सम्झौता कार्यान्वयन नभए फोहोर फाल्न नदिने ककनी र धुनिवेशीको चेतावनी

नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका छन् । काठमाडौंको फोहोर विसर्जन हुँदै आएको क्षेत्रका यी दुई पालिकाले १५ दिनभित्र यसअघि भएका सहमति र सम्झौताहरूको कार्यान्वयन नभए फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् ।

धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामाले संयुक्त विज्ञप्ति जारी गर्दै गत जेठमा सरोकारवालाहरूसँग भएको सहमति र सम्झौता कार्यान्वयनका लागि १५ दिनको अल्टिमेटम दिएका छन् ।

यसैबीच प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गरी मुआब्जा दिनुपर्ने, फोहोरमैलाका कारण न्यून प्रभाव पार्ने गरी फोहोरबाट निस्किएको लिक्विडको व्यवस्थापन गर्नुपर्नेलगायतका माग गरेका छन् ।

ककनी र धुनिवेशीका वडाहरूमा वार्षिक १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकास तथा रोजगारीका योजनाहरू सञ्चालन हुनुपर्ने उनीहरूको माग रहेको छ ।

मिर्गौला डायलासिस सेवा छ जिल्लामा विस्तार

झापाको ओमसाई पाथीभरा हस्पिटलले मिर्गौलाको बिरामीलाई सर्वसुलभ डायलासिस सेवा उपलब्ध गराउन छ जिल्लामा सेवा केन्द्र विस्तार गरेको छ । भद्रपुर–७ मा रहेको एकसय शय्याको सो हस्पिटलले झापा, सुनसरी, सिराहा, रुपन्देही, महोत्तरी र काठमाडौंमा डायलासिस सेवा केन्द्र स्थापना गरेको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताए ।

सबै जिल्लामा गरी हस्पिटलले ९५ वटा अत्याधुनिक सुविधायुक्त डायलासिस मेसिन जडान गरेको छ । झापाको भद्रपुर र सिराहाको लहानमा उपचार सेवा सञ्चालन गरिसकेको छ । अन्य स्थानमा सम्पूर्ण उपकरण जडान गरिसकेको जनाउँदै उनले निकट भविष्यमै सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । मिर्गौला खराब भएपछि चिकित्सकले नयाँ मिर्गौला प्रत्यारोपण नहुञ्जेलसम्म बिरामीलाई मेसिनबाट रगत शुद्धीकरण गर्ने उपचार पद्धतिको रुपमा रहेको डायलासिस सेवा लिन सिफारिस गर्दै आएका छन् तर, बिरामीको बढ्दो चाप र डायलासिस सेवा केन्द्रको अभावका कारण कयौँले अतिआवश्यक परेका बेला सेवा पाउन सकिरहेका छैनन् ।

“डायलासिस गर्नै पर्ने अवस्थाका बिरामीले सेवा पाउन पालो कुर्नुपर्ने देखेपछि हामीले मिर्गौलाका बिरामीका लागि डायलासिस गर्न सहज सुविधा पुगोस् भनेर सेवा केन्द्रलाई विभिन्न जिल्लामा विस्तार गरेका हौँ”, हस्पिटलका अध्यक्ष पोखरेल भन्छन्, “विशुद्ध मानवीय सेवाको भावनाले उपचारमा लगानी गरेका छौँ । यसमा नाफा र घाटाको कुनै मतलब राखेका छैनौँ ।” हस्पिटलले झापामा सबैभन्दा धेरै क्षमताको डायलासिस सेवा वर्षौंदेखि प्रदान गर्दै आएको छ ।

हस्पिटलका प्रमुख प्रशासक दीप पौडेलका अनुसार भद्रपुरमा १९ वटा डायलासिस मेसिन सञ्चालन गरेर मिर्गौलाका बिरामीलाई हस्पिटलले सेवा प्रदान गरिरहेको छ । झापाकै दमकमा १०, सुनसरीको इटहरीमा १४ र सिराहाको लहानमा १६ वटा डायलासिस मेसिन जडान गरिएको छ । लहानको सेवा केन्द्रमा विरामीको चाप धान्न मुस्किल परेको कारण मेसिन थप्ने तयारी भइरहेको पौडेलले बताए ।

महोत्तरीको बर्दिवासमा १०, रुपन्देहीको बुटवलमा १२ र काठमाडौँको नेपाल भारतमैत्री हस्पिटलमा १४ वटा डायलासिस मेसिन ओमसाई पाथीभरा हस्पिटलले जडान गरेको छ । भद्रपुरमा पहिल्यैदेखि सञ्चालनमा रहेको उपचार सेवा निःशुल्क उपलब्ध रहेको छ । नेपाल सरकारले नै त्यहाँ उपचार गर्ने बिरामीको सेवा शुल्क तिरिदिने व्यवस्था रहेको छ ।

हाल मिर्गौलाका ४३ महिलासहित एक सय ३१ बिरामीले भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलबाट नियमित डायलासिस उपचार सेवा पाइरहेको हस्पिटलका व्यवस्थापक मनोज दाहालले जानकारी दिए । “एउटा बिरामीलाई एकपटक डायलासिस गराउँदा चार घण्टा समय लाग्छ”, डायलासिस विभागको इञ्चार्जसमेत रहनुभएको व्यवस्थापक दाहालले भने, “जटिल अवस्थाका मिर्गौलाका बिरामीले हप्तामा तीन पटकसम्म निःशुल्क डायलासिस गरिरहनुभएको छ ।”

नेपाल-भारत सिमाना भोलि रातिदेखि बन्द हुने

बाराको क्षेत्र नम्बर २ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल-भारत सिमानाका बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै भोलि राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको हो।

यस्तै मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाद्वारा जारी सूचनामा बारा क्षेत्र नं.२ भित्र पर्ने हुलाकी राजमार्ग लगायत सम्पूर्ण राजमार्ग ९ वैशाख राति १२ बजेदेखि १० गते साँझ ७ बजे सम्मका लागि सम्पूर्ण आवागमन बन्द गर्ने भनिएको छ।

एम्बुलेन्स, दुध तथा औषधि बोकेका सवारी, खानेपानीका ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधनहरू तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा, कूटनीतिक नियोगका सवारी र अनुमति प्राप्तबाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ।

उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष , पारदर्शी, भयरहित वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गरी स्थानीय प्रशासन ऐन २०२८ को प्रावधान अनुसारको आदेश गरिएको हो।

साउनयता यूएईमा १ सय १७ नेपालीको मृत्यु

यूएईमा १ सय १७ जना नेपालीले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा यूएईमा सो संख्यामा नेपालीले ज्यान गुमाएका हुन् ।

यूएईमा रहेको नेपाली दूतावासले साउनदेखि चैतसम्म १ सय १७ जना नेपालीको शव व्यवस्थापन गरेको जनाएको छ । दूतावासका अनुसार साउनमा २४, भाद्र १६, असोज १०, कात्तिक ११, मङ्सिर १६, पुस १०, माघ ९, फागुनमा ८ र चैतमा १३ जनाको मृत्यु भएको हो।

अघिल्लो आर्थिक वर्ष २०७८-८९ मा यूएईमा १७४ जनाको ज्यान गएको थियो । जसमध्ये दूतावासले एक सय ६७ शव स्वदेश फिर्ता पठाएको थियो भने ७ वटा यूएईमै सतगत गरिएको थियो ।

यस्तै, यूएईमा रहेका नेपालीहरूले विभिन्न माध्यममार्फत गुनासो राख्ने क्रम पनि बढेको छ । चालु आर्थिक वर्षको चैतसम्म ४ हजार १ सय ८९ जनाले फोन, इमेल र दूतावासमै गएर विभिन्न गुनासो राखेका छन् ।

साउनमा १४९, भाद्रमा ५३२, असोजमा ७१७, कात्तिकमा ४४९, मङ्सिरमा ६९४, पुसमा ३८९, माघमा ३७१, फागुनमा ३५५ र चैतमा ५३३ जनाले दूतावासमा गुनासो राखेका दूतावासले जनाएको छ।

यूएईमा नेपाली युवाले जिते ७० करोडको चिठ्ठा

रोजगारीको लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका एक नेपाली युवालाई २० मिलियन दिराम (नेपाली झण्डै ७० करोड रुपैयाँ)को चिठ्ठा परेको छ।

पदम नाम गरेका नेपाली नागरिकले ‘महजुज ड्र’ मार्फत पहिलो विजेता हुँदै यो रकम प्राप्त गरेका हुन् । स्थानीय पत्रिका खालिज टाइम्स्का अनुसार यूएईमा हरेक हप्ता हुँदै आएको ‘महजुज ड्र’ को १२४औं संस्करणमा पदमले यो रकम जितेका हुन् ।

पदमले ५,१०,४१, ४६ र ४९ नम्बरमध्ये पाँच वटै मिलाएर यति ठूलो रकम जितेका हुन् । बुधवार आफूले जितेको रकम बुझ्दै पदमले भने ‘मलाई अझै विश्वास लागिरहेको छैन ।’

विगत २३ वर्षदेखि यूएईमा सवारी चालकको काम गर्दै आएका पदमले अहिले यूएईमा गाडी चलाएर ५७ सय दिर्हाम अर्थात् २ लाख रुपैयाँ बराबर प्रत्येक महिना कमाउँदै आएका छन् ।

यसअघी गुल्मीका भरत विकले महजुजको लक्की ड्र् मार्फत ३५ करोड (१० मिलियन दिराम) चिट्ठा उपहार पाएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ९ : ०१ बजे

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,