विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

आज भदौ ३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट २०, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

ब्रिक्स मिडिया फोरम दक्षिण अफ्रिकामा सुरु
विकासोन्मुख देशको पक्षमा लाग्न आह्वान गर्दै छैटौँ ब्रिक्स मिडिया फोरम दक्षिण अफ्रिकामा सुरु भएको छ ।

करिब ३० देशका करिब एक सय सञ्चारगृह, विद्वत् समूह र अन्तर्राष्ट्रिय संस्थाका दुई सय प्रतिनिधि सम्मिलित फोरममा ‘ब्रिक्स र अफ्रिकाः साझा र निष्पक्ष भविष्यका लागि सुदृढ मिडिया संवाद’ छलफल भएको छ ।

फोरमको उद्घाटन सत्रमा सिन्ह्वा समाचार समिति अध्यक्ष फू हुआले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स राष्ट्रका सञ्चारमाध्यमले एक्काइसौँ शताब्दीमा महत्वपूर्ण जिम्मेवारी वहन गरेका बताउँदै मानवताको साझा मूल्यलाई प्रवर्द्धन गर्ने, नयाँ युगमा ब्रिक्सका सफलताका विषयलाई अझ परिष्कृत ढङ्गले प्रस्तुत गर्न पारस्परिक सहयोग घनीभूत हुनुपर्नेमा जोड दिएका छन् ।

ब्रिक्स मिडिया फोरमका कार्यकारी अध्यक्षसमेत रहेका फूले संयुक्त रूपमा सांस्कृतिक आदानप्रदान गर्दै न्यायपूर्ण र समतामूलक अन्तरराष्ट्रिय व्यवस्थालाई पनि संयुक्त रूपमा अगाडि बढाउने प्रस्ताव गरेका छन् ।

अफ्रिकी राष्ट्रिय कङ्ग्रेसको राष्ट्रिय कार्यकारी समितिका सदस्य डकोटा लेगोएटले ब्रिक्स मिडिया फोरम ब्रिक्स राष्ट्रका आवाज उठाउन महत्वपूर्ण मञ्च भएको उल्लेख गर्दै केही देशले अन्तरराष्ट्रिय बहसलाई एकाधिकार बनाउने र मिडियालाई अन्य सार्वभौम राज्यमा आक्रमण गर्ने हतियार बनाएका भन्दै त्यसको आलोचना गरे । उनले मिडिया युद्ध भड्काउने उपकरण बन्नुको सट्टा विश्वशान्ति र विकासको प्रवर्द्धन गर्न प्रतिबद्ध हुनुपर्ने बताए ।

रुसी समाचार समिति तासका महानिर्देशक आन्द्रे कोन्ड्राशोभले विगत एक दशकमा सदस्य राष्ट्रबीच मिडिया सहयोगका बारेमा छलफल गर्न महत्वपूर्ण, विशिष्ट एवं प्रतिष्ठित मञ्चका रुपमा स्थापित भएको विचार व्यक्त गर्दै ब्रिक्स देशका सञ्चारमाध्यमलाई गलत सूचनाको प्रतिरोध गर्न र विकासशील देशहरूको हितको रक्षाका खातिर एकजुट हुन आह्वान गरे ।

रसिया टुडेका पत्रकार एलिजाभेटा ब्रोडस्कायाले पश्चिमा सञ्चार माध्यमले अफ्रिकालाई युद्ध, भोक र रोगले व्याप्त महादेशका रुपमा चित्रण गरेकामा त्यसको आलोचना गर्दै पश्चिमा बाहेक अन्य सञ्चारगृहद्वारा सम्प्रेषण गरिएका सामग्रीलाई ‘नियतवश प्रवाह गरिएका झूठा विवरण’ मान्ने प्रवृत्ति अमान्य भएको बताए ।

ब्राजिलको वित्तीय र कृषि सूचना प्रदायक सिएमए समूहका प्रमुख जोसे जुआन सान्चेजले विश्वसनीय र निष्पक्ष समाचार अपरिहार्य भएको उल्लेख गर्दै ब्रिक्स मिडियाले सदस्य राष्ट्रका आर्थिक, वातावरणीय र सामाजिक क्षेत्रमा दिगो विकासलाई रोज्नुपर्ने सझाव दिए ।

ब्राजिल कम्युनिकेसन कम्पनीका अध्यक्ष हेलियो डोयलले सदस्य राष्ट्रहरूको आवाज मुखरित गर्न तथा भूमण्डलीकरणलाई प्रवर्द्धन गर्न फोरमले महत्त्वपूर्ण योगदान पु¥याएको बताउँदै शान्ति र आपसी सहयोग विस्तारलाई मुख्य लक्ष्य मानेर सञ्चारकर्म गर्नुपर्ने तर्क गरे ।

दक्षिण अफ्रिकाको स्वतन्त्र मिडियाका कार्यकारी अध्यक्ष इकबाल सुर्वेले ब्रिक्स राष्ट्रका विविध संस्कृतिले संवाद र वार्तालाई समृद्ध बनाउने विचार व्यक्त गर्दै ब्रिक्स मिडिया समावेशी, सहकारी र न्यायपूर्ण नयाँ विश्व व्यवस्थाको पक्षमा निःशर्त उभिनुपर्ने बताए । विकासोन्मुख राष्ट्रले सामना गर्नुपरेका चुनौतीको चर्चा गर्दै उनले ती राष्ट्रका दृष्टिकोण र आवाजलाई फोरमले स्थान दिनुपर्नेमा जोड दिएका थिए ।

डेढेलोले हवाई, क्यनडा र स्पेनी टापुमा अकल्पनीय क्षति

अमेरिकाको हवाई राज्य, क्यानडा र स्पेनको एउटा टापुमा लागेको डढेलोले अकल्पनीय क्षति भएको छ । अग्निनियन्त्रकहरू आगो निभाउन र उद्धारकर्ताहरू मृतकहरूको खोजीमा जुटिरहेका छन्भने विस्थापितहरूको व्यवस्थापनको चुनौतीलाई पनि उनीहरूले कष्टका साथ खेपिरहेका छन् ।

हवाईको माउई जङ्गलमा लागेको डढेलो मानव वस्तीसम्म फैलिँदा मृत्यु हुनेको सङ्ख्या एक सय १४ पुगेको छ । आधुनिक अमेरिकाको इतिहासमा आगलागीमा परेर यति धेरैको अमूल्य जीवन खरानी भएको थिएन ।

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो हवाईका निम्ति अभिशाप बनेको छ । दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् ।

सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए । हवाईका गभर्नर जोस ग्रीनले आगालागाीबाट छ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको, दुई हजार दुई सयभन्दा बढी भवन र अन्य मझौला र साना पाँच सय वटा घर ध्वस्त भएका बताएका छन् । भौतिक क्षतिभन्दा धेरै अमूल्य जीवनको क्षति भएको छ ।

उनले भावुक बन्दै भने, “राज्यका धेरैले आमा, बुबा, हजुरबा हजुरआमा, छोरा र छोरी गुमाएका छैन जसको क्षतिपूर्ति कहिल्यै गर्न सकिदैन ।” अमेरिकाका अन्य भागमा पनि जङ्गलमा लागेको डढेलोले ठूलो क्षति भएको छ ।

वासिङ्गटन राज्यको मेडिकल लेक क्षेत्रबाट हजारौँ मानिस ज्यान जोगाउन भागेका छन् । क्यानडा पनि डढेलोले आक्रान्त भएको छ । क्यानेडियन इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार देशभर डढेलोका सात सय घटना भएका छन् जसमा एक लाख ३७ हजार वर्ग किलोमिटरभन्दा बढी क्षेत्र आगोको चपेटामा परेको छ ।

ब्रिटिश कोलम्बिया र उत्तरपश्चिमी क्षेत्रमा आपत्काल घोषणा गरिएको छ । युरोप पनि विश्वव्यापी तापक्रम वृद्धिसँगै प्रचण्ड गर्मी झेलिरहेको छ । स्पेनको पर्यटकीय टापु टेनेरिफको वनमा डढेलो लाग्दा चार हजार पाँच सयभन्दा बढीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपरेको छ ।

अग्निनियन्त्रण कर्मचारी अहिले पनि उक्त क्षेत्रमा उद्धारमा खटिरहेका छन् । अधिकारीहरूका अनुसार उक्त टापुपमा भएको क्षतिको विवरण सङ्कलन हुन बाँकी छ ।

पाकिस्तानमा बम विस्फोट, ११ मजदुरको मृत्यु
पाकिस्तानको उत्तरी वजिरिस्तानमा बम विस्फोट हुँदा ११ जना मजदुरको मृत्यु भएको छ । उत्तरी वजिरिस्तानको गुल्मिर कोट क्षेत्रमा भएको बम विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन् ।

एआरवाई न्युजका अनुसार मजदुर चढेको एउटा भ्यानमा बम विष्फोट हुँदा उक्त हताहती भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

अघिल्लो साता वजिरिस्तानको बाजौरमा ठूलो आत्मघाती विष्फोट भएको थियो । चुनावी सभामा सहभागी हुन गएकाहरूलाई लक्षित गरी गराइएको उक्त विस्फोटमा २३ जना बालबालिकासहित ६३ जनाको मृत्यु भएको थियो ।

इस्लामिक स्टेट समूहले गराएको उक्त आक्रमणमा दुई सयभन्दा बढी घाइते भएका थिए ।

पाकिस्तानमा यात्रुवाहक बसमा आगो लाग्दा २० जनाको मृत्यु
पाकिस्तानको पञ्जाबमा यात्रुवाहक बसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

पाकिस्तानको पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबासमा आगो सल्केको थियो ।

फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पताल पुर्‍याएका थिए । उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार थिए ।

दुर्घटनाग्रस्त बस देशको दक्षिणी बन्दरगाह शहर कराँचीबाट सङ्घीय राजधानी इस्लामावादतर्फ गइरहेको थियो । दुवै सवारी साधनका चालक दुर्घटनामा मारिएका छन् ।

अघिल्लो साता पञ्जाब प्रान्तमा भएका दुई हजार आठ सय ९३ वटा शृङ्खलाबद्ध सडक दुर्घटनामा २६ जनाले ज्यान गुमाएका थिएभने तीन हजार एक सय ११ जना घाइते भएका थिए ।

आपतकालीन सेवा विभागका अनुसार ९९ जनाको टाउको गम्भीर चोट लागेको, एक एसय ८७ जनाका शरीरका विभिन्न भाग भाँच्चिएका, आठ सय ५० जना घाइते अस्पताल भर्ना भएका थिए । आठ सघ ९१ जना घाइते भने सामान्य उपचारपछि घर फर्केका छन् ।

पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
पेरुको पहाडी क्षेत्र एन्डिजमा यात्रुवाहक एउटा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएका छन् ।

दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते भएका छन् । करिब ५० जना यात्रु बोकेको बस एण्डियन शहर विल्काशुआमानबाट राजधानी लिमातर्फ आउँदा पहाडी भेगको खोचमा आज बिहान खसेको हो हुआतारा जिल्ला प्रहरी चौकीका एक अधिकारीले एएफपीलाई बताए ।

घाइतेहरूको पिस्को शहरको अस्पतालमा उपचार भइरहेको छ । तीव्र गति, मर्मतसम्भार नगरिएका खराब सडक, सुरक्षा तथा जोखिमसूचनक सडक सङ्केतको कमी र सवारी नियमको अक्षरसः पालना नहुँदा पेरुका राजमार्गमा प्रायः दुर्घटना भइरहन्छन् ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०१९ मा सार्वजनिक गरेको एक अध्ययनअनुसार त्यस वर्ष चार हजार चार सय १४ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ७ : ५८ बजे

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी