राजनीति

संविधानमा लेखिएका प्रावधान व्यवहारमा उतार्न चुनौति : माधव नेपाल

By खबरहब

September 20, 2023

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्न चुनौति रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल रिटर्नी एशोसियशनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै  अध्यक्ष नेपालले संविधानमा समाजवाद स्थापना, भेदभाव, अन्यायको अन्त्य लगायतका सबै विषय समेटिएपनि संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्ने चुनौति रहेको बताए ।

नेपाली विशेषताको समाजवाद स्थापनाका लागि योजनाबद्ध रुपमा अघि बढ्ने, मौलिक हक जनतामा प्रदान गर्ने कुरामा निकै समस्या देखिएको उनले बताए । अध्यक्ष नेपालले बजेटमा पनि रोजगारी सम्बन्धी कार्यक्रम राखे पनि वास्तविक रुपमा कार्यान्वयन हुन नसकेको धारणा राखे ।

उनले संविधानमा उल्लेख गरेका कुराहरूलाई व्यवहारमा लागू गर्नका लागि सरकारलाई आह्वान गर्दै सरकारका राम्रा कामलाई सदैव साथ दिने जिकिर गरे ।

अध्यक्ष नेपालले नेपाल रिटर्नी एशोसियशनले विदेशमा रहेका र विदेशबाट फर्किएका विवरण राखेर युवा लक्षित कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।