अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

September 20, 2023

आज आश्विन ३ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २० २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

काराबाखमा ‘शान्तिपूर्ण’ समाधानका लागि पुटिनको आग्रह

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्मेनियाली पृथकतावादी र अजरबैजानबीच भएको युद्धविराम सम्झौताको उल्लेख नगरी नागोर्नो–काराबाखमा जारी द्वन्द्वको ‘शान्तिपूर्ण’ समाधान हुने आशा व्यक्त गरेका छन् ।

पुटिनले चीनका विदेशमन्त्री वाङ यीसँगको भेटमा भने, ‘हामी येरेभानका अधिकारीहरूसँग, स्टेपानेकर्टका (पृथकतावादी काराबाख) अधिकारीहरूसँग र बाकुमा द्वन्द्वका सबै पक्षसँग निकट सम्पर्कमा छौं ।’ उनले भने, ‘मलाई आशा छ कि हामी तनाव कम गर्न सक्छौं र यस समस्याको समाधान शान्तिपूर्ण मार्गमा स्थानान्तरण गर्न सक्छौं’ । 

सरकारी टेलिभिजनले वितरण गरेको उक्त फुटेज काराबाखमा युद्धविराम घोषणा हुनुअघि वा पछि रेकर्ड गरिएको थियो वा थिएन भन्ने स्पष्ट भइसकेको छैन । 

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले काराबाख पृथकतावादी र अजरबैजानले घोषणा गरेको युद्धविराम सम्झौताबारे टिप्पणी गर्न चाहनुभएन ।

नियमित ब्रिफिङका क्रममा उनले भने, ‘मसँग विस्तृत विवरण छैन ।’ अजरबैजानले बुधबार नागोर्नो–काराबाखको विवादित क्षेत्रमा पृथकतावादी अर्मेनियाली सेनाले हतियार राख्न र पुनः एकीकरण वार्ता गर्न सहमति जनाएपछि आफ्नो सैन्य कारबाही रोकेको घोषणा गरेको थियो ।

पूर्वी चीनमा भीषण आँधी, पाँच जनाको मृत्यु पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँच जनाको मृत्यु भएको छ । प्रकोपमा परी अन्य चार जना गम्भीर घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार आएको आँधीमा परी पाँच जनाको मृत्यु हुनुका साथै अन्य चार जना गम्भीर घाइते भएका हुन् । अधिकारीहरूले घटनाको विवरण बुधबार मात्र दिएका हुन् । सुकियान शहरको ड्याक्सिङ टाउनशिप र नानकाई टाउनशिपमा आँधी साँझ ५ बजेतिर भएको हो ।

स्थानीय निकायले गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार आँधीबाट पाँच हजार ५१२ जना प्रभावित भएका छन्भने एक हजार छ सय ४६ घरमा सामान्य क्षति भएको छ । अन्य एक सय ३७ घरमा भने पूर्ण क्षति भएको छ ।

आँधीले ४२ हेक्टरमा लगाइएको बालीमा क्षति भएको छ । आँधीबाछ चार सय पाँच जना विस्थापित भएका छन् । नहरको आपतकालीन व्यवस्थापन विभागले उनीहरूले सहायता सामग्री प्रदान गरेको छ ।

पूर्वप्रधानमन्त्री सरिफद्वारा सरकारको आलोचना

प्रवासमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले पाकिस्तान सरकार आलोचना गरेका छन् । स्वदेश फर्कनुअघि लाहोरमा एकत्र भएका पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै पाकिस्तान मुस्लिम लिगका प्रमुख उनले देशको वर्तमान आर्थिक स्थिति नाजुक हुनु सत्तामा रहेका नेताका कारण भएको बताए ।

‘छिमेकी देश भारत चन्द्रमामा पुगिसक्यो र उसले आर्थिक रुपमा सबल देशका नेताहरूको साझा मञ्च जी ट्वेन्टी शिखर बैठक आयोजना गरिसक्यो हामी भने राज्य सञ्चालनका निम्ति रकम नभएर यो देश र त्यो देशसँग सहायता माग्न हिँडिरहेका छौँ । पाकिस्तानका गरिबलाई रोजीरोटी जुटाउन धौ(धौ परेको छ, हाम्रा प्रधानमन्त्री पैसा माग्दै एउटा देशबाट अर्कोमा गइरहनुभएको छ,’ हामीले पाकिस्तानका नेताहरूले देश र जनताका निम्ति केही नगरेकामा रोष प्रकट गर्दै नेता सरिफले भने ।

पाकिस्तानले एक अर्ब डलरका लागि चीन वा खाडी देशहरूसँग हात फैलाउनुपर्ने लज्जाजनक परिस्थिति सामना गर्नुपरेकामा आक्रोशित हुँदै पूर्वप्रधानमन्त्री सरिफले देशलाई अहिलेको आर्थिक स्थितिमा पुर्‍याउने सबै ‘अपराधी’ हुन् भने । सन् १९९० मा आफूले प्रारम्भ गरेको आर्थिक सुधारका नीतिलाई भारतले समेत कार्यान्वयन गरेको बताउँदै ‘अटलविहारी बाजपेयी प्रधानमन्त्री हुँदा भारत सरकारसँग एक अर्ब डलरमात्र थियो तर अहिले भारतसँग छ खर्ब डलर राज्य कोषमा छ, हामी भने एक अर्ब डलर ऋण कसैले दिन्छ भन्दै हिँडिरहेका छौँ, हामी भारतलेजस्तै किन प्रगति गर्न सक्दैनौ रु उनले प्रश्न गरे।

हाल पाकिस्तान जटिल आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । विदेशी नियोगमा कार्यरत कर्मचारीलाई समयमै तलबभत्ता निकासा गर्न इस्लामावादलाई हम्मेहम्मे परेको छ । पाकिस्तानको इतिहासमा आजसम्म नभएको मुद्रास्फीतिलाई पनि इस्लामावादले झेलिरहेको छ ।

बेलायतमा निर्वासित जीवन बिताइरहनुभएका पूर्वप्रधानमन्त्री सरिफ आगामी कात्तिक ४ गते स्वदेश फर्कने उहाँका भाइ एवं पूर्वप्रधानमन्त्री शेहवाज सरिफले बताएका छन् ।

अजरबैजान र अर्मेनियाबीच युद्ध, २५ जनाको मृत्यु

अजरबैजानले अर्मेनियाविरुद्ध फेरि युद्ध सुरु गरेको छ । रोयटर्सका अनुसार अजरबैजानले मंगलबार अर्मेनिया नियन्त्रित काराबाखमा शृङ्खलाबद्ध आक्रमण गर्दा २५ जना मारिएका छन् । आर्मेनियाली अधिकारीले अजरबैजानले गरेको आक्रमणमा १३८ जना घाइते भएको जनाएका छन् ।

अजरबैजानले अर्मेनियाका धेरै क्षेत्रहरूलाई निशाना बनाएको थियो। जसमा आर्मेनियाको नियन्त्रणमा रहेको नागोर्नो काराबाख क्षेत्र पनि समावेश छ ।

अजरबैजानले सो क्षेत्र कब्जा गर्ने उद्देश्यले आक्रमणलाई तिव्र बनाएको बताइएको छ ।

इजरायल–प्यालेष्टाइन द्वन्द्व : छ जनाको मृत्यु

इजरायल र प्यालेष्टाइनबीच जारी पछिल्लो द्वन्द्वमा छ जना मारिएका छन् । अधिनस्थ पश्चिमी किनारमा इजरायली सेनाले गरेको कारबाहीमा छ जना प्यालेष्टिनी मारिएका प्यालेष्टाइनका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

पछिल्ला दुईपक्षीय झडपका क्रममा मङ्गलबारसम्म चार जनाले ज्यान गुमाएकामा आज थप दुई जना मारिएका उनीहरूले बताएका छन् । जेनिनस्थित शरणार्थी शिविरमा इजरायली सेनाले गरेको कारबाहीमा अन्य ३० जना घाइते भएका छन् ।

बितेका डेढ वर्षदेखि इजरायल र प्यालेष्टाइनबीच दिनहुँ झडप हुँदा गाजापट्टीलगायत स्थानमा हिंसात्मक घटना रोकिएका छैनन् । इजरायलले प्यालेष्टिनी क्षेत्रमा आक्रमण बढाएपछि प्रतिकारमा प्यालेष्टिनीहरूले पनि रकेट प्रहार गर्दै आएका छन् ।

आज बिहान एक जना प्यालेष्टिनी युवकले सुरक्षाफौजमाथि विष्फोटक पदार्थ प्रहार गरेपछि जवाफी कारबाही गर्दा ती युवकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

स्थानीय कर्मचारीको पूर्ण विवरण उपलव्ध गराउन आदेश

चीन सरकारले हङकङस्थित सबै वाणिज्य दूतावास ÷कूटनीतिक नियोगमा कार्यरत स्थानीय कर्मचारीको व्यक्तिगत विवरण उपलव्ध गराउन आदेश दिएको छ । आगामी अक्टोबर १८ सम्ममा सबै स्थानीय कर्मचारीको विवरण उपलव्ध गराउन हङकङस्थित चिनियाँ विदेश मन्त्रालयको आयुक्तको कार्यालयले आदेश दिएको हो ।

आयुक्तको कार्यालयले स्थानीय कर्मचारीको व्यक्तिगत विवरण लिने निर्णय अन्तरराष्ट्रिय अभ्यासअनुरूप भएको दबी गरेको छ । अब हङकङमा पनि मुख्य भूमिमा कार्यान्वयन गरिएका नियम लागू हुनेछन् । चिनियाँ पक्षले हङकङमा रहेका विदेशी कन्सुलर कार्यालयहरूको मामिला प्रचलित कानुनअनुसार र व्यावहारिक दृष्टिकोणबाट व्यवस्थापन गर्दै आएको स्पष्ट गरको छ ।

चिनियाँ अधिकारीहरूलाई बुझाउनु पर्ने सूचनामा कुन पदमा कर्मचारीले काम गरिरहेको हो, निजको आवासीय ठेगाना र परिचय पत्र नम्बरहरू समावेश गर्न निर्देशन दिइएको छ । नयाँ कामदार भर्ती गरेमा निजको विवरण पनि १५ दिनभित्र अनिवार्य रुपमा बुझाउन पत्राचार गरिएको छ । आयुक्तको कार्यालयले नयाँ नियमको उद्देश्यबारे केही खुलाएको छैन ।

सन् १९९७ मा बेलायतले चिनियाँ भूभाग हङकङ बेइजिङलाई हस्तान्तरण गरेको हो । विशेष स्वायत्तता शासन पद्धति अपनाइएको हङकङमा पछिल्ला दिनमा बेइजिङ विरोधी गतिविधि बढ्न थालेपछि कडा राष्ट्रिय सुरक्षा कानून लगाएर शहर व्यवस्थापन हुँदै आएको छ ।