काबुल- अफगानिस्तानले पाकिस्तानी रुपैयाँको प्रयोगमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । अफगानिस्तानको खामा प्रेसले जनाएअनुसार अफगानिस्तानको केन्द्रीय बैंकले पाकिस्तानी रुपैयाँको प्रयोगमा बन्देज लगाउने तयारी सुरु गरेको हो ।
मुलुकको दक्षिण पश्चिमी क्षेत्रमा आफ्नै मुलुकको मुद्राको प्रचलनलाई बढाउन भन्दै केन्द्रीय बैंकले पाकिस्तानी रुपैयाँको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको हो ।
केन्द्रीय बैंकले मुलुकको दक्षिण पश्चिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आफ्नो व्यवसायिक कारोबारमा पाकिस्तानी रुपैयाँको प्रयोग नगर्न निर्देशनसमेत दिएको छ । यसका लागि अढाई महिनाको म्याद दिइएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
केन्द्रीय बैंकले कन्दहार, हेल्मन्द, उरुज्गान, जबुल र दैकुन्दी प्रान्तका वासिन्दालाई लक्षित गरी व्यवसायिक कारोबारमा राष्ट्रि मुद्रा अफगानीको मात्रै प्रयोग गर्न निर्देशन जारी गरेको हो ।
अढाई महिनापछि अन्य मुलुकको मुद्रामा व्यवसायिक कारोबार गरे गैरकानूनी ठहरिने र दोषीलाई कारवाही हुनेसमेत चेतावनी दिइएको छ ।
प्रतिक्रिया