दशैँले बोकेको नारी शक्तिको महिमा | Khabarhub Khabarhub

दशैँले बोकेको नारी शक्तिको महिमा



पुरुषसँगै नारीलाई शक्तिको रुपमा महत्व दिएर पूजा र प्रार्थना गर्ने परम्परा निकै प्राचीन हो । शक्ति रूपलाई पूजा गर्ने परम्पराले त्यसबेलाका नारीप्रतिको समान अस्तित्व स्वीकार गरेको देखिन्छ । संसारका प्राचीन सभ्यताहरुमा पनि नारीलाई शक्तिका रुपमा उपासना गरेको देखिन्छ । त्यसबेला प्राप्त नारी मूर्तिहरूले यस सत्यलाई प्रमाणित गर्छन । सिन्धु सभ्यताको उत्खननमा प्राप्त स्त्री मूर्ति तथा मोहरमा अंकित छापबाट उस बखत शक्ति पूजाको परम्परा भएको स्वीकार्न सकिन्छ । 

हिन्दुहरूको सर्वप्राचीन ग्रन्थ वेदमा विभिन्न देवताको नामका साथै शक्तिदेवीको विवरण पाइन्छ । ऋग्वेदमा राची, उषाको साथै वाकदेवीको नामबाट त्यसबेला देवीको पूजा प्रार्थना गर्ने परम्परा रहेको देखिन्छ । राची इन्द्र पत्नी, उषा अरुणोदय देवी तथा वाकदेवीलाई विभिन्न देवताकी शक्तिको रुपमा उल्लेख गरिएको छ ।

 यस्तै उपनिषद्हरूमा पनि शक्तिपूजाको विस्तृत विवरण पाइन्छ । खास गरेर उपनिषद्मा दार्शनिक तत्त्वहरूको उल्लेख हुनाले त्यसबेला नारी शक्तिलाई प्रकृति र पुरुषको शक्तिका रुपमा मान्न थालेको देखिन्छ । उपनिषद्को एउटा कथाअनुसार देवीको परिचय माग्दा उनी भन्छिन– ‘म ब्रम्हाको रुप हुँ , म बाटै प्रकृति र पुरुषको रुप यो चराचर जगतको उत्पत्ति हुन्छ ।’ यस्तै केन उपनिषद्मा रुद्रको साथसाथै उमा हेमवतीको पनि उल्लेख पाइन्छ । यिनैलाई पछिका ग्रन्थहरुले शिवकी शक्तिको रुपमा स्वीकार गरेका छन् । 

खास गरेर उनिषद्पछि शक्ति देवीको मान्यतामा वृद्धि हुन गयो । साथसाथै यसबेलातिर शक्तिको स्वतन्त्र अस्तित्वको विकास हुन गएको थियो । ब्राम्हण साहित्य तथा सूत्र साहित्यका अरु अनेक सौम्य रूपहरूको पनि विकास सँगै अनेक नामसँग उनको तादात्म्य कायम भयो । उपनिषद्ले प्रतिपादन गरेको सांख्य दर्शनको विकास भएपछि प्रकृतिलाई पुरुषको अपेक्षामा बढी क्रियाशील ठानियो । 

महाभारतमा शक्ति पूजाको अझ महत्व रहेको देखिन्छ । महाभारतको भीष्म–अर्जुन युद्धमा विजय प्राप्त गर्न श्रीकृष्णका परामर्शअनुसार देवी दुर्गाको उपासना गर्छन । महाभारतको विराट पर्वमा युधिष्ठिरले देवीको स्तुति गरेका थिए । यसबाट शक्ति प्राप्त गर्ने तथा सफलताको लागि देवीको पूजा र प्रार्थनाले त्यसबेलाको जनमानसमा ठूलो प्रभाव पारेको देखिन्छ । 

पुराणकालमा यसको महत्व अझ उच्च भएर गयो । ब्रह्मवैवर्त पुराण, कर्मपुराण, हरिवंश पुराण र मार्कण्डेय पुराणमा देवीको महत्वलाई दर्शाउने उनीसँग सम्बन्धित अनेकौं कथा उल्लेख गरिएको छ । मार्कण्डेय पुराणमा देवीको महत्व दर्शाउने उनीसंग सम्बन्धित अनेकौं कथा वर्णित छ । मार्कण्डेय पुराणमा महिषासुर मर्दिनी भगवतीलाई शिव, विष्णु र ब्रह्मको संयुक्त तेजबाट बनेकी भनिएको छ । त्यसबाट रहेको एउटा कथाअनुसार शुम्भ र निशुम्भ नामक दैत्यले देवतालाई अत्यन्त कष्ट दिएकाले देवताले हिमालयमा गई देवीको आराधना गर्न थाले । 

देवताको आराधनाबाट प्रसन्न भएकी पार्वतीले आफ्नो शरीरबाट शक्तिमुखी अम्बिकालाई प्रदान गरिन । अम्बिका कालो वर्णकी भएकीले उनलाई कालिका भन्न थालियो । चण्डमुण्ड राक्षसलाई मारेकी हुनाले चामुण्डा पुकार्न थालियो । शक्ति देवीको यस्तो महत्व रहेको हुनाले प्रत्येक देवताको शक्तिका रुपमा देवीको शक्तिलाई मान्न थालियो । यसअनुसार ब्रम्हा, विष्णु , महेश, कुमार, इन्द्र, वराह र यमका क्रमशः ब्राह्मी, वैष्णवी, माहेश्वरी, कौमारी, ऐन्द्री, वाराही र यमी आदि देवीहरूको सौम्य रुपउग्ररुपमा अलग विभेद देखायो । माथिका सात शक्ति रूपलाई सात मातृकाका रुपमा मानियो । 

नेपालमा शक्तिपूजाको परम्परा लिच्छवीपूर्व देखि नै रहेको त्यसबेला प्राप्त मूर्तिबाट पुष्टि हुन्छ । मानदेव प्रथमको पालामा विक्रम संवत ५६० मा गृहपत्तीकी पत्नी विजय स्वामिनीले पलाञ्चोकमा विजयश्वरी देवीको मूर्ति स्थापना गरेकी थिइन । यस्तै अंशुवर्माको अभिलेखहरूमा ‘श्री देवी’ र षष्टी देवीको उल्लेख पाइन्छ ।

उपत्यकाभित्रका शोभा भगवती र नक्साल भगवतीका मूर्तिलाई लिच्छवीकालीन नै मानिन्छ । यसबाट लिच्छवीकालमा शक्तिधर्मको पनि जत्तिक्कै विकास भएको देखिन्छ ।  मध्यकालमा पनि शक्ति पूजाको यो प्रतिष्ठा यथावत देखिन्छ । अझ उपत्यकामा तलेजू भवानीको मूर्ति ल्याउने कर्णाट वंशी राजा हरिसिंहदेवको नाम वंशावलीमा भएकोले संभवत : नेपालको तराई भेक त्यसबेला शक्तिकेन्द्रको प्रमुख स्थल थियो भन्न सकिन्छ । मल्लराजाकी इष्टदेवी यी तलेजु भवानी थिइन । त्यसैले तीनवटै राजदरबारमा तलेजु मन्दिर निर्माण गरिएको थियो । 

मल्ल राजाहरुले श्री तलेजुमाजु, श्री कुमारीमाजु उपाधि लिएकोबाट पनि मल्ल राजाहरु शक्तिका उपासक थिए भन्ने प्रमाणित हुन्छ । मल्लकालमै विभिन्न शक्तिदेवीका मन्दिर र मूर्ति बनेको हुनाले धर्मको प्रभाव यहाँ व्यापक देखिन्छ । मल्लकालमा स्थापित मन्दिरमा दक्षिणकाली, गुह्येश्वरी, भद्रकाली, साँखुको बज्रयोगिनी र चापागाउँको बज्रबाराहीलाई उदाहरणका रुपमा लिन सकिन्छ ।

 यी शक्तिपीठहरुमा पूजा प्रार्थना गर्ने परम्पराले नेपालको आफ्नो धार्मिक मौलिकता प्रमाणित हुन्छ ।  विभिन्न पर्वहरूमा शक्तिपीठको पूजाको साथसाथै नेपालीको सर्वाधिक महत्वपूर्ण चाड दशैँमा ९ दिनसम्म नवदुर्गाको पूजापाठ गर्ने परम्पराले शक्ति धर्मको लोकप्रियताको बारेमा अनुमान गर्न सकिन्छ । दशैँमा विभिन्न देवीहरूको प्रार्थनाबाट नराम्रा तत्वहरुमाथि विजय शक्ति प्राप्त हुने विश्वास रहेकाले दशैँको महत्व गरिमामय बनेको हो ।  

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ६ : ५२ बजे

परराष्ट्रमन्त्रीले भनिन्- हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफल

काठमाडौ– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि

गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी- इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि

‘जलवायु सङ्कट समाधानमा साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत बनाउन सकिन्छ’

काठमाडौ– नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाँडामा ३० फिट

प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले जलवायु परवर्तनको असर रोक्न