विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक ३ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर २०, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ४ हजार १३७ पुग्यो

इजरायलले प्यालेस्टिनी एन्क्लेभमा बमबारीपछि गाजा पट्टीमा कम्तिमा ४ हजार १३७ व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

यसैगरी अक्टोबर ७ देखि जारी इजरायली हमलामा १३ हजार १६२ जना घाइते भएको मन्त्रालयले उल्लेख गरेको छ ।

यसअघिको विज्ञप्तिमा मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्र कम्तीमा तीन सय २४ जना मारिएको जनाएको थियो ।

महासचिव गुटेरेस र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच अन्न करिडोरबारे छलफल

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेस र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच कृष्ण सागर सीमा नजिक वैकल्पिक ‘अन्न कोरिडोर’ बारे छलफल भएको छ । राष्ट्रपतिको प्रेस सेवाले बिहीबार यस बारे जानकारी गराएको छ ।

कुराकानीका क्रममा राष्ट्रपति जेलेन्स्कीले गुटेरेसलाई ‘अनाज कोरिडोर’ को कामको प्रगतिका बारेमा जानकारी दिएको र गत नोभेम्बरमा शुरु गरिएको मानवीय खाद्य कार्यक्रम युक्रेनबाट अन्न कार्यक्रमको महत्त्व बारे छलफल भएको बताइएको छ ।

युक्रेनले कृष्ण सागरमा अस्थायी करिडोर मार्फत गत महिना लगभग ५० हजार टन सामानहरू निर्यात गरेको थियो । युक्रेनले ब्ल्याक सी ग्रेन इनिसिएटिभको विकल्पको रूपमा यसलाई स्थापित गरेको छ ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनबाट अनाज कार्यक्रम अन्तर्गत खाद्य सुरक्षा सम्बन्धी दोस्रो शिखर सम्मेलनमा भाग लिन गुटेरेसलाई निमन्त्रणा दिएका छन् ।

श्रीलङ्कामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, तीस घाइते

मध्य श्रीलङ्काको बदुल्ला जिल्लामा शुक्रबार यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ३० जना घाइते भएका छन् ।

सरकारद्वारा सञ्चालित बस सडकबाट १०–१५ फिट तल खसेर दुर्घटना भएको र घाइतेहरूलाई नजिकैको स्थानीय अस्पतालमा लगिएको पनि प्रहरीले जनाएको छ ।

उत्तर पश्चिमी प्रान्तमा बिहीबार बस भिरबाट खस्दा दुर्घटना हुन गई एक जनाको मृत्यु तथा १८ जन घाइते भएका थिए ।

युक्रेनले लडाकु विमान प्राप्त गर्दै

युक्रेनले सन् २०२४ मा एफ-१६ लडाकु विमान प्राप्त गर्ने भएको छ । विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशले सन् २०२४ को पहिलो छ महिनामा एफ–१६ लडाकु विमान प्राप्त गर्न सक्ने बताएका हुन् ।

“मलाई लाग्छ यो अर्को वर्षको पहिलो छ महिनामा हुनेछ”, उनको भनाइ उद्धृत गर्दै इन्टरफ्याक्स–युक्रेन समाचार संस्थाले जनाएको छ । उचित पूर्वाधारको व्यवस्था गरिसकेपछि र युक्रेनी पाइलटहरूले तालिम लिइसकेपछि युक्रेनले एफ–१६ जेटहरु प्राप्त गर्ने उनले बताए ।

गत हप्ता युक्रेनी सेनाका प्रवक्ता युरी इग्नाटले बताए अनुसार युक्रेनी पाइलटहरूले केही हप्तामा वास्तविक एफ–१६ जेटमा प्रशिक्षका साथ उडान सुरु गर्ने जानकारी दिएका थिए । नेदरल्यान्ड्स, डेनमार्क,नर्वे र बेल्जियमले रुससँग द्वन्द्वका बीच युक्रेनलाई उसको लडाकु विमानको अवस्थालाई उन्नत बनाउन एफ–१६ लडाकू विमान हस्तान्तरण गर्ने वाचा गरेका थिए ।

यसैबीच युक्रेनले स्थायी रुपमा अमेरिकाबाट स्थायी रूपमा एटीएसीएमएस लामो दूरीका क्षेप्यास्त्रहरु प्राप्त गर्ने भएको छ । सरकारी समाचार समिति युक्रेनफर्मले बिहीबार विदेशमन्त्री कुलेबालाई उद्धत गर्दै उक्त कुरा बताएको हो ।

युक्रेनलाई एटीएसीएमएसको आपूर्ति सम्झौता गत महिनामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भएको कुलेबाले बताए । “सम्झौता सम्पन्न गर्न र हाम्रो मार हान्ने क्षमतालाई सुदृढ बनाउनका लागि हामी अमेरिकाको सराहना गर्छौँ”, पहिला नै प्राप्त मिसाइलको सङ्ख्या उल्लेख नगरी मन्त्री कुलेबाले भने ।

एटिएसीएमएस अमेरिकी प्रतिरक्षा कम्पनी लकहिडद्वारा निर्मित सामरिक ब्यालेस्टिक मिसाइल हो । यसको मार हान्ने क्षमता करिब तीन सय किलोमिटरसम्म रहेको बताइएको छ ।

इटालीकी प्रधानमन्त्रीद्वारा आफ्नो पार्टनरबाट अलग भएको घोषणा

इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले शुक्रबार आफ्नो पार्टनरबाट अलग भएको घोषणा गरेकी छिन् । आफ्ना पार्टनरले भद्दा टिप्पणी गर्दै प्रेम प्रसङ्गको कुरा स्वीकार गरेपछि आफूले अलग रहने घोषणा गरेको उनले बताइन् ।

“करिब १० वर्षदेखिको एन्ड्रिया जियाम्ब्रुनोसँगको मेरो सम्बन्ध यहीँ समाप्त हुन्छ”, आफूहरूको बाटो केही समयका लागि अलग भएको उल्लेख गर्दै प्रधानमन्त्री मेलोनीले सामाजिक सञ्जालमा भनेकी छिन् ।

टेलिभिजन प्रस्तोता जियाम्ब्रुनोले रेटे ४ कमर्सियल स्टेसनमा आफ्नो टक शो ‘डाइरियो डेल जिओर्नो’ (डेली डायरी) को अफ–एयरमा महिला सहकर्मीमाथि खुलेर यौन र यौनवादी टिप्पणी गरेको फेला परेपछि प्रधानमन्त्री मेलोनीको उक्त घोषणा आएको हो ।

“तिमीलाई कस्तो छ डार्लिङ, के तिमीलाई थाहा छ (नाम परिवर्तन गरिएको) र मेरो अफेयर चलिरहेको छ ? सबै टेलिभिजन कम्पनीलाई यो थाहा छ र अब तिमीलाई पनि थाहा छ”, एक महिलासँग उनले कुरा गरेको सुनिन्छ ।

“तर हामी तेस्रो व्यक्ति खोजिरहेका छौँ किनभने हामी तीन जना गर्छौँ, चार जना पनि गर्छौँ, के तिमी हाम्रो कार्य समूहको हिस्सा बन्छ्यौ ?”, मङ्गलबार र बिहीबार विभिन्न टेलिभिजन च्यानलमा प्रसारित टिप्पणीमा उनको भनाइ सुनिन्छ ।

छयालीस वर्षीया मेलोनीले यसै साता दक्षिणपन्थी सरकारको प्रमुखका रूपमा एक वर्ष पूरा गर्दै छिन् । उनको पार्टीले परम्परागत पारिवारिक मूल्यमान्यताको दृढतापूर्वक बचाउ गर्छ ।

अगस्टमा आफ्नो टक शोमा बलात्कारका बारेमा गरेको टिप्पणीलाई लिएर पीडितलाई दोषी भनेको आरोप लागेपछि जियाम्ब्रुनोको बचाउका लागि प्रधानमन्त्री मेलोनी बाध्य भएकी थिइन् ।

क्यानाडाले भारतबाट ४१ कूटनीतिज्ञलाई फिर्ता बोलायो

क्यानाडा र भारतबीच जारी विवादका कारण क्यानाडाले भारतबाट ४१ कूटनीतिज्ञ र उनीहरूको परिवारका ४२ सदस्यलाई फिर्ता बोलाएको क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले घोषणा गरेकी छिन् ।

“अहिलेसम्म भारतले अक्टोबर २० शुक्रबारसम्ममा नयाँ दिल्लीमा रहेका २१ क्यानाडाली कूटनीतिज्ञ र आश्रितबाहेक सबैलाई अनैतिक रूपमा कूटनीतिक उन्मुक्ति हटाउने उसको योजनाबारे औपचारिक रूपमा बताएको म पुष्टि गर्न सक्दछु, यसको अर्थ ४१ क्यानाडाली कूटनीतिज्ञ र तिनीहरूका ४२ आश्रितमाथि कुनै मनमानी मितिमा उन्मुक्ति हटाउने खतरा थियो र यसले उनीहरूको व्यक्तिगत सुरक्षा जोखिममा पर्नेछ”, क्यानाडाली कूटनीतिज्ञहरूको प्रस्थानको पुष्टि गर्दै मन्त्री जोलीले भनिन् ।

दुई मुलुकबीच जारी कूटनीतिक विवादका कारण ‘समानता’ को माग गर्दै भारतले क्यानाडाको भिसा सञ्चालन निलम्बनसँगै भारतमा क्यानाडाली कूटनीतिज्ञहरू कटौती गर्न आह्वान गरेपछि क्यानाडाली कूटनीतिज्ञहरूलाई फिर्ता बोलाइएको हो । “भारतबाट उनीहरूको सुरक्षित फिर्तीका लागि हामीले सहज बनाएका छौँ, यसको अर्थ अब हाम्रा कूटनीतिज्ञ र उनीहरूका परिवारले कूटनीतिक छुटलाई परित्याग गरेका छन्, उनीहरू जहाँबाट आएका भए पनि र जहाँ पठाइए पनि कूटनीतिज्ञहरूलाई सुरक्षित राखौँ, प्रतिरक्षाले कूटनीतिज्ञहरूलाई उनीहरूको देशबाट प्रतिशोध वा गिरफ्तारीको भयबिना आफ्नो काम गर्न अनुमति दिन्छ”, मन्त्री जोलीले भनिन् ।

“तिनीहरू कूटनीतिको मूलभूत सिद्धान्त हुन् र यो दुईतर्फी बाटो हो, प्रत्येक देशले नियमको पालना गर्दा मात्र काम गर्छ, कूटनीतिक विशेषाधिकार र उन्मुक्तिको एकतर्फी खारेज अन्तर्राष्ट्रिय कानूनविपरीत हो, यो कूटनीतिक सम्बन्धमा भियना महासन्धिको स्पष्ट उल्लङ्घन हो र यस्तो गरेर धम्की दिन अव्यावहारिक र तनावपूर्ण हो”, उनले भनिन्, “यदि हामीले कूटनीतिक प्रतिरक्षाका मानकलाई उल्लङ्घन गर्न दियौँ भने पृथ्वीमा कुनै पनि कूटनीतिज्ञ सुरक्षित हुने छैन ।”

उनले यसबारे क्यानाडाले ‘त्यस्तै व्यवहार’ नगर्ने बताइन् । आप्रवासन, शरणार्थी र नागरिकमन्त्री मार्क मिलरसँगै मन्त्री जोलीले ‘भारतसँगको स्थिति’ माथि विकसित घटनाक्रमबारे घोषणा गर्दै कूटनीतिज्ञहरूको फिर्तीपछि क्यानाडाले दिने सेवा वितरणमा यसको कस्तो प्रभाव पर्नेछ भन्ने बारे जानकारी गराए ।

“भारतको यो निर्णयले दुवै मुलुकका नागरिकलाई सेवाको स्तरमा कुनै असर पर्नेछैन, दुर्भाग्यवश हामीले चन्डीगढ, मुम्बई र बेङ्गलोरमा हाम्रा वाणिज्य दूतावासका सबै व्यक्तिगत सेवा रोक्नुपर्यो”, उनले भने, “कन्सुलर सहयोग आवश्यक पर्ने क्यानाडालीहरूले अझै पनि दिल्लीस्थित हाम्रो उच्चायोगमा जान सक्नुहुन्छ, तपाईँले अझै पनि फोन र इमेलमार्फत व्यक्तिगत सेवा लिन सक्नुहुन्छ ।”

डुङ्गाको तीव्र गतिका कारण उत्तर एटलान्टिकमा पाइने ‘राइट ह्वेल’ खतरामा

अमेरिकाको पूर्वी तटमा रहेका अधिकांश ठूला डुङ्गाहरू उत्तर एटलान्टिक महासागरमा चल्दा ‘राइट ह्वेल’ को सुरक्षामा खतरा देखिएको छ ।

करिब ३४० वटा मात्र बाँकी ‘राइट ह्वेल’ का लागि बनाइएका ‘स्लो जोन’ मा तीव्र गतिमा गुड्ने डुङ्गाले ठक्कर दिँदा घाइते हुने वा मृत्युसमेत हुनेगरेको रिपोर्ट आएको छ ।

गैरनाफामूलक संस्था ओसियानाद्वारा बिहीबार प्रकाशित डुङ्गाहरूको अनुगमन तथ्याङ्कमा आधारित नयाँ विश्लेषणअनुसार यो प्रजातिलाई लोप हुनबाट जोगाउन कडा सुरक्षा र अधिक प्रवर्तनको लागि आह्वान गरिएको छ ।

ओसियानाका अभियान निर्देशक गिब ब्रोगनले भने, “डुङ्गाहरू तीव्र गतिमा ओहोरदोहोर गरिरहेका र यसले ह्वेलहरू मरिरहेका छन् ।”

ह्वेल प्रजातिका लागि मृत्युको दुई प्रमुख कारणमध्ये माछा मार्ने जाल वा बल्छीसँगै डुङ्गाको ठक्कर पनि एक हो । ठक्करहरूले ह्वेलका शरीरमा लाग्ने चोट वा उनीहरूका पखेटा भाँचिने र असहाय भई मर्ने गरेका रिपोर्टहरू बाहिरिएका छन् ।

सन् २००८ देखि अमेरिकाको ‘नेशनल ओशनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसन (एनओएए)’ ले ह्वेलको उपस्थिति हुने सम्भावना भएका क्षेत्रमा ६५ फिट (१९.८ मिटर) वा सोभन्दा लामो दूरीका जहाजका लागि गति सीमा तोकेको छ ।

तर, सन् २०२० को नोभेम्बरदेखि सन् २०२२ को जुलाईसम्म ८४ प्रतिशत अनिवार्य क्षेत्र र ८२ प्रतिशत स्वेच्छिक क्षेत्रहुँदै यात्रा गरेको संकलित तथ्याङ्कले देखाएको छ ।

“यो सरकारबाट न्यूनतम जरिवानाको जोखिम र बन्दरगाहमा निर्धारित समयभन्दा आफ्नो कार्गो ढिलो पुग्दा लाग्ने जरिवानालाई जोगाउनको लागि जहाजले लिने उच्च गतिका कारण ‘राइट ह्वेल’ असुरक्षित बनेको मछुवाहरूले बताएका छन्,” ब्रोगनले एएफपीसँग भने ।

नोभेम्बर २०२१ देखि जुलाई २०२२ सम्म गरिएको गति सीमाभन्दा बढी नौ हजार ३५८ जहाजले यात्राको गतिको सीमा उल्लङ्घन गरेकोमा एनओएएले केवल ४६ वटा जहाजहरूलाई मात्र जरिवाना तिराएको थियो । उनीहरूलाई औसत १५ हजार ६०० अमेरिकी डलर जरिवाना तोकिएको थियो ।

६० फिट (१८ मिटर) लम्बाइसम्म बढ्न सक्ने र मानवसरहको आयु हुने ‘राइट ह्वेल’को सङ्ख्या कुनै समय २० हजारसम्म पुगेको अनुमान गरिएको छ ।

यो प्रजातिमा पाइने बाक्लो बोसो र प्लास्टिक सहज रूपमा नपाइने समयमा यसको विकल्पका रूपमा प्रयोग गरिने भएकोले ह्वेल शिकारीहरूको छनोट ‘राइट व्हेल’ नै हुन्थ्यो किनकि यसबाट उनीहरूले मनग्गे पैसा कमाउँथे ।

बिसौँ शताब्दीको मध्यसम्ममा उत्तरी एटलान्टिक महासागरमा राइट ह्वेलको व्यावसायिक शिकारमा प्रतिबन्ध लगाइएको थियो, जसले गर्दा सन् २०१० सम्ममा उनीहरूको सङ्ख्यामा ४८३ पुगेको थियो । तथापि, सन् २०१७ देखि तिनीहरूले ‘असामान्य मृत्युदर’ अनुभव गरिरहेका छन् ।

गत फेब्रुअरीमा मध्य एटलान्टिक भर्जिनिया तटमा २० वर्षीय एक युवा ह्वेलको मेरुदण्ड भाँचिएको अवस्थामा समुद्रमा डुबेर मृत्यु भएको थियो ।

जनसङ्ख्या पहिले देखि नै यति कम भएकोले, थोरै मृत्युले पनि उनीहरूको सङ्ख्यामा नकारात्मक असर देखिन सक्छ ।

ह्वेलको बच्चा जन्माउने दर पनि आमाहरूमा दीर्घकालीन तनावको परिणामस्वरूप कम भएको छ, र जलवायु परिवर्तनको परिणामस्वरूप उनीहरूको परम्परागत खाना सङ्कलनका लागि डुल्ने आधारहरू परिवर्तन भइरहेका छन् ।

ओसियानाको रिपोर्टले ह्वेलको हालको वितरणलाई प्रतिबिम्बित गर्न ढिलो–क्षेत्रहरू अद्यावधिक गर्न, स्वैच्छिक गति सीमाको अन्त्य गर्न र ३५ फिट लामो जहाजहरूमा सुरक्षा नियमहरू विस्तार गर्न आह्वान गरेको छ ।

ब्रोगनले भने, “‘राइट ह्वेल’ प्रजातिहरू बचाउन हामीले के गर्न आवश्यक छ थाहा छ । त्यसैले उनीहरूको सुरक्षाका लागि यो उपाय अवलम्बन गर्नु आवश्यक छ र उनीहरूको सङ्ख्या बढाउनु आवश्यक छ ।”

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ८ : ०४ बजे

संविधानमा उल्लेखित प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम हुन थाल्यो : अध्यक्ष पोखरेल

काठमाडौं– नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले नेपालको संविधानमा उल्लेख

सिनियर अहेब कोइरालालाई भ्रष्टाचार मुद्दामा सफाइ, पुगेन अख्तियारको दाबी

काठमाडौं- गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगसहित भ्रष्टाचार मुद्दा चलाइएका

तयारी पोशाक निर्यातका विषयमा सरकार गम्भीर छ : मन्त्री भण्डारी 

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद, २३ करोड जरिवाना

काठमाडौं – नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन

अङ्ग्रेजी भाषामा पठनपाठन सुरु भएपछि सामुदायिक विद्यालयमा विद्यार्थी बढे

सुदूरपश्चिम– अङ्ग्रेजी माध्यममा पठनपाठन हुन थालेपछि बढेको आकर्षणसँगै कैलालीका सामुदायिक