अन्तर्राष्ट्रिय

उडेको जहाजमा जन्मने शिशु कुन देशको नागरिक हुन्छ ?

By खबरहब

November 20, 2023

अन्तर्राष्ट्रिय उडानमा गर्भवती महिलाले बच्चालाई जन्म दिनु निकै दुर्लभ घटना मानिन्छ । यदि केही गरी गर्भवती महिलाले यस्तो उडानमा बच्चालाई जन्म दिइन भने त्यो अवस्थामा के होला भन्ने विषयमा विभिन्न तर्क कुतर्क प्रचलनमा छन । बच्चाको राष्ट्रियताबारे विभिन्न मुलुकका आ–आफ्नै सिद्धान्त रहेका छन् ।

उदाहरणका लागि अमेरिकी आकाशमा कोही बच्चाको जन्म हुन्छ भने त्यस बच्चालाई स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने हक हुन्छ । किनभने नागरिकतासम्बन्धी अमेरिकी सिद्धान्त जुल सोली अर्थात् ‘माटोको अधिकार’ मा आधारित रहेको छ । यसमा अमेरिकी आकाश र अमेरिकी जलक्षेत्र पनि समावेश रहेको छ ।

अमेरिकी काननुअनुसार अमेरिकी माटोमा जन्मने जो कोहीले राष्ट्रपतिमा चुनाव लड्ने सम्मको हैसियत प्राप्त गर्छ । विश्वमा विभिन्न मुलुकहरुको नागरिक प्रदानगर्ने पद्दती फरक–फरक हुन्छ । केही मुलुकहरुले नागरिकताका लागि बच्चाको जन्म भएको स्थान (जुस सोली) लाई प्राथमिकता दिन्छन् भने केही मुलुकहरुले बच्चाको मातापिताको नागरिकता (जुस सान्गुइनिस) लाई बैधानिकता दिन्छन् ।

त्यसविपरीत केही मुलुकहरुले नागरिकताका लागि जुस सान्गुइनिस अर्थात् ‘रगतको अधिकार’ सिद्धान्त अपनाएका छन् । यसअनुसार नागरिकता भएका आमाबाबुबाट जन्मेको बच्चाले मात्रै त्यस मुलुकको नागरिकता दाबी गर्न सक्छ । उदाहरणका लागि बेलायती भूमिमा गैर बेलायती आमाबाबुबाट जन्मेको बच्चालाई बेलायती नागरिकता स्वतः दाबी गर्ने हक हुँदैन । बेलायती नागरिकता वा बेलायतमै रहने अधिकारप्राप्त आमाबाबुबाट जन्मेको बच्चाले मात्रै बेलायती नागरिकतामा अधिकार जमाउन सक्छ ।

यता, अर्जेन्टिना, ब्राजिल, मेक्सिको जस्ता मुलुकले आफ्नो हवाई क्षेत्रमा जन्मेका बच्चालाई जन्मसिद्ध नागरिकता प्रदान गर्दछन् । अब प्रश्न उठ्छ, अन्तर्राष्ट्रिय आकाशमा वा कुनै मुलुकको सार्वभौमिकता नपर्ने हवाई क्षेत्रमा जन्मेको बच्चाको नागरिकता चाहीँ के हुन्छ ? यसमा उडान भरिरहेको जहाज कुन मुलुकमा दर्ता भएको हो, त्यसमा निर्भर हुन्छ । आकाशमा उडान भर्ने हरेक जहाज कुनै न कुनै मुलुकमा दर्ता भएका हुन्छन् ।

राष्ट्रियता विहीनता घटाउने संयुक्त राष्ट्रसंघीय अभिसन्धिअनुसार अन्तर्राष्ट्रिय उडानमा जन्मेको बच्चा राष्ट्रियताविहीन हुने अवस्था आएको खण्डमा उडान भरेको जहाज जुन मुलुकमा दर्ता भएको हो, उक्त बच्चाले त्यही मुलुकको नागरिकता प्राप्त गर्दछ ।

अन्तर्राष्ट्रिय नियम कानुन जे जस्तो भएपनि अन्तर्राष्ट्रिय उडानमा बच्चाको जन्म हुनु निकै दुर्लभ घटना हो । अधिकांश हवाई सेवा कम्पनीहरुले सुत्केरी हुन लागेका गर्भवती महिलाहरुलाई उडान भर्न बन्देज लगाएका छन् । एक शताब्दीको रेकर्डमा उडिरहेको जहाजमा केबल ७५ जना बच्चाको मात्रै जन्म भएको छ ।