‘युट्युबर’का नेता भन्छन्- अब ‘टिकटक पत्रकारिता’ले खान्छ ! | Khabarhub Khabarhub

‘युट्युबर’का नेता भन्छन्- अब ‘टिकटक पत्रकारिता’ले खान्छ !

'८० को दशक अनलाइन टीभी पत्रकारिताको हो'


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 8 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

‘युट्युबे’ भन्दै सबैले निन्दा गरिरहेकै बेला २०७६ साल माघ २४ गते काठमाडौंको अल्फाबेटामा ७५ जना युट्युबरहरु भेला भए। त्यहीँबाट उनीहरुले स्थापना गरेको ‘अनलाइन टीभी पत्रकार संघ’मा अहिले देशभरका ५ सय युट्युबरहरु आवद्ध भइसकेका छन्। दाङ, सुर्खेत, बाँके, मोरङ, सुनसरी, झापा, इलाम लगायतका ११ जिल्लामा शाखा खुलेका छन्। पत्रकार महासंघको एशोसिएट सदस्यताका लागि उनीहरुले दाबी गरिरहेका छन्। साथै युट्युबरहरुको दोस्रो राष्ट्रिय सम्मलेनको पनि तयारी भइरहेको छ।

युट्युबरलाई अराजक बन्नबाट रोक्न र व्यवसायिक पत्रकारिताको दायरामा ल्याउन भन्दै संघले ‘अनलाइन टीभी स्वनियम निर्देशिका’ समेत जारी गरेको छ।

संघले बनाएको नियममा आधारित भएर युट्युबमा सामग्री प्रस्तुत नगर्ने र जथाभावी कन्टेन्ट पोष्ट गर्ने ५० भन्दा बढी युट्युबरहरु प्रहरीको साइबर ब्यूरोमा तारेख धाइरहेका छन् भने केही थुनामा छन्। कतिपयका युट्युब च्यानलहरु सरकारले बन्द गरिदिएको छ।

आखिर युट्युबरहरुको संस्था किन खुल्यो ? यसको उद्देश्य र तर्क के हो ? मूलधारको पत्रकारितामा युट्युबरहरु साधक बनिरहेका छन् कि बाधक ? अबको पत्रकारितामा युट्युबरहरुको स्थान के होला ? अनलाइन टीभीका नाममा बढ्दै गएको विकृति र अव्यवसायिकतालाई रोक्न के गर्नुपर्ला ? यिनै समसामयिक विषयमा आधारित भएर अनलाइन टीभी पत्रकार संघका केन्द्रीय अध्यक्ष जीवन भण्डारीसँग गरिएको कुराकानी :

तपाई रेडियोमार्फत मूलधारको पत्रकारिता गरिरहेको मान्छे, एक्कासी युट्युबरलाई एकीकृत गरेर संगठन नै बनाउने सोचाइ कसरी आयो ?
मैले बुटवलबाट रेडियोमा काम गर्दा दैनिक समाचार लेख्थेँ। हरेक बुलेटिनमा हामीले २०–३० वटा समाचार लेख्नैपर्ने हुन्थ्यो। पत्रिकाका साथीहरु दिनमा एउटा अझ कतिपय त दुई–तीन दिनमा एउटा समाचार लेख्थे। उनीहरु चाहिँ मूलधारको पत्रकारमा गनिने तर हामी बिहानदेखि साँझसम्म रेडियोमा समाचार लेख्ने, लाइभ रिपोर्टिङ गर्नेलाई चाहिँ पत्रकार नमान्ने रे ! पत्रकार महासंघमा सदस्यता लिन कोटा छुट्याएको जस्तो गरियो। रेडियोमा काम गर्नेलाई ‘आरजे’ भनेर विभेदपूर्ण नजरले हेरिन्थ्यो। रेडियोकर्मीलाई पत्रकार नमानेको कुरा मनमा थियो। यही समस्या युट्युब पत्रकारलाई परेको छ जस्तो भयो।

‘अबको दशक युट्युबर अर्थात् अनलाइन टीभीको हो। युट्युबरहरु टिकटकतिर सिफ्ट भइरहेका थिए, अब फेसबुक रिलतिर सर्दैछन्। अबको पत्रकारिता क्ल्पि पत्रकारिता हुनेछ। अब मूलधारका मिडिया र वरिष्ठ पत्रकारहरु पनि युट्युबको प्लेटफर्ममा आउन थालेका छन्।’

केही समयअघिसम्म अनलाइन न्युज पोर्टलका पत्रकारलाई पनि ‘डटकम पत्रकार’ भनेर होच्याउने गरिन्थ्यो। त्यो ‘बुलिङ’को सिकार म पनि भएको थिएँ। अनलाइनका पत्रकारलाई प्रेस पास उपलब्ध थिएन। तिमीहरू जे पायो त्यही लेख्छौ, समाचार हटाउछौ भन्ने आरोप हुन्थ्यो। अनलाइनलाई पत्रिका नै मान्न सकिँदैन भन्ने कुरा आउँथ्यो। अहिले अनलाइन मूलधारमा छ।

पछिल्लो समय युट्युबरले मूलधारका मिडियाहरु नपुगेका, ओझेलमा परेका विषयवस्तु समेटेका छन्। मानवीय रुचीका विषय उनीहरुले समेटेका छन्। मूलधारका मिडियामा भन्दा मानिसको चासो युट्युबमा हुन थालेको छ। उनीहरुले नै ओझेलका प्रतिभालाई उजागर गरेका छन्। हाम्रा कला संस्कृति एवं पर्यटन क्षेत्रको उनीहरुले नै प्रचार गरेका छन् । पत्रकारितामार्फत गरिने कुरा उनीहरुले सबै गरेका छन्। तैपनि उनीहरूलाई युट्युबमा कन्टेन्ट हालेकै कारण पत्रकार गनिँदैन। युट्युबमा कन्टेन्ट राख्नेलाई पनि पत्रकार मान्नुपर्छ भन्दा कसैले सकारात्मक लिएको अवस्था छैन।

तर, अबको दशक अनलाइन टीभी (युट्युब पत्रकारिता) पत्रकारिताले खान्छ।उनीहरुलाई स्वीकार गर्नुपर्छ। तर, उनीहरुका लागि मापदण्ड त बनाउनैपर्छ। नियमन गर्ने कुरा त स्वभाविक हो। यो कुराको महसुस गरेर नै अनलाइन टिभीकर्मीलाई पत्रकारका रुपमा स्थापित गराउनुपर्छ भनेर म लागेको हुँ। यसका लागि के–के शर्त मान्नुपर्ने हो, त्यो मान्न युट्युबरहरु तयार हुनुपर्छ। उनीहरु पनि व्यवसायिक हुनुपर्छ। पत्रकारिताका शर्तहरु छन्। त्यसलाई अंगिकार गर्नुपर्छ। जस्तै– सन्तुलित हुनुपर्यो। विश्वसनीय हुनुपर्यो। पत्रकारिताका सबै चरणहरु पूरा गर्नुपर्यो। राज्यको संविधान मान्नुपर्यो। यी कुरा मान्न तयार भएपछि उनीहरुलाई पत्रकार त स्वीकार गर्नुपर्छ।

युट्युबरहरुको संगठनले अहिले के कस्ता काम गरिरहेको छ ?
अहिले केही साथीहरु पत्रकार महासंघको एसोसिएट शाखा बनौंभन्दै हुनुहुन्छ। मचाहिँ हामी आफैँ आत्मनिर्भर छौं भनिरहेको छु। हामीले पहिलो वार्षिकोत्सको सधारणसभाबाट पारित गरेर ‘अनलाइन टीभी स्वनियम निर्देशिका’ जारी गर्यौं। यो नेपालमा त हुँदै हो, विश्वमै पनि नौलो, उन्नत र नयाँ अभ्यास हो। विश्वको पनि कमै देशमा यस्तो छ। युट्युब कन्टेन क्रिएटरहरुको संस्था बनाएको त मलाई लाग्छ, नेपालमै पहिलो हो। अरु देशमा हामीले अहिलेसम्म जानकारी पाएका छैनौं।
सोही निर्देशिका बमोजिम साथीहरुलाई घच्घच्याउने, कार्यान्वनको आग्रह गर्ने, ध्यानाकर्षण गराउने र सचेतना जगाउने भनेर सरकार र प्रेस काउन्सिललाई घच्घच्याउने काम गरिरहेका छौं। अहिले विशेष गरी हामी नीतिगत काम र साथीहरुको संरक्षणमा क्रियाशील छौं।

के-के शर्त मान्नुपर्ने हो, त्यो मान्न युट्युबरहरु तयार हुनुपर्छ। उनीहरु पनि व्यवसायिक हुनुपर्छ। पत्रकारिताका शर्तहरु छन्। त्यसलाई अंगिकार गर्नुपर्छ। जस्तै- सन्तुलित हुनुपर्यो। विश्वसनीय हुनुपर्यो। पत्रकारिताका सबै चरणहरु पूरा गर्नुपर्यो। राज्यको संविधान मान्नुपर्यो। यी कुरा मान्न तयार भएपछि उनीहरुलाई पत्रकार त स्वीकार गर्नुपर्छ।

‘साथीहरुको संरक्षण’ भन्नुभयो, अहिले युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ। यो समस्या किन आयो ?
अब हामीले बढी गर्नु परेको काम नै यही छ। तर, कसैले अनलाइन चलाएको छ र फरक नामको युट्युब चलाएको छ भने हामीले त्यसलाई मिडियाकै रुपमा लिने गरेका छौं। त्यसलाई पत्रकारिताको माध्यमकै रुपमा लिने गरेका छौं। त्यस्ता क्रिएटरको सवालमा साइबर ब्युरो होइन, प्रेस काउन्सिलले हेर्नुपर्छ भन्ने हाम्रो मान्यता छ।

यसमा सरकारी निकायको प्रतिक्रिया चाहिँ के छ ?
यसमा सरकारको नीति नियम केही छैन। अनलाइन र युट्युबको फरक नाम भए पनि हामीले प्रहरीलाई आजसम्म मनाउँदै आएका छौं। तर, हाम्रा साथीहरुको युट्युबमा मात्र ध्यान भएका कारण अनलाइन नवीकरण नगर्ने र कानुनी प्रक्रिया पूरा नगरेका कारणले हाम्रा केही साथीहरु प्रहरीको पञ्जामा छन्। यही कारण तारेख भोगिरहेका साथीहरु ५० औं जना छन्। केही साथीहरुको युट्युब प्रहरीले बन्द गराएको छ।

तपाईंहरुको संस्था २०७७ सालमै खुलेको हो। अहिलेसम्म आइपुग्दा युट्युबरका कन्टेन्टमा केही सुधार आएको छ कि झनै विकृति बढिरहेको छ?
धेरै परिवर्तन छ। त्यसबेलाको भन्दा विकृतिमा पनि कमी आएको छ। यसमा हाम्रो आग्रहले पनि काम गरेको होला। अर्को, उहाँहरुले पनि सिक्दै जानुभयो होला। केही युट्युबबाट अन्य सामाजिक सन्जालमा पनि सिफ्ट हुनुभयो होला। विभिन्न कारण होलान, तर युट्युबको विकृतिमा धेरै कमी भएको छ।

अहिले मलाई पनि धेरै साथीहरुले यस्तो कन्टेन्ट हाल्दा के हुन्छ, कस्तो हुन्छ, यो व्यक्तिको अन्तर्वार्ता लिँदा के हुन्छ भनेर सोध्नु हुन्छ। सिक्नुपर्छ र व्यवसायिकरुपले अगाडि बढ्नुपर्छ भन्ने साथीहरुको संख्या बढ्दो छ। कतिपय चाहिँ पैसा बाहेक केही होइन भन्ने पनि छन्। उनीहरुले कानुनी झमेला पनि बोक्नुपरेको छ। गल्ती सच्याउनेहरुलाई संरक्षण गरे पनि दोहोर्याइरहनेलाई केही गर्न सकिँदैन। अञ्जानमा गल्ती गरेकाहरुलाई सच्चिने मौका दिनुपर्छ भन्ने हाम्रो मान्यता हो। तर, जानीजानी गल्ती गर्नेहरुको पनि संख्या छ। तिनीहरुलाई अलिकति दबाब दिने, प्रेस काउन्सिललाई सम्झाउन लगाउने गरेका छौं। उनीहरुले साइबर ब्युरो र प्रेस काउन्सिलसँग एकदमै डर मान्छन्।

अञ्जानमा गल्ती गरेकाहरुलाई सच्चिने मौका दिनुपर्छ भन्ने हाम्रो मान्यता हो। तर, जानीजानी गल्ती गर्नेहरुको पनि संख्या छ। तिनीहरुलाई अलिकति दबाब दिने, प्रेस काउन्सिललाई सम्झाउन लगाउने गरेका छौं। उनीहरुले साइबर ब्युरो र प्रेस काउन्सिलसँग एकदमै डर मान्छन्।

हाम्रो निर्देशिकालाई न्यूनतम पनि नमान्ने र संरक्षण नै गर्न नसकिने पनि घटना भएका छन्। हामीले हाम्रो निर्देशिका पढ, त्यो भन्दा बाहिर गएर काम गरे संरक्षण गर्न सक्दैनौं भनेर विभिन्न माध्यमबाट सचेत गराएका छौं। काठमाडौं बाहिरका साथीहरुले एकदमै चासो राख्नु भएको छ। उहाँहरुले भरोसा गर्ने केन्द्रको रुपमा पनि हामीलाई लिएको पाइन्छ।

तपाईंले युट्युबरको पक्षमा लाग्दा कस्ता–कस्ता आरोपको सामान गर्नुपर्यो ?
युट्युबेलाई पत्रकार बनाउन खोजिस्, तेरो निधारमा कालो दाग लाग्यो, तँलाई हामीले राम्रो पत्रकार मानेका थियौं, अब युट्युबे बोकेर हिँडिस् भनेर मलाई कतिपय अग्रज पत्रकारहरुले गाली गर्नुभयो। आज उहाँहरु नै युट्युब चलाएर बस्नुभएको छ। मलाई हाँसो लाग्छ।

वर्षौ टेलिभिजन पत्रकारिता गरेका पत्रकार किन युट्युब च्यालन खोलेर बस्न बाध्य भए ?
विभिन्न अध्ययनले मानिसले पढ्न भन्दा भिडियो हेर्न रुचाएको देखाएको छ। तीस सेकेन्डदेखि तीन मिनेटसम्मको भिडियो धेरै हेर्ने गरेको पाइएको छ। अहिलेको पुस्ता पढ्न भन्दा भिडियो हेर्नमा नै रुचि राख्छ। बुढाबुढी, साक्षर–निरक्षर सबैलाई भिडियोले सहज गराएको छ। त्यसकारण अब भिडियो पत्रकारिता त्यो पनि क्लिप पत्रकारिता प्रभावकारी हुन्छ। यसको विकल्प छैन।

जति पुराना र आम मानिसमा चिनिएका पत्रकारहरु युट्युब पत्रकारितामा आउनुहुन्छ, त्यति चाँडो यो अझ व्यवस्थित र प्रभावकारी बन्दै जान्छ। अग्रज पत्रकारहरु परम्परागत मिडियामै अल्झिरहने र नयाँ साथीहरु मात्र यसमा लाग्दा विश्वसनियता जगाउन नसकिने हुन्छ। युवा पुस्ता अथवा फस्टाउँदै गरेको प्लेटफर्मको पनि सदुपयोग हुँदैन। सुरुमा कच्चा साथीहरुको हातमा यो उर्बर प्लेटफर्म पर्यो तर परिपक्व चाहिँ आउनुभएन। अब उहाँहरु आउनुभयो भने अहिलेको जति विकृति छ, त्यो हराउँदै जान्छ। मैले कतिपयलाई भनेको पनि छु– तपाईंहरु चाहिँ परम्परागत मिडियामा नै बस्ने अनि यता विकृति भयो भनेर त भएन नि। अहिले केही अग्रज आउँदै हुनुहुन्छ।

विगतमा अनलाइन पनि यही भएको हो। पहिला मूलधारमा काम गर्ने पत्रकार नजाँदासम्म अनलाइनले ‘हावा कुरा हाल्छन्’भन्थे। पछि उहाँहरू गएपछि न्यूनतम स्टान्डर्ड बनाएर काम गर्न लाग्नुभयो। मूलधारका पत्रकारको आकर्षण बढेसँगै विस्तारै अनाइनको विकास हुँदै गयो। त्यसपछि अरु अनलाइन पनि खुले। कच्चा काम गर्नेले सुधार गर्दै गए, ती स्थापित पनि भए। जसले कच्चा कामलाई निरन्तरता दिइरहे, उनीहरु बन्द भए।

‘डटकम पत्रकारिता’ ले बितेको दशक खायो। त्यो भन्दा अघिको दशक रेडियोले खायो। अब ८० को दशक अनलाइन टीभी पत्रकारिताको हो। किनभने, अबको पुस्ता त्यही बानीमा हुर्कँदैछ।

त्यसैले मूलधारमा काम गरेका विश्वासिला पत्रकारहरु युट्युबको प्लेटफर्ममा आउन जरुरी छ। उनीहरुको प्रवेशसँगै कच्चा काम गर्नेहरु अनलाइन बन्द भएजस्तै बन्द हुन्छन्।

अनलाइन टीभीको भविष्य कस्तो छ ?
अबको दशक अनलाइनटीभीको हो। अहिले भएकाभन्दा उन्नत प्रविधि नआएसम्म अनलाइन टीभीकै समय हो। ‘डटकम पत्रकारिता’ ले बितेको दशक खायो। त्यो भन्दा अघिको दशक रेडियोले खायो। अब ८० को दशक अनलाइनटीभी पत्रकारिताको हो। किनभने, अबको पुस्ता त्यही बानीमा हुर्कँदैछ।

युट्युबरसँग राज्य डराएको चाहिँ किन ? टिकटकका माध्यमबाट अराजक तत्त्वहरु हाबी भएको भनेर प्रतिबन्ध नै लगाइयो नि ?
राज्यले यस्ता प्लेटफर्मलाई बुझ्न नसकेको हो भन्ने मेरो बुझाइ छ। यो राज्यको अनविज्ञता हो। आजभन्दा केही वर्षअघि पब्जीलाई सरकारले प्रतिबन्ध लगाएको थियो। अहिले त्यही पब्जी खेलेर युवाले देशको नाम राखेका छन्। राम्रो कमाइ गरेका छन्। अहिले हाम्रै देशका युवा प्रतिस्पर्धाका लागि विदेश जान्छन्। हाम्रा केटाकेटीका जति पनि जान्दैनन् सरकारमा भएका मान्छेहरुले। सरकार विभिन्न व्यक्तिसँग डरायो पनि होला तर सारमा चाहिँ उसको बुझ्ने क्षमता नै पुगेको छैन। प्रविधि बुझ्ने क्षमताका मानिस सरकारमै छैनन् भन्ने मलाई लाग्छ। डराएको भए समस्याको सामना गर्ने अर्कै उपाय थियो। जस्तो कन्टेन्टबाट समस्या भएको हो, त्यस्तो कन्टेन्टलाई निरुत्साहित पार्ने कन्टेन्ट बनाउन सकिन्थ्यो। तर, टिकटक बन्द भएर अहिले के भो ? रिलमा आइरहेका छन् ती सामग्री ।

विकृति सबैतिर छ, त्यसमा संरक्षणको आवश्यकता छैन। विकृति न्यूनीकरण गर्नुपर्छ भन्ने हाम्रो माग हो। यसैका लागि हाम्रो संगठन स्थापना भएको हो।

हामीले विरोध गरेका कारण सरकार टिकटक बन्द गर्न झ्यालबाट छिर्यो। यो भोलि यही रहँदैन। भोलि युट्युब, फेसबुक पनि बन्द गर्न सक्छ। त्यसो हुँदै अनलाइन, रेडियो, टेलिभिजन पत्रिका पनि बन्द गर्ला। तर, केही अराजक व्यक्तिहरुले चाहिँ यो प्लेटफर्मको उपयोग गरिरहेका छन्। जसले यो व्यवस्था नै जोखिममा पार्न सक्छ। अहिले केही पात्रहरुको कन्टेन्ट प्रायोजित तरिकाले यी प्लेटफर्ममा आउने गरेका छन्।

अराजक र अश्लील कन्टेन्ट बनाउनेलाई तपाईको संस्थाले किन निमयन गर्न नसकेको?
यो निमयन गर्ने हाम्रो क्षेत्राधिकारको विषय पनि होइन। हाम्रो क्षमताले पनि भ्याउँदैन। अहिले राजतन्त्र आउँदा ठीक छ भन्ने कन्टेन्ट मात्रै आइरहेका छन्। राजतन्त्र हुँदा कस्तो थियो, उनीहरुलाई थाहा छैन। त्यो कन्टेन्ट यी प्लेटफर्ममा गएका छैनन्। यो वर्तमान व्यवस्था ठीक छ भन्नेहरुले पनि प्लेटफर्मलाई सदुपयोग गर्न जान्नुपर्यो। बन्द गरेर भन्दा सदुपयोग गरे मात्रै यो व्यवस्था सवल हुन्छ।

नियमनका लागि सरकारलाई के समस्या पर्यो ?
पहिलो कुरा, के कुरा बोल्न पाउने, के कुरा लेख्न पाउने, यो सबै संविधानमै छ। अश्लीलता, राष्ट्रिय अखण्डता, जातीय एवं धार्मिक विभेद लगायत अहिले जे विकृति भनिएको छ, यी कुरा गर्न पाइँदैन भन्ने त संविधानमै छ। यी कुरा गर्न पाइँदैन भन्ने विश्वव्यापी मान्यता नै हो। सरकारले त्यस्ता कन्टेन्टलाई नियमन गर्न सक्छ।दोस्रो, त्यस्ता कन्टेन्ट नियमन गर्न राज्यले एक रूपियाँ पनि लगानी गरेन। यसो नगरी प्लेटफर्म बन्द गर्र्नु व्यवहारिक होइन। यहाँ समस्या एकातिर छ, सरकारले अर्कोतिर उपचार गरेको छ।
तपाईंको विचारमा नेपालमा टिकटक कुन अवस्थामा थियो ? साँच्चिकै विकृति फैलाइरहेको अवस्था थियो ?
टिकटकमा विकृति फैलिएको थियो। तर, अन्य प्लेटफर्ममा पनि विकृति छ। हामी युट्युब, फेसबुक र टिकटकलाई गाली गरिरहेका छौं तर विकृति जताततै छ। त्यो भन्दा बढी विकृति फेक अनलाइन पोर्टलले गरेका छन्। इन्सटर्न आर्टिकलबाट पैसा कमाउने दाउमा फेक अनलाइनले धेरै विकृति फैलाइरहेका छन्। यिनीहरु फेरि गैरकानुनी पनि छन्। पत्रकारिताको दुरुपयोग यही माध्ययमबाट धेरै भएको छ। भ्रम फैलाउने काम यिनैबाट भएको छ। अन्य सामाजिक सञ्जालबाट गाली गलौज बढी भएको पाइएको छ। भ्रम फैलाउन फेक अनलाइनले नेतृत्वनै गरिहेका छन्। युट्युबरबाट भ्रम फैलाउने काम भएको पाइँदैन।

आजभन्दा केही वर्षअघि पब्जीलाई सरकारले प्रतिबन्ध लगाएको थियो। अहिले त्यही पब्जी खेलेर युवाले देशको नाम राखेका छन्। राम्रो कमाइ गरेका छन्। अहिले हाम्रै देशका युवा प्रतिस्पर्धाका लागि विदेश जान्छन्।

विकृति सबैतिर छ, त्यसमा संरक्षणको आवश्यकता छैन। विकृति न्यूनीकरण गर्नुपर्छ भन्ने हाम्रो माग हो। यसैका लागि हाम्रो संगठन स्थापना भएको हो। न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा मात्र सरकारसँग हाम्रो मत बाँझिएको हो। सरकार सबैलाई बन्द गरेर विकृति रोक्छु भन्छ। हामी भन्छौं– त्यो बन्द गरेर विकृति रोकिँदैन, कन्टेन्टलाई नियमन गरौं भन्ने हाम्रो भनाइ हो।

टिकट बन्द गर्ने सरकारको निर्णयलाई कसरी हेर्ने ?
अहिलेको टिकटक बन्द गर्ने सोच निरंकुशवादी हो। अहिलेको समयमा प्रतिबन्ध लगाउँछु भन्यो भने मान्छे हाँस्छन्। टिकटक लगायतका प्लेटफर्मलाई हामी मिडिया मान्छौं। मिडियामा कुनै पनि कन्टेन्ट प्रसारण गर्नुअघि प्रतिबन्ध लगाइने छैन भन्ने व्यवस्था हाम्रो संविधानमा छ। यो त पूर्व प्रतिबन्ध हो। प्रसारण भएपछिको असर र प्रभावका आधारमा कारबाहीको व्यवस्था भनेको छँदैछ। राजा ज्ञानेन्द्रले पनि यस्तो गरेका थिएनन्। उनले तकर्णेललाई सम्पादक बनाएर भए पनि समाचार पढ्न दिएका थिए। आर्मीलाई सेन्सर गर्न लगाएर भने पनि समाचार प्रसारण गर्न दिएका थिए। माध्यम नै त बन्द गराएका थिएनन्। टिकटक प्रतिबन्ध त ज्ञानेन्द्रको कु भन्दा पनि पश्चगामी भयो। यो संविधानकै खिलाफमा छ।

टिकटक बन्द हुँदा युट्युबर खुसी छन् कि छैनन् ? यसले उनीहरुलाई फाइदा भयो कि घाटा ?
घाटै भयो। युट्युबबाट टिकटकमा गएका मान्छे पुनः युट्युबमा फर्किँदैनन्। छोटो भिडियोमा बानी भएकाहरु अहिले अन्य विकल्पमा लागिसकेका छन्। फेसबुक रिलतिर गएका छन्।

मूलधारका मिडियाले टिकटक बन्द हुँदा किन चुपचाप छन् ?
एउटा त रिस पनि हुनसक्छ। उनीहरुलाई सिधै कसैले हेर्नेवाला छैन। आउने उनीहरु यिनै प्लेटफर्ममा हुन्। आउँदै पनि थिए। टेलिभिजनका रिमोटहरु थन्किसके। खेल हेर्न मात्र टीभीको प्रयोग हुन्छ। उनीहरुले आफ्ना कन्टेन्ट बेच्न हाटबजार चाहिँ यी माध्यम हुन्।

परिपक्व क्रिएटरहरु नयाँ प्लेटफर्ममा आए भने यसको सदुपयोग हुन्छ र उनीहरुको पनि पेसा जोगिन्छ। राज्य पनि नयाँलाई जिम्मेवार बनाउन र पुरानालाई नयाँ माध्ययमा ल्याउन उदार हुनुपर्छ।

पहिलेदेखि नै विश्वासको पत्रकारिता गरिरहेका मिडियाहरु टिकटकमै आए भने उनीहरुकै वर्चश्व यहाँ पनि हुन्छ। यो कुरामा उनीहरु नडराए हुन्छ। उनीहरुले ढिला नगर्दा हुन्छ। परम्परागत भएर पुरानै प्लेटफर्ममा बसेर नयाँलाई गाली गर्नेहरु डाइनोसर भएर जान्छन्। यसको खतरा अत्यधिक छ। उनीहरु नआएर नयाँ प्लेटफर्ममा नयाँ र कच्चाको वर्चश्व भयो भने दुरुपयोगको खतरा बढी हुन्छ। परिपक्व क्रिएटरहरु नयाँ प्लेटफर्ममा आए भने यसको सदुपयोग हुन्छ र उनीहरुको पनि पेसा जोगिन्छ। राज्य पनि नयाँलाई जिम्मेवार बनाउन र पुरानालाई नयाँ माध्ययमा ल्याउन उदार हुनुपर्छ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १० : २७ बजे

रुसी बमवर्षक विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको स्विडेनको आरोप

स्टकहोम – स्विडेनको सेनाले शनिबार एक रुसी एसयु–२४ बमवर्षक विमानले

आजका समाचार : प्रदेश सरकारको बजेट सार्वजनिकदेखि एमालेको बैठकसम्म

देशमा आशाको सञ्चार प्रवाह भइरहेको छ: प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन महत्वपूर्ण छ : महानिरीक्षक कुँवर

काठमाडौं– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन

थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले थारु

बीस हजार कैदीको ‘मेगा कारागार’ बनाउने होन्डुरसको घोषणा

काठमाडौं– होन्डुरसले २० हजार क्षमताको ‘मेगा कारागार’ निर्माण गर्ने भएको