मंसिर ७ पछि दुर्गा प्रसाईंको बेलुन फुट्छ : महेश बस्नेत | Khabarhub Khabarhub

मंसिर ७ पछि दुर्गा प्रसाईंको बेलुन फुट्छ : महेश बस्नेत


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 9 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय राजधानीमा यतिखेर जाजरकोट भूकम्पले नागरिकलाई दिएको पीडाको खासै चर्चा छैन । यहाँ चर्चा छ त दुर्गा प्रसाईं र महेश बस्नेतको । उनीहरुले मंसिर ७ गते काठमाडौंमा गर्ने कार्यक्रमको चर्चा छ मिडियाभरि । गृह प्रशासन पनि यही विषयमा दिनहुँ बैठक र छलफलमा व्यस्त छ ।

कृष्ण कँडेलको दोहोरी सञ्चालन गर्ने स्टुडियोसँगै टाँसिएको रेष्टुरेन्टमा पुगेर हामीले नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतसँग मंसिर ७ को कार्यक्रम किन र कसका विरुद्ध आयोजना गरेको भनेर सोध्यौँ । विपक्षी नेकपा एमालेका तर्फबाट आयोजना गरिने कार्यक्रम गठबन्धन सरकारविरुद्ध लक्षित छ कि दुर्गा प्रसाईंविरुद्ध ? यिनै प्रश्नको सेरोफेरोमा कुराकानी गर्ने क्रममा एमाले नेता बस्नेतले प्रसाईंको कार्यक्रममा दुई/चार हजार मात्र मानिसहरु भेला हुने र मंसिर ७ पनि उनको चर्चा सेलाउने दाबीसमेत गरे । 

प्रस्तुत छ– एमालेका युवा नेता बस्नेतसँग खबरहबले गरेको कुराकानी

तपाईंहरुले मंसिर ७ गते काठमाडौंमा किन प्रदर्शन गर्न लागेको ? प्रदर्शन गर्नैपर्ने त्यस्तो के आइपर्‍यो ?

६२–६३ को आन्दोलनपछि राजनीतिक दलले के निष्कर्ष निकाले भने हक अधिकार प्राप्तिका आन्दोलनहरु सकिए, अब समृद्धि प्राप्तिका आन्दोलनतर्फ जानुपर्छ । सत्तामा रहेर जनतालाई सुख दिने भन्ने बुझाइका कारणले आम जनताका विषय ओझेलमा परे । यो काम सरकारको हो, राजनीतिक दलहरुको विषय हैन भन्ने बुझाइका कारण दलहरु त्यतातर्फ गएनन् । चक्काजाम, हड्ताल गर्दैनौँ भन्ने प्रतिवद्धता पनि जनाए । त्यसो हुँदा सामाजिक अभियन्ता अथवा सोसल मिडियाका अराजकहरुले यो विषय उठाउन थाले । हुँदाहुँदा, यही विषय अपराधी र अराजक व्यक्तिको हातमा पुग्ने स्थिति बनेको महसुस गरिसकेपछि अब राजनीतिक दलहरुले नै मुलुकको परिवर्तनको जिम्मेवारी मात्र हैन कि आम सर्वसाधारणको पीडाको कुरा पनि उठाउनुपर्छ र गलत बाटोमा हिँडेको सरकार र गठबन्धनलाई पनि ठिक ठाउँमा ल्याउनुपर्छ भन्ने आधारमा हामीले ७ गतेको कार्यक्रम गर्न लागेका हौं ।

यसको प्रस्थानविन्दुका रुपमा महङ्गी, भ्रष्टाचार, अनियमितता र तस्करीका विरुद्ध, सहकारी क्षेत्रको समस्या, वैदेशिक रोजगारीका समस्या, औद्योगिक क्षेत्रका समस्या,  सेयर मार्केटका समस्यासँगै आम जनताका समस्याबारे बोल्नुपर्छ भनेर कार्यक्रमको आयोजना गर्दैछौँ ।

कार्यक्रम कहाँ हुने टुङ्गो भयो ?

माइतीघरदेखि बानेश्वरसम्मको स्थानलाई निषेधित गरेको हुनाले अहिले नै सरकारसँग टकराव गरेर निषेधित क्षेत्र तोडेर जानुपर्छ भन्ने मनोविज्ञान बोकेका छैनौँ । सहज ढङ्गले हाम्रो प्रदर्शनलाई स्थान परिवर्तन गरेर पनि गर्न सक्छौँ ।

तीनकुने वा खुलामञ्चमा हुने भनेर केही टुङ्गो भएको छ ? 

कुरा भएको छ । तीनकुनेमा भए पनि कुनै समस्या हुँदैन । हामी यो विषयमा छलफल गर्ने छौँ । मिति परिवर्तन हुँदैन, स्थान परिवर्तन हुन सक्छ ।

कार्यक्रम कस्तो प्रकृतिको हुन्छ ? अध्यक्ष ओलीले सम्बोधन गर्नुहुन्छ कि ?

कार्यक्रममा हामी ठूला र शीर्ष नेताहरुलाई अहिले बोलाउँदैनौँ । कार्यक्रममा २३ वटा जनसंगठन आवद्ध नेताहरु आउनुहुन्छ । उपत्यकाभित्रका भूगोलका अध्यक्ष लगायतका नेताहरु आउनुहुन्छ । जनसंगठन हेर्ने इन्चार्जहरु आउनुहुन्छ । सम्पर्क मञ्चका नेताहरु आउनुहुन्छ । र, विभिन्न क्षेत्रका साथीहरु पनि आउनुहुन्छ । विविध क्षेत्रका गणतन्त्रवादीहरु, मानव अधिकारवादीहरु, उपभोक्ता समूहका साथीहरु हुनुहुन्छ । शीर्ष तहका नेताहरुलाई चाहिँ त्यो दिन बोलाउँदैनौँ ।

तपाईंहरुको कार्यक्रम सरकारको विरोधमा कि व्यवस्थाको समर्थनमा ?

जनताका समस्यालाई उजागर गर्ने र त्यसमा सरकारको भूमिका प्रभावकारी बनाउन दबाब दिने । सरकारले गरेका गलत हर्कतको विरोध गर्ने भन्ने नै हो । तर, हुँदै जाँदा यो कार्यक्रमसँग व्यवस्था विरोधीहरु पौँठेजोरी खेल्दै दुर्गा प्रसाईँ जस्तो एउटा अराजक आपराधिक पृष्ठभूमिको मान्छेलाई उचालेर यो कार्यक्रमलाई जुधाएर लोकतन्त्रवादीराजतन्त्रवादीहरुको कार्यक्रमजस्तो बनाउन खोजियो । 

७ गते युवा संघको र अखिलको कार्यक्रमलाई कमजोर बनाउन सक्दा यो मुलुकमा राजा ल्याउन सकिन्छ भन्ने ढंगले यसलाई लान खोजियो । मलाई ठिकै जस्तो पनि लाग्यो । किनभने, यसभित्र लुकेका षड्यन्त्रहरु, यसभित्र लुकेका पात्रहरु ‘एक्सपोज’ भए । वास्तवमा, हाम्रो मुलुकको समृद्धिका बाधक को–को रहेछन् र कस्ता खालका तत्वहरु कस्ता खालका साम्राज्यवादी शक्तिका आडमा कसरी खेलिरहेका छन् भन्ने कुरा ‘एक्सपोज’ भएको छ । जनता पनि धेरै स्पष्ट भइसकेका छन् । यसबारे व्यवस्थाको संरक्षण गर्नुपर्ने स्थिति आयो भने हामी स्पष्टसँग लाग्छौँ भन्ने पनि ७ गतेको कार्यक्रमबाट हामीले सन्देश दिन खोजेका हौं ।

संघीय लोकतान्त्रिक गणतन्त्र, जुन हामीले अवलम्बन गरिराखेका छौँ, यसका असंख्य कमी कमजोरीहरु छन्, ती कमजोरी सच्याउनुपर्छ भनेर एमालेभित्र सशक्त आवाज उठाउनुपर्छ भन्ने मध्येमा पर्छु । जस्तो– प्रदेश तहका सरकारको भूमिका के हो, स्थानीय तहलाई प्रभावकारी बनाउने कसरी हो, संघीय सरकारलाई जनताको आवाज सुन्ने सरकार कसरी बनाउने भन्ने यी तमाम छलफलको विषय होला । हाम्रो निर्वाचन प्रणालीको सुधारका कुरा होलान् । यी तमाम बहसको विषय भन्दा उच्चतम् व्यवस्थाको विकल्पमा हामी जान सकिएला । तर, पुरातन व्यवस्था अथवा राजतन्त्रमा जान सकिँदैन ।

राजावादीहरु दलले नातावाद कृपावाद लगाएको हुनाले राजतन्त्र ल्याउन लागेको भन्छन् । उसोभए राजाको छोरो युवराज हुनु चाहिँ नातावाद हैन ? राजाको भाइ अधिराजकुमार हुनु नातावाद हैन ? राजाकी श्रीमती बडामहारानी हुने नातावाद हैन ? राजाका खलकहरुले असङ्ख्य सुविधा पाउने र राजाका नोकरचाकरहरुले गुठीका नाममा मनग्य लाभ पाउने चाहिँ नातावाद कृपावाद हैन ? यस्ताखाले कुतर्क गरेर मान्छेहरु आइरहेका छन् । यो कुरामा हाम्रो पूर्ण असहमति छ ।

हामीले अवलम्बन गरेको बहुदलीय व्यवस्थामा कांग्रेससँग असहमत हुँदा एमाले मान्छेहरु होलान् । एमालेसँग असहमत हुँदा कांग्रेस होलान् । हामीले खोजेको त्यो हो । अहिलेको सरकारले गरेका गलत क्रियाकलापलाई नङ्ग्याउने, उजागर गर्ने र यो सरकारलाई सच्याउने हाम्रो पहिलो प्राथमिकता हो । यदि सकिएन भने यो सरकार फेर्ने हाम्रो दोस्रो प्राथमिकता हो । योभन्दा फरक ढंगले जाने हाम्रो उद्देश्य होइन ।

अब काउन्टर दिने ढङ्गले यो व्यवस्थाकै विरुद्ध, अथवा लोकतान्त्रिक गणतन्त्रकै विरुद्ध राजतन्त्र ल्याउने ढंगले दुर्गा प्रसाईंजस्तै कमजोर धरातल भएका व्यक्तिको आडमा रवीन्द्र मिश्रजस्ता मान्छेले दिएको अभिव्यक्तिले लाज लागेर आउँछ ।

कतिपय बौद्धिक अराजकतावादी, जो नियन्त्रित अराजकतावादमा फसेका छन्, साम्राज्यवादीको प्लानमा फसेका छन् । सिंगो नेपाललाई नै एउटा ‘बफर जोन’ का रुपमा साम्राज्यवादीसँग चलखेल गर्न खोज्दैछन् । सिंगो कोशी प्रदेशलाई यसको इपिसेन्टरका रुपमा विकास गर्न खोज्दैछन् । त्यही भएर त्यहाँ पहिचानका नाममा अराजकता प्रकट गर्न खोजिँदैछ । दुर्गा प्रसाईंका नाममा अराजकता प्रकट गर्न खोजिँदैछ । त्यहाँ अनेकखालका अराजक र आपराधिक गतिविधि गर्न खोजिँदैछ । यसमा साम्राज्यवादसँगको चलखेल छ र त्यो आडमा कट्टर हिन्दूवादीहरु देशविदेशबाट परिचालित भएर धार्मिक सहिष्णुता बिथोलेर सामाजिक सद्भाव भाँड्ने काम पनि भइरहेको छ ।

यस्ताखालका अराजक, आपराधिक व्यक्ति, लम्पट सर्वहारा अथवा सोसल मिडियाका अराजकतावादी अथवा नियन्त्रित बौद्धिकता अपनाएर सोसल मिडियामा भाइरल हुने, देश जहाँसुकै जाओस् हामी मात्रै हिट हुनुपर्छ भन्ने भेलु बाजे प्रवित्ति बोकेका कतिपय बौद्धिक भनाउँदाहरुको जमातलाई बोकेर अगाडि जानेहरुको सपना तुहिनेवाला छ ।

राष्ट्रिय युवा संघ नेपाल, नेकपा एमाले र मूलधारका राजनीतिक दलहरु यो पाटोमा सचेत हुनुपर्छ र जुन ढङ्गले सोसल मिडियालाई दुरुपयोग गरिएको छ, यो सोसल मिडियालाई पनि ठीक ठाउँमा ल्याउनका आवश्यक छ । जसरी हिजो एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गोकुल बासकोटाले विधेयक ल्याउनुभएको थियो, ती ऐनहरु ल्याउन दिइएन । ‘इनफ इज इनफ’ चलाइयो । अब त्यसलाई कानून बनाएर, मलाई लाग्छ अध्यादेश नै ल्याएर भए पनि ‘सोसल मिडिया’ नियमन गर्नुपर्छ । जनताको समृद्धिको आन्दोलनमा कमसेकम कांग्रेस, एमाले र माओवादी लगायतका मूलधारका दलहरु एक ठाउँमा उभिनुपर्छ । साम्राज्यवादी शक्तिहरुका विरुद्धमा उभिनुपर्छ ।

कुनैबेला यो प्रवृत्तिलाई बालेन, हर्क र रवि लामिछानेको स्वतन्त्र पार्टीले बोक्यो । अहिले दुर्गा प्रसाईं र कथित राजावादीहरूले बोक्न खोजेका छन् । यस्ता प्रवृत्ति बोकेर जनतालाई भ्रममा पारेर हिँड्नु भन्दा राजनीतिबाट नै बिदा भएर बस्दा हुन्छ । म जति नै आलोचना खोप्नु परे पनि जति नै बदनाम हुनु परे पनि सहिद हुन पनि तयार हुनु पर्छ भनेर आएको हुनाले  मुलुकको राष्ट्रिय अखण्डता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव जस्ता पक्षहरूलाई जोगाउन हामीमाथि लागेका गोली वा हावादारी बारुदको सामना गर्न लागेको छु ।

सातै गते, अर्थात् दुर्गा प्रसाईँले गरेकै दिन किन कार्यक्रम जुधाउनपर्‍यो

हामीले दुई महिना अगाडि नै कार्यक्रम घोषणा गरेका थियौँ । उनीहरूले नियतवश हाम्रो कार्यक्रमको सुचना पाएर तय गरे । यसमा उनीहरूका दुई  उद्देश्य देखिन्छन् : एउटा– ब्याक हुँदा देख्यौ त, युवा संघ ब्याक भयो,  हामीभन्दा कमजोर रहेछ भन्ने सन्देश दिने । दोस्रो– हामी ब्याक भएनौँ भने देख्यौ त, हामीसँग जुध्न आए भन्ने ।  यो दुवैतिर हामी सचेत भएका छौँ । त्यसैले ७ गतेको हाम्रो कार्यक्रम ब्याक हुने कुनै सम्भावना छैन । हामी मान्छे ओसार्दैनौँ । स्वतःस्फूर्त नेकपा एमालेलाई माया गर्ने ५० औँ हजार मान्छे सडकमा उतार्छौँ  ।

दुर्गा प्रसाईंले जति नै हल्ला गरे पनि उनको कार्यक्रममा त्यति सहभागिता हुँदैन । राजेन्द्र लिङदेनले झापामा ९ गते ज्ञानेन्द्रलाई लिएर ठूलो कार्यक्रमको घोषणा गरेका छन् । जसरी हिजो दुर्गा प्रसाईँको कार्यक्रममा राजावादीको संस्थागत प्रतिनिधित्व छ भन्ने थियो, त्यो पनि सकिएको छ । दुर्गा प्रसाईँका दुई/तीन दिनका अराजक अभिव्यक्ति ‘एक्पोज’ भइसकेपछि उनका पक्षमा बोल्ने कथित बुद्धिजीवीहरू पनि अहिले बोल्न छोडेको वा डराएको स्थिति देखिन्छ  । प्रसाईंको कार्यक्रममा दुई हजार, २५ सय मान्छे सहभागी होलान् भन्ने लाग्दैन । हाम्रोमा ५० औँ हजार सामेल हुने भएकाले कार्यक्रमलाई जुधाउने वा लड्ने–भिड्ने उनको उद्देश्य देखिँदैन  । माइतीघर मा हैन, जताततै गर्छौँ भन्ने अभिव्यक्ति दिएको देखिन्छ । 

हाम्रो कार्यक्रम कसैसँग जुधाउने उद्देश्यले गरेको हैन र कसैको विरुद्धमा पनि हैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुधार गर्ने, यसलाई संस्थागत गर्ने र पार्टीहरूलाई बलियो पार्ने । एमाले लगायतका दलहरूलाई राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने । भ्रष्टाचार, अनियमितता र कुशासनका विरुद्ध राजनीतिक दलहरूलाई परिचालन गर्ने । सुशासन दिने । गल्ती कमजोरीलाई सच्याउन सरकारलाई दबाब दिने हो । उनीहरू जुन ढङ्गले जुधाउन आएका छन्, आफैँ ब्याक हुन्छन् । ब्याक भएनन् र जुध्न आए भने सरकारले शान्ति सुरक्षा देला । पनि भएन भने कार्यक्रममा सुरक्षा दिनका लागि १५ हजार युवा परिचालन गर्छौँ । ४/५ हजार युवा अगाडि र त्यति नै पछाडि राखेर बीचमा  आम सर्वसाधारण, बुद्धिजीवी राखेर कार्यक्रम गर्छौँ । त्यसैले कुनै पनि शक्ति हामीसँग जुध्न वा लड्न आउला  भन्ने लाग्दैन ।

दुर्गा प्रसाईंको विरुद्धमा नै हो त यो कार्यक्रम ? 

दलहरूले जनताको मुद्दा उठाउन छोडे भने, युवा सङ्घले युवाको मुद्दा उठाउन छोडे भने, महिला संगठनले महिलाको मुद्दा उठाउन छोड्यो भने दलसँग जनताको आस्था घट्दै जान्छ, उनीहरूले नयाँ विकल्प खोज्न थाल्छन् र उनीहरू बौद्धिक अराजकतावादीकहाँ पुग्छन् ।  नियन्त्रित  अराजकतावादीकहाँ पुग्छन् भन्ने कुराको उदाहरण हर्क साम्पाङदेखि बालेन्द्र र रवि लामिछाने हुँदै आज दुर्गा प्रसाईंसम्म पुगेको स्थिति हो । यी प्रवृत्तिका मान्छेहरूले मुलुकको विकास गर्न सक्दैनन् र स्टन्टबाजी मात्र गर्छन् । रमाइलो मात्र दिने हो भन्ने मेरो बुझाइ हो ।

हाम्रो कार्यक्रम भनेको जनताका तमाम मुद्दाहरू, शोषण–उत्पीडनमा परेका जनताका पीडा दलमार्फत प्रकट हुनुपर्छ र सरकारले यसलाई सम्बोधन गर्नु पर्छ । जस्तो- लघुवित्त र बैङ्कको ऋणलाई छुट दिने वा ब्याजलाई सहुलियतमा दिने सरकारको विषय हो । यो कुनै दुर्गा प्रसाईँ वा कुनै अराजक व्यक्तिको विषय हैन । पाँच दलीय गठबन्धनको विषय हो । उसले गर्न सक्दैन भने प्रमुख प्रतिपक्ष दल सरकारमा गएर दिने विषय हो । दल भन्दा फरक ढङ्गले समस्यालाई पोख्ने र त्यो समस्यालाई फरक खालका व्यक्तिहरू कुनै दाता वा विधाता आएर सम्बोधन गर्छ भन्ने सही होइन । अहिले मनोविज्ञानले जुन काम गरेको छ, त्यसलाई सामाजिक सञ्जालका अराजकतावादी व्यक्तिहरूले उचालिरहेका छन् । यसले मुलुक ठुलो राष्ट्रिय सङ्कट हुने ठाउँमा पुग्छ ।

जस्तो- दुर्गा प्रसाईँले भारतले बुझाइदिनुपर्छ ५० हजारमा मोटरसाइकल चढ्न पाउँछन्, तीन लाखमा गाडी चढ्न पाउँछन् भन्नेखालको अभिव्यक्ति पनि  दिन भ्याउँछन् । अब राजा आउँदैछन्, ज्ञानेन्द्र सडकमा आए ठिकै छ, नत्र ज्ञानेन्द्रको विकल्प खोज्छु भन्दैछन् । मानौँ कि दुर्गा प्रसाईँको हातमा यो मुलुक छ । त्यही भएर नेपाल राख्ने कि भारतलाई बुझाउने भन्ने कुरा गर्दैछन् । अब राजा आउने कि नआउने पनि उनैको हातमा ? राजा आउँदा ज्ञानेन्द्रलाई बनाउने कि त्यसको विकल्प खोज्ने पनि उनैका हातमा ? प्रधानमन्त्री पनि ऊ नै हुने कि रविलाई बनाउने भन्ने खालका हावा अभिव्यक्ति दिइराखेका छन् । यसलाई समर्थन गरेर सामाजिक सञ्जालका असंख्य बौद्धिक भनाउँदा भेलु बाजेहरु रमाइरहेका छन् । यो कुरालाई नियन्त्रण गर्नुपर्छ ।

मुलुक नीति, सिद्धान्त, बिचारमा आधारित पार्टीहरूले ह्यान्डिल गर्ने हो ।  पार्टीहरूले जनताका बहुमत जितेर सरकार बनाएर सरकार ठिक ढङ्गले चल्ने हो । यदि सरकार ठिक ढङ्गले चलेन भने प्रमुख प्रतिपक्ष र  प्रतिपक्ष दल मिलेर सरकार चलाउने हो ।

यो प्रणालीको विकल्प यो भन्दा राम्रो प्रणाली के हो त छ भनेर छलफल गरौँ । चीनको जस्तो जनवादी व्यवस्था हो कि ? त्यो हो अब यसको विकल्प सकिएको राजतन्त्र, जसले दरबार हत्या काण्ड गरेर आफ्नै परिवारलाई जोगाउन सकेन, उसले आएर बचाउला भन्ने मलाई लाग्दैन । यिनै पारिवारिक जहानियाँहरुले यो मुलुकलाई उँभो लगाउँछन् भनेर दुर्गा प्रसाईंजस्ताको आड लिएर आउँछु भन्ने तत्वहरुलाई तह लगाउनुपर्छ भन्ने बुझाइका साथ म राजनीतिमा आएको हुँ । त्यसैले म निश्चित राजनीतिक सिद्धान्त मूल्य मान्यता बोकेर आएको हुँ । कुनै दुर्गा प्रसाईंजस्ता व्यक्तिहरुको पछि लाग्ने हाम्रो फुर्सद छैन । दुर्गा प्रसाईजस्ता धेरै हिलोहरु राजनीतिक जीवनमा हामीले कोटबाट टक्टक्याएका छौँ । ७ गते दुर्गा प्रसाईँ नामका केहीकेही हिलोहरु बाछिटाहरु हामीलाई लागेका छन्, त्यो टक्टक्याएर हिँड्ने हो ।

कुनै समय दुर्गा प्रसाईं केपी ओलीको भान्सासम्म पुगेको मान्छे, अहिले एमालेले उनलाई कसरी हेरेको छ ?

दुर्गा प्रसाईं भनेको जबरजस्ती फुलाएर हावा भरेको बेलुन हो । त्यसमा पिन घुसाइदियो भने उसको हैसियत थाहा हुन्छ । ७ गते दुर्गा प्रसाईंका नाउँमा प्रकट भएका अराजकतारुपी बेलुनमा हामी पिन घुसार्दैछौँ । ७ गतेपछि मलाई लाग्छ, दुर्गा प्रसाईं र यिनका नाममा प्रकट भएका अराजकताका बेलुनहरु फुट्नेछन् र सकिनेछन् ।

दुर्गा प्रसाईंजस्ता प्रवृत्तिले राजनीतिक दलहरुलाई र राज्यका स्रोत साधनलाई कसरी दुरुपयोग गर्छन् भन्ने उनी राम्रो उदाहरण हुन् । मिडियाका साथी र बुद्धिजीविहरुले यसबारे ‘केस स्टडी’ गर्दा हुन्छ । हिजो उनी कांग्रेस थिए, ससुरालीको सम्पत्ति दोहन गर्न उनी माओवादी बने । माओवादी बनेर सहयोगीलाई उनले अपहरणदेखि लिएर र अनेक गरे । बिर्तामोड र अरु राम्रो ठाउँका जग्गा उनले कब्जा गरे । भाडा तिर्ने पैसा नहुँदा ३०–३५ वर्षअघि नातेदारहरुले उनको भाडा तिर्दिन्थे । रहर लाग्दा मासुभात खाने पैसा दिन्थे । उनीहरुकै जग्गा जमिन बैंकमा राखेर लिलामीको प्रक्रियामा उनले पुर्‍याइदिए । उनकै दाजुभाइ, नातागोता, ज्वाइँ, भान्जा कोही पनि उनको पक्षमा छैनन् । हरेकलाई ठगेको छ । हरेकलाई झुटो आश्वासन दिएको छ । हरेकलाई उधारो कुरा गरेको छ । हरेक ठाउँमा पैसाको लेनदेन छ । हरेक ठाउँमा चेक बाउन्स छ । हरेक ठाउँमा पैसा तिरेको छैन ।

घरमा पालेको भोटेको कुकुर अपरिचित र डराउने मान्छे देख्दा भुक्छ । कहिलेकाहीँ चितुवा आइदियो भने लम्पसार परेर सुतिदिन्छ । दुर्गा प्रसाईं भनेको त्यस्तै हुन् । उनले हामी बाघ, चितुवा हौं भनेको बुझेका छैनन् । राज्यले यसलाई किन असनको छाडा साँढेजस्तो छोडिरहेको छ, मैले बुझेको छैन । मलाई जहाँसम्म लाग्छ, राज्य संयन्त्रहरुले व्यवस्थित ढंगले यस्ता खालका व्यक्तिलाई तह लगाउने हो भने आउँदो ७ गते पछाडि उनका अपराधका असंख्य श्रृङ्खलाहरुका आधारमा बीसौं वर्ष जेल जानेवाला छन् । राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, अख्तियार र साइबर ब्युरोदेखि लिएर यसका असंख्य अपराधका कुराहरु छन् ।

उनले हिजो माओवादी भएर पनि लाभ लिए । नेकपा भएपछि एमाले बनेर पनि लाभ लिए । केपी ओली र प्रचण्डलाई मार्सी भात खुवाएर पनि लाभ लिए । गत चुनावमा राजेन्द्र लिङ्देनको ठाउँमा टिकट मागेका थिए । एमालेले टिकट नदिएर राजेन्द्र लिङ्देनलाई सहयोग गर्ने भनेपछि एकदमै विक्षिप्त र बिचलित भए ।

उनले केपी ओलीलाई धेरै ठाउँमा प्रयोग गर्न खोजे । ओली आपराधिक कर्ममा प्रयोग हुने नेता होइनन् भनेर बुझेपछि छटपटाएर एमालेविरुद्ध लागेका छन् । मलाई लाग्छ यस्ता छोटे राजनहरुले फिँजाएको भ्रम धेरै समय जाँदैन । हिजो केही समय हामीले केन्द्रीय सदस्य बनाएर जुन स्थान दियौं, त्यसको हामीले समीक्षा गर्नैपर्छ । यस्तालाई पार्टीमा स्थान दिनुहुँदैन भनेर ठूलो शिक्षा लिनुपर्छ । 

तर, राज्यले नै अस्पताल खोल् भनेर अनुमति दिइसकेपछि सम्बन्धन नदिएर दुर्गा प्रसाईं अन्याय गरेको र पीडित बनाएको हो भन्ने पनि त छ नि ?

यो विषयमा मैले विगतदेखि नै सकारात्मक दृष्टिकोण राखेको हो । डा. गोविन्द केसीले अनशन बसेका आधारमा नेपालमा मेडिकल कलेज खोल्न नदिने, नर्सिङ कलेजहरु खोल्न नदिने र मेडिकल शिक्षा क्षेत्रलाई उनले खुम्च्याइयो । त्यसको पीडा हामीले व्यहोरिरहेका छौँ । आज हामीले नर्स नपाउने अवस्था छ । डाक्टरहरु नपाउने स्थिति छ । हाम्रा छोराछोरीले नेपालमा पढ्न नपाएर बंगलादेश, चीन वा विभिन्न मुलुक जानुपर्ने स्थिति छ । बीसौं अर्ब रकम मेडिकल शिक्षाका नाममा बाहिर गइरहेको छ । गोविन्द केसीले सिर्जना गरेको भ्रम र आतङ्कले राज्य नै झुकेको जस्तो लाग्छ । त्यसको पीडामा दुर्गा प्रसाईं पनि परे होलान् । त्यो मानेमा उनलाई सहानुभूति दिन सकिएला ।

तर,  एउटा चोरको समूहले धेरै सुन चोरेर ल्याएछन् । सयौँ तोला सुन लिएर एक रात एउटी बुढी मान्छेको घरमा बास बसेछन् । बुढीआमैले अलिकति भात खान दिइछिन्हिँने बेलामा चोरले बुढीआमैलाई एउटा औँठी दिएर हिँडेछन् । ती बुढीले जीवनभर ती चोरहरुको गुणगान गाएर समय बिताइछिन्

दुर्गा प्रसाईँले गरेका असङ्ख्य अपराधिक कर्मलाई राज्यले मेडिकल कलेजको सम्बन्धन नदिएको हो नि त भन्ने आधारमा उनीप्रति सहानुभूति राख्नुपर्छ भन्ने मलाई लाग्दैन । उनका असङ्ख्य आपराधिक कर्महरु योभन्दा धेरै ठूला छन् ।

यो पनि हेरौँः

दुर्गा प्रसाईंको कार्यक्रम रत्नपार्कमा,५० हजार मान्छे उतार्ने दाबी (अन्तर्वार्तासहित)

माइतीघरलाई निषेधित क्षेत्र घोषणापछि युवासंघले सार्‍यो प्रदर्शनस्थल

माइतीघरदेखि बानेश्वर क्षेत्र ३० दिनलाई निषेधित

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १० : १७ बजे

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त