तस्बिरमा उहिलेको पोखरा « Khabarhub

तस्बिरमा उहिलेको पोखरा


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

गण्डकी – कुनै तस्बिर यस्ता हुन्छन् जसले मानिसलाई पुरानो समयतिर लैजान्छ। जारी पोखरा महोत्सव छिर्नेबित्तिकै दायाँपट्टि त्यस्तै तस्बिरको प्रदर्शनी कक्ष भेटिन्छ। भित्तामा लहरै झुण्डाइएका तस्बिरले उहिलेको पोखरासँग साक्षात्कार गराउँछ।

शुक्रबार प्रर्दशनी कक्षमा पुगेकी अस्मि गुरुङका आँखा एउटा तस्बिरमा टक्क अडिए। किशोरावस्थाकी उहाँ केहीबेर त्यसमै रोकिनुभयो। जाङ्गे र कमिजमा खाली खुट्टा चौरमा उभिएका बालबालिकाको तस्बिरले गुरुङको ध्यान तान्यो।

उबेलाको विद्यालय र बालबालिकाको अवस्था झल्काउने त्यो तस्बिरले मन छोएको उनले सुनाए। तस्बिर विसं २०१९ तिरको हो। खरको झुपडीबाट चलेको पोखराको अमरसिँह स्कुलको दृश्यलाई अमेरिकी नागरिक डगलस बिङ्गमले खिचेका थिए।

प्रर्दशनीमा ७० वर्षअघिको तालबाराही मन्दिरदेखि पोखरामा पहिलोपटक बस आउँदासम्मका तस्बिर राखिएका छन्। उहिलेको पोखरा कस्तो थियो ? संस्कृति, रहनसहन के थिए ? मानिसहरु के गर्थे ? समाज कस्तो थियो ? तस्बिर आफै बोल्छन्।

तस्बिरमा उबेलाको फेवा, बेगनास र रुपातालको स्वरुप हेर्दा जोकोहीलाई अनौठो प्रतित हुन्छ। विसं २०२६ मा पोखरा विमानस्थल बन्दा काममा खट्ने श्रमजीवी, विसं २०१९ तिर बाँसको पुलबाट सेती नदी तरिरहेका महिलाहरु, त्यसबेला पोखरामा चल्ने गोरुगाडा आदिका दृश्यले मनलाई उद्धेलित पार्छ।

तस्बिरले आजको उन्नत, विकसित र झकिझकाउ पोखराभन्दा दशकौँअघिको पोखरातिर मानिसलाई पुर्‍याउँछ। पोखराकै सुनील उलकले सङ्कलन गरेका तस्बिरलाई प्रर्दशनीमा राखिएको महोत्सव आयोजक यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए। उनका अनुसार विदेशी र नेपालीले खिचेका तस्बिर प्रदर्शनीमा छन्।

“महोत्सवमा आउने दर्शकले तस्बिर प्रर्दशनीलाई पनि चाखपूर्वक अवलोकन गर्छन्, ऐतिहासिक तस्बिर राखिएकाले प्रदर्शनीले महत्व पाएको हो”, उनले भने। अवलोकनकर्ताले प्रदर्शनीमा राखिएका तस्बिरलाई क्यामेरा, मोबाइलमा कैद गर्न भने पाउँदैनन्।

तस्बिर सङ्कलक उलकले विदेशीसहित आफ्नो बुबा जगन्नाथले खिचेका तस्बिर प्रर्दशनीमा राखिएको बताए। जगन्नाथलाई पोखराको पहिलो फोटोग्राफरका रुपमासमेत चिनिन्छ। सन् १९६५ मा पहिलोपटक नेपाल आएका अमेरिकी नागरिक डग हलबाट उनले तस्बिर खिच्न सिकेका थिए।

‘अमेरिकी पिस कोर भोलिन्टियर’का रुमा हल नेपाल आएका थिए। त्योबेला नेपालका धेरै ठाउँ पुगेर उनले तस्बिर खिचेका थिए। प्रदर्शनीमा राखिएकामध्ये विदेशीले खिचेका तस्बिर रङ्गीन छन् भने नेपालीका श्यामश्वेत।

“आजभन्दा ६०-७० वर्षअघिको पोखराको समाज, भूगोल, संस्कृति र रीतिरिवाजको झल्को तस्बिरहरुमा छ”, उलकले भने, “यी तस्बिर हाम्रा अमूल्य पूँजी हुन्, इतिहासका साक्षी हुन्, यिनले भावी पुस्तालाई पुरानो नेपाल चिनाउँछन्।”

प्रर्दशनीमा विख्यात भुभर्गविद् टोनी हेगनले खिचेको तस्बिरसमेत राखिएको छ। “उहिलेको पोखरा झल्काउने ३८ फोटो मात्र प्रदर्शनीमा छन्, धेरै तस्बिर अमेरिकी पिस कोर भोलिन्टियरले खिचेका छन्, केही तस्बिर मेरो बुबाका पनि छन्”, उलकले भने।

उलकसँग पोखरासँग सम्बन्धित दस हजार तस्बिर सङ्ग्रहित छन्। शुक्रबारदेखि काठमाडौँस्थित सैनिक मुख्यालयमा चलिरहेको तस्बिर प्रदर्शनीमा पनि आफूले सङ्कलन गरेका सैनिकसँग सम्बन्धित तस्बिर राखिएको उनको भनाइ छ।

गत पुस २७ गतेदेखि सुरु भएको एघारौँ संस्करणको पोखरा महोत्सव आउँदो सोमबार सकिँदैछ। महोत्सवमा कृषि, औद्यागिक उत्पादन, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्रीकक्ष पनि राखिएको छ। रमाइलो बाल उद्यान, कलाकारको साङ्गीतिक प्रस्तुति, लोकनृत्य, हाँस्यव्यङ्ग्य प्रहसन, घोडा सवारलगायतले मेलामा आकर्षण बढाएको छ।

महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवद्र्धन र न्यून आय भएका परिवारका बालबालिकालाई लक्ष्य गरी आवासीय छात्राबास निर्माणमा लगाइने आयोजकले जनाएको छ।

महोत्वमा बिक्री हुने प्रत्येक टिकटबाट रु एक सेती नदी संरक्षणका नाममा छुट्याइने क्लबका अध्यक्ष श्रेष्ठले बताए। महोत्सवमा दुई सय ५८ व्यावसायिक कक्ष छन्। तेह« दिनसम्म चल्ने महोत्सवलाई दुई लाख बढी दर्शकले अवलोकन गर्ने आकलन गरिएको छ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ११ : ५२ बजे

मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा वितरण

जनकपुरधाम – विगत लामो समयदेखि (भूमिहीन) सुकुमवासीको रूपमा बस्दै आएका

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन – गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

आजका समाचार : एमालेको ब्यानरमा विद्या भण्डारी, जसपा–लोसपा एकीकरणमा त्रिपाठी असहमत र इबोलाको जोखिम बढ्दो

विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि विद्यादेवी

पञ्जाब किंग्समाथि शानदार जित निकाल्दै आरसीबी प्लेअफमा

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६१औँ खेलमा आइतबार

इरानी संसद्का सभामुख गालिबाफ चीन मामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त

तेहरान- अमेरिकासँगको वार्तामा प्रमुख वार्ताकारका रूपमा उदय भएका इरानको संसदका