मिर्गौलामा लाग्ने विभिन्न रोगमध्ये मिर्गौला बिग्रिने प्रमुख समस्या हो। दुवै मिर्गौला पूर्ण रूपमा बिग्रेमा बिरामीसँग जीवनभर डायलिसिस गरेर बस्ने या मिर्गौला प्रत्यारोपण गर्ने विकल्प मात्र बाँकी रहन्छ। सबै उपायलाई हेर्दा मिर्गौला प्रत्यारोपण उत्कृष्ट देखिन्छ। तर, मिर्गौला प्रत्यारोपण बिरामीको सबै समस्याको हल भने होइन। मिर्गौला प्रत्यारोपणपछि पनि बिरामीले नियमित औषधि खानुपर्छ,। नियमित औषधि खाँदै समयसमयमा चिकित्सकलाई भेट्नुपर्छ। मिर्गौलाको रोग र प्रत्यारोपणको विषयमा आधारित रहेर खबरहबका लागि डा. सुमन चापागाईँसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
मिर्गौला प्रत्यारोपणलाई हामीले कसरी बुझ्ने ? मिर्गौला प्रत्यारोपण भनेको एउटा मानिसको शरीरबाट मिर्गौला निकालेर अर्को मानिसमा राख्नु हो। मिर्गौला सम्बन्धी समस्या भएको व्यक्तिलाई मिर्गौला आश्यक परेमा अर्को स्वास्थ्य मिर्गौला भएको व्यक्तिबाट झिकेर प्रत्यारोपण गरिन्छ। मिर्गौला प्रत्यारोपणपछि सहज रुपमा नयाँ जीवन बाँच्न सकिन्छ।
कस्तो व्यक्तिको मिर्गौला कस्तोमा राख्ने ? यो एउटा अंग दान हो। एउटाको अंग अर्कोको शरीरमा मिल्छ कि मिल्दैन भन्ने सम्पूर्ण कुराको अध्ययन गरेर मात्र प्रत्यारोपणको काम हुन्छ। नशाहरू कस्तो छ, राख्ने ठाउँको नशा कस्तो छ, राख्ने ठाउँ कस्तो छ, मिर्गौला निकाल्दा उसलाई प्रत्यारोपण पछाडि असर पर्दछ कि पर्दैन भनेर मिर्गौला दान गर्ने विभिन्न मापदण्ड पार गर्नुपर्छ। यसलाई डोनर सेलेक्सन क्राइटेरिया पनि मनिन्छ। त्यसको आधारमा हामीले स्वस्थ मिर्गौला दान गर्न सक्ने मान्छेको अङ्गलाई झिकेर प्रत्यारोपण गर्ने हो।
डोनर सेलेक्सन क्राइटेरीया भनेको कस्तो हो ? उमेरको क्राइटेरिया, अन्य रोगबाट पीडित छ कि छैन, क्यान्सर नै छ कि भनेर हामीले सबै परीक्षण गर्छौ। स्वस्थ अवस्था कस्तो छ र मिर्गौला निकालेर उसको शरीरमा कुनै असर गर्छ कि गर्दैन भनेर मान्छेहरूको डोनर सेलेक्सन गर्छौ। मिर्गौला दिएर पनि स्वस्थ हुने उसलाई कुनै असर नगर्ने मान्छेहरूको मात्र मिर्गौला निकालेर प्रत्यारोपण गरिन्छ।
के को आधारमा मिर्गौला दान गर्न मिल्ने र नमिल्ने हुन्छ ? सबै भन्दा महत्त्वपूर्ण कुरा हाम्रो नियममा भर पर्दछ। एउटा मानवले अर्को मानवको लागि अङ्ग दान गर्ने भनेको धेरै ठूलो कुरा हो। त्यो धेरै जना मान्छेको हुन्छ। तर त्यसमा सही मान्छेको सही ठाउँमा राख्नको लागि नियमक निकायहरू सक्रिय भयो भने त्यो प्रयोग गरिन्छ।
प्रत्यारोपण गरेपछि पहिलाको जस्तो सामान्य जीवनमा आउन सक्ने सम्भावना कतिको छ ? स्वस्थ मिर्गौलालाई हामीले प्रत्यारोपण गर्ने हुँदा हामीले अनेक औषधि चलाउँछौँ। जसले अरूको अङ्गलाई पनि आफ्नो शरीरमा मिलाएर राख्छ। अहिले राम्रो सुविधा आएको छ। तर यो सबै जुन मान्छेमा राखिन्छ त्योसँग सम्बन्धित कुरा हो। कसैमा राम्रोसँग लामो समय काम गर्न सक्छ र कसैमा तुरुन्तै काम नगर्ने पनि हुन्छ। प्रत्यारोपण गरेको मिर्गौलाको नतिजा अहिलेसम्म राम्रो पाएका छौँ।
लिने र दिनेले के के कुरामा ध्यान दिनुपर्छ ? सबै भन्दा महत्त्वपूर्ण भनेर हामी मिर्गौला दिने मान्छेलाई भन्छौँ। उहाँको शरीरको एउटा अङ्ग जाँदै छ। अब उहाँले एउटा मिर्गौलाबाट नै बाच्नु पर्ने हुन्छ। त्यस कारणले यसमा धेरै ध्यान दिनुपर्छ। जस्तो दुई वटा मिर्गौला भएको ठाउँमा अब एउटा मात्र हुँदा त्यसलाई जोगाउनु ठूलो कुरा हुन्छ। त्यस कारण बेला बेलामा चेक गर्नु पर्दछ। त्योबाहेक प्रेसरको समस्याबाट टाढा रहनुपर्छ। त्यसले सिधा मिर्गौलालाई असर गरेको हुनसक्छ।
प्रत्यारोपण गर्न कस्तो ठाउँमा ठिक हुन्छ ? अधिकार प्राप्त सेन्टरहरू भनेर सरकारी निकायले अनुगमन गरेर विज्ञबाट अनुमति लिएर दिएको हुन्छ। त्यसमा २४ सै घण्टा सुविधा दिइएको हुन्छ। यसको लागि टिम चाहिन्छ एक्लै गरिँदैन, समयमा समस्या हेर्ने डाक्टरहरू चाहिन्छ। यो सबै कुराको टिम भएको राम्रो मानिन्छ। यो नेपालमा ६ देखि ७ वटा अस्पतालमा अनुमति दिइएको छ। सबै भन्दा पहिला यो त्रिवि शिक्षण अस्पतालमा सुरु भएको हो। नेपालमा अहिलेसम्म ६०० मिर्गौला प्रत्यारोपण भइसकेको छ।
उपचार कत्तिको महंगो छ ? महंगो त अहिले नेपाल सरकारले निःशुल्क गर्ने भनेको छ। मिर्गौलाका जति पनि बिरामीहरू छन् त्यसको हिसाबले अरू धेरै नै काम गर्न बाँकी छ। समय र औषधिका कारण बिरामीको खर्च हुने देखिन्छ। त्यसको लागि दक्ष जनशक्तिदेखि लिएर टिमहरू र राम्रो संस्था विकास हुनु आवश्यक छ।
आफ्नो अङ्ग फालेर अरूको राख्दा कत्तिको जोखिम हुन्छ ? डोनरलाई सेफ हुने तरिकाले हामीले त्यसको मापदण्ड निर्धारण गरेका हुन्छौँ। जसले गर्दा राख्नेलाई भन्दा पनि दिनेलाई बढी प्राथमिकतामा राखेर अप्रेसन गर्नुपर्ने हुन्छ। अंग दान अर्थात् मिर्गौला दानमा जोखिम छ तर विज्ञ समूहले सुझबुझपूर्ण निर्णय लिएका हुन्छन्।
प्रत्यारोपण गरेपछि पहिलाको जस्तो अवस्थामा जान्छ ? प्रत्यारोपण गरेपछि हामीले प्री अफ, इन्टर अप र पोस्ट अप भन्ने हुन्छ। अप्रेसन गर्नु भन्दा अगाडिका समस्या, अप्रेसन गर्दागर्दैका कुराहरू र अप्रेसन पछिका कुराहरू हुन्छन्। यो सबै कुरालाई हामी शल्य चिकित्सकले ध्यान दिएका हुन्छौँ। जस्तो: औषधिहरूबाट एउटा भयो, टेक्निकल कुराहरू पनि आइहाल्छन्। नशाहरू जोड्ने काम हुन्छ। पिसाब गर्ने नशाहरू जोडेर त्यो नली लगेर थैलीमा राख्नु पर्दछ। त्यसैले धेरै समस्या आउन सक्छन्, रगत बग्यो भने रगत चढाउनु पर्दछ।
प्रत्यारोपणपछि समय बढ्दै जाँदा समस्या हुन्छ कि ? यसमा ठ्याक्कै केही भन्न सकिँदैन। समस्या हुन सक्छ। कुनै समयमा त्यो भित्र पानी जम्न सक्छ, पिसाब बग्ने नली साँघुरो भएर त्यसको लागि धेरै अप्रेसन गर्नुपर्ने हुनसक्छ। यो ट्रान्सप्लान्ट सर्जरीहरूका युरोलोजिष्टहरुले नै गर्छन्। विशेष गरी यो ट्रान्सप्लान्टको लागि मात्र पनि तालिम भएका टेक्निसियन हुन्छन्। यो पिसाब सम्बन्धी समस्या थैलोमा जोड्ने समस्याहरू हामी न्युरोलोजिष्टले नै गछौँ। पछि सबै ठिक हुँदा पनि आफै मिर्गौलाले कम गर्न छोड्न सक्छ। खानु पर्ने औषधि नखाएर पनि फेल हुनसक्छ। त्यसैले समय समयमा अस्पताल आएर जाँच गर्नु पर्ने हुन्छ।
कति समयसम्म चेकअपमा अस्पताल जानुपर्छ ? प्रोटोकल हेरेर हुन्छ। अप्रेसनको हिसाबले हेर्दा एक पटक प्रत्यारोपण गरेपछि ३ महिला ६ महिना गरे ठिक छ कि छैन भनेर जाँच गर्छौँ।
तपाईँको अनुभवमा पहिला भन्दा अहिले केही फरक पाउनु भएको छ ? पहिला हामी सिधा एउटा नशा भएको प्रत्यारोपण गर्दै आएका थियौँ। अहिले धेरै नशाहरू को पनि गर्छौँ, जटिल कार्यहरू गर्छौँ। यस्तो कुरामा अहिले दक्षता हासिल गरेका छौँ।
प्रत्यारोपण गरेकाले के के कुरामा ध्यान दिने ? मिर्गौला दान संवेदनशील कुरा हो। सबै भन्दा पहिला नियमित औषधि खाने, चेकजाँचमा जाने गर्नुपर्छ । सानो समस्या भनेर बस्नु हुँदैन। कुनै समस्या भइहाले अस्पताल तत्काल जानुपर्छ।
क्याटागोरी डोनर कार्यक्रम भनेर आइरहेको छ यसलाई हामीले कसरी बुझ्ने ? अहिलेसम्म नेपालमा हामीले गरेका मिर्गौला प्रत्यारोपणहरू एकाध कुनै कुनै संस्थामा भएको छ। नत्र हामीले जिउँदो मान्छेले नै आफ्नो शरीरबाट दिने र दुवै बिरामीले आफ्नो तरिकाले जीवन जान्छ। तर हामीले क्याटागोरी डोनर कार्यक्रमलाई अझ राम्रोसँग नियम पारित भएको छ। तर, यो कार्यान्वयन भएको छैन। क्याटागोरी डोनर भनेको दिमाग मरिसकेको तर हामीले अङ्ग निकाल्न मिल्न सकिने अवस्था हो। यो भयो भने धेरै मान्छेहरूले जीवन पाउँथे। एउटाबाट दुई जनाले सेवा पाउँथे। अहिले फोक्सोको पनि ट्रान्सप्लान्ट हुने भएको छ। त्यसैले यो राम्रो हो।
मृत्यु भएको कति समय भित्र मिर्गौला निकाली सक्नुपर्ने हो ? सकेसम्म जति सक्दो छिटो थाहा पाउने बित्तिकै गर्न सक्यो भने राम्रो हुन्छ। यसको लागि हामीले लिस्ट बनाउनु पर्दछ। मिर्गौला निकाले पनि राख्ने कसले यो भनेको राष्ट्रिय कुरा हो। त्यसैले नियम पुर्याउनु पर्दछ। यसका लागि ल्याबहरू पनि मिलाउन सक्यो भने यो एकदमै फाइदा जनक हुन्छ। प्रस्तुति : पुष्पाञ्जली बस्नेत