भातको चाख छैन, भातखानेडाँडामा | Khabarhub Khabarhub

भातको चाख छैन, भातखानेडाँडामा


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– करिब एक दशक अगाडिसम्म भातखानेडाँडा विकट गाउँ थियो । अहिले बजार बनेको छ । अग्लो डाँडैभरि ठूला-ठूला घर भवन बनेका छन् भने वरपर भिराला जमिन छन् । यी जमिनमा अहिले गहुँ, मकै, फापर र कोदो फल्छन् । यहीँ उत्पादन भएका खाद्यबालीबाट स्थानीयवासी जीवन निर्वाह गर्छन् । खाद्यान्न अपुग भए नजिकैको पसलबाट किन्छन् । भातखानेडाँडामा पहिले खेतीपाती राम्रो नहुँदा खाद्य संकट पथ्र्यो

खाद्य संकट पर्दा जाँदा स्थानीय बजार झरेर खाद्यान्न जोहो गर्नुपथ्र्यो । पहिले विकट भातखानेडाँडा अहिले पूरै बदलिएर सुगम बनेको छ । पहिलेको जस्तो अहिले खाद्य संकटसमेत नपर्ने स्थानीय सङ्गम घर्तीमगर बताउँछन्। पहिले मुलाको धजरा, घ्यूलगायतका स्थानीय उत्पादन लिएर गाउँलेहरू पाङ, बलेवालगायतका ठाउँमा गएर धान साटेर ल्याई उपभोग गर्ने गरेको उनको भनाइ छ । तर अहिले लेकाली धान लगाए गाउँमै चामल उत्पादन गर्न सकिने उनी बताउँछन् ।

बाली राम्रो उत्पादन नहुँदा स्थानीयवासीले ‘बाली पूजा’ गर्ने गर्थे । त्यो चलन अहिले पनि छ । यहाँ हरेक वर्ष चैत महिनामा बाली सप्रियोस् भन्दै ‘बाली पूजा’ गर्दै आएको उनको भनाइ छ । अनिकालको अन्त्य होस् र सहकालको सुरुआत होस् भनी गाउँलेले ‘बाली पूजा’ गर्ने गरेको स्थानीय घर्तीले बताए । यो पूजा परापूर्वकालदेखि चल्दै आएको उनी बताउँछन्। गाउँमा उत्पादन राम्रो हुँदै गएपछि अहिले भातखानेडाँडामा भातको खासै चाख नभएको उनको भनाइ छ ।

उनी भन्छन् , ‘पहिले दशैँ, तिहार र मुख्य चाडपर्वमा मात्रै भात खाने चलन थियो, यो गाउँ दुर्गममा हुँदा चामल ल्याउन टाढा-टाढा जानुपथ्र्यो, यहाँ धान उत्पादन हुँदैनथ्यो, अरु बाली पनि राम्रो उत्पादन नभएपछि स्थानीयले ‘बाली पूजा’ गर्दै गर्ने गर्थे, जो अहिले पनि गरिन्छ, आधुनिकीकरणले गर्दा अहिले उत्पादन राम्रो हुँदै गएको छ, पहिलेको जस्तो खाद्यान्नको दुःख हुँदैन ।’

स्थानीय ६२ वर्षीय डिलबहादुर घर्तीले यहाँ गाउँले जम्मा भएर बाली पूजा गरी भात खाने हुँदा यो ठाउँलाई ‘भातखानेडाँडा’ भनिएको बताउँछन्। अहिले पनि अर्गलगाउँका गाउँले बाली पूजाका लागि चामल उठाउने र उपयुक्त दिन पारेर पूजा गरी सामूहिकरूपमा भात खाने चलन रहेको उनको भनाइ छ । स्थानीय बाली पूजा गरेरमात्रै नयाँ बाली भित्र्याउने गर्छन् । ‘यो चलन त धेरै सयौँ वर्ष पहिलेदेखि चल्दै आएको हो, हाम्रो पुर्खाले मनाउँदै आएको परम्परा अहिले हामी पनि मनाउँछौँ, पहिले चामलको खाँचो निकै हुन्थ्यो, नजिक पाइँदैनथ्यो, गहुँ, जौँ पनि राम्रो नहुँदा समस्या हुन्थ्यो’, घर्तीमगरले भने, ‘बाली पूजा नगरेसम्म नयाँ बाली भित्र्याउँदैनौँ, हिउँदे बाली भित्र्याउनुभन्दा पहिले बाली पूजा गर्नुपर्छ ।’

गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले पहिले यस ठाउँ निकै विकट रहेको र यहाँ चामल ल्याउन नसक्दा स्थानीयवासीले गाउँमै उत्पादन भएका खाद्यान्नबाट जीवन चलाएको बताए। गाउँमा चामल नआउँदा भातखानेडाँडामा बाली पूजा हुने र त्यहाँ गाउँलेहरू जम्मा भएर भात पकाएर खाने गरेको हुँदा यस ठाउँको नाम भातखानेडाँडा हुनु गएको उनको भनाइ छ  ।

उनले भातखानेडाँडासँग परम्परा र संस्कृतिसमेत जोडिएको बताए। यहाँ अन्य बेला पनि विभिन्न मेला महोत्सव र धार्मिक क्रियाकलाप अहिले पनि हुने गरेको बताउनुहुन्छ । भातखानेडाँडासँगै स्थानीयको जीवनस्तरसमेत परिवर्तन हुँदै गएको बताए। उनले परम्परागत पेसालाई परिवर्तन गरेर स्थानीयवासी नयाँ प्रविधिसँग जोडिएर पेसा-व्यवसाय गर्न थालेको र उनीहरूको आर्थिक अवस्था पनि सुदृढ बन्दै गएको बताउँछन्।

उपाध्यक्ष रोका भन्छन्, ‘भातखानेडाँडा मात्रै फेरिएको छैन, यहाँका मदजुर, किसान तथा सबै वर्गको जीवनस्तर पनि फेरिएको छ, पहिले यो ठाउँ जङ्गल नै थियो, पछिपछि विकास हुँदै गयो, अहिले एउटा बजारको स्वरुप लिएको छ, सडक सञ्जालले जोडिएपछि विकासका थुप्रै ढोका खुलेका छन्, हामीले पनि जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर विकास गरिरहेका छौँ ।’

अहिले ताराखोला गाउँपालिकाको केन्द्र पनि भातखानेडाँडामै छ । त्यसले गर्दा यहाँ ठूलो परिवर्तन आएको छ । ठाउँले मुहार फेरेपछि स्थानीयसमेत खुसी छन् । स्थानीय देवबहादुर खत्री भन्छन्, ‘भातखानेडाँडा सुनसान थियो, पहिले यहाँ घर पनि थिएनन्, मान्छेको आवतजावत निकै कम थियो, अहिलेको जस्तो मोटरगाडी चल्दैनथे, सरकारी अफिसमा काम परे दिनभर लगाएर बागलुङ पुग्नुपथ्र्यो ।’

उनले घर जग्गाको तिरो तिर्न र सामान्य प्रशासनिक कामका लागि आफूहरू घण्टौँ लगाएर बागलुङ बजार पुग्न बाध्य भएको स्मरण गर्दै दैनिक उपभोग्य सामानको जोहो गर्न पनि गलकोट झर्नुपरेको बताउँछन् । घर्तीले अहिले भातखानेडाँडाको मुहार पूरै फेरिएको भन्दै डाँडैभरि घर बनेको बताए। गाउँपालिकाको केन्द्र नै भातखानेडाँडामा बनेपछि विकासले गति लिएको उनको भनाइ छ ।

स्थानीय तलिकुमारी रोकाले भातखानेडाँडा सडकले जोडिएपछि गाउँ बजार हुनुका साथै सहरका धेरै सुविधा गाउँमै आउन थालेको सुनाए। उनी पहिले खानेपानीको निकै समस्या भोग्नुपरेको स्मरण गर्दै अहिले घर–घरमा धारा बनेको बताउँछन्। उतिबेला गाउँमा कोही बिरामी परे डोकोमा बोकेर अस्पताल पु र्‍याउने गरेको जनाउँदै अहिले गाडीमा हालेर समयमै उपचार गर्न लैजान सकिने उनको भनाइ छ । उनी भन्छन् , ‘सेवा–सुविधा लिन लागेको त बल्लै त हो नि, नत्र त कयौँ वर्ष यहाँका मान्छेले दुःख भोग, घाँस दाउरा, मेलापात गरेरै जिन्दगी चलाए, हामीभन्दा अगाडिका पुर्खाले त झन् कति दुःख पाए होलान् ?’

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ८ : ०३ बजे

हुथी आक्रमणबाट यमनी तटमा रहेको जहाजमा क्षति

दुबई– यमनको हुथी विद्रोहीले महिनौंदेखि गरेको आक्रमणपछि बिहीबार रेड सीमा

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ (तस्बिरहरु)

काठमाडौ‌– राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज

रूसी आक्रमणबाट सात जनाको मृत्यु, १० घाइते

एजेन्सी– युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा बन्दरगाहको पूर्वाधारमा रूसले गरेको ब्यालेस्टिक

जनकपुरधामका शक्तिपीठ तथा दुर्गा मन्दिरमा फूलपाती भित्र्याइयो

महेन्द्रनगर – विजया दशमीको सप्तमी तिथिका दिन आज जनकपुरधामका विभिन्न

भारत सरकारद्वारा १० वटा ‘प्रिफ्याब्रिकेट स्टिल ब्रिज’का सामान हस्तान्तरण

वीरगञ्ज – भारत सरकारले बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालन गर्न