लामो समयपछिको वर्षाले पर्यावरण र किसानलाई राहत « Khabarhub

लामो समयपछिको वर्षाले पर्यावरण र किसानलाई राहत


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लामो समयपछिको वर्षाले पर्यावरण र किसानलाई राहत मिलेको छ । वर्षापछि हिमपात हुँदा हिमाल हिउँले भरिएका छन् भने सुक्खापनले खङ्ग्रिएका डाँडामा हरियाली देखिन थालेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाकी प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले लामो समयको खडेरीपछिको वर्षाले वातावरण सफा हुनका साथै किसानलाई ठूलो राहत मिलेको बताइन् ।

“पाँच महिनापछि फागुनको अन्तिममा भएको हिउँदे वर्षाले केही पर्यावरण राम्रो भएको छ भने किसानलाई ठूलो राहत भएको छ”, उनले भनिन्, “अहिले हिउँदे वर्षा सकिएर प्रिमनसुन सुरु भइसकेको छ ।” वर्षका कारण सहरी क्षेत्रमा बढेको प्रदूषण न्यूनीकरणमा पनि ठूलो सहयोग पुगेको छ ।

चैतको पहिलो साता भएको वर्षाबाट खासगरी मकै, चैतेधान र हिमाली क्षेत्रमा आलुलगायत बालीनाली लगाउन लागि किसानलाई सहज भएको उनको भनाइ छ ।

“कात्तिकदेखि फागुनसम्म वर्षा नहुँदा सुक्खापन र खडेरी बढेको थियो । खडेरीपछिको वर्षाले किसान खुसी भएका छन् । वातावरण सफा भएको छ”, वरिष्ठ मौसमविद् कँडेलले भनिन् ।

वातावरणविद् भुषण तुलाधरले वर्षाले वातावरणलाई स्वच्छ र सफा बनाएको बताए । “वर्षाले पर्यावरणमा सकारात्मक प्रभाव पार्छ, वातावरण सफा बनाउनुका साथै जलवायु परिवर्तनलाई कम गराउँछ”, उनले भने, “साधारणतया यो सिजनमा प्रदूषण बढी हुन्छ । लामो समयदेखि वर्षा नभइरहेको अवस्थामा भएको वर्षाले वायु प्रदूषण नियन्त्रणमा सहयोग पुग्नुका साथै कृषि क्षेत्रलाई ठूलो राहत मिलेको छ ।”

मार्च, अप्रिल र मेमा हुने वर्षालाई प्रि–मनसुन मानिन्छ । यो सिजनमा बिहान र दिउँसो मौसम सामान्यतया सफा रहेपनि अपरान्ह्पछि मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।

“वर्षाले वातावरण सफा भएको छ, प्रदूषण कम हुनका साथै किसानलाई पनि राहत भएको देखिन्छ । हिमाली भू–भागमा हिमपात भइरहेकाले पनि मौसम सफाल भएको छ”, उनले भने ।

यो सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आरोही आउने सिजन पनि हो । यही समय सर्वाधिक सङ्ख्यामा स्वदेशी तथा विदेशी आरोही आरोहणमा जाने गर्छन् ।

पछिल्ला दिनमा भइरहेको वर्षाका कारण देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ । हिमपातका कारण कालापत्थर जस्तै देखिन थालेका हिमाल सेताम्मे भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका वर्षाका कारण पूर्वदेखि पश्चिमसम्मको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भएको छ । गए राति भएको वर्षासँगै ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रो पटक हिमपात भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा आज पनि सामान्य हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको तल्लो फेदी काफ्ले पाटीसम्मै हिउँ परेको उनले जानकारी दिए । उच्च हिमाली क्षेत्रमा निकै बाक्लो हिउँ परेको छ । हिउँ परेसँगै यहाँ पर्यटकको सङ्ख्या पनि बढेको छ ।

यस्तै फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा एक फिट बढीसम्म हिउँ परेको स्थानीयको भनाइ छ ।

अनुकूल मौसमले देशका पर्यटकीय गन्तव्यमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहजता मिलेको छ । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा हिमाल आरोहणका लागि यतिखेर विभिन्न मुलुकका आरोहीले धमाधम आरोहण अनुमति लिइरहेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  २ : ४९ बजे

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी- म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण

झन्डै ‘गोट’ हुने यात्रा छुटेको !

काठमाडौँ – त्यो अर्जेन्टिनाको सेतो–निलो तीन तारे जर्सी लगाएर लियोनल

अन्तर्राष्ट्रिय सम्बन्ध र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै, रसुवा बाढीबारे सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

जसले यो सिजन चेल्सी छाडे, कुन खेलाडी कता गए ?

​काठमाडौँ- यस सिजनको समर ट्रान्सफर विन्डोमा इङ्लिस प्रिमियर लिग क्लब