विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आज वैशाख ८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल २१, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

सुडानमा जारी हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै

सुडानमा जारी हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स आरएसएफ र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले कूटनीतिक दबाब बढाएको हो ।

संयुक्त राष्ट्रसङ्घ, अमेरिकालगायत अन्य देशले मुस्लिम धर्मावलम्बीको चाड इद उल फित्रका अवसरमा तीन दिने युद्धविरामका लागि दबाब दिइरहेका छन् ।

आरएसएफले मानवीय आधारमा ७२ घण्टाको युद्धविराममा सहमति जनाएको छ तर यस विषयमा सेनाका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबाट भएको युद्धविरामको आह्वानसँगै सुडानमा अस्थायी युद्धविरामको आशा गरिएको छ । बेलायत, युरोपेली सङ्घ, रुस र चीनले पनि तत्काल हिंसा अन्त्यको आह्वान गरेका छन् ।

आज बिहानैदेखि युद्धविराम लागू गर्ने आरएसएफले बताएको छ तर राजधानी खार्तुममा गोलाबारी र विष्फोटनका आवाज भने बन्द भएका छैनन् । यसअघि दुई पटक गरिएको युद्धविरामको प्रयास सफल हुन सकेन ।

सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बललाई सरकारी सेनामा समाहित गर्ने गत वर्ष बुहारन र डगालोबीचको सहमति कार्यान्वयन नहुँदा युद्ध चर्केको हो । सेनाप्रमुख बुहारनले आरएसएफसँगको वार्ताको सम्भावनालाई अस्वीकार गरेका छन् ।

राष्ट्रसङ्का अनुसार युद्धको विभिषिकाबाट बच्न करिब २० हजार सुडानी छिमेकी चाडतर्फ पलायन भएका छन् । यसरी आफ्नो थातथलो छाडेर भाग्नेमा महिला र बालबालिका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले द्वन्द्वरत दुवै पक्षलाई कम्तीमा आगामी आइतबारसम्म युद्धविराम गर्न आह्वान गरेका छन् । साथै उनले सुडानमा कार्यरत कूटनीतिक कर्मचारी र सहायताकर्मी सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो ।

सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको बुरहान समूहले आरोप लगाएको छ ।

यसैबीच, करिब एक साताअघि देशमा द्वन्द्व शुरु भएपछिको पहिलो भाषण्मा सेनाप्रमुख बुरहानले नागरिक नेतृत्वको सरकारका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो सेना विजयी हुने र त्यसले सुरक्षित रुपमा नागरिक शासन बहाली गराउने उनले वाचा पनि गरेका छन् ।

सुडानी सेनाले आजै एक विज्ञप्ति निकालेर सेनाप्रमुख वुरहानलाई टर्कीए, दक्षिण सुडान तथा इथियोपियाली नेताका साथै अमेरिकी र कतारी विदेशमन्त्रीले फोन गरेका छन् ।

क्यानाडाको अन्तर्राष्ट्रिय विमानस्थलबाट करोडौँको सुन चोरी

क्यानाडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट करोडौँको सुन चोरी भएको छ । सुन र बहुमूल्य वस्तु राखिएको कार्गो कन्टेनरबाट सुन र अन्य सामग्री चोरिएको अधिकारीहरूले बताएका छन् ।

कार्गो कन्टेनरबाट दुई करोड क्यानेडियन डलर बराबरको सुनका साथै अन्य बहुमूल्य सामग्री चोरी भएको पुष्टि गर्दै प्रहरीले अनुसन्धान थालेको बताएको छ ।

गत सोमबार साँझ विमानबाट मालसामान उतारेपछि कार्गो गरिएको बहुमूल्य वस्तु हराएका क्षेत्रीय प्रहरी निरीक्षक स्टेफिन डुवेस्टेनले बताएका छन् ।

उनले अनुसन्धान थालिएको बताउँदै दोषीलाई चाँडै कानुनको दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यद्यपि अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।

कार्गो गरेर सुन ढुवानी गर्ने विमानको उद्गमस्थल तथा उक्त कार्गोको अन्तिम गन्तव्यबारे केही खुलाइएको छैन । क्यानाडमा चोरीका यस्ता घटना विरलै हुनेगरेका छन् ।

भारत सुडानबाट आफ्ना नागरिक फिर्ता लिन तम्तयार

भारत सरकारले द्वन्द्वग्रस्त सुडानमा रहेका भारतीयहरूको सुरक्षा र उनीहरूलाई बाहिर निकाल्ने वातावरण सुनिश्चित गर्न विभिन्न राष्ट्रहरू र संयुक्त राष्ट्रसंघका एजेन्सीहरूसँग सम्पर्कमा रहेको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार उल्लेख गरेका छन् ।

बागचीले हाल सुडानमा रहेका भारतीयहरूको कति छन् भन्ने बारे स्पष्ट भने भनेका छैनन् ।

‘खार्तुममा हाम्रो मिशन औपचारिक र अनौपचारिक सहित धेरै च्यानलहरू मार्फत त्यहाँ भारतीय समुदायसँग सम्पर्कमा रहेको छ,’ प्रवक्ताले भने ।

श्रीलंकाले १ लाख बाँदर चीन निकासी गर्ने

श्रीलंकाले १ लाख बाँदर चीन निकासी गर्ने भएको छ । चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले १ लाख बाँदर चीनमा निकासी गरेर अर्थतन्त्रमा सानो योगदान गराउने छ ।

चीनको जुलजिकल गार्डेनको माग अनुसार १ लाख बाँदर चीन पठाइन लागिएको हो । श्रीलंकाबाट लगिने बाँदर चीनका १ हजार चिडियाघरमा राखिनेछ ।

श्रीलंकाको कृषि मन्त्रालयका वरिष्ठ अधिकारी गुणादास समरसिंघे विश्वमै दुर्लभ बाँदरको रूपमा रहेको टोकमकाकी प्रजातिलाई चीनमा निकासी गर्नका लागि यसअघि पशुपक्षी निकासीमा लगाउँदै आएको प्रतिबन्ध सम्बन्धी आवश्यक कानुन संशोधन पनि गरिसकेको छ ।

श्रीलंकमा बाँदरको बढ्दो संख्याका कारण बालीनालीमा व्यापक रूपमा क्षति हुँदा किसानलाई मर्का परेको तथा श्रीलंकाको खाद्य चक्रमा नै असर गरिरहेको अवस्थामा बाँदर निकासी हुन लागेको अधिकारीहरुले जनाएका छन्।

पछिल्लो समय श्रीलंकामा बाँदरको संख्या बढेर २५ देखि ३० लाख पुगेको अनुमान गरिएको छ ।

दिल्लीको एक अदालतमा परिसरमा गोली हानी महिलाको हत्या

दिल्लीको एक अदालतमा एक महिलाको गोली हानी हत्या गरिएको छ । अदालत परिसरमा भएको गोली लागेर ४२ बर्षिया राधा नाम गरेकी महिलाको मृत्यु भएको हो ।

उनी माथि ४–५ गोली हानिएको थियो भने उनलाई अस्पताल लैजाने क्रममा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

ती महिला माथि बिहान १०:३० बजे ४–५ राउण्ड गोली हानिएको थियो भने उनको पेट र हातमा तीनवटा गोली लागेको छ । गोली लागेर एक वकिल पनि घाइते भएका छन् । सो गोली हाने पछि आक्रमणकारी क्यान्टिनको गेटबाट भागेका थिए ।

वकिलको भेषमा आएका आक्रमणकारीले महिलालाई ताकेर गोली हानी हत्या गरेका हुन्। कडा सुरक्षाबीच गोली चलेपछि यहाँ भागभाग मच्चिएको थियो । अदालत परिसरमा भिडभाड भएको समयमा नै ती आक्रमणकारी भित्र प्रवेश गरेको बताइएको छ।

आरोपित महिला विरुद्ध ठगी मुद्दा दायर भएको थियो । आज उनको सुनवाइ थियो । अदालत भित्र दिन दहाडै गोली हानिएको घटनालाई लिएर दिल्ली प्रहरीको सुरक्षा संयन्त्र माथि प्रश्न उठाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस घटनालाई लिएर सुरक्षा व्यवस्थालाई लिएर केन्द्र सरकार माथि प्रश्न उठाएका छन् ।

राष्ट्रपति बाइडेनले अर्को हप्ता पुनः चुनावी अभियान घोषणा गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन्।

राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिक रूपमा आफ्नो अभियान शुरु गर्नको लागि एउटा भिडियो जारी गर्ने योजनालाई अन्तिम रूप दिइरहेको वाशिङ्गटन पोस्टले उल्लेख गरेको छ।

द वाशिङ्गटन पोस्टका अनुसार राष्ट्रपति बाइडेन र उनका सहयोगीहरूले मङ्गलबार बाइडेनको सन् २०२० अभियान शुरुवातको चार बर्षे वार्षिकोत्सवको अवसरमा भिडियो जारी गर्ने निर्णय गरेका छन्। राष्ट्रपति बाइडेनले महिनौंदेखि आफू दोस्रो कार्यकालको लागि उम्मेदवार हुने योजनाको सङ्केत गरेका छन् तर आधिकारिक घोषणा भने गरेका छैनन् ।

राष्ट्रपतिका शीर्ष सहयोगीहरूले चुपचाप चुनावी दौडको लागि व्यापक तयारी गरेका छन् । त्यसका निम्ति उनीहरूले राष्ट्रपति र प्रथम महिलासँग गत वर्षदेखि व्हाइट हाउस निवासमा नियमित भेटघाटहरू गर्दैछन्।

बाइडेनका दुई शीर्ष सल्लाहकारहरू, अनिता डन र जेन ओ’माली डिलनले पुन:निर्वाचन प्रयासहरूको निरीक्षण गर्दै आएका छन् । शीर्ष भूमिकाका लागि कर्मचारीहरूको अन्तर्वार्ता सहित उनीहरू आन्तरिक तयारीमा होमिएका छन् ।

उता डेमोक्र्याटिक राष्ट्रिय समितिले चुनावी परिदृश्य अध्ययन गर्न अनुसन्धान परियोजनाहरूलाई आर्थिक सहयोग गरिरहेको छ।

जम्मु काश्मिरमा भारतीय सेना माथि हमला, पाँच सैनिकको मृत्यु

भारतीय सेनामाथि आतंककारी आक्रमण हुँदा पाँच सैनिक जवानको मृत्यु भएको छ ।

जम्मु कश्मीरस्थित पुँछ भन्ने इलाकामा भारतीय सेनाको गाडीमा लक्षित गरेर प्रहार गरिएको ग्रिनेड आक्रमणमा परी पाँच भारतीय सैनिकको मृत्यु भएको हो ।

भारतीय सेनाका अनुसार बिहीबार दिउँसो करिब ३ बजेको समयमा सेना चढेको गाडीमा आतंककारीहरुले हाते ग्रिनेडले आक्रमण गरेका थिए । त्यसपछि गाडीमा आगलागी भएको थियो । सो आक्रमणमा परी राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु भएको हो ।

भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले सो आक्रमणमा चरमपन्थी समूहको हात रहेको जनाएको छ । मृत्यु भएका जवानहरु सो क्षेत्रमा आतंककारी कार्यमा संलग्नहका विरुद्धमा चलाइएको अभियानमा तैनाथ रहेको बेला उनीहरुको ज्यान गएको हो ।

आक्रमणमा एक जना जवान गम्भीर घाइते भएको र उनको उपचार रजौरीस्थित सैनिक अस्पतालमा भइरहेको छ ।

सुडान युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायको आह्वान

सुडानमा जारी युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेको छ। इद पर्व नजिकिएसँगे सुडानमा जारी सैनिक र अर्धसैनिकबीचको युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेका हुन्।

मुस्लिम समुदायको मुख्य पर्व इद उल फित्र शुक्रबारदेखि तीन दिनसम्म मनाइन्छ। सुडानको युद्ध रोक्न अमेरिका, दक्षिण सुडान, टर्की, साउदी अरब, कतालगायत देशका नेताले आह्वान गरेका हुन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेट्सलेसमेत यो पर्वमा नागरिकलाई सुरक्षित ढंगले विभिन्न ठाउँमा पुग्ने अवसर दिनुपर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। युद्धमा परेर त्यहाँ अहिलेसम्म तीन सय बढीको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ७ : ५८ बजे

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

काठमाडौं–  धनकुटा र सल्यानबाट जबरजस्ती करणी गरेको आरोपमा दुई जना

म माधव नेपालको पार्टीमा छैन, जनताको काम गरेर बस्छु : प्रेम आले

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू उक्त पार्टीमा

एकीकृत समाजवादीको केन्द्रीय समितिमा परेनन् प्रेम आले

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीको जारी दशौँ ममहाधिवेशनबाट ९३

महाभारतमा उत्पादित कफी जापान निर्यात

काभ्रेपलाञ्चोक– जिल्लाको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले व्यावसायिक कफी

केन्द्रीय कमिटी अधुरै छाडेर एकीकृत समाजवादीमा शपथ (तस्बिरहरू)

काठमाडौं- नेकपा एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशनमा तीनजना पदाधिकारीसहित चयन