दहमा जडीबुटी सङ्कलन केन्द्र स्थापना | Khabarhub Khabarhub

दहमा जडीबुटी सङ्कलन केन्द्र स्थापना


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – जिल्लाकै सबैभन्दा बढी जडीबुटी पाइने बारेकोट गाउँपालिका–४ दहमा सङ्कलन केन्द्र निर्माण गरिएको छ। सडकको पहुँच रहेको दहमा सङ्कलन केन्द्रको भवन निर्माणले यहाँको जडीबुटीलाई सहजरूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए। स्थानीय पूर्वाधार कार्यक्रमको साझेदारीमा गाउँपालिकाले उक्त सङ्कलन केन्द्रको भवन निर्माण गरेको उनले जानकारी दिए।

रु ४१ लाखमा निर्माण भएको उक्त भवनमा बारेकोटको पाटनबाट सङ्कलन गरी ल्याइएको जडीबुटी व्यवस्थापन गरिने छ। जाजरकोटबाट जुम्ला जाने बाटोको बीचमा रहेको र सडकको पहुँचमा रहेका कारण जडीबुटी भण्डार गरी निर्यात गर्न सजिलो हुने अपेक्षा गाउँपालिकाले लिएको छ। जडीबुटी सबैभन्दा बढी पाइने पाटन बारेकोट –४ मा रहेका सामुदायिक वनमा रहेको वडाध्यक्ष विष्णु रावतले बताए।

तोकिएको समयभन्दा अगाडि निर्माण गरिएको उक्त भवनले बाहिरबाट आउने सङ्कलनकर्तालाई सहजता ल्याउने भएको छ। भवन नहुँदा स्थानीयवासीका घरमा जडीबुटी राख्दा चोरी हुने, मुसाले हानी पुर्याउनेदेखि कुहिने डरबाट मुक्त भएको उनले बताए। पच्चीस प्रकारका जडीबुटी बारेकोटमा पाउने गरेको डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख राधाकृष्ण दासले सुनाए। जडीबुटी उत्पादन र सङ्कलनका दृष्टिकोणले बारेकोट–४ सबैभन्दा बढी उर्वरभूमि रहेको जनाइएको छ। अघिल्लो आर्थिक वर्षमा जडीबुटी सङ्कलनकर्ताबाट राजस्वस्वरुप रु ३३ लाख ७२ हजार एक सय २५ सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ।

जिल्लाको कुल भू–भागको करिब ५८ दशमलव एक सय ४५ भन्दा बढी क्षेत्रफल वन क्षेत्रले ढाकेको छ भने यहाँका नौ सय ३५ जनताको मुख्य पेसा कृषि र वन क्षेत्रसँग सम्बन्धित क्रियाकलापसँग आबद्ध रहेका छन्। वन व्यवस्थापनका विभिन्न पद्धतिमध्ये यस जिल्लामा मुख्यगरी सामुदायिक वन, सरकारीद्वारा व्यवस्थित वन, कबुलियती वन तथा निजी वन व्यवस्थापन पद्धतिद्वारा वनको संरक्षण, संवद्र्धन तथा सदुपयोग हुँदै आइरहेको छ। जिल्लाको कुल वन क्षेत्रको ३८ दशमलव ४२ प्रतिशत वन क्षेत्र सामुदायिक वनका रूपमा उपभोक्ता समूह गठन गरी वन व्यवस्थापन हुँदै आइरहेको छ।

समग्र जिल्लालाई वन व्यवस्थापनको हिसाबले एक डिभिजन तथा छवटा सबडिभिजन वन कार्यालयमार्फत वन व्यवस्थापन कार्य हुँदै आइरहेको छ। सबैभन्दा बढी वन क्षेत्र बारेकोट गाउँपालिका (२५ दशमलव ९७प्रतिशत) तथा सबैभन्दा कम भेरी नगरपालिका (नौ दशमलव ८९ प्रतिशत)मा पर्दछ।

यातायातको दृष्टिले निकै कठिन रहेको र प्राकृतिक स्रोतको हिसाबले निकै धनी जिल्लाको रुपमा रहे पनि हाल यातायातको पहुँच केही हदसम्म सहज भएको मानिन्छ। अन्य भौतिक पूर्वाधार अभावका साथै यातायात र सञ्चारको उचित विकास तथा जिल्लाको सबै क्षेत्रमा सडकमार्ग जोडिन नसकेकाले जिल्लाको विकासलाई थप कठिन बनाएको छ। प्राकृतिक सम्पदा खासगरी वन जङ्गल तथा जडीबुटी जुन सम्पदा यहाँ जिल्लाको प्रमुख प्राकृतिक सम्पदाका रूपमा रहेको छ। भू–उपयोगिताअनुसार भू–क्षेत्रको प्रयोगको अभावले भू–उत्पादकत्वमा कमी, भू–क्षय, बाढी, पहिरोको प्रकोप दिनप्रतिदिन बढ्दै गई भू–क्षेत्रबाट प्राप्त हुने निरन्तरको लाभबाट बच्चित हुने अवस्था सिर्जना हुँदै गएको छ।

जलवायु विविधताले प्राप्त वन, वनस्पति, जडीबुटीलगायत अन्य जीवहरूको विविधतालाई विकास गर्नु जिल्लाको कठिन भू–बनोट, भिरपहरा आदिले गर्दा अपरिहार्य रहेको छ। छरिएर रहेको गाउँ बस्तीको वरिपरि रहेका वन क्षेत्रको विकास स्थानीय जनताको सहभागिताबिना सम्भव नभएकाले स्थानीय समुदायमा भएको आवश्यकता र महत्वबारे वोध गराई वन विकासकार्यमा सहभागी गराउन उत्प्रेरित गर्ने लक्ष्य लिएको बारेकोट डिभिजन प्रमख दासले सुनाए।

यसैबीच जाजरकोटको भेरी नगरपालिका–३ स्यालापाखा राताचौरमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न संरचना निर्माणको काम जारी रहेको छ। जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले राताचौरमा रु आठ करोडको लागतमा कार्यालय भवन र जडीबुटी प्रशोधन केन्द्रका अन्य भौतिक संरचना निर्माण गरिरहेको छ।

प्रशोधन कम्पनीको कार्यालय भवनको निर्माण गर्न ज्ञान ज्योति बिल्डर्स प्रालि कोटेश्वर–१३ काठमाडौँले जिम्मा लिएको थियो। अहिले पनि भवन निर्माणको काम चलिरहेको छ। जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले समग्र कर्णाली प्रदेशकै आर्थिक समृद्धिमा टेवा पुर्याउने विश्वास लिइएको छ। सरकारको स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले औषधिजन्य जडीबुटीको उत्पादन, सङ्कलन तथा प्रशोधन गर्नुको साथै बजारीकरण गर्दै आएको छ।

कम्पनीले जाजरकोटमा जटामसी, तेजपत्ता, टिमुरलगायतका औषधिजन्य जडीबुटीको उत्पादन गर्नुका साथै प्रशोधन गरेर बजारीकरण गर्ने लक्ष्य लिएको छ। वार्षिक रु १० करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ। वनबाट काठजन्य उद्योग सञ्चालन गरेर, जडीबुटी तथा गैरकाष्ठको व्यापार गरेर, कार्वनको कारोबार गरेर, वन्यजन्तुको पालन गरेर, पर्यापर्यटनको माध्यामबाट लाभ हासिल गर्न सकिने छ। जिल्लामा स्थापना भएको प्रशोधन कम्पनीले जिल्लामा मात्र नभएर कर्णाली प्रदेशकै आर्थिक समृद्धिमा योगदान पुग्ने जनाइएको छ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ८ : ३० बजे

भोटखोलामा विद्युत्को राष्ट्रिय प्रसारणलाइन जोडियो

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारणलाइन जोडिएको छ

अस्ट्रेलियामा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको

अश्लिल हर्कत गरेको आरोपमा रौतहटमा डेढ दर्जन टिकटकर पक्राउ

गौर- होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटकरलाई नियन्त्रणमा लिई

पाँचखालमा हरित बसोबास योग्य सहरी विकास आयोजना लागू गरिने

काभ्रेपलाञ्चोक–  पाँचखाल नगरपालिकामा हरित बसोबास योग्य सहरी विकास आयोजना लागू

देशभरका गणित शिक्षकलाई प्रशिक्षण प्रशिक्षक तालिम

काठमाडौँ– नेपाल गणित समाजको दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण आजदेखि सुरु