चैते धानखेती पर्वतको पाँटफाँटमा फस्टाउँदै « Khabarhub

चैते धानखेती पर्वतको पाँटफाँटमा फस्टाउँदै


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पर्वत– सडक र राजमार्ग विस्तारका कारण घडेरी विस्तार भइरहेका कारण लोप हुँदै गइरहेको अवस्थामा पुगेको चैते धानखेती पर्वतको पाँटफाँटमा फस्टाउँदै गएको छ ।

चैत महिनामा रोपेर असार अन्तिम साता काट्ने धान चैते धान अहिले पाङको फाँटैभरी भुलेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाइ पर्वतको सहायतामा चैते धानखेती विस्तार गरिएको हो ।

हिउँदमा पनि निरन्तर सिँचाइको सुविधा हुने पाङ खरीबोट फाँटमा यस वर्षदेखि चैते धानखेती गरिएको स्थानीय कृषक सूर्यप्रसाद पौडेलले बताएका छन् । विगतमा पुर्खाहरूले गर्दै आएको खेती नयाँ पुस्तामा जगाउन नसकिएको समयमा धान जोनले अनुसन्धान थालेपछि खेती विस्तारमा किसान हौसिएका हुन् । खरीबोट कृषक समूहका अध्यक्ष सूर्यप्रसाद पौडेलले चैते धान अहिले तीन सय रोपनी क्षेत्रफलमा लगाइएको बताए ।

खरिबोटका ३० किसानको सामूहिक खेतीअन्तर्गत चैते धानखेती गरिएको हो । प्रतिकिसान रु ५० हजारदेखि रु एक लाखसम्म कमाउन सक्ने गरी खेती विस्तार गरिएको किसानले बताएका छन् । किसानको घरमा मङ्सिरको धान पनि सकिने र पराल पनि सकिएको अवस्थामा चैते धानले मानिसका लागि अन्न र पशु चौपायालाई खुवाउन परालसमेत उपलब्ध हुने हुँदा पुर्खाले रोप्दै आएको धान आफूहरूले पनि लगाउँदै आएको स्थानीय रत्न पौडेलले बताए । रैथाने चैते धान कम फल्न थालेपछि रामपुर कृषि क्याम्पसले समेत फाँटमा नयाँ प्रजातिको चैते धानमा अनुसन्धान थालेको छ ।

विभिन्न १० प्रजातिमा अहिले उक्त फाँटमा अनुसन्धान भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाइले जनाएको छ । गत चैतमा रोपेको धान थन्क्याएपछि असार अन्तिम साता पुनः पोख्रेली जेठो बूढो धान लगाउने तयारीमा किसान रहेका हुन् । 

चैते धान खानमा उपयोग हुने भएकाले जेठो बुढोको मूल बीउ उत्पादन गर्ने गरी समूहका किसानहरू तयारीमा रहेका छन् । विगतमा जिल्लाका अर्मादी फाँट, फर्से, धाइरिङ फाँट, पातिखोला खेत, लमाएखोला खेतमा र हुवास गेडीखोला खेतमा लगाइने चैते धान पछिल्ला वर्षमा हराउँदै जान थालेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार पर्वतको २८ हजार छ सय हेक्टर खेतीयोग्य जमिनमध्ये नौ हजार ७० हेक्टरमा वर्षे धानखेती हुँदै आएको छ भने दुई हजार हेक्टरमा चैते धानको खेती हुने सम्भावना छ । बाह्रै महिना सिँचाइ हुने सबै खेतमा चैते धानको खेती विस्तार गर्ने योजनास्वरूप ल्याइएको अनुदान कार्यक्रम स्थगित भएपछि खाद्यान्न आयात प्रतिस्थापनको लक्ष्य विफल भएको ज्ञान केन्द्रले जनाएको छ । 

जनशक्तिको अभाव, बाँदर आतंकलगायतका कारणले अहिले चैतेधानप्रति अन्य क्षेत्रका कृषकको आकर्षण भने घट्दो छ । 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १२ : १५ बजे

सरकारी सूचना निर्णयविरुद्ध पत्रकार महासंघको र्‍याली

काठमाडौं– सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने

बैंकिङ कसुर मुद्दामा पनि दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

काठमाडौं– व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत

थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै, इक्वेडरलाई जितको दबाब

काठमाडौं- विश्वकप फुटलबमा समूह ‘इ’ अन्तर्गत शनिबार हुने दोस्रो चरणका

महाधिवेशनको मुखमा रविलाई ठूलो राहत, सबै अदालतबाट गम्भीर अपराधका मुद्दा फिर्ता

काठमाडौं- पहिलो महाधिवेशनमा होमिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि