राजनीति

सुन प्रकरणमा पहिले भरिया मात्रै पक्राउ पर्थे, अब भने मालिकलाई नै पक्रौँ : पर्यटनमन्त्री किराती

By खबरहब

July 21, 2023

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थलमा बरामद भएको सुनका मालिकलाई नै पक्राउ गर्नुपर्ने बताएका छन् ।

नेपाल मगर विद्यार्थी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले सुन प्रकरणमा विगतमा भरिया मात्रै पक्रिने गरेको भन्दै यसपटक भने सुनको मालिकलाई नै पक्राउ गर्नुपर्ने बताएका हुन् ।

उनले कसैलाई शक्तिका भरमा संविधान र न्यायभन्दा माथि बस्ने अधिकार नरहेको भन्दै भ्रष्टाचार र तस्करीलाई अन्त्य गर्न जनताले दबाब दिनुपर्ने धारणा राखे । विमानस्थलमा सुन पक्रिएपछि सुदन किरातीको परीक्षा सुरु भयो भनेर भन्ने गरेको भन्दै उनले भन्सार हेर्ने निकाय अर्थ र गृहको भएको स्पष्ट पारे । उनले कुनै पनि हालतमा भ्रष्टाचार सह्य नहुने बताए ।

मन्त्री किरातीले आफू मन्त्रालयमा आएपछि नै मौलिक पर्यटनलाई बढावा दिनुपर्ने भन्दै आएको उल्लेख गरे ।