काठमाडौँ– संसद गतिरोध अन्त्य गर्नका लागि आज पनि सर्वदलीय बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा हिजो बसेको बैठकमा सहमति जुट्न नसके पछि आज पनि बैठक बोलाइएको हो । बैठक अपराह्न ४ बजे बस्नेछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अवरोध गरिरहेको छ ।
तर, सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरेर टुंग्याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पुरा गर्न नसकिने जनाउँदै आएको छ । सरकार र प्रतिपक्षी दुबै दल आआफ्ना अडानमा कायमै राखे पछि साउन १२ गतेदेखि संसद चल्न सकेको छैन ।
यसबीचमा सभामुख देवराज घिमिरेले संसद चलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरे पनि अझै निष्कर्ष निस्कन सकेको छैन ।
प्रतिक्रिया