धार्मिक पर्यटकीय गन्तव्य कमलपोखरी | Khabarhub Khabarhub

धार्मिक पर्यटकीय गन्तव्य कमलपोखरी


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

गण्डकी– तालै तालको सहर पोखराका तालमध्येको एक हो कमलपोखरी । क्षेत्रफलका दृष्टिले सानो भए पनि धार्मिक पर्यटकीयरुपमा यसको विशिष्ट महत्व रहेको छ । पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरी विश्व रामसार सूचीमासमेत सूचीकृत भइसकेको छ ।

नाग र कमलको फूलका कारण छुट्टै गरिमा र महत्व बोकेको यस पोखरी पोखराको मुख्य बजार महेन्द्रपुलबाट करिब चार किलोमिटर दूरीमा पर्दछ । ढकमक्क कमलका फूलले ढाकिनुका साथै यहाँ नागको बासस्थान रहेको प्राचीन जनविश्वास रहेको कमलपोखरी संरक्षण समितिका अध्यक्ष केशरबहादुर विश्वकर्माले बताए। यही जनविश्वासका कारण यसको महत्व थप बढ्दै गएको बताउँदै नाग र कमलको फुलले यस क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइरहेको उनले उल्लेख गरे।

समितिका अध्यक्ष विश्वकर्माले पछिल्ला वर्षमा ताल अवलोकनका लागि पोखरा र आसपासका क्षेत्रबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको बताउँदै यसको संरक्षण र विकासमा राज्यको ध्यान पुग्नु जरुरी रहेकोमा जोड दिए। उनका अनुसार तालको दृश्यावलोकनका साथै यहाँ पाइने विभिन्न प्रजातिका माछा, टाढाटाढाबाट आउने चराचुरुङ्गी यहाँका प्रमुख आकर्षण हुन् । 

झण्डै तीन दशक अघिदेखि यस क्षेत्रका दलित समुदायले पोखरीको संरक्षणका साथै विकास गर्दै आएको अध्यक्ष विश्वकर्माले बताए। उनका अनुसार पछिल्लो समयमा सङ्घ, प्रदेश र स्थानीय तहले पनि यसको संरक्षण एवं प्रवर्द्धनमा चासो बढाउँदै आएका छन् । 

कमलपोखरीलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गरी विकासमा टेवा पुर्‍याउने उद्देश्यले राज्यस्तरबाट प्राथमिकतामा राखेर संरक्षण एवं विकासका योजना बनाइरहेको पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले जानकारी गराए। ‘कमलपोखरीको संरक्षण एवम् पर्यटकीय विकासलाई लक्षित गरी यसको वरिपरि ‘फुटट्र्याक’ निर्माणका लागि वडाको पहलमा महानगरपालिकाबाट रू १८ लाख बजेट विनियोजन भएको छ’, उनले भने। 

कमलपोखरी क्षेत्रमा बर्सेनि डुबान हुँदा यहाँका स्थानीय प्रभावित भएकाले गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत काहुँखोला डुबान क्षेत्रको रोकथामका लागि योजना अघि सारेको वडाध्यक्ष बरालले जानकारी दिए । उनका अनुसार डुबान रोकथामका लागि बहुवर्षीय योजनाअन्तर्गत रू आठ करोड विनियोजन गरिएको छ ।

विश्व रामसार सूचीमा सूचीकृत रहेकाले पनि पछिल्लो समयमा यसको संरक्षण थप चासोको विषय बनेको छ । धार्मिक पर्यटकीयरुपमा उत्तिकै महत्व राख्ने कमलपोखरी परिसरमा प्रत्येक वर्षको नागपञ्चमीका दिन विशेष मेला लाग्ने गरेको कमलपोखरी आमा समूहका अध्यक्ष हस्तिमाया विकले जानकारी दिइन्। विशेष गरी दलित समुदायले यस क्षेत्रको संरक्षणका लागि निरन्तर प्रयास गर्दै आएको बताउँदै उनले संरक्षणसँगै यसको महत्वलाई प्रचारप्रसार गर्न भने नसकिएको बताइन्। 

भगवान् विष्णुको प्रतीकका रूपमा मानिने कमलको फूल फुल्ने भएकाले यसलाई कमलपोखरी नामकरण गरिएको यहाँका स्थानीय बताउँछन् । प्रत्येक वर्षको नागपञ्चमीका दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ ।

संरक्षण समितिका अध्यक्ष विश्वकर्माका अनुसार पोखरीको सरसफाइ तथा मर्मतका लागि आवश्यक बजेट नहुँदा तालमा झार झाँगिँदै गएको छ । मन्दिरको पूजारी पनि दलित समुदायबाटै व्यवस्था गरिएको बताउँदै उनले हाल उज्वल विकले नियमित पूजाआजा गर्दै आएको जानकारी दिए।

अध्यक्ष विश्वकर्माका अनुसार कमलपोखरी तालको क्षेत्रफल सुरुमा ३८ रोपनी भए पनि पछिल्ला वर्षमा अतिक्रमणको सिकार बनेकाले यसको क्षेत्रफल ३२ रोपनी रहेको जानकारी गराए । ‘पछिल्लो समय अतिक्रमणका कारण करिब छ रोपनी क्षेत्रफल कम देखिएको छ’, उनले भने, ‘अहिले ताल वरपर तारबार गरिएको छ ।’

पोखरा बजारबाट नजिकै रहेकाले पनि यहाँ शनिबार र अन्य सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको अध्यक्ष विश्वकर्माले बताए। विसं २०४५ देखि नै यहाँका स्थानीयले संगठित भइ तालको संरक्षण गर्दै आएकामा विसं २०५१ देखि ‘कमलपोखरी आमा समूह’ दर्तागरी औपचारिकरुपमा ताल संरक्षणका साथै यसको विकासका क्षेत्रमा पहल थालिएको उनको भनाइ थियो ।

विसं २०६४ मा गठित कमलपोखरी संरक्षण समितिको पहलमा तालको संरक्षण एवं प्रवर्द्धनका क्षेत्रमा काम गरिरहेको समितिका अध्यक्ष विश्वकर्माले बताए। उनका अनुसार कमलपोखरी चार दशक अघिसम्म बुडुवा तालका नामले परिचित थियो । प्राचीनकालमा ताल रहेको क्षेत्रमा पानीसँगै झारले ढाकिएको थियो । 

‘छ दश अघिसम्म पर्याप्त माछा पाइने यस स्थानमा गौँडाको मुखमा बस्ने मति पोडे, उनका छोरा गोथे पोडे र नाति इन्द्र पोडेले यहाँ माछा मार्ने गर्दथे’, अध्यक्ष विश्वकर्माले भने, ‘तत्कालीन मुखिया भीमप्रसाद आचार्यले पोडे परिवारलाई वार्षिक रू तीन रुपैयाँ एक महोेर लिएर माछा मार्नका लागि स्वीकृति दिएको आफूले सुनेको हुँ ।’

पछिल्लो समय यस स्थानको धार्मिक महत्व रहेको थाहा पाएपछि संरक्षणका लागि स्थानीयले थप पहल अगाडि बढाएको अध्यक्ष विश्वकर्माले बताए। उनका अनुसार कमलपोखरीसम्म आउने बाटो नहुँदा स्थानीय कालेजैसी  गोतामे, अमिन शेरबहादुर कार्की र धनपति तिमल्सिनाले जग्गा दिएपछि बाटो खोलिएको थियो । बाटो सञ्चालनमा आएसँगै यसस्थलमा नागको मन्दिरलगायतका अन्य भौतिक पूर्वाधार निर्माण थालिएको उनले जानकारी दिए।

‘नियमित पूजाका लागि रकम अभाव भएपछि  एक लाख एक हजारको अक्षयकोष स्थापना गरी धूप तथा अक्षता किन्ने व्यवस्था मिलाएका छौँ’, समितिका अध्यक्ष विश्वकर्माले भने, ‘नागपञ्चमीका दिनमा आउने भक्तजनको दान र सहयोगले यसको संरक्षणका लागि केही टेवा पुगेको छ ।’

नागपञ्चमीमा यहाँ पूजा गरी कमलको फूलपात घरमा लगेर राखेमा घरपरिवारलाई राम्रो हुने जनविश्वास रहेकाले आजको दिन यहाँ आई कमलको फूल तथा पात घर लैजाने गरेको स्थानीय बताउँछन् । पोखरीका बीचमा नागको मूर्तिसँगै परिसरमा राधाकृष्ण, गणेश, नाग र बाबा विश्वकर्माकाे मन्दिर तथा दुई वटा पाटीले यहाँको सौन्दर्य थप बढाएका छन् । 

वासुदेव पौडेल र ऋषिराम बराल/रासस

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ४ : ४३ बजे

सभामुख र संसदीय दलका सचेतकबीचको छलफल निष्कर्षविहीन 

काठमाडौं– सभामुख देवराज घिमिरे र संसदीय दलका प्रमुख सचेतकहरुबीच छलफल

बजेटमा ऊर्जा उत्पादकका माग – बैंकबाट २० प्रतिशत ऋण, निजी क्षेत्रलाई विद्युत व्यापार अधिकार

काठमाडौं – सरकारी अधिकारीहरू यतिखेर आगामी आर्थिक वर्ष २०८१/८२ को

अफगानिस्तानका चालीस हजार बालबालिका घरबारविहीन

काबुल– उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार बाढीका कारण झन्डै ४०

हतियारक आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्केन

काठमाडौं– अमेरिकी सहायता प्याकेजबाट हतियारको आपूर्ति लिएर विदेशमन्त्री एन्टोनी ब्लिन्केन

सुदूरपश्चिममा ३४ प्रतिशत मात्र बजेट खर्च

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच