कागेश्वरी मेलाको तयारी पूरा | Khabarhub Khabarhub

कागेश्वरी मेलाको तयारी पूरा


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलाका लागि  तयारी पूरा भएको छ ।

 कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । कागे अष्टमीसमेत भनिने यस मेलामा देशका विभिन्न भागबाट भक्तजन कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १ मा पर्ने कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गर्छन् । 

 भाद्रशुक्ल अष्टमीका दिन कागेश्वरी पुगेर पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने विश्वास छ । यसैले वर्षदिनसम्म कागले स्पर्श गरेका मानिसले कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास पनि रहेको छ । 

 श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिक स्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याइएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने मान्यता समेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनधारणा रहेको छ ।

 मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रुपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण गरिएको थियो । 

  एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका थिए । यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ । 

  नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । फागुनमा हुने महोत्सव एवं भदौमा लाग्ने मेलाका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायले सांस्कृतिक झाँकी प्रदर्शन गर्नाका साथै स्थानीय उत्पादनसमेत प्रदर्शन गरिन्छ ।

 कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौँ उपत्यकामा बसोवास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन् ।

कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजले हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । यस वर्ष असोज ५ गते शुक्रबार कागेअष्टमी पर्व मनाइने जनाइएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  १२ : ३० बजे

धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

घोडाघोडी– यहाँको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा

मेलम्ची पानी काठमाडौं पठाउन बन्द

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका

उच्छृङ्खलताले घटाएको राजेन्द्र खड्गीको कद

काठमाडौं– द्वन्द्व निर्देशक तथा खलनायकका रुपमा परिचित राजेन्द्र खड्गीलाई पछिल्लो समय

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो, तीन महिनामा २६ अर्ब बढीको सामान निर्यात

वीरगञ्ज– गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात

हङकङ सिक्सेस : आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले आज अफगानिस्तानसँग