बडादसैँ अन्तर्गत नवरात्रको आज सातौँ दिन । आजको दिनलाई सप्तमी अर्थात् फूलपाती भनिन्छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा जमरा राखिएको ठाउँमा साँझपख देवीको आराधनासहित फूलपाती भित्र्याउने चलन छ ।
शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक मानेर फूलपाती भित्र्याउने गरिन्छ । केरा, दारिम, धानको गाभा, अदुवाको बोट, हलेदो, कर्चुरा, बेल, अशोक र जयन्ती जस्ता नौ प्रकारका पातहरूलाई पुजेर प्रत्येक नौका दरले दुर्गा पूजा गरेको स्थानमा भित्र्याउने प्रचलन छ ।
यी नौ पातमा ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरेर सोह्र सामग्रीले पुजिन्छ ।
वर्षाऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने भाइरस, ब्याक्टेरिया र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घर वा निवासस्थानमा रहन सक्दैनन् ।
यी औषधियुक्त पालुवालाई फूलपातीपछि लेप बनाएर तिलकका रुपमा शिरमा लगाउनाले रोगब्याधी निको हुने मान्यता रहेको छ ।
प्रतिक्रिया