विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक ४ ,२०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर २१, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

क्यानडाले भारतबाट आफ्ना ४१ कूटनीतिज्ञलाई फिर्ता बोलायो
क्यानडाले भारतमा रहेका आफ्ना ६२ मध्ये ४१ कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ । शुक्रबार क्यानडाकी विदेशमन्त्री मेलेनी जोलीले पुष्टि गरेकी छन् ।

१८ जुनमा क्यानडामा रहेका शिख नेता हरदीप सिंह निज्जरको हत्यापछि दुई देशको सम्बन्ध बिग्रिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीपको हत्या भारतीय एजेन्सीको संलग्नता रहेको आरोप लगाएपछि भारतले त्यसको खण्डन गर्दै आएको छ ।

विदेशमन्त्री जोलीका अनुसार भारतले शुक्रबार अर्थात अक्टोबर २० पछि २१ कूटनीतिज्ञ र उनीहरूका परिवारबाहेक सबै क्यानडाली कूटनीतिज्ञहरूलाई अनैतिक रूपमा भारतबाट हटाउन दबाब दिएकोले क्यानडाले यस्तो निर्णय गरेको हो ।उनका अनुसार क्यानडाका सबै कूटनीतिज्ञ र उनीहरूका परिवार सकुशल छन् र भारत छोडेका छन् ।

यो विवादलाई नतन्काउन क्यानडाले कुनै पनि प्रतिशोधात्मक कारबाही नगर्ने निर्णय गरेको छ । क्यानडाकी परराष्ट्रमन्त्री जोलीले आफ्नो देशले सधैँ अन्तर्राष्ट्रिय कानुनको पालना गर्ने र यो सबै देशको हकमा लागू हुने बताइन् । ‘यस्तो समयमा हाम्रा लागि हाम्रा कूटनीतिज्ञहरू एकअर्काको देशमा रहनु र हरेक तहमा संवाद जारी राख्नु अत्यन्तै महत्त्वपूर्ण छ,’ उनले भनिन् ।

भारतमा २१ जना मात्र क्यानडाली कूटनीतिज्ञ रहँदा कर्मचारी अभावले काम प्रभावित हुने उनले बताएकी छन् । यसै साता भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले एक पत्रकार सम्मेलनमा क्यानडालाई भारतबाट अतिरिक्त कूटनीतिज्ञ हटाउन भनिएको र आवश्यक भन्दा धेरै राख्दा भारतको आन्तरिक मामिलामा हस्तक्षेप हुने बताएका थिए ।

अक्टोबर पहिला साता क्यानडाका प्रधानमन्त्री ट्रूडोले भारतसँग विवाद बढाउन नचाहेको र त्यहाँ क्यानडाको कूटनीतिज्ञ रहनु महत्वपूर्ण भएको बताएका थिए । क्यानडाकी विदेशमन्त्री जोलीले पनि कूटनीतिक संकटबाट बाहिर निस्कन भारतसँग वार्ता गर्न चाहेको बताएकी छन् ।

निर्वासित पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ स्वदेश फिर्ता
निर्वाचनअघि राजनीतिक पुनरागमन गर्ने तयारीमा तीन पटक प्रधानमन्त्री बन्नुभएका नवाज शरिफ चार वर्षको स्वनिर्वासनपछि शनिबार पाकिस्तान फर्किएका छन् ।

सन् २०२४ मा हुन लागेको निर्वाचनअघि व्यापक सुरक्षा, आर्थिक र राजनीतिक संकटको सामना गरिरहेको पाकिस्तानमा शरिफका प्रमुख प्रतिद्वन्द्वी अत्यन्त लोकप्रिय नेता इमरान खान अहिले जेलमा छन् ।

स्थानीय मिडियाका अनुसार विगत थुप्रै दिन दुबईमा बिताएका शरिफले पत्रकारहरूले भरिएको चार्टर्ड उडानमा स्थानीय समयअनुसार दिउँसो १ः३० बजे राजधानी इस्लामाबाद टेके।

‘हामी पूर्णरूपमा निर्वाचनको तयारीमा छौँ’, आफ्नो उडान भर्नुअघि उनले पत्रकारहरूसँग भने, ‘जुन समृद्धिमा हाम्रो मुलुक हुनुपर्थ्यो, वास्तवमै पछाडि परेको छ, हामी यस्तो अवस्थामा कसरी आयौँ, यो किन आयो रु’

विश्लेषकहरूका अनुसार शरिफको स्वदेश फिर्तीमा शक्तिशाली सेनाको मध्यस्थता हुनसक्छ । गत वर्ष पदच्युत भएपछि सेना र इमरान खानको पार्टीबीच सम्बन्ध बिग्रियो ।

शरिफले इस्लामाबादपछि अर्को ठूलो सहर लाहोरको भ्रमण गर्नेछन् जहाँ हरियो र पहेँलो पार्टी पोस्टर र ब्यानर बोकेर समर्थकहरू उनको स्वागतका लागि जम्मा भइरहेका छन् ।

एक उच्च अधिकारीका अनुसार ग्रेटर इकबाल पार्कमा सम्भावित भीडलाई नियन्त्रण गर्न सात हजारभन्दा बढी प्रहरीलाई परिचालन गरिएको छ । उक्त पार्कमा शरिफले घर फिर्तीबारे सम्बोधन गर्ने कार्यक्रम छ ।

‘म यहाँ मेरो नेताको स्वागतका लागि आएको छु, महँगी अत्यन्त बढेको छ र गरिब जनता निराश छन्’, १८ वर्षीय राजी उल्लाहले भने, ‘अल्लाहले उनलाई स्वदेश फर्कन र परिस्थितिलाई बदल्न अवसर दिनुभएको छ, उनले पहिला पनि यस्तो गरिसक्नुभएको छ ।’

केन्याको उत्तरपश्चिममा भागदौड हुँदा चार जनाको मृत्यु
यस वर्षको हिरोज डे मनाउने स्थल केरिचो काउन्टीस्थित रङ्गशालामा शुक्रबार भागदौड हुँदा कम्तीमा चार जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् ।

राष्ट्रपति विलियम रुटोको नेतृत्वमा हुने राष्ट्रिय उत्सवको लागि स्टेडियमका गेट सर्वसाधारणका लागि खोल्नुअघि शुक्रबार बिहानै सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उत्तरपश्चिमी केन्याको केरिचोमा जारी गरिएको सुरक्षा प्रतिवेदनअनुसार चिया बिक्रेताले खुला आगोमा चिया पोखेपछि आतंक मच्चिएर घटना घटेको जनाएको छ ।

‘रङ्गशालाबाहिर चिया बेच्दै आएकी एकजना महिलाले सार्वजनिक सडकको गेट नजिकैको आगोमा अचानक तातो चिया खसाल्दा भागदौड मच्चियो जसका कारण सर्वसाधारण आत्तिए र उनीहरूमाथि अश्रुग्यास प्रहार भयो’ प्रतिवेदनमा उल्लेख छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

युक्रेनद्वारा २८ अर्ब अमेरिकी डलरभन्दा बढी रक्षा क्षेत्रमा खर्च
युक्रेनी सरकारले यस वर्ष देशको रक्षामा देखिएका चुनौतीसँग सामना गर्न र आवश्यकता पूरा गर्न १.०३१ ट्रिलियन रिभनिया (२८.२ बिलियन अमेरिकी डलर) भन्दाबढी खर्च गरेको छ । प्रधानमन्त्री डेनिस श्म्याहललाई उद्धृत गर्दै मन्त्रिपरिषद्को प्रेस सेवाले शुक्रबार यस बारे जानकारी गराएको छ ।

उक्त रकममध्ये ६८२ अर्ब रिभ्निया (१८.६६ बिलियन डलर) सैनिक कर्मचारीको तलबमा र करिब ३४९ बिलियन रिभनिया (९.५५ बिलियन डलर) सैन्य उपकरण खरिद गर्न प्रयोग गरिएको बताइएको छ ।

यस वर्षको पहिलो नौ महिनामा रक्षा क्षेत्र युक्रेनको बजेट प्राथमिकतामा थियो भने, सामाजिक कार्यक्रम र स्वास्थ्य सेवा थिए, उनले भने ।अर्को वर्ष युक्रेनले रक्षा र सुरक्षा बललाई सहयोग गर्न ‘सबै सम्भावित स्रोतहरू’ परिचालन गर्न निर्देशन दिएको छ ।

युक्रेनको सन् २०२४ को लागि मस्यौदा बजेटले अर्को वर्ष रक्षाका लागि कम्तिमा १.६९ ट्रिलियन रिभनिया (४६ बिलियन डलर) वा आफ्नो जीडीपीको २१.६ प्रतिशत छुट्याउने तयारी गरेको छ ।

गल्फ काउन्सिल र आसियानबीच गाजा घटना बारे छलफल
खाडी सहयोग परिषद् र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का नेताहरूले शुक्रबार गाजामा भएको पछिल्लो घटनाक्रमको समीक्षा गरेका छन् । साउदीको राजधानी रियादमा आयोजित पहिलो सो संयुक्त शिखर सम्मेलनका क्रममा सहभागीहरूले मध्य पूर्वमा विकसित पछिल्लो घटनाक्रम बारे विचार आदानप्रदान गर्दै गम्भीर चिन्ता व्यक्त गरेको साउदी प्रेस एजेन्सीले उल्लेख गरेको छ।

सहभागी नेताहरूले नागरिकहरू विरुद्ध भएका सबै प्रकारका आक्रमणहरूको निन्दा गर्दै गाजामा मानवीय सहायता, राहत सामग्री र अन्य आवश्यकतामा नागरिकहरूको प्रभावकारी पहुँच सुनिश्चित गर्न र गाजामा विद्युत, पानी र सबै किसिमका अत्यावश्यक सेवाहरू पुनः सञ्चालनमा ल्याउन पहल गर्न सबै सम्बन्धित पक्षहरूलाई अपिल गर्दै दिगो युद्धविरामको आह्वान गरेका छन् ।

शिखर सम्मेलनले द्वन्द्वरत पक्षहरूलाई नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई लक्षित नगर्न र अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्न आह्वान गरेको छ। सम्मेलन बन्दीहरूको तत्काल र निःशर्त रिहा गर्न पनि आग्रह गरेको छ । शिखर सम्मेलनले अन्तर्राष्ट्रिय कानून र सान्दर्भिक संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव अनुसार समस्याको समाधानका लागि प्रयासमा जोड दिएको छ।

साउदी राजा सलमान बिन अब्दुलअजीज अल साउदको निमन्त्रणामा भएको शिखर सम्मेलनले दुई संगठन बीचको सहयोगको समीक्षा र क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरू बारे विचार आदानप्रदान पनि गरेको थियो।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ८ : ०० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर