१७ वर्षसम्म किन फुटिरहेको छ माओवादी ? | Khabarhub Khabarhub

१७ वर्षसम्म किन फुटिरहेको छ माओवादी ?



काठमाडौं- शान्ति सम्झौता भएको १७ वर्ष पूरा भयो । १० वर्षे जनयुद्ध लडेको माओवादी र सरकारबीच भएको शान्ति सम्झौताले देशमा ब्याप्त हिंसाको अन्त्यसँगै २ सय ४० वर्षे राजतन्त्रको पनि अन्त्य गर्यो । यो उपलब्धिको एक हिस्सा थियो तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ।

माओवादीले जनयुद्धको बलमा नेपालमा अहिलेका उपलब्धीहरु प्राप्त भएको दाबी गर्दै आएको छ । तर, समयक्रमसँगै माओवादीमा विभाजन आयो र शान्ति सम्झौताका बाँकी काम पनि पूरा हुन सकेनन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेकजसो कार्यक्रममा पूर्व-माओवादीको एकीकरणलाई जोडतोडका साथ उठाउँदै आएका छन् । लामो समयदेखि एकीकरणको मुद्दा उठाए पनि उनले हालसम्म छिन्नभिन्न बनेका माओवादी घटकलाई एक ठाउँमा ल्याउन सकेका छैनन् ।

एकीकरण बार्गेनिङको तुरुप मात्रै हो : केसी

प्रचण्डको ‘एकीकरण’ शब्द बार्गेनिङको हतियार रहेको बताउँछन्, विश्लेषक डा. सुरेन्द्र केसी । माओवादीको जनयुद्ध नै ठूलो पार्टी हुने र सत्ता हत्याउने उद्देश्यले गरिएको र त्यसमा माओवादी सफल भएको केसीको तर्क छ ।

कम्युनिष्टका नामबाट गरिएको युद्धबाट माओवादीका शीर्ष नेताले चरम फाइदा लिएको र त्यसमा लाग्ने इमान्दार कार्यकर्ताहरु विचल्लीमा परेको केसी बताउँछन् ।

माओवादीले गरेको सम्झौता सत्ता र शक्तिका लागि मात्र भएको भन्दै डा.केसीले प्रचण्डको वरिपरि लाग्नेहरु मात्रै बन्ने र अरु सडकमा पुग्ने स्थिति हुँदा माओवादीमा टुटफुट आएको तर्क गरे ।

माओवादी घटकको टुटफुटलाई विश्लेषक केसी ‘स्वार्थको ‘एकता’को संज्ञा दिन्छन् । माओवादीको सिद्धान्त नै ठूलो शक्तिको भ्रम सृजना गरेर सत्तामा पुग्ने रहेको भन्दै उनले स्वार्थ मिले एक हुने र नमिल्दा फूटने गरेको तर्क गर्छन् ।

फूट र एकीकरणको बहस

केही दिनअघि मात्र प्रधानमन्त्री प्रचण्डले भनेका थिए ‘एकता र विभाजनको श्रृंखला पार गरेर हामी यहाँ आइपुगेका हौँ,’ ‘अबचाहिँ करिब-करिब सबै पूर्व–माओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको छ । विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ ।’

प्रचण्डको यो भनाइ पहिलो होइन । पूर्व-माओवादी एकताबारे बेलाबेलामा उनले यस्ता अभिव्यक्ति दिँदै आएका छन् । झण्डै दर्जन हाराहारी समूहमा विभाजित माओवादी एकीकरणको आवश्यकता नेताहरूले पटक-पटक महसुस गरे पनि प्रगति भने शून्य छ ।

२०६३ मंसिर ५ गतेको शान्ति सम्झौता पछि शान्तिपूर्ण राजनीतिमा आएको माओवादी अहिले चिरा चिरामा विभाजित छ । मूलधारका रूपमा प्रचण्ड नेतृत्वमा माओवादी केन्द्र रहे पनि तत्कालीन प्रभावशाली नेताहरू विभिन्न समूहमा विभाजित छन् ।

प्रचण्डबाहेक डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण, रामबहादुर थापा, नेत्रविक्रम चन्द, धर्मेन्द्र बास्तोला, गोपाल किराती, आहुतीलगायत नेताहरू छुट्टाछुट्टै समूहमा विभाजित छन् । विभाजनको श्रृंखला अहिले पनि जारी छ । विप्लव नेतृत्वको नेकपा पनि विभाजित भइसकेको छ । ११ जना केन्द्रीय सदस्य लिएर विप्लवबाट विद्रोह गरेका धर्मेन्द्र बास्तोलाले बेग्लै समूह खोलेका छन् ।

माओवादी केन्द्र र बावुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीबीच एकताको तयारी भइरहेको नेताहरु बताउँछन् । तर, दोस्रो तहका नेताहरु एकताका लागि तयार भए पनि चुनावपछि चिसिएको प्रचण्ड र बाबुरामको सम्बन्ध अझै सुध्रिएको छैन ।

तर, नेसपालाई विभाजन गरेरै भए पनि एकता गर्ने प्रचण्डको तयारी छ । नेसपाका दोस्रो अध्यक्ष महेन्द्रराय यादव र नेता गंगानारायण श्रेष्ठहरु एकताको पक्षमा देखिए पनि भट्टराई प्रचण्डसँग मिल्न तयार देखिँदैनन् ।

बाबुरामसहितको एकताले माओवादीमा नारायाणकाजी श्रेष्ठ पक्ष चिढिने भएका कारण प्रचण्ड तत्काल बाबुराम बाहेकका नेताहरुसँग एकता गर्ने योजनामा रहेको नेसपा स्रोत बताउँछ ।

माओवादी केन्द्रले बिप्लव नेतृत्वको पार्टीसँग पनि एकीकरणको तयारी गरे पनि सो पार्टीमा पनि प्रचण्डसँगको एकतालाई लिएर बैचारिक विमति रहेका कारण तत्काल एकीकरण नहुने एक नेताले बताए ।

प्रचण्डको स्वार्थका लागि पार्टीलाई एकीकरण गरेर सिध्याउन नहुने मत विप्लप नेतृत्वको माओवादीमा छ । एकीकरणका लागि माओवादीभित्र भइरहेको छलफलले तत्काल कुनै पनि घटकलाई एक ठाउँमा ल्याउन नसक्ने सो पार्टीका नेताहरुको भनाइले संकेत गर्छ ।

माओवादी केन्द्रका महासचिव तथा एकीकरणका लागि वार्ता टोली सदस्य देब गुरुङलाई हामीले एकताको कुरा कहाँ पुग्यो भनेर सोध्यौं । उनले भने, ‘छलफल भइरहेको छ ।’ एकता कहिले हुन्छ त भन्ने प्रश्नमा गुरुङले भने, ‘सामाजिक विज्ञानमा डेडलाइन भन्ने हुँदैन।’

माओवादीको औचित्यमाथि नै प्रश्न

१७ वर्षको अवधिमा माओवादीभित्र देखा परेको फुटले उसको औचित्यमाथि स्वयं माओवादीभित्रैबाट प्रश्न उठ्न थालेको छ । माओवादीले समातेको शान्ति सम्झौताको बाटो नै गलत रहेको बताउँछिन् तत्कालीन माओवादीबाट फूट को नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) की केन्द्रीय सचिवालय सदस्य देवकला अधिकारी ।

माओवादीले कल्पना गरेको क्रान्ति र त्यसका लागि बलिदान दिएकालाई ‘प्रचण्ड’ले धोका दिएर १२ बुँदे सम्झौता गरेको उनको आरोप छ । तत्कालीन माओवादीको शीर्ष नेतृत्वले अवलम्बन गरेको बाटोमा पार्टीभित्र चरम असन्तुष्टि हुँदा पनि आम नेता तथा कार्यकर्तामा आश्वासन बाँडेर थामथुम पारिएको र त्यो पूरा नहुने स्थिति पछि पार्टी विभाजनको मुखमा पुगेको मोहन वैद्य निकट अधिकारीको भनाइ छ ।

प्रचण्डले वर्गघात गरेको हुनाले उनले नेतृत्व गरेको माओवादीसँगको एकता भविष्यमा पनि सम्भव नभएको उनले खबरहबलाई बताइन् ।

 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ७ : २५ बजे

सत्तापक्षले सदन कब्जा गर्न खोज्नु लज्जास्पद : पुष्पकुमार शाही

काठमाडौं– नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले सत्ता पक्षबाट नै सदन

भागबन्डा नमिल्दा कोशी सरकार बिस्तार अन्योलमा, आर्थिक मामिलामा अड्कियो हलो

विराटनगर– सत्ता साझेदार दलहरूबीच भागबन्डामा कुरा नमिल्दा कोशी प्रदेशको मन्त्रिमण्डल

कांग्रेसको निर्णय : रविलाई बोल्न दिने, विपक्षीले सामुहिक प्रतिवाद गर्ने

शुक्रबार बिहान आयोजित का‌ंग्रेस संसदीय दलको बैठक काठमाडौं- नेपाली कांग्रेस

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात हुन्छ : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट