समाचार

डा. भेषबहादुर थापाको पुस्तक ‘राष्ट्र-परराष्ट्र’ लोकार्पण

By खबरहब

November 21, 2023

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत एवम् नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. भेषबहादुर थापाको आत्मसंस्मरणात्मक पुस्तक ‘राष्ट्र–परराष्ट्र : एकतन्त्रदेखि गणतन्त्रसम्म’ लोकार्पण गरिएको छ । 

काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा मंगलबार आयोजित एक विशेष समारोहबीच सांसदद्वय डा. स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, पत्रकारद्वय सुधीर शर्मा, हरिबहादुर थापा र लेखक डा. भेषबहादुर थापाले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् ।  

पुस्तकमा डा. थापाले आफूले बाँचेको परिवेश, अपनाएको पेसा र सङ्गत गरेका पात्रहरूको सुन्दर एवम् सजीव चित्रण गरेको सांसद डा. स्वर्णिम वाग्लेले बताए ।

‘यस पुस्तकमा काजी खलकको कथा, कर्तव्य, दायित्वको सन्तुलन, पात्रहरूका विराट सम्बन्धहरूको कूटनीतिक व्याख्या छ,’ डा. वाग्लेले भने, ‘डा. थापाको यो पुस्तक कर्तव्य र सेल्फ इन्ट्रेस्टको सन्तुलन हो । जिम्मेवारीको सामाजिक र आर्थिक पक्षको डकुमेन्टेसन पनि हो ।’

पुस्तकमा डा. थापाले आफ्नो कर्मजीवन एवम् पारिवारिक जीवन आदि विविध पक्षको चित्रण जीवन्त रूपमा आए पनि कतिपय विषयवस्तुमा थप व्याख्या र विस्तार आवश्यक रहेको सांसद सुमना श्रेष्ठले बताइन् ।