आज मंसिर ५, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर २१, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
बुर्किनामा सप्ताहन्तमा भएको आक्रमणमा १५ जनाको मृत्यु
पूर्वी बुर्किनाफासोमा सप्ताहन्तमा ‘एकैसाथ भएको हमलामा’ १५ जना मारिएको सुरक्षा र स्थानीय स्रोतले जनाएको छ । मारिनेमा अधिकांश सर्वसाधारण रहेका छन् । जारभन्दा बढी नागरिक र सैनिकको मृत्यु भएको छ भने २० लाख मानिस विस्थापित भएका छन् ।
एक स्थानीय बासिन्दाले पछिल्लो हिंसामा पूर्वी तापोआ प्रान्तको प्रमुख सहर डायपागामा एकसाथ भएको हमलामा शनिबार तीन सैनिकसहित १५ जना मारिएको बताएका छन् । क्षेत्रीय नागरिक समाज संगठनका प्रवक्ता कोन्डिया पियरे योनलीले हताहतबारे पुष्टि गरेका हुन् ।
उनले आइतबार डायापागा नगरपालिकाको चिहानमा गाडिएका पीडितहरूको सम्मानमा मंगलबार उक्त क्षेत्रका विद्यालय, बजार र सार्वजनिक सेवाहरू बन्द गरिएको बताए। एक सुरक्षा स्रोतका अनुसार सेनाले जवाफी हमला गरिरहेको छ । स्रोतले भनेको छ, ‘पूर्वमा हवाई तथा स्थल कारबाही भइरहेको छ, कारबाहीका क्रममा ५० भन्दा बढी आतंकवादी मारिएका छन् र उनीहरूको धेरै आधारलाई नष्ट गर्ने अनुमति दिइएको छ ।’
बुर्किना फासोमा सन् २०२२ सेप्टेम्बरमा भएको कूपछि एउटा सङ्क्रमणकालीन सरकारले शासन गरिरहेको छ । जुन्ता नेतृत्वको सरकारले जिहादी विरोधीसँगको लडाइँमा १८ वर्षभन्दा माथिका पुरुषहरूलाई भर्ती गर्दै आएको छ ।
अमेरिकी राष्ट्रपति ८१ वर्ष पुगे, यसै साताको अन्त्यमा नरिवलको केक काटेर जन्मदिन मनाउने
अमेरिकी राष्ट्रपति जो बाइडेन ८१ वर्ष पुगेका छन् । सोमबार उनी ८१ वर्ष पुगेका हुन् ।
यद्यपि उनले आफ्नो जन्मदिन यसै साताको अन्त्यतिर मनाउने भएका छन् । अमेरिकी प्रशासन ह्वाइट हाउसकी प्रवक्ता केरिन जेन पिएरले बाइडेन परिवारले यसै साताको अन्त्यमा नरिवलको केक काटेर जन्मदिन मनाउने जानकारी दिएकी हुन् ।
थ्याङ्क्सगिभिङको विदामा मासाचुसेट्स राज्यको न्यानटकिट टापुमा बाइडेन परिवार भेला हुने र त्यहीँ राष्ट्रपति जोले केक काटेर जन्मदिन मनाउने उनको भनाइ छ ।
७८ वर्षको उमेरमा सन् २०२० मा निर्वाचित भएर २०२१ मा पद सम्हाल्दा उनी अमेरिकी इतिहासमै सबैभन्दा वृद्ध राष्ट्रपति बनेका थिए ।
अजरबैजानद्वारा भ्रष्टाचारविरोधी पत्रकार पक्राउ
अजरबैजानले मङ्गलबार राजनीतिक अभिजात वर्गमा भ्रष्टाचारको अनुसन्धान गर्ने दुई पत्रकारलाई हिरासतमा लिएको उनीहरूका वकिलहरूले बताएका छन् । कडा नियन्त्रण भएको क्यास्पियन मुलुक अजरबैजानमा मिडियालाई लक्षित गर्ने नयाँ कानूनी मुद्दामा उनीहरूलाई हिरासतमा लिइएको हो ।
ऊर्जा समृद्ध यो मुलुकमा लामो समयसम्म अलियेभ वंशले शासन गरेको छ । असहमतिका सङ्केतहरूले सामान्यतया अजरबैजानमा कडा सरकारी प्रतिक्रियाको सामना गर्नुपर्दछ । ‘प्रहरीले मङ्गलबार अब्जास मिडियाका प्रधानसम्पादक सेभिन्ज भागिफ्जीलाई युरोपबाट बाकु फर्कंदा हिरासतामा लिएको छ र उनको घरको खानतलासी गरेको छ’, उनका वकिल एल्चिन सादिगोभले भने ।
सोमबार मिडिया आउटलेटका निर्देशक उल्भी हसनलीलाई विदेशी मुद्रा तस्करी गरेको आरोपमा पक्राउ गरिएको उनका वकिल जिबेदा सादिगोभाले बताए। ‘हसनलीले स्वयंलाई दोषी मान्नुभएको छैन र आरोपहरू निराधार रहेको बताउनुभएको छ’, सादिगोभाले भने, ‘हसनलीलाई १२ वर्षसम्मको जेल सजायको खतरा छ ।’
हिरासतमा हसनलीसँग ‘अमानवीय व्यवहार’ गरिएको अब्जास मिडियाले बताएको छ । हसनलीलाई हिरासतमा कुटपिट वा दुर्व्यवहार गरेको रिपोर्टबाट ‘चिन्तित’ भएको अधिकार समूह एमनेस्टी इन्टरनेसनलले एक विज्ञप्तिमा भनेको छ ।
एमनेस्टी इन्टरनेसनलको दक्षिण ककेसस अनुसन्धानकर्ता नतालिया नोजाड्जेले भने, ‘उहाँको गिरफ्तारी अधिकारीहरूले उनीहरूको असहमतिलाई दबाउनका लागि गिरफ्तार गरिएका आलोचकहरूको ढाँचासँग मेल खान्छ’, एमनेस्टी इन्टरनेसनलको दक्षिण ककेसस अनुसन्धानकर्ता नतालिया नोजाड्जेले भने, ‘हसनलीले अजरबैजान मा उच्चस्तरीय भ्रष्टाचारका आरोपहरू दृढताका साथ पर्दाफास गर्नुभएको छ र सार्वजनिक हितका महत्त्वपूर्ण मुद्दाहरूलाई समेट्नुभएको छ, उहाँले विगतमा पनि सरकारबाट बारम्बार उत्पीडनको सामना गर्नुपरेको छ ।’
जुलाईमा अजरबैजानले उच्च प्रोफाइल राजनीतिक अर्थशास्त्री तथा नागरिक कार्यकर्ता गुबाड इबाडोग्लुलाई विभिन्न वित्तीय अपराधको आरोपमा पक्राउ गरेको थियो । इबाडोग्लुले ती आरोपलाई झुटो भन्दै अस्वीकार गरेका छन् । अजरबैजानमा उच्चस्तरीय भ्रष्टाचार उजागर गरेको प्रतिशोधमा आफूमाथि आरोप लगाइएको उनले बताए।
राष्ट्रपति इल्हाम अलियेभको सरकारले मुलुकको खराब प्रजातान्त्रिक रेकर्डका लागि लामो समयदेखि अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्नुपरेको छ । अलियेभले आफ्ना बुबा हेदरपछि सन् २००३ देखि मुलुकमा कठोर शासन सञ्चालन गर्दै आएका छन् ।
सुरुङमा फसेका भारतीय कामदार क्यामेरामा देखिए
दश दिनदेखि भत्किएको सुरुङमा फसेका ४१ भारतीय कामदारलाई मंगलबार पहिलोपटक क्यामेरामा जीवित देखिएको छ । उद्धारकर्मीहरूले उनीहरूलाई सुरुङबाट बाहिर निकाल्नका लागि नयाँ बाटो बनाउने प्रयास गरिरहेका छन् ।
प्रस्तावित मार्गमध्ये एउटा करिब आधा किलोमिटर लामो छ । थकित र चिन्तित देखिएका तथा बाक्लो दाह्री भएका पुरुषहरूलाई उद्धारकर्मीहरूले अक्सिजन, खाना र पानी पठाइने पातलो पाइपबाट तल पठाइएको इन्डोस्कोपिक क्यामेरामा हेरिरहेको देख्न सकिन्छ ।
सरकारले जारी गरेको भिडियोमा देखाइएको छ, ‘हामी तपाईंहरूलाई सुरक्षितरूपमा बाहिर ल्याउने छौ, चिन्ता नगर्नुहोस्’, उद्धारकर्मीहरूले क्यामेरा नजिक एकत्रित भएका सुरुङभित्र फसेका हेलमेट लगाएका मानिसहरूलाई भनेको सुन्न सकिन्छ ।
सुरुङको एक भाग भत्किएपछि एक्सक्याभेटरहरूले गत कात्तिक २६ गतेदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावशेष निकालिरहेका छन् । निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ ।
क्यामेरा सुरु हुनुअघि उद्धारकर्मीहरूले रेडियो प्रयोग गरेर भित्रका मानिसहरूसँग कुराकानी गरिरहेका थिए । ‘सबै कामदार पूर्णतया सुरक्षित छन्’, उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले एक विज्ञप्तिमा भने, ‘उनीहरूलाई सुरक्षितरूपमा छिट्टै बाहिर निकाल्न हामीले पूरा प्रयास गरिरहेका छौँ ।’ उनले संकटका बारेमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको बताए। प्रधानमन्त्री मोदीले कामदारलाई बाहिर निकाल्नु राज्य सरकारको ‘उच्च प्राथमिकता’ हुनुपर्ने बताएको उनले जानकारी दिए।
इजरायल र हमासबीच युद्धविरामको संकेत, बन्दी आदानप्रदानमा रेडक्रसले सघाउने
इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच गत अक्टोबर ७ मा युद्ध सुरु भएयता पहिलो पटक अस्थायी युद्धविरामको ठोस सम्भावना देखा परेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले कतारको मध्यस्थतामा युद्धविराम सम्झौता हुन लागेको र कुनै पनि बेला यसबारे घोषणा हुने दावी गरेका छन् ।
समाचारमा जनाइएअनुसार युद्धविराम सम्झौतामा हमासले बन्दी बनाएका इजरायली र अन्य विदेशी नागरिकलाई रिहा गर्ने र इजरायलले पनि प्यालेस्टाइनी बन्दीहरुलाई रिहा गर्नेबारे घोषणा हुने अपेक्षा गरिएको छ । बदलामा इजरायलले डेढ महिनायता गाजा क्षेत्रमा गर्दै आएको आक्रमण ५ दिनका लागि स्थगित गर्नेछ । यससँगै हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीसँगै अन्य विदेशी र दर्जनौँ इजरायली बन्दीहरु रिहा हुने सम्भावना बढेर गएको छ ।
मंगलबार हमास प्रवक्ता इस्माइल हानियेहले इजरायलसँगै चाँडै युद्धविराम सम्झौता हुनसक्ने सम्भावना रहेको बताएपछि नयाँ आशा पलाएको हो । त्यसैगरी, अर्को प्यालेस्टाइनी लडाकु समूह प्यालेस्टाइनी इस्लामिक जिहादले पनि युद्धविराम सम्झौताको सम्भावनाउच्च रहेको जनाएको छ ।
‘हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौँ’, फ्रान्सेली समाचार संस्थाएएफपीलाई पठाएको एक विज्ञप्तिमा हानियेहले भनेका छन् । नाम नछाप्ने सर्तमा एएफपीसँग हमास र इस्लामिक जिहादको स्रोतले उनीहरूको संगठन युद्धविराम सम्झौताको शर्तमा सहमत भएको बताएको छ ।
त्यसैगरी, इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इतमर बेन ग्भिरले पनि यस्तो सम्झौताबारे आफूले जानकारी पाएको जनाएका छन् । यद्यपि इजरायलमा उग्र दक्षिणपन्थी नेताको छवि बनाएका उनले युद्धविराम सम्झौताबारे जानकारी पाएको भएपनि आफू यस्तो सम्झौताको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
‘म धेरै नै चिन्तित छु किनभने केही (युद्धविराम) सम्झौताबारे कुरा चलेको छ ।’ राष्ट्रिय सुरक्षामन्त्री बेन ग्भिरलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले जनाएको छ, ‘हामीलाई यसबाट अलग्गै राखिएको छ र हामीलाई साँचो कुरा बताइएको छैन ।’ यद्यपि इजरायलले यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
अस्थायी सम्झौतामा पाँच दिने युद्धविराम समावेश छ । यसमा जमिनमा युद्धविराम र दक्षिणी गाजामा इजरायली हवाइ सञ्चालनको सीमा समावेश छ । बदलामा प्यालिस्टाइनी लडाकु समूहले पक्रिएका ५० देखि एक सय मानिसलाई रिहा गरिनेछ ।
तीमध्ये इजरायली र अन्य मुलुकका मानिसलाई रिहा गरिने भए पनि कुनै पनि सैन्यकर्मीलाई रिहा गरिने छैन । प्रस्तावित सम्झौताअन्तर्गत महिला र बालबालिकासहित करिब तीन सय प्यालेस्टाइनीलाई पनि इजरायली जेलबाट रिहा गरिने छ ।
कतारी टेलिभिजन अलजजिराले कतारको राजधानी दोहा, इजरायलको तेल अभिव, इजिप्टको राजधानी कायरो, गाजा क्षेत्र तथा गाजा र इजिप्टको सीमामा पर्ने रफाह नाकामा रहेका टोलीलाई उद्धृत गर्दै सम्झौतालाई अन्तिम रुप दिने तयारी भइरहेको जनाएको छ । यससँगै कुनै पनि बेला युद्धविराम सम्झौताबारे घोषणा हुनेछ ।
बन्दी आदान प्रदानगर्न रेडक्रस तयार
अल जजिराका पत्रकार हसेम अहलबराले अहिले हमासले रिहा गर्ने बन्दीहरुको विवरणलाई अन्तिम रुप दिने काम भइरहेको जनाएका छन् ।
उनका अनुसार हमासले इजरायली पक्षलाई आफूले रिहा गर्ने बन्दीको नामावली दिने र बदलामा इजरायली जेलमा रहेका प्यालेस्टाइनी बन्दीहरुलाई पनि सोही समयमा रिहागरिनु पर्ने माग गरेको छ ।
हमासले सुरक्षाको कारण देखाउँदै तत्कालै सबै बन्दीहरुलाई एकैसाथ रिहा गर्न नसकिने र युद्धविराम सम्झौताको ५ दिनमा उनीहरुको रिहाइ हुने स्पष्ट पारेको छ । अहलबराले जनाएअनुसार गाजाबाट बन्दीलाई इजरायल लैजान अन्तर्राष्ट्रिय रेडक्रसको टोली तयारी अवस्थामा राखिएको छ ।
गाजा युद्धविराम सम्झौता नजिक : हमास
हमास नेता इस्माइल हानियेहले इजराइलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको बताएका छन् । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकू समूहले चाँडै रिहा गर्ने आशा जगाएको छ ।
‘हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौँ’, एएफपीलाई आफ्नो कार्यालयले पठाएको एक विज्ञप्तिमा हानियेहले भने। गाजामा युद्ध सुरु भएको धेरै सातादेखि वार्ताकारहरूले प्यालेस्टिनी लडाकूहरूले राखेका करिब दुई सय ४० बन्धकमध्ये केहीलाई मुक्त गर्नका लागि एउटा सम्झौतामा पुग्ने प्रयास गरेका छन् ।
गत महिना हमासको कठोर हमलाका क्रममा बन्धक बनाइएका अधिकांश इजराइली छन् । तिनीहरूमा पनि केही बालबालिका र वृद्धवृद्धा छन् । बन्धक बनाइएकामध्ये केहीलाई मात्र रिहा गरिएको छ । केहीलाई इजराइली स्थल सैनिकले मुक्त गरेका छन् भने केहीको शव बरामद गरिएको छ ।
बाँकीको सटीक ठेगाना थाहा छैन । यद्यपि हमासले गरेको सबैभन्दा घातक हमलाको जवाफमा इजराइलले लगातार बमबारी र स्थल कारबाही सुरु गरेको गाजामा बन्धकहरू रहेको मानिएको छ । हमासले अक्टोबर ७ मा आफ्नो डरलाग्दो हमलाका क्रममा करिब एक हजार दुई सय मानिसलाई मारेको थियो । मारिनेमा अधिकांश सर्वसाधारण थिए । हमासका अनुसार इजराइली हमलामा गाजामा १३ हजार तीन सयभन्दा बढी मानिस मारिएका छन् र तिनीहरूमा हजारौँ बालबालिका रहेका छन् ।
नाम नछाप्ने शर्तमा एएफपीसँग कुरा गर्दै हमास र इस्लामिक जिहादको स्रोतले उनीहरूको आन्दोलन युद्धविराम सम्झौताको शर्तमा सहमत भएको बताएको छ । इस्लामिक जिहाद अर्को छुट्टै प्यालेस्टिनी लडाकू समूह हो जसले अक्टोबर ७ को हमलामा पनि भाग लिएको थियो ।
अस्थायी सम्झौतामा पाँच दिने युद्धविराम समावेश छ । यसमा जमिनमा युद्धविराम र दक्षिणी गाजामा इजराइली हवाई सञ्चालनको सीमा समावेश छ । बदलामा प्यालिस्टिनी लडाकू समूहले पक्रिएका ५० देखि एक सय मानिसलाई रिहा गरिनेछ । तीमध्ये इजराइली र अन्य मुलुकका मानिसलाई रिहा गरिने भए पनि कुनै पनि सैन्यकर्मीलाई रिहा गरिने छैन ।
प्रस्तावित सम्झौताअन्तर्गत महिला र बालबालिकासहित करिब तीन सय प्यालेस्टिनीलाई पनि इजराइली जेलहरूबाट रिहा गरिने छ । सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धकहरूलाई रिहा गर्ने सम्झौता नजिक पुगेको आफूलाई लागेको बताएका थिए । उनका अनुसार कतारको मध्यस्थतामा वार्ताको आशा बढेको छ । कतारमा हमासको एउटा राजनीतिक कार्यालय छ भने इजराइलको पनि कतारसँग पर्दापछाडि कूटनीतिक सम्बन्ध छ ।
त्यस्तै रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सोमबार आफ्ना अध्यक्षले इजराइल र गाजामा सशस्त्र सङ्घर्षसँग सम्बन्धित मानवीय मुद्दाहरूलाई अगाडि बढाउनका लागि हमासका नेता हानियेहसँग भेट्न कतारको भ्रमण गरेको बताएको छ ।
प्रतिक्रिया