बीआरआई कार्यान्वयनका लागि चीनले नेपालमा अपनाएको 'क्षेत्रीय नीति' | Khabarhub Khabarhub

बीआरआई कार्यान्वयनका लागि चीनले नेपालमा अपनाएको ‘क्षेत्रीय नीति’


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

नेपालले चीनको महत्वकांक्षी बेल्ट एण्ड रोड परियोजना (बीआरआई) मा हस्ताक्षर त गरेको छ, तर यस परियोजना सञ्चालन गर्न रकम नभएको अवस्थामा चीनबाट ऋण लिन पनि आनाकानी गरिरहेको छ । बीआरआईमा हस्ताक्षर गरेको ६ वर्ष बितिसक्दा पनि नेपालमा उल्लेखनीय प्रगति हुन सकेको छैन । बीआरआईबारे चीनले ‘क्षेत्रीय नीति’ अपनाएको देखिन्छ । हालै चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बतस्थित क्षेत्रीय सचिवले नेपालका भ्रमण गरेका छन् ।

चीनको तिब्बत स्वशासित क्षेत्रका चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनजेङले गण्डकी प्रदेशको भ्रमण गर्दै त्यहाँको मुख्यमन्त्री सुरेन्द्र पाण्डेसँग भेटवार्ता गरे । चीनले श्रीलंकामा पनि क्षेत्रीय नेताहरुसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने यस्तै किसिमको नीति अपनाएको देखिन्छ ।

वाङले केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण र सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौता र सहमति कार्यान्वयनबारे आफ्नो भ्रमण केन्द्रित रहेको बताएका छन् । श्रीलंका र अन्य दक्षिण एसियाली मुलुकहरुको अनुभवलाई मध्यनजर गर्दै नेपालले बीआरआईबारे निकै सोचविचार गरेर कदम चालिरहेको देखिन्छ ।

नेपाल र चीनबीच सन् २०१७ मा बीआरआईमा हस्ताक्षर भएको थियो । तर, नेपालमा यसको कार्यान्वयन भने अत्यन्त सुस्त छ । बीआरआई कार्यान्वयन योजनालाई अन्तिम रुप दिन पनि बाँकी नै छ । नेपालले बीआरआईमा हस्ताक्षर गर्नुअघि चीनको केन्द्रीय सरकारले यसको कार्यान्वयनका लागि तिब्बतले नेपालसँग निकट रहेर साँस्कृतिक प्रवद्र्धन, विकास, व्यापारजस्ता क्षेत्रमा सहकार्य गर्ने कार्य योजना अघि सारेको थियो ।

नेपालमा बीआरआई कार्यान्वयनका लागि लगानी सबैभन्दा पेचिलो विषय बनेको छ । नेपालले अनुदान वा सहयोग चाहेको छ भने चीनले ऋण लगानीलाई प्राथमिकता दिएको छ । बीआरआईमार्फत् कार्यान्वयन हुने भनिएको काठमाडौँ केरुङ रेलमार्ग पनि लगानी योजनाबारे सहमति हुन नसक्दा रोकिएको छ । नेपालले अनुदानमा आधारित रहेर यसको निर्माण गरिदन चीनसमक्ष आग्रह गरेको छ । यद्यपि यसबारे सहमति जुट्न भने बाँकी नै रहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईमा विवादमा तानिएको अर्को परियोजना हो । चिनियाँ पक्षले यो परियोजना बीआरआईअन्तर्गत ऋण लगानीमा निर्माण भएको दाबी गर्दै आएको छ । तर, नेपाली पक्षले भने चिनियाँ दाबीको खण्डन गर्दै आएको छ । त्यसैगरी एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोषको लगानी रहेपनि भैरहवाको गौतम बुद्ध अन्तर्राट्रिय विमानस्थललाई चिनियाँ कम्पनीले निर्माण गरेको हो ।

यता चीनको एक्जिम बैंकको ऋण लगानीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गरिएको हो । नेपाल र भारतबीच हवाइ रुटबारे सम्झौता हुन नसक्दा यी दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

सुरक्षाका कारणले भारतले नेपालको दक्षिणी सीमामा उडान गर्न आनाकानी गरिरहेको अवस्थामा नेपालले यस्ता परियोजना सञ्चालन गर्नका लागि चीनसँग सहयोग मागेको छ । पोखरा पुगेका वाङसँग पनि गण्डकीका मुख्यमन्त्री पाण्डेले चीनका ल्हासा, छेन्दु ग्वाङझाउजस्ता सहरबाट पोखरामा व्यवसायिक उडानका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

तिब्बती प्रतिनिधिमण्डलले यसबारे थप अध्ययन गर्नका लागि एउटा टोली पोखरा पठाइने आश्वासन दिएका छन् । उनले गण्डकी प्रदेशमा स्वास्थ्य र अन्य परियोजनाको निर्माणमा पनि सहयोग गर्ने उल्लेख गरेका छन् । चीन अध्ययन केन्द्रका महासचिव उपेन्द्र गौतमले काठमाडौँ पोस्टलाई बताएअनुसार चीनले बीआरआई परियोजनाको कार्यान्वयनका लागि आफ्ना प्रान्तहरुलाई अघि सार्ने नीति लिएको छ ।

सोहीअनुसार तिब्बतस्थित चिनियाँ कम्युनिष्ट पार्टीका नेताले नेपालको भ्रमण गरेको उनको भनाइ छ । नेपाल र तिब्बतबीच सीमा जोडिएकाले तिब्बती प्रान्तीय सरकारले नेपालमा बीआरआई परियोजना कार्यान्वयनमा भूमिका खेलोस् भन्ने चिनियाँ चाहना रहेको उनले बताए ।

नेपालमा दुई कारणले चिनियाँ लगानी सुस्त रहेको विश्लेषण गरिएको छ । बीआरआईका ठूला परियोजनाबारे वार्ता र कार्यान्वयन गर्ने नेपालको क्षमता सीमित रहेको बताइन्छ । राजनीतिक अस्थीरताले पनि यसमा भूमिका खेल्दै आएको छ । त्यसैगरी, नेपालमा वैदेशिक लगानीको वातावरण पनि कसिलो रहेको छ । दोस्रो पक्ष, चीनले बीआरआईमार्फत् नेपालसँग गर्ने अपेक्षा रहेको विश्लेषकहरुको बुझाइ छ ।

नेपालको अनुभवले पोखरा विमानस्थलजस्तो सरकार र सरकारबीच हुने सम्झौताले हालसम्म काम गरिरहेको विश्लेषकहरु ठान्छन् । नेपालमा प्रतिफल आउने क्षेत्रमा चिनियाँ कम्पनीहरु लगानी गर्न चिनियाँ निजी कम्पनीहरुले इच्छा देखाएका छन् । चिनियाँ र नेपाली कम्पनीले संयुक्त रुपमा सञ्चालन गरेको होङ्शी शिवम् सिमेन्ट उद्योग त्यसको एउटा उदाहरण हो ।

वृहद दक्षिण एसियाली क्षेत्रीय दृष्टिकोणबाट हेर्दा नेपाललाई भारतीय बजारमा प्रवेश गर्ने माध्यमका रुपमा प्रयोग गर्ने चिनियाँ उद्देश्य हो । भारत र चीनबीचको सम्बन्धले कस्तो गति लिन्छ, त्यसले यसको भविष्य निर्धारण गर्नेछ । तर अहिले हेर्दा नेपाल चीनको बीआरआईको दलदलमा फस्न नचाहेको देखिन्छ । सोही कारण चीनले नेपालमा क्षेत्रीय नीति अपनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १० : १० बजे

भारतलाई देखाइदिन गुहार माग्दै ओली चीनतिर गए : वर्षमान पुन

पर्वत- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले चार महिनासम्म

भुटानसँग खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं– भुटानसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपालको यु–१९ महिला टोली

पाँच महिनामा २० अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा झण्डै २२ अर्बको

नेपालको जलविद्युतमा लगानी गर्न कोरियन लगानीकर्तालाई आग्रह

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश

शेरबहादुर देउवाका अनेक दुःख !

काठमाडौं– आम निर्वाचन ०७९ को नतिजाअनुसार सरकार बनेको भए यतिबेला