भरतपुर भ्रमण वर्ष : बलियो पूर्वाधार, फितलो व्यवस्थापन   | Khabarhub Khabarhub

भरतपुर भ्रमण वर्ष : बलियो पूर्वाधार, फितलो व्यवस्थापन  



चितवन– आउँदो अंग्रेजी नयाँ वर्षलाई भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष’ अर्थात ‘भिजिट भरतपुर २०२४’ कार्यक्रमका रुपमा मनाउँदैछ । राजधानी काठमाडौँ आवत-जावत गर्ने ‘सेन्टर ट्रान्जिट पोइन्ट’का रुपमा रहेको भरतपुर आफैँमा पर्यटकीय विविधताले भरिपूर्ण छ । भरतपुरमा रहेका विभिन्न पर्यटकीय क्षेत्रमा आउँदो एक वर्षमा १० लाख पर्यटक भित्र्याउने महानगरपालिकाले महत्वाकांक्षी लक्ष राखेको छ ।

नेपाल पर्यटन बोर्डसमेत प्रवर्द्धक रहेको यो कार्यक्रममा पर्यटन क्षेत्रका तीन ठूला संस्था नाट्टा, टान र हानको साथ सहयोग छ ।महानगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसारका लागि दर्जन बढी समिति तथा उपसमिति बनाएर छलफल र सहकार्य अघि बढाएको छ । महानगरपालिका प्रमुख रेणु दाहाल ‘भिजिट भरतपुर’ कार्यक्रम सफल पार्ने महानगरको पहिलो दायित्व भएको बताउँछिन् ।

चितवन राष्ट्रिय निकुञ्जका कारण पनि भरतपुर, मेघौली र सौराहामा पर्यटकको वर्षेनी लाम लाग्ने गरेको छ । भरतपुरकै बाटो भएर सौराहा र मेघौली जाने पर्यटकले गर्दा नै भिजिट भरतपुरको कार्यक्रम सफलताउन्मुख देखिएको महानगरको दाबी छ ।

भरतपुरमा पर्यटनका सम्भावना अथाह छन् । तर, व्यवस्थापकीय पक्ष भने फितलो रहँदै आएको छ । यहाँ पर्यटनका मुख्य सम्भावना यस्ता छन् :

 १. वन्यजन्तु पर्यटन :

चितवन राष्ट्रिय निकुञ्ज युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ । बाघ, गैंडा, हात्तीका कारण चितवन राष्ट्रिय निकुञ्ज सँधै चर्चामा रहने गर्छ । विश्वमै दुर्लभ तर चितवनमा पर्याप्त रुपमा रहेका बाघ र गैँडाका कारण चितवन राष्ट्रिय निकुञ्जमा वर्षेनी लाखौँ पर्यटकले भ्रमण गर्छन् ।

अहिले वन्यजन्तु हेर्न व्यवसायिक रुपमा सौराहा र मेघौलीबाट जंगल सफारी हुने गरेको छ । यसका लागि काठमाडौँ लगायतका ठाउँबाट जाने पर्यटक भरतपुर भएरै जानुपर्छ । यसकारण चितवन जाने हरेक पर्यटक भरतपुर टेकेर जाने भएपछि भिजिट भरतपुर कार्यक्रमको घोषणा नै लगभग ८० प्रतिशत पर्यटन व्यवसायीका लागि ठूलो सम्भावना र अवसर हो । यसले भरतपुरका व्यवसायी र नागरिकको रोजगारी सिर्जना तथा अर्थोपार्जनमा पनि ठूलो सहयोग सहयोग गर्ने अपेक्षा छ ।

२. स्वास्थ्य पर्यटन :

‘भिजिट भरतपुर’ कार्यक्रमका योजनाकार डा.विश्व सुवेदीका अनुसार चितवन स्वास्थ्य पर्यटनले पनि चर्चित नाम हो । भरतपुर क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजका कारण पनि भरतपुर प्राय चर्चामा रहन्छ । डाक्टर तथा नर्स बन्न पढ्न आउने विद्यार्थी र क्यान्सर बिरामीले प्राय भरतपुर टेकेकै छन् ।

अहिले भएकै पूर्वाधारलाई अझ व्यवस्थित र आकर्षक बनाउन सक्ने हो भने भरतपुरमा अहिले आइरहेका मेडिकल क्षेत्रका पर्यटकलाई स्वतः आकर्षित गर्न सक्छ । चिकित्सा शिक्षा पढ्न आउने विद्यार्थी र क्यान्सरको उपचार गर्न आउने बिरामीले पनि फुर्सदका बेला अनिवार्य रुपमा भ्रमण भरतपुर गर्नेछन् ।

स्वास्थ्य पर्यटनका हिसाबले यसअघि नै स्थापित भरतपुर यो कार्यक्रमले थप विशेष हुनेमा ‘भिजिट भरतपुर’ कार्यक्रमका योजनाकार सुवेदी विश्वस्त छन् ।

३. खेल पर्यटन :

हास्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीले निर्माण घोषणा गरेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’का कारण भरतपुर पहिल्यैदेखि चर्चामा छ । कलाकारले चन्दा उठाएर निर्माण घोषणा गरेको रंगशालाको जग निर्माण भइसकेको छ । आर्थिक अभावका कारण पूरा गर्न नसकिएको यो रंगशालाको बाँकी संरचना निर्माण गर्ने जिम्मा भरतपुर महानगरपालिकाले लिएको छ ।

बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिका मिलेर निर्माण सम्पन्न गर्न लागेको यो रंगशाला प्याराफिटसहित मूलपानी क्रिकेट रंगाशालापछि नेपालको दोस्रो ठूलो र उत्कृष्ट रंगाशाला हुनेछ । यो रंगाशाला निर्माण सम्पन्न भएपश्चात पछिल्लो समय भारतको प्रभावले नेपालमा बढ्दै गएको क्रिकेट क्रेज झन् उचाइमा पुग्दा त्यसको ‘सेन्टर पोइन्ट’ हुनेछ ।

मेयर दाहालकै शब्दमा यो रंगशाला बोर्डर नजिक भएका कारण पनि भारत र पाकिस्तानका लागि पनि ‘न्युट्रल भेन्यु’मा खेल्ने विकल्प हुनेछ । त्यसबाहेक विश्वकै चर्चित हात्तीपोलो लगायत खेलका कारण पनि भरतपुर चर्चामै छ । त्यसलाई फेरि सुरुवात गर्नु महत्वपूर्ण हुनेछ ।

४. कृषि पर्यटन :

कृषि तथा वन विश्वविद्यालय भरतपुरमै अवस्थित छ । जहाँ वर्षेनी सयौँ विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न पुग्छन् । चितवन राष्ट्रिय निकुञ्जका कारण पनि वन विश्वविद्यालय झन् उत्कृष्ट छ । मलिलो माटो र व्यवसायिक सम्भावना भएका कारण चितवनमा धेरै किसिमका बाली उत्पादन हुने गर्छन् । त्यसमाथि केरादेखि पोल्ट्री व्यवसाय चितवनमा निकै फस्टाउँदो छ । एकातिर विद्यार्थीलाई पढ्ने ठाउँ र अर्कातिर व्यवसायिक रुपमा फस्टाउँदो कृषि व्यवसायका कारण ‘भिजिट भरतपुर’ कृषि पर्यटनका लागि पनि हब हो ।

५. जल पर्यटन :

भरतपुरलाई सबैभन्दा बढी चर्चा दिलाउने शब्द हो, नारायणघाट । त्रिशूली र कालीगण्डकी मिसिएर विशाल किनार बनाएर बग्ने नारायणी नदीका कारण पनि भरतपुर सँधै चर्चामा रहने गर्छ ।

पछिल्लो समय भरतपुरमा रहेको नारायणी नदी किनार पर्यटकका लागि नयाँ आकर्षक गन्तव्य हो । साँझपखको नारायणी नदीमा झुम्मिनेको भीड नै लाग्ने गरेको छ । नारायणी नदीमा र्याफ्‌टिङ, बोटिङदेखि स्टिमर र क्रुजसम्मको जलसफारी महत्वपूर्ण मानिन्छन् । भरतपुरको अर्को नाम नारायणघाट भएका कारण पनि भिजिट भरतपुरले पानी पर्यटनको पर्याप्त सम्भावना देखिन्छ । 

यसबाहेक चितवन तथा भरतपुर प्राकृतिक र सांस्कृतिक हिसाबले पनि उत्कृष्ट छ । चितवनको सदरमुकाम भएका कारण पनि भरतपुर भ्रमण गर्नेको संख्या उल्लेख्य रहँदै आएको छ ।

फितलो व्यवस्थापन :

पर्यटकको संख्या कमी नभए पनि चितवनमा पर्यटन पूर्वाधार र व्यवस्थापन फितलो रहँदै आएको छ । पर्यटन व्यवसायीहरू असाध्यै नाफामुखी र सरकारी कर्मचारी केवल पूर्वाधार निर्माणमुखी हुँदा व्यवस्थापन वर्षौँदेखि फितलो रहँदै आएको हो ।

भिजिट भरतपुर कार्यक्रमले चितवन आउने एक-एक पर्यटकको गणनादेखि उनीहरूको बसाईँलाई रमणीय तथा अविष्मरणीय बनाउन आवश्यक छ ।

अन्यथा प्रचुर सम्भावना र तामझामका साथ घोषणा गर्न लागिएको ‘भिजिट भरतपुर २०२४’ कार्यक्रम पनि कोभिड महामारीले अलपत्र परेको ‘भिजिट नेपाल २०२०’ जस्तै बन्न सक्छ ।

 

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  १० : ३९ बजे

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको