अडानी, बीबीसी डकुमेन्ट्री, जर्जको वक्तव्य र भारत | Khabarhub Khabarhub

अडानी, बीबीसी डकुमेन्ट्री, जर्जको वक्तव्य र भारत


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मलाई लाग्छ भारतमा अहिले दुई धारले एक अर्कामा घर्षण गर्दै छन्। पहिलो धार-बहुसंख्यकवाद विरुद्ध अल्पसंख्यकवाद र दोस्रो धार-भारतको विदेशनीतिको अन्तर्राष्ट्रियकरण विरुद्ध यथास्थितिकरण। बहुसंख्यकवादको चर्चा गर्दा राष्ट्रिय स्वयमसेवक संघले अंगीकार गरेको नीतिमा भाजपाले पदचिन्ह पछ्याएको छ। जसमा हिन्दुत्वको नाराले स्थान पाएको छ। भारतको सनातनी पहिचानको लडाइँमा संघ परिवारको आफ्नो यात्रा अविरल बगेको छ। तर यो भाष्यमा कहीकतै अल्पसंख्यकवाद हराउदै गएको हो कि भन्ने आशंका पनि छ।

अर्को भारतको विदेश नीतिको अन्तर्राष्ट्रियकरण हो। जसमा मोदी तथा जयशंकरको उदयपछि यसले बेग्लै पहिचान प्राप्त गरेको छ। भारतको बढ्दो आर्थिक हैसियत र त्यसले जन्माएको भारतको अन्तर्राष्ट्रिय शाखाले नेतालाई भारतको स्वार्थ दिल खोलेर भन्न सक्ने भएका छन्। भारतले अहिले पश्चिमा दबाब बाबजुद पनि रुस-युक्रेन युद्धमा लिएको तटस्थताको अडान, इन्डो पेसिफिक नीतिमा एकल वा बहुपक्षीय ढंगबाट यस सम्बद्ध देशसँग सम्बन्ध विस्तार गर्दै गएको नीतिले उसलाई विश्व रंगमञ्चमा विराट बनाएको छ। तर साथै साना तथा मझौला क्षेत्रीय छिमेकीसँग यथोचित सम्बन्ध निर्माण हुन सकेको छैन। क्षेत्रीय संघठन जस्तै सार्क एउटा उदाहरण हुनसक्छ। यो भारत-पाक टकरावको सिकार भएको छ। जसले गर्दा एकीकृत आर्थिक विकासको लक्ष्य हासिल गर्न कठिन देखिएको छ।

यथास्थितिकरणको विषयमा परम्परागत मित्र राष्ट्र जस्तै रुस, इरान, इजरायल लगायतका मुलुकसँग सम्बन्धको आधार समायानुकुल हुने वा यथास्थिति नै ठीक छ भन्ने पनि बहस छ। भारतको कर्मचारी संयन्त्रमा नयाँ र पुराना दुवै खाले व्यक्ति हुने हुँदा यथास्थितिवाद र नयाँपनको बीचमा टकराव हुनु सामान्य हो।

अब चर्चा गरौँ। भारतलाई अहिले गाँजेको तीन जटिल विषय : अडानी समूहको हालको समस्या, बीबीसीले निर्माण गरेको गुजरात दंगा सम्बन्धी डकुमेन्ट्री र जर्ज सोरसले भारतका प्रम मोदी र धनाढ्य गौतम अडानीको कम्पनीलाई दिएको वक्तव्यको बारेमा हो।
रुससँग भारतले यो आर्थिक वर्षमा निकै सस्तो मूल्यमा करिब ३७.३१ बिलियन डलरको कच्चा तेल आयात गरेको छ। यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३८४ प्रतिशतले बढी हो। यति हुँदाहुँदै पनि अमेरिकाले रुससँग सस्तो दरमा कच्चा तेल खरिद गरेको भनेर भारतमाथि आर्थिक बन्देज लगाउन सकेको छैन।

अमेरिकी अधिकारीको भनाइ भारत अहिले हाम्रो अति महत्वपूर्ण साझेदार हो। त्यसैले भारतमाथि अहिले त्यस्तो कुनै पनि किसिमको कारवाहीको सम्भावना छैन भनेर भनेका छन्। हो, भूरणनीतिक रुपमा भन्दा भारतले रुस -युक्रेन युद्धमा आफ्नो पोजिसन स्पष्ट नपारेकोले र रुसबाट धमाधम कच्चा तेल ल्याएर युरोपमा आपूर्ति गराएर नाफा कमाएको हुनाले भारत माथि दबाब बढेको छ। केही समय अघि अमेरिकाले पाकिस्तानसंग सम्बन्ध विस्तार गर्न खोजी पाकिस्तानलाई चाहिने एफ १६ लडाकु जहाज तथा बाढी पीडितलाई आर्थिक सहयोग दिने घोषणा गर्यो। साथै गत अक्टोबर, २०२२ मा पाकिस्तानका लागि अमेरिकी राजदूतले ‘पाकिस्तान अकुपाइड कास्मिर’ भ्रमण गरेका थिए। उनले आफ्नो भ्रमणको बारेमा जानकारी दिँदै ‘पाकिस्तान अकुपाइड कास्मिर’ को सट्टा ‘आजाद जम्मु एण्ड कास्मिर” भनेर शब्द प्रयोग गरे। लगतै जर्मन विदेश मन्त्रीले पनि कास्मिरको समस्या समाधान गर्न जर्मनीले सहयोग गर्ने जानकारी पाकिस्तानी विदेश मन्त्री बिलावल भुट्टो जरदारीसँग पत्रकार सम्मेलनमा गराइन्। भारतले तुरुन्त आपत्ति जनाएको थियो। जसको कारणले गर्दा भारतमाथि पश्चिमी दबाब बढेको छ। जुन यी माथिका (अडानी, बिबिसिको डकुमेन्ट्री र जर्ज सोरसको वक्तव्य प्रकरणमा पनि यसको झल्को देखिएको छ।

तीन समस्या
जनवरी १७, २०२३ मा बीबीसीले २ भागको गुजरात दंगाको बारे एउटा डकुमेन्ट्री बनाएर प्रसारण गर्यो। डकुमेन्ट्री मा सन् २००२ मा भएको गुजरात दंगामा मारिएका विशेषतः मुस्लिम समुदायका व्यक्ति र भारतीय प्रधानमन्त्री मोदीको नाम जोडेर व्याख्या गर्यो। सो डकुमेन्ट्रीमा यस घट्नाको मुख्य जिम्मेवार भारतीय प्रम मोदी नै भएको आरोप लगायो। डकुमेन्ट्री विदेशमा प्रसारण पछि भारतमा ठूलो हलचल मच्चियो र यस डकुमेन्ट्रीलाई भारतमा प्रशासरणमा बन्देज लगाइयो। उक्त डकुमेन्ट्री तत्कालीन बेलायत सरकारको खुफिया प्रतिवदेन आधारमा बनाइएको भनेर बीबीसीले जनायो। भारतको अहिले विश्व मानचित्रमा प्रदर्शन गरेको शान, शौर्य र कूटनीतिक उचाईलाई यो डकुमेन्ट्री प्रसारण भएपछि असर गरेको देखियो। डकुमेन्ट्री प्रशारण भएको केही दिनपछि भारतको विदेश मन्त्रालयका प्रवक्ताले यो विषयमा उत्तर दिँदा भनेका छन्, “यो एउटा साम्राज्यकालीन मानसिकताको उदाहरण हो।” भारतमा अहिले “साम्राज्यकालीन मानसिकता” अथवा “कोलोनियल माइन्डसेट” भन्ने शब्द चर्चामा छ। यो शब्द पहिलो पटक विदेशमन्त्री जयशंकरले २०२२ सेप्टेम्बरको संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने क्रममा जिकिर गरेका थिए।

जनवरी २४, २०२३ मा अमेरिकास्थित आर्थिक परामर्श कम्पनी हिन्डेनवर्ग रिसर्चले भारतीय धनाढ्य गौतम अडानीको कम्पनी अडानी समूहलाई लक्षित गरेर करिब चासय सय पेजको प्रतिवेदन तयार पार्यो। सो प्रतिवेदनमा अडानी समूहले करिब दस हजार करोड भारु, सेयरको मूल्य अवमूल्यन गरेर कमाएको भनेर आरोप लगायो। सो प्रतिवेदनको असर स्वरुप गौतम अडानीको सम्पक्ति घट्यो र उनी विश्वको तेस्रो धनी व्यक्तिको सूचीबाट झरेर ११ औं मा आइपुगे। उनले प्रतिवदेन प्रकाशन भएको करिब तीन दिनमा ३४ बिलियन डलर गुमाए। अहिले भारत सरकारले सो प्रतिवदेनको सत्यता माथि छानबिन गर्न सर्वोच्च मुद्दालाई अदालतमा पेश गरेको छ। सर्वोच्च अदालतले केही समय भित्रै समिति गठन गरेर यस विषयमा छानबिन सुरु गर्ने विश्वास लिइएको छ।

फरवरी १६, २०२३ मा हंगेरी-अमेरिकन धनाढ्य एवं ओपन सोसाइटी फाउण्डेशनका संस्थापक जर्ज सोरसले भारतीय प्रम मोदी र अडानीको साठगाँठको आरोप लगाए। साथै हिन्डेनवर्गको प्रतिवेदनले भारतको बजारमा गरेको गिरावटले अन्तः त्यसैले संस्थागत सुधार र लोकतान्त्रिक पुनरुथान गर्छ भन्ने विश्वास गरेको सोरसले जनाए। सोरसको ओपन सोसाइटी फाउण्डेशनले विश्व भर खुला समाज एवं लोकतान्त्रिक सरकारको वकालत गर्छ। यो फाउण्डेशनले गरिब मुलुकमा सत्तापलट गर्ने सक्ने पनि हैसियत राख्छ भन्ने गरिन्छ। सोरसले भारतमा विभिन्न गैर सरकारी संस्था मार्फत “एन्टी इण्डिया भाष्य” फैलाएको पनि आरोप छ। विकासशील मुलुकमा पैसा, राजनीति र विदेशी स्वार्थ द्वन्द्वको रोचक त्रिकोणात्मक प्रेम अथवा टकराव चलिरहन्छ।

आगामी मार्ग
आन्तरिक रुपमा भारतमा अहिले अल्पसंख्यकको मुद्दा बरकरार छ। तर अर्को पाटोको रुपमा भारतको तीव्र आर्थिक विकास र विश्व शक्ति बन्ने होडबाजीमा छ। प्राज्ञिक रुपमा मननः गर्दा “डि- कोलोनाइज्यड” देशलाई बुझ्ने पश्चिमासँग आफ्नै किसिमको प्राज्ञिक औजार छ। कहिँकतै त्यो “ओरिन्टालिज्म” बाट पनि निर्देशित छ। कसैले यसलाई “राइज अफ द रेस्ट” पनि भन्छन् भने कसैले यसलाई “इष्ट भर्सेज वेष्ट” पनि भन्छन्।

धेरै विद्धानको जर्नल र अध्ययनलाई साभार गरेर बोल्दा भारतलाई हेर्ने तरिका धेरै हदसम्म “कोलोनियल माइन्डसेट” अर्थात् “साम्राज्यकालीन मानसिकता” र थोरै हदमा एसियाको उदाउँदो शक्ति रुपमा उपमा दिइएको पाइन्छ। नेपाल, भारत लगायत देशमा पश्चिमा पढेर आएपछि व्यक्तिले स्वदेशमा पाउने महत्वपूर्ण स्थान यसको उदाहरण हो। यो सामाजमा गढेर रहेको विश्वास हो। त्यसैले ब्लाक एण्ड वाइट हिन्दी सिनेमा मा अभिनेता बेलायतबाट पढेर आएपछि कोर्ट पाइन्ट लगाउने र उसलाई परिवार र समाजले बेलायती बाबु भन्ने डाइलग हेरिन्थ्यो र सुनिन्थ्यो।

पश्चिमी देशमा अवस्थित एउटा आर्थिक परामर्श कम्पनीको प्रतिवेदनको आधारमा विश्वको दोस्रो धनी व्यक्ति जो भारतीय पनि हो, उसको सम्पत्ति तासको घर ढलेको जस्तै ढल्छ। यसले के पुष्टि गर्छ भन्दा पश्चिममा जस्तो शक्तिशाली संस्थाको निर्माण यहाँ पूर्वमा भएको छैन। किनभने हाम्रोमा पहिला देखिनै व्यक्ति पूजा गर्ने चलन व्याप्त थियो। जसले संस्था भन्दा ठूलो व्यक्ति मान्दछ।

अन्त्यमा, बीबीसीको डकुमेन्ट्री, अडानी र जर्ज सोरसको प्रकरणले भारतमा एउटा बहस सिर्जना भएको छ। के यी तीन मुद्दाहरू सत्यताको नजिक छन् ? अथवा उदाउँदो भारतको सेखी झार्न यो गरिदै छ। यो विषय महत्वपूर्ण नेपालको लागि पनि छ। किनभने नेपालको विकास भारतको उदय (विशेषतः उत्तरप्रदेश र बिहार) सँग धेरै हदसम्म जोडिएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १२ : २० बजे

गन्तव्य पहिल्याउन बागलुङ बजारमा ‘स्टेट नम्बर’

बागलुङ – बागलुङ बजारलाई पर्यटनमैत्री बनाउन बागलुङ नगरपालिकाले पहिलोपटक ‘स्टेट

‘कोरा भक्तपुर साइकलिङ च्यालेञ्ज’ सम्पन्न

भक्तपुर – भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उदेश्यले

आगामी निर्वाचनसम्म कांग्रेस–एमालेको गठबन्धन कायम रहन्छ : प्रदीप ज्ञवाली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक

क्रोएसियाको नर्सिङ होममा गोली चल्दा पाँच जनाको मृत्यु

क्रोएसिया – क्रोएसियाको एक नर्सिङ होममा सोमबार एक बन्दुकधारीले गोली

अख्तियारमा उजुरी परेपछि नगर प्रमुखले फिर्ता गरे पैसा

सिरहा – सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट