बागलुङमा बाढीपहिरोमा परी ७५ जनाको मृत्यु, सोह्र अझै बेपत्ता | Khabarhub Khabarhub

बागलुङमा बाढीपहिरोमा परी ७५ जनाको मृत्यु, सोह्र अझै बेपत्ता


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङमा हरेक वर्ष बाढीपहिरोमा परी धेरैले ज्यान गुमाउने गरेका छन् । तल समथर भूभाग माथि अग्लो पहाड । त्यसमाथि हुने जताततै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ । बर्सातको समयमा बाढीपहिरोले सयौँ क्षेत्रफल खेतीयोग्य जमिन बगाउने गरेको छ भने बस्तीसमेत बगाउने गरेको छ ।

जिल्लामा बर्सेनि पहिराका कारणले जनधनको क्षति हुने गरेको विगतको तथ्यांकले छ । पन्ध्र वर्षयताको बाढीपहिरोको तथ्यांक हेर्दा ७५ जनाको ज्यान गएको छ भने १६ जना बेपत्ता छन् । विसं २०६४ देखि २०७९ सम्म बागलुङमा दर्जनौँ बस्ती विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयले बेपत्ता नागरिकको परिवारलाई मृतक सरह राहत रकम प्रदान गरेको छ । 

पन्ध्र वर्षको अवधिमा पहिराबाट सबैभन्दा बढी ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिका क्षेत्रमा मानवीय क्षति भएको छ । हालको बडिगाड गाउँपालिकामा पर्ने साबिकको ग्वालिचौरमा  विसं २०६४ मा गएको पहिरामा परी २९ जनाले ज्यान गुमाएका थिए ।  पहिरामा बेपत्ता भएका नागरिकलाई पनि मृतकमै गणना गर्ने हो भने ढोरपाटन–९ मा विसं २०७७ मा गएको पहिराले जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो मानवीय क्षति गरेको छ । उक्त पहिरामा परी २३ जनाको मृत्यु भएको थियो । पन्ध्र जना बेपत्ता छन् । 

बेपत्तालाई मृतकका सूचीमा राख्ने हो भने पहिरामा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुग्छ । जिल्ला विपद् व्यवस्थापन समितिको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा पहिराको प्रकोप एक नंमा परेको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन् । जिल्लामा हरेक वर्ष हुने मनसुनजन्य प्रकोपबाट मानवीय क्षति भएकै छ । 

विसं २०७५ असार ११ गते बरेङ गाउँपालिका–१ धुल्लुबासकोटको पहिरामा दुई, २०७५ साउन ३० गते निसीखोला गाउँपालिका–३ मा पहिरो गई घर पुरिँदा तीनजनाको मृत्यु भएको थियो । मनसुन आपतकालीन योजनामा समावेश तथ्यांकअनुसार २०७६ साल साउन ७ गते गलकोट नगरपालिका–८ ज्यामिरेको पहिरामा एक, २०७६ साउन २० गते तमानखोला गाउँपालिका–४ लाम्मेला शिवपुरीमा पहिरो गई तीनजनाको मृत्यु भएको उल्लेख छ ।

जिल्लाको काठेखोला गाउँपालिका–४ मा २०७७ साल असार ६ गते पहिरो गई एक, २०७७ साउन १० बागलुङ नगरपालिका–१ मा आएको पहिराले पुरिएर एकजनाको मृत्यु र एक बेपत्ता भएका थिए । निसीखोला–१ मा २०७७ साउन १२ गतेको पहिराले एकजना सोही दिन तमानखोला–२ मा आएको पहिरामा परी दुई, २०७७ साउन ३० गते निसीखोला–३ का एकजना र निसीखोला–५ का दुईजनाको मृत्यु भएको थियो । 

ढोरपाटन–२ मा २०७७ साल भदौ ९ मा एक, ढोरपाटन–१० मा भदौ १६ गते आएको बाढीपहिराले एकको मृत्यु भएको थियो । विसं २०७७ कै भदौ २७ मा बडिगाड–१० मा एक, भदौ २८ र २९ गतेको पहिरामा परी जैमिनी–२ मा दुई र वडा नं ५ मा एकजनाको मृत्यु भएको थियो । समग्रमा २०७७ सालमा बागलुङमा ४० जनाको बाढीपहिरो चट्याङबाट मृत्यु भएको, १६ जना बाढीपहिरामा बेपत्ता भएको थिए । विसं २०७८ असारको वर्षाका कारण बागलुङ-कुश्मिसेरा सडकको गलुवा खण्डमा पहिराबाट क्षतिग्रस्त सडक साउन ३ गतेदेखि सञ्चालन गरिएको थियो ।  

गत वर्षको असोज ३१ गतेदेखि परेको बेमौसमी वर्षाका कारण जिल्लाभरिका तीन हजार पाँच सय कृषकको चार सय १० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा समेत प्रभाव पारेको थियो । एकचालीस कृषकको एक सय चार रोपनी क्षेत्रफलमा लगाइएको धानबाली पूर्ण रुपमा क्षति भएको थियो । पहिराले विस्थापित परिवार हिउँदमा जीर्ण घरमै बसे पनि बर्खा लागेपछि थातथलो छाडेर अन्तै सर्नुपर्ने स्थिति छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १ : २८ बजे

युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ

ढाका- बंगलादेशी अभिनेत्री मेहर अफरोज शाओन पक्राउ परेकी छन् ।

स्थानीय व्यवसाय प्रवर्द्धन गर्न धरानमा विजिनेश एक्स्पो

धरान– स्थानीय उत्पादनको प्रवर्द्धन, व्यवसायलाई चलायमान बनाउन र आन्तरिक पर्यटनलाई

रुबियोले इजरायल, अरब राज्यहरूको भ्रमण गर्ने

एजेनसी – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

 काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।  बिहीबार प्रतितोला

चालु आर्थिक वर्षमा जुम्लामा ११ किलोमिटर सडक निर्माण

जुम्ला– जुम्लास्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा