आज वैशाख ९, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल २२, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
घट्यो अमेरिकामा घरजग्गाको कारोबार
अमेरिकामा घर जग्गाको कारोबार घटेको छ। एक तथ्यांक अनुसार अमेरिकामा २.४ प्रतिशतले घरजग्गाको कारोबार घटेको हो।
अमेरिकाको नेशनल एशोसिएसन अफ रियाल्टर्स (एनएआर) का अनुसार घर बिक्रीको वार्षिक दर ४४ लाख ४० हजारमा झरेको हो। अमेरिकी अर्थव्यवस्था चलायमान बनाउने एक महत्वपूर्ण क्षेत्र रियल स्टेट बजारको कारोबार घटेको विषयलाई चिन्ताको रूपमा लिइएको छ। कोभिड-१९ पछि देखिएको खराब अर्थतन्त्रका कारण घरजग्गाको कारोबार घटन गएको अमेरिकन अर्थशास्त्रीहरूले जनाएका छन्।
‘संसारलाई झैँ अमेरिकाको अर्थतन्त्रलाई पनि कोभिड-१९ ले असर गरेको छ, मानिसहरुको क्रय शक्तिमा कमी आएको छ र धेरैजसो मानिसहरु अहिले बाँच्नका लागि अर्थात् जिविकोपार्जनका लागि मात्रै पैसा कमाइरहेका छन् भने झैँ अवस्था देखा परेको छ, जसको परिणाम स्वरूप अन्य क्षेत्रमा जस्तै घर जग्गा कारोबारमा पनि नकारात्मक असर देखिएको हो’ अर्थशास्त्री निक जोन्सनले भने।
विद्यमान घर बिक्री गत वर्षको मार्च महिनाको तुलनामा २२ प्रतिशतका दरले घटन पुगेको छ। एनएआरका अनुसार औसत विद्यमान घर बिक्री मूल्य अघिल्लो वर्षको तुलनामा ०।९ प्रतिशतले घटेर ३ लाख ७५ हजार ७ सय अमेरिकी डलरमा झर्न गएको हो।
तर, यसअघि बिक्री हुन नसकेका भनिएको घरहरू भने अघिल्लो महिनाको तुलनामा गत मार्चको अन्त्यसम्ममा १ प्रतिशतले बढेर ९ लाख ८० हजार पुगेको एनएआरले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। नेपालमा पनि अहिले घर जग्गाको कारोबार घटेर अर्थतन्त्रमा नकारात्मक असर गरेको भन्दै कित्ताकाट खुल्ला गरिएको छ।
ताइवान मामिलामा फिलिपिन्सको चिन्ता
फिलिपिन्सले ताइवान मामिलालाई लिएर चिन्ता व्यक्त गरेको छ । ताइवान नजिकको जलक्षेत्रमा बढेको तनावलाई लिएर फिलिपिन्सले चिन्ता व्यक्त गरेको हो ।
फिलिपिन्सका विदेशमन्त्री एनरिके मनालोले आफ्ना चिनियाँ समकक्षी छिन गङसँगको भेटमा दुवै देशले दक्षिण चीन सागरमा आपसी विवाद व्यवस्थापन गर्दै आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउनेबारेमा छलफल गर्नुभएको विदेश मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार एक चीन नीतिप्रति फिलिपिन्स प्रतिबद्ध रहेको बताउँदै विदेशमन्त्री मनालोले ताइवान नजिकको जलक्षेत्रमा बढेको तनावलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।
आफ्नै संविधान र सरकार भएको ताइवान एक स्वशासित टापु हो । सन् १९४९ को गृहयुद्धपछि चीनबाट अलग भएको स्वतन्त्र ताइवानलाई आफ्नो अविभाज्य भूमिका रुपमा दाबी गर्र्दै आएको छ । बेइजिङले आवश्यक परेमा बल प्रयोग गरेर मुख्यमूमिमा ताइवानलाई गाम्भसक्ने चेतावनी पनि दिँदै आएको छ ।
बीस महिला वैज्ञानिक सम्मानित
चीनले विभिन्न क्षेत्रमा कार्यरत महिला वैज्ञानिकलाई ।सम्मानित गरेको छ । वायु प्रदूषण रोकथाम तथा अन्य क्षेत्रमा अनुसन्धानका लागि २० युवा महिला वैज्ञानिक र पाँच अन्य वैज्ञानिकको समूहलाई शनिबार पुरस्कृत गरिएको हो ।
अखिल चीन महिला महासङ्घ (एसीडब्लुएफ) र ‘चाइना एसोसिएसन फर साइन्स एन्ड टेक्नोलोजी’ले आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष तथा एसीडब्लुएफका अध्यक्ष शेन युयुले महिला वैज्ञानिकहरूलाई आधारभूत राष्ट्रिय हित र जनताको चासोलाई ध्यानमा राख्न आग्रह गरेका छन् ।
शेनले उनीहरूलाई मौलिक र अग्रणी वैज्ञानिक र प्राविधिक अनुसन्धानमा सफलता हासिल गर्न, बहादुरीपूर्वक विज्ञान तथा प्रविधिमा देशको आत्मनिर्भरता र शक्ति बढाउन कुञ्जीका साथै आधारभूत प्रविधिमा हुने अवरोधका समस्याहरूको सामना गर्न आह्वान गरे ।
एसीडब्लुएफका अनुसार सन् २००४ देखि हालसम्म १८४ जना चिनियाँ महिला वैज्ञानिक तथा अनुसन्धातालाई पुरस्कृत गरिएको छ ।
अर्जेन्टिनी राष्ट्रपति फर्नान्डेज पुनः निर्वाचिन नलड्ने
अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले यस वर्षको अन्त्यमा हुने निर्वाचनमा आफू उम्मेदवार नहुने तर अर्जेन्टिनाका समस्या समाधानका लागि सबै प्रयास केन्द्रित गर्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक भिडियोमा फर्नान्डिजले सत्तारुढ फ्रेन्टे डे टोडोसका उम्मेदवारहरूले ‘दक्षिणपन्थीहरू आफ्नो दुःस्वप्न र अन्धकार ल्याउन’ सत्तामा फर्कने छैनन् भन्ने सुनिश्चितता गर्नका लागि आफूले काम गर्ने बताएका छन् ।
फर्नान्डिजले अगष्ट १३ मा हुने निर्वाचनका लागि उम्मेदवार दर्ताको समयसीमा भन्दा लगभग दुई महिना अघि यो निर्णयको घोषणा गरेका हुन् । सन् २०२३ देखि २०२७ सम्म का लागि अर्जेन्टिनाका नागरिकले राष्ट्रपति र उपराष्ट्रपतिका साथै १३० जना डेपुटी, २४ जना सिनेटर र ४३ जना साउदर्न कमन मार्केटका सदस्यका लागि मतदान गर्ने छन् ।
अप्रिल १९५९ मा जन्मिएका फर्नान्डिज सन् २०१९ को अन्त्यमा सत्तामा आउनुभएको थियो भने यसै वर्षको डिसेम्बरमा उनी पदमुक्त हुनेछन् ।
पाकिस्तानमा सडक दुर्घटना हुँदा सात जनाको मृत्यु
पाकिस्तानको पञ्जाब प्रान्तमा शनिबार बिहान भएको सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ज्यान गुमाउने मध्ये चार जना महिला र तीन जना बालबालिका रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । नियमित मर्मतसम्भार नभएका सडक र सवारी, सवारी नियमको पालनामा हेलचेक्र्याइँ गरेका कारण पाकिस्तानमा प्रायः सडक दुर्घटना हुने गरेका छन् ।
श्रीलंकाको बन्दरगाहमा व्यापारिक केन्द्र निर्माण गरिँदै
श्रीलंकाको बन्दरगाहमा व्यापारिक केन्द्र निर्माण हुने भएको छ । श्रीलंका बन्दरगाह प्राधिकरण, स्थानीय सिभिल इन्जिनियरिङ इन्टरप्राइज र चाइना पोर्ट होल्डिङस्ले संयुक्तरूपमा व्यावासायिक केन्द्र निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
शुक्रबार गरिएको सम्झौताअनुसार कोलम्बो बन्दरगाहलाई आर्थिक गतिविधिका निम्ति आवश्यक पर्ने सबै भौतिक संरचनासहित दक्षिण एशियाकै प्रतिष्ठित एवम् प्रतिस्पर्धी बन्दरगाहका रुपमा विकास गरिनेछ ।
उनान्चालीस करोड २० लाख अमेरिकी डलरको उक्त परियोजना पूरा भएपछि श्रीलंकाको आर्थिक उन्नयनमा थप योगदान हुनेछ ।
मध्य म्यान्माको आँधीमा परी छ जनाको मृत्यु
मध्य म्यान्मामा आएको आँधीमा परी छ जनाको मृत्यु भएको छ । उक्त आँधीमा एक सय भन्दा बढी मानिसहरू घाइते भएका छन् । म्यान्मा फायर सर्भिस विभागले शुक्रबार साँझ आएको आँधीमा परी एक सय नौ जना घाइते भएका बताएको छ ।
आँधीमा परी दुई जना पुरुष र चार जना महिलाले ज्यान गुमाएका हुन् । घाइते मध्ये १६ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ ।
आँधीले दुई सय भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा आत्मघाती हमलाको धम्की
प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
आगामी सोमबार प्रधानमन्त्री मोदीको कोची कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र भारतीय जनता पार्टी (बिजेपी)को प्रदेश कार्यालयलाई प्राप्त भएको अधिकारीहरूले बताएका छन् । पत्र प्रेषकको नाम र अन्य विवरण पनि त्यसमा भएकाले सुरक्षाकर्मीले निजलाई पहिचान गरिएको बताएका छन् ।
विपक्षीहरूले आफूलाई फसाउन आफ्नो नाम प्रयोग गरेका दाबी गर्दै ती आरोपित व्यक्तिले आफूले कुनै पत्र नलेखेको दोहोर्याएका छन् । केन्द्रीय अनुसन्धान निकायका अधिकारीले अनुसन्धान जारी राखेका तथा थप विवरण खोजिरहेका छन् ।
बिजेपीका राज्यप्रमुख के सुरेन्द्रनले प्रधानमन्त्री मोदीका निर्धारित सबै कार्यक्रम हुने बताएका छन् । उहाँ सोमबार कोच्चीका कार्यक्रममा सहभागी भएर भोलिपल्ट तिरुवनन्तपुरममा वन्दे भारत एक्सप्रेसको उद्घाटन गर्ने र जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राज्यप्रमुख सुरेन्द्रनले जानकारी दिएका छन् ।
‘प्रधानमन्त्री मोदीको केरला भ्रमणले राज्यको विकासलाई गति दिनेछ । राज्यका जनतामा ठूलो उत्साह र अपेक्षा छ । भ्रमणबाट केरलाको राजनीतिक परिवर्तन प्रारम्भ हुनेछ । पार्टी राजनीतिभन्दा माथि केरलाको विकास चाहनेहरू प्रधानमन्त्री मोदीका कार्यक्रममा सहभागी हुनेछन्,’ पत्रकारमाझ राज्यप्रमुख सुरेन्द्रनले भनेका छन् ।
यसैबीच, प्रहरी अतिरिक्त महानिर्देशकले सुरक्षा व्यवस्थाबारे उच्च निकायलाई लेखेको गोप्यपत्र सञ्चार माध्यमबाट सार्वजनिक भएकामा सत्तारुढ दलका नेताहरूले चिन्ता व्यक्त गरेका छन् । केरला निवासी विदेश राज्यमन्त्री एम मुरलीधरनले सुरक्षा निकायको गोप्यपत्रराज्य सार्वजनिक हुनुलाई प्रहरीको गम्भीर त्रुटी भनेका छन् ।
स्वतन्त्र ताइवानको वकालत गर्ने संगठनविरुद्ध कारबाही
चीनले ताइवानको स्वतन्त्रताको वकालत गर्ने संगठनहरूविरुद्ध दण्डात्मक कारबाही थालेको छ । ताइवानी संगठन प्रस्पेक्ट फाउण्डेशन र एशियन लिबरल एण्ड डेमोक्र्याटिक काउन्सिलविरुद्ध बेइजिङले दण्डात्मक कारबाहीको घोषणा गरेको हो । दुवै सङ्गठनलाई मुख्यभूमिका संगठन वा व्यक्तिसँग सहकार्यमा प्रतिबन्ध लगाइएको छ । अब ती संगठनले मुख्यभूमिका साथै हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्रमा पनि प्रवेश पाउने छैनन् । मुख्यभूमिका सङ्घसंस्थालाई पनि प्रस्पेक्ट फाउण्डेशन र एशियन लिबरल एण्ड डेमोक्र्याटिक काउन्सिलसँग सहकार्य नगर्न आदेश दिइएको छ ।
ताइवान मामिलासम्बन्धी चीनको राज्यपरिषद् कार्यालयले ती दुई संगठनले लोकतन्त्र, शैक्षिक आदानप्रदान, कार्यशाला तथा सहयोगको बहानामा गैरकानुनी काम गरेकाले कारबाही गरिएको जनाएको छ । उक्त कार्यालयका प्रवक्ता झु फेङलियानले ती संस्था चीन विरोधी शक्तिसँग मिलेर संगठन विस्तारमा लागेका तथा एक चीन सिद्धान्तलाई उल्लङ्नमा लागेकाले कारबाही गरिएको बताएका छन् ।
आफ्नै संविधान र सरकार भएको ताइवान एक स्वशासित टापु हो । सन् १९४९ को गृहयुद्धपछि चीनबाट अलग भएको स्वतन्त्र ताइवानलाई आफ्नो अविभाज्य भूमिका रुपमा दाबी गर्र्दै बेइजिङले आवश्यक परेमा बल प्रयोग गरेर मुख्यभुमिमा गाम्भसक्ने चेतावनी दिँदै आएको छ । राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ ।
यौन हिंसा रोक्न युएन वुमनको आग्रह
लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनले सुडानी महिला तथा युवतीहरूमा युद्धले नकारात्मक असर पारेको जनाउँदै यौन हिंसा हुननदिन तथा त्यसविरुद्ध कारबाही गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।
“युएन वुमन सुडानमा जारी द्वन्द्वबाट हामी गम्भीर रूपमा चिन्तित छौँ, हामी हाम्रा साझेदारहरूका साथ छौँ युद्धले सुडानी महिला र युवतीको जीवनमा पनि गम्भीर प्रभाव पारेको छ । हामी सुडानका जनतासँग ऐक्यबद्धता जनाउँछौँ, महिलाहरूलाई हिंसामुक्त राख्न प्रतिबद्ध रहनुहोस्, “लैङ्गिक समानतामा समर्पित उक्त निकायकी कार्यकारी निर्देशक सिमा बहौसले एक विज्ञप्तिमा भनेकी छन् ।
युद्ध चर्केसँगै यौन हिंसा र महिला हिंसाका घटना बढेका विवरण सार्वजनिक भएसँगै उक्त संस्थाले सहनशील सुडानी महिलाहरू शान्तिको खोजीमा रहेका तथा देशमा शान्ति कायम गर्ने दिशामा उनीहरूको भूमिका आवश्यक भएको बताउँदै विज्ञप्तिमा कुनै पनि महिला कुनै पनि बहानामा प्रताडित वा हिंसाको शिकार हुननहुने तथा उनीहरूको सुरक्षा सुनिश्चित हुनुपर्नेमा जोड दिइएको छ । साथै युएन वुमनले वार्ताको माध्यमबाट समस्याको निकास खोज्न आग्रह गर्दै स्थायी युद्धविरामका निम्ति आह्वान गरेको छ ।
प्रतिक्रिया