दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 10 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आज दिनभर नक्कली शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउनु पर्ने प्रहरी निष्कर्ष,नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ जाहेरी दर्ता, राष्ट्र बैंकद्वारा चार वटा बैंक तथा वित्तीय संस्था कारबाहीमा,प्रतिनिधिसभा बैठकमा पूर्वाधार निर्माणदेखि किसानका समस्याबारे सरकारको ध्यानाकर्षण,सीटीईभीटीले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने, विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिमको घोषणालगायतका समाचारले प्रमुख स्थान पाए ।

नक्कली शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउनु पर्ने प्रहरी निष्कर्ष

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरूलाई संगठित ठगी र राज्यविरुद्धको कसूर मुद्दा चलाउन राय दिएको बताइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार मुद्दामा प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय, काठमाडौँलाई बुझाएको हो ।

मुद्दा चलाउन राय दिइएका ३३ जनामध्ये ३० जनाको नामथर र ठेगाना खुलेको छ भने एक जनाको नाम खुलेको छ । अरु दुई जनाको भने नामथर र ठेगानासमेत खुलेको छैन ।

अभियुक्तहरुबाट २७ करोड ८४ लाख ५० हजार ५०० रुपैयाँ बिगो माग दाबी गर्न राय दिइएको प्रहरीको भनाइ छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ जाहेरी दर्ता

नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका जाहेरीमा २७ करोडभन्दा बढी ठगी भएको उल्लेख छ । उक्त प्रकरणमा सुरुआतमा ८१ जनाको रु १३ करोड ठगी भएको भन्दै काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयलमा उजुरी परेको थियो ।

कार्यालयले थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ परेका व्यक्तिसहित फाइल जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाएको छ । त्यसपछि थप व्यक्तिले जाहेरी दिएका रिजालले बताए ।

उक्त मुद्दामा आजसम्म प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । केही व्यक्ति फरार छन् । केही व्यक्ति अनुसन्धानको घेरामा रहेकाले दरिलो प्रमाण जुटाउने प्रयास भइरहेको उनको भनाइ छ । गत वर्ष चैत १२ गतेदेखि प्रहरीले आरोपीतलाई पक्राउ गर्न थालेको हो ।

राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सिर्जना गर्ने काम भयो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका लागि राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सिर्जना गर्ने काम भएको बताएका छन् ।

नेपाल मुस्लिम इत्तेहाद संगठनद्वारा सोमबार ललितपुरमा आयोजित इद मिलन तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री हुँदा पारदर्शिताका साथ देश विकासको भिजनका साथ अघि बढ्दा जनतालाई भ्रममा पार्ने सचेत हुन नदिने काम भएको बताएका हुन् ।

उनले नेपालमा अहिले कसैको मान मर्यादा हुन थाले बदनाम गर्ने प्रवृत्ति देखापरेको जिकिर गरेका छन् । ओलीले एमाले सरकारले पाँच सात दशकमा हुन नसकेको विकास गरेर देखाएको दावी गरे ।

योजना समयमा नै पुरा गर्ने र असाधारण विकासको गति ल्याँउदा पनि धर नपाएको उनको भनाइ छ ।

ओलीले अहिले राष्ट्रिय सद्भावसहितको एकताका लागि पहल गर्नुपर्ने बताए ।

लुम्बिनी प्रदेशमा थप तीन जना मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशमा थप तीन जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सोमबार प्रदेश प्रमुख कार्यालय बुटवलको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । सोमबार नयाँ मन्त्रीको रुपमा नेपाली कांग्रेसका नेता राजु खनाल स्वास्थ्य मन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक मन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

त्यस्तै त्यसअघि नियुक्त भएका लोसपाका सन्तोषकुमार पाण्डेयलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय र धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

यसअघि लुम्बिनी प्रदेश सरकारमा माओवादीका धनबहादुर मास्की अर्थमन्त्री बनिसकेका छन् । सोही कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ताका रुपमा वरिष्ठ अधिवक्ता प्रा.डा बुद्ध बहादुर थापाले पद तथा गोपनियताको सपथ लिएको छन् ।

पुँजीगत खर्च गर्ने क्षमता बढाउन मन्त्री शर्माको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुँजीगत खर्च गर्ने क्षमता बढाउन मातहत कार्यालयका प्रमुखलाई निर्देशन दिएकी छन् । मन्त्रालयमा आज आयोजित तेस्रो त्रैमासिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले निर्धारित लक्ष्य पूरा गर्नेगरी काम गर्न निर्देशन दिइन् ।

‘तोकिएका ‘माइलस्टोन’ पूरा गरौँ, जे लक्ष्य निर्धारण गरेका छौँ, त्यो पूरा गर्ने दिशामा अगाडि बढौँ’, उनले भनिन्, ‘पुँजीगत खर्च नहुनुका कारण र समस्या छन्, तिनका बारेमा गम्भीर समीक्षा गरौँ ।’ मन्त्रालयले लिएको लक्ष्य पूरा गर्न सबै निकायले मेहनत गरिरहेको भए पनि लक्ष्य प्राप्त हुन नसकेकामा सबैले गम्भीर भएर सोच्नुपर्ने उनले बताइन् ।

मन्त्री शर्माले भनिन्, ‘सबैले मेहनत गरेका छौँ, तर लक्ष्यमा पुग्न सकेका छैनौँ, पुँजीगत खर्चको लक्ष्य भट्याउन स्पष्ट योजना ल्याउनुपर्छ ।’ अन्तरनिकाय समन्वय काय नहुँदा मातहतका निकायका काम अगाडि बढाउन समस्या भइरहेको उनको भनाइ थियो ।

अघिल्लो त्रैमासिक समीक्षाका क्रममा व्यक्त भएका प्रतिबद्धता अझै पूरा नभएकामा असन्तुष्टि व्यक्त गर्दै उनले वार्षिक समीक्षाका क्रममा मन्त्रालयले लिएका लक्ष्य पूरा भएको अवस्थामा पुर्‍याउन निर्देशन दिइन् ।

राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतले पुँजीगत खर्च गर्ने क्षमता अभिवृद्धि गरिनुपर्ने बताए। ‘एकतातिर बजेट पुगेन भन्छौँ, तर खर्च गर्न सक्दैनौँ, यसमा विविध कारण छन्’, उनले भने, ‘समन्वय र सहकार्यको संस्कृति बढाउनुपर्छ ।’ अन्तरमन्त्रालय समन्वय सहजीकरण भए निर्धारित लक्ष्य तोकिएको समयमै भेट्न सकिने उनको भनाइ छ ।

मन्त्रालयका सचिव कृष्णबहादुर राउतले बेरुजु फर्छ्योटमा तदारुकता देखाउन प्रमुखहरूलाई निर्देशन दिए। उनले पुँजीगत खर्च वृद्धि, राजस्व संकलन वृद्धि तथा बक्यौता उठाउने विषयमा ध्यान दिन निर्देशित गरे । डिजिटल नेपाल फ्रेमवर्कले लिएका लक्ष्य र उद्देश्य हासिल गर्न योजना आयोग र प्रधानमन्त्री कार्यालयले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रमिला आचार्यले प्रधानमन्त्री कार्यालयले दिएको कतिपय ‘माइलस्टोन’ कार्यान्वयन नै नभएको पाइएकाले आफूले सञ्चालन गर्न सक्ने योजना मात्रै समावेश गर्न आग्रह गरे । उनले अन्तरनिकाय समन्वयका लागि आर्थिक तथा पूर्वाधार हेर्ने सचिवको नेतृत्वमा रहेको निकायमार्फत समन्वय गर्न सुझाव दिए ।

कार्यक्रममा विभिन्न कार्यालयका प्रमुखले प्राप्त उपलब्धि, समस्या र समाधानका लागि गरिदिनुपर्ने पहलका लागि आग्रह गरेका थिए । त्यसअघि बैठकमा मन्त्रालय मातहतका कार्यालयले पछिल्लो त्रैमासिकमा सम्पादन गरेका कामकारबाही, प्राप्त उपलब्धिका बारेमा सङ्क्षिप्त प्रस्तुति गरिएको थियो ।

प्रतिनिधिसभा बैठक : पूर्वाधार निर्माणदेखि किसानका समस्याबारे सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले गृहजिल्ला, निर्वाचन क्षेत्रलगायत स्थानका पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानबारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकमा सांसद डोलप्रसाद अर्यालले धादिङमा अस्पताल भवन निर्माणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै शीघ्र काम अघि बढाउन आग्रह गरे । सांसद तारा लामा तामाङले कञ्चनपुरका केही स्थानमा किसानले सरकारलाई मालपोत कर तिरेको भए पनि उक्त जग्गा धितो राखी ऋण लिन नपाएका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद तेजुलाल चौधरी तराई-मधेस आन्दोलनपछि सुझाव संकलन गरी तयार गरेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। सांसद तोसिमा कार्कीले नीति तथा कार्यक्रममा ललितपुरका कला संस्कृतिका बारेमा कुनै ठोस कार्यक्रम उल्लेख नभएकोमा गुनासो गरिन्।

सांसद दामोदर पौडेल वैरागीले अन्तर्राष्ट्रिय संस्थाले गरेको सहयोग स्थानीय गैरसरकारी संस्थाले मनपरी खर्च गरेको भन्दै सरकारलाई प्रभावकारी अनुगमन गर्न आग्रह गरे । सांसद दीपक खड्काले किमथाङ्का र चतरा जोड्ने सडक यही वर्षभित्र निर्माण गर्ने गरी काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद दामोदर भण्डारीले सुदूरपश्चिममा पशुचौपायामा देखिएको सङ्क्रमणको समयमै उपचार तथा रोकथामको माग गरे । सांसद दीपक गिरीले नेपाल कृषिप्रधान मुलुक भए पनि किसान मल नपाएर पीडित भएको उल्लेख गर्दै तत्काल मल बीउ आपूर्तिका लागि माग गरे । सांसद दीपकबहादुर सिंहले मकवानपुरमा इलाका प्रशासन कार्यालय स्थापना र रोपवे सञ्चालन गर्न माग गरे ।

सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटको चन्द्रनिगाहापुरमा स्थानीयले बैंकमा जम्मा गरेको रकम गायब भएको सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । सांसद देवेन्द्र पौडेलले बागलुङमा विभिन्न क्षेत्रमा सडक निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद नागिना यादवले युवा विद्यार्थी शिक्षा र रोजगारीका लागि विदेशिने गरेको बताउँदै विकासका लागि मुलुकभित्रै जनशक्ति तयार गर्ने नीति ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । सांसद ठाकुरप्रसाद गैरेले पाल्पामा विद्युत्को समस्याका कारण खानेपानीको समस्या भएको बताउँदै नियमित आपूर्ति गरी लोडसेडिङ अन्त्यको माग गरे ।

सांसद दिलेन्द्रप्रसाद बडूले यही जेठ १ गते नेपाली सेनाका पाँच जनाले सगरमाथाको सफल गरेको आरोहण फर्कने बेलामा तीन जना घाइते भएका र त्यसमध्ये सहसेनानी दिपेन्द्र खत्रीले अवस्था गम्भीर रहेकाले र थप उपचारका लागि विदेश लैजाने व्यवस्था गर्न आग्रह गरे ।

सांसद निर्मला कोइरालाले पर्सामा रहेको वीरगञ्ज चिनी कारखाना पुनःसञ्चालनको लागि आगामी बजेटमा व्यवस्था गर्न माग गरे । सांसद निशा डाँगीले गाउँमा किसानका दूधले बजार नपाएको बताउँदै ठूला सहरमा भारतबाट दूध आयात गर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद नैनकला थापाले आगामी आवको नीति तथा कार्यक्रममा महिलाको पाठेघर क्यान्सरको पहिचानको निःशुल्क व्यवस्था गरिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक उपकरण ल्याउनुपर्ने बताइन् । सांसद पुष्पबहादुर शाहले अछाममा विगतको बाढीपहिरोबाट पीडितको तत्काल पुनःस्थापना गर्न माग गरे ।

सांसद पूर्णबहादुर घर्तीमगरले ढोरपाटन सिकार आरक्ष क्षेत्रका जनताका समस्या समाधानका लागि आग्रह गरे । सांसद प्रकाशमान सिंहले पैदलयात्री मैत्री बाटो नहुँदा दुर्घटना बढेको बताउँदै तत्काल नयाँ बानेश्वरको आलोकनगर–प्रयागमार्ग जोडने आकाशेपुल निर्माण गर्न माग गरे ।

सांसद प्रतिक्षा तिवारीले जनकपुरलगायत क्षेत्रमा खानेपानीका मुहान सुक्न लागेको बताउँदै समाधानका लागि सरकारसँग माग गरिन्। साथै उनले सरकारी कार्यालय आफ्नै भवनमा राख्ने व्यवस्था गर्न माग गरिन् । सांसद प्रदीप पौडेलले हरेक प्रविधिमा इन्टरनेटको आवश्यकता भए पनि त्यसको गुणस्तर र नियमितता नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रदीप यादवले मधेस प्रदेशको सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि केही अभियन्ता काठमाडौँसम्म पैदलयात्रामा हिँडेको बताउँदै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रभु साहले रौतहटको सिँचाइ आयोजनामा बजेट छुट्याउने तर समयमै निर्माण नगर्नेलाई कारबाही गर्न माग गरे । सांसद प्रेमबहादुर महर्जन मच्छेन्द्रनाथको मन्दिर र सो क्षेत्रलाई विश्वसम्पदा सूचीमा राख्न माग गरे ।

सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्बन्धमा ठूला नेताका सार्वजनिक अभिव्यक्तिको सत्यतामाथि सरकारको ध्यान जानुपर्ने बताउँदै सो प्रकरणमा आरोपी सबैमाथि छानबिन गर्न माग गरे ।

सांसद बद्रीप्रसाद पाण्डेले दाङमा किसान बाबुराम चौधरीको समाचार सम्बन्धमा ध्यानाकर्षण गराउँदै किसानका बिक्री हुन नसकेका उत्पादन सरकारले खरिद गर्ने तथा भण्डारण गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

सांसद बलराम अधिकारीले उखु किसानले मूल्य नपाएपछि आन्दोलन गर्दै आएको र सो बेला भएको सम्झौता कार्यान्वयन नभएपछि अहिले किसानले माइतीघरमा पुनःआन्दोलन गर्नुपरेका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद वसन्तकुमार नेम्वाङले तमुर क्षेत्रमा ११ वर्षदेखि पुलको निर्माण भइरहेको र हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको सम्बन्धमा ध्यानाकर्षण गराउँदै शीघ्र निर्माणको माग गरे ।

सांसद वासुदेव घिमिरेले सार्वजनिक जग्गा र पार्कको दिगो व्यवस्थापनका लागि आवश्यकताअनुसार भौतिक संरचना बनाउन तथा दिगो व्यवस्थापन का लागि कानुन बनाउन माग गरे ।

सांसद विनिता कठायतले कर्णालीमा धेरै कलासंस्कृति सम्पदाका धरोहर भए पनि त्यसलाई विश्वसम्पदा सूचीमा राख्नका लागि नीति तथा कार्यक्रममा कुनै योजना नआएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

राष्ट्र बैंकद्वारा चार वटा बैंक तथा वित्तीय संस्था कारबाहीमा

नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । बैंकअन्तर्गतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद जरिवाना गरिएको जनाएको छ ।

केन्द्रीय बैंकले नियम विपरीत काम गरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्सलाई कम्पनीलाई कारबाहीस्वरूप नगद जरिवाना गरेको हो ।

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई पाँचौँ पटक र सालपा विकास बैंकलाई प्रथम पटक कारबाही गरिएको छ ।

यस्तै, अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) कायम नगरेको भन्दै नारायणी डेभपलपेन्ट बैंकलाई पहिलो, दोस्रो र तेस्रो पटक कारबाही गरिएको छ । राष्ट्र बैंकका अनुसार कर्पोरेट डेभलपमेन्ट बैंकलाई एक लाख ९६ हजार २६५.३०, सालपा विकास बैंकलाई रु एक लाख १० हजार ६६२.२६, नारायणी डेभलपमेन्ट बैंकलाई रु दुई लाख ५१ हजार ३२४.७३ र सप्तकोशी डेभलपमेन्ट बैंकलाई रु १९ लाख ३६ हजार ६३५.५७ नगद जरिवाना गरेको हो ।

यस्तै, नारायणी डेभलपमेन्ट बैंकलाई पहिलो पटक रु तीन हजार ९४८.५३, दोस्रो पटक रु ६३ हजार ७८२.७८ र तेस्रो पटक रु एक एक लाख आठ हजार ७७०.२१ जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तैगरि चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा मल्टिपर्पस फाइनान्सलाई अनिवार्य नगद मौज्दात अनुपात नपुर्‍याएको भन्दै दुई हजार ७०१.०३ जरिवाना गरिएको छ ।

नेपालले तिर्न बाँकी ऋण २१ खर्ब नाघ्यो

नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २१ खर्ब रुपैयाँ नाघेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले रू १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख आन्तरिक र रू १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख बाह्य गरी कुल रू २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख बराबर ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

चालु आर्थिक वर्ष २०७९र८० शुरु हुँदा अर्थात् गत वर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण रू २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख बराबर थियो । चालु आर्थिक वर्षको पछिल्लो १० महिना अवधिमा मात्र रू एक खर्ब ४० अर्ब ८२ करोड ७५ लाख बराबर ऋण थपिएको हो ।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार रू ४८ खर्ब ५१ अर्ब ६२ करोडलाई आधार मान्दा जीडीपीमा सार्वजनिक ऋणको अनुपात ४४ दशमलव ४० प्रतिशत बराबर देखिएको छ ।

जीडीपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पूँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने देखिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिना अवधिमा मात्र सरकारले रू दुई खर्ब ३० अर्ब २४ करोड ६७ लाख ऋण उठाएको छ भने रू एक खर्ब ४३ अर्ब ४२ करोड दुई लाख बराबर साँवा ब्याज तिरेको छ ।

वैशाख मसान्तसम्ममा सरकारले गरेको पूँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गरेको खर्च करिब रू १८ अर्बले बढी हो । वैशाख मसान्तसम्ममा सरकारको पूँजीगत खर्च रू एक खर्ब २५ अर्ब ६७ करोड बराबर छ ।

यसरी एकातर्फ सरकारको राजश्व असुली न्यून हुँदा ऋण उठाएर घाटा बजेट पूर्ति भइरहेको छ भने अर्कोतर्फ बर्सेनि थपिँदै गएको ऋणको साँवा ब्याजसमेत बढ्दै जाँदा वार्षिक बजेटको ठूलो अंश यसमा खर्च हुने गरेको छ ।

चालु आर्थिक वर्षको १० महिनामा सरकारले आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीमा रू एक खर्ब १० अर्ब ४२ करोड ५८ लाख र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा रू ३२ अर्ब ९९ करोड ६२ खर्चिएको छ ।

आन्तरिकतर्फको साँवा रकम रू ६३ अर्ब ४७ करोड ४४ लाख, ब्याज रू ४६ अर्ब ८५ करोड तीन लाख र कमिसन रकम रू १० करोड ११ लाख बराबर रहेको छ । त्यस्तै, बाह्य ऋणतर्फ साँवा भुक्तानीमा रू २५ अर्ब ९४ करोड ४८ लाख र ब्याज भुक्तानीमा रू सात अर्ब पाँच करोड १४ लाख बराबर खर्च भएको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले उठाएको आन्तरिक ऋण रू एक खर्ब ५९ अर्ब ५० करोड र बाह्य ऋण रू ७० अर्ब ७४ करोड बराबर रहेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ । कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण रू ७३ हजार आठ सय ६० बराबर पर्न जान्छ ।

सीटीईभीटीले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विद्यार्थीको ट्रान्सक्रिप्ट लगायतका विवरण अब प्रदेश कार्यालयबाट वितरण गर्ने भएको छ ।परिषद्को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले साउनदेखि सातवटै प्रदेशमा रहेका प्रदेश कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धाङ्क पत्र र माइग्रेसन वितरण गर्ने जानकारी दिए ।

अहिले परिषद्ले भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धाङ्क पत्र र माइग्रेसन उपलब्ध हुँदै आएको छ । सातवटै प्रदेशबाट ट्रान्सक्रिप्ट लगायतका विवरण उपलब्ध गराउने भएपछि विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झन्झट नहुने भएको छ । उनका अनुसार सातवटै प्रदेश कार्यालयबाट ट्रान्सक्रिप्ट, लब्धाङ्क पत्र र माइग्रेसन वितरणका लागि अहिले सफ्टवेयर बनाइँदै छ ।

परिषद्ले कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीबाट वितरण गर्नेछ । ट्रान्सक्रिप्ट, लब्धाङ्क पत्र र माइग्रेसनका लागि विद्यार्थीले अनलाइन फाराम भर्ने र फाराम भरिसकेपछि विद्यार्थीको मोबाइलमा जानकारी आउनेछ ।

सोही जानकारी आधारमा विद्यार्थीले आफ्नो कागजात लिन सकिने उनले बताए । यसैगरी, परिषद्ले परीक्षा फाराम पनि अनलाइन गर्ने भएको छ । परिषद्ले प्री डिप्लोमा तथा डिप्लोमा कक्षा सञ्चालन गरिरहेको छ ।

विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ ।

जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा गरेको हो । टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा रहेका छन् ।

नेपालले गत चैतमा सम्पन्न लिग २ श्रृंखनाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो । जिम्बाबेमा हुने छनोट प्रतियोगिता नेपालसहित ८ टिमको सहभागिता रहनेछ ।

यस वर्षको वसन्त ऋतुमा पाँच सयले गरे सगरमाथाको आरोहण

यस वर्षको वसन्त ऋतुमा करिब पाँच सयले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच सयले सगरमाथा आरोहण गरेका हुन् ।

विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले आजसम्म करिब पाँच सयले सगरमाथा आरोहण गरेको बताए । “वसन्त ऋतुको सगरमाथा आरोहणमा चार सय ७८ ले आरोहण अनुमति ‘एक्सपीडिसन पर्मिट’ लिएकामा आजसम्म करिब पाँच सयको हाराहारीले सगरमाथाको सफल आरोहण गरेका छन् । यसमा आरोही तथा शेर्पा गाइड पनि छन्”, महानिर्देशक लुइँटेलले भने ।

मौसमले साथ दिएकाले अहिले सगरमाथालगायत हिमालमा उत्साहबर्द्धक रूपमा आरोहण भइरहेको विभागले जनाएको छ । यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट सुरु भएको थियो ।

सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाको विवरणमा ४७ आरोही समूहका एक सय तीन महिला र तीन सय ७६ पुरुष गरी कूल चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् ।

२१ जना प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान

नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २१ जनालाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

यही ५ जेठमा नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को निर्णयले प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २२ जनामध्ये २१ जनालाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

सो क्रममा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूको पदोन्नतिसँगै जिम्मेवारी समेत बढ्ने भएकोले आफ्नो कार्यक्षमतालाई अझ सशक्त र फराकिलो बनाई संगठनले चाहेको र नागरिकले खोजेको स्तरको सेवा प्रदान गर्न कटिवद्ध हुनुपर्ने बताए ।

नेपाल प्रहरी संगठनमा प्रचलनमा रहेका कार्यशैली, अभ्यासहरू, पद्धति, प्रणाली र प्रक्रियालाई विश्वसनीय बनाउन समयानुकूल सुधार र परिवर्तनको आवश्यकता रहेकोले परिवर्तनको संवाहकको रुपमा काम गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिए ।

दर्ज्यानी चिह्न पाएका प्रहरी उपरीक्षकहरू गौतम कुमार केसी, अपिल राज बोहरा, नवराज कार्की, गोबिन्द पुरी, रबिन्द्र बहादुर सिंह, चित्र बहादुर गुरूङ, राम प्रसाद घर्तिमगर, बासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायण प्रसाद चिमरीया, कुमोध ढुंगेल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहर नाथ योगी, श्याम कुमार राई, गोबिन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेल रहेका छन् । प्रहरी उपरीक्षक बसुन्धरा खड्का हाल तालिमको सिलसिलमा विदेशमा रहेकाले सोमबार दर्ज्यानी चिह्न प्रदान नगरिएको हो ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ९ : ०० बजे

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको

काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको

लेबनानमा विनाश दोहोरिनसक्ने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी – संयुक्त राष्ट्र मानवीय अधिकारीहरूले मङ्गलबार गाजामा भएजस्तै विनाशबाट