भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र भर्नेको सङ्ख्यामा वृद्धि  | Khabarhub Khabarhub

भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र भर्नेको सङ्ख्यामा वृद्धि 


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

बेलहिया– भैरहवा भन्सार कार्यलयले गत जेठ १६ गतेदेखि रू एक सय भन्दा बढी मूल्यको समान ल्याँउदा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको छ । 

प्रज्ञापनपत्रमा कडाइ नहुँदा घरायसी प्रयोजनका लागि भन्दै भारतबाट समान ल्याउनेको सङ्ख्या उल्लेख्य रहेकामा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको हो ।

भन्सार कार्यालयका प्रमुख मणिराम पौडेलले भने, ‘हामीले प्रज्ञापनपत्र नभरी कुनै पनि घरायसी होस् वा अन्य कुनै प्रयोजनको समान नेपाल ल्याउन दिएका छैनौँ । यसैले सर्वसाधारणले स्वतःस्फूर्त रुपमा प्रज्ञापनपत्र भरिरहनुभएको छ ।’

भन्सारको अभिलेख अनुसार जेठ १६ देखि जेठ मसान्तसम्मको अवधिमा ३० हजार तीन सय ६६ जनाले प्रज्ञापनपत्र भरेर समान लिएका छन् । गत वर्षको जेठ महिनाभर तीन सय छ जनाले मात्रै प्रज्ञापनपत्र भरेर समान लिएको तथ्यांक छ । 

भन्सारको अभिलेखका अनुसार विसं २०७९ फागुनमा एक हजार दुई सय १५ जनाले, चैतमा एक हजार तीन सय ४४ जनाले प्रज्ञापनपत्र भरेका छन् । विसं २०८० वैशाखमा एक हजार एक सय ८३ र जेठमा तीन सय ५७ जनाले मात्रै प्रज्ञापनपत्र भरेका थिए । भन्सार व्यवस्थालाई कडाइ गरेपछि जेठ १६ देखि ३२ सम्मको १६ दिनको अवधिमा ३० हजार तीन सय ६६ जनाले प्रज्ञापन भरेका कार्यालयका प्रमुख पौडेलले जानकारी दिए ।

भन्सार कार्यालयले प्रज्ञापनपत्र नभरी कुनैपनि समान नेपाल ल्याउन नदिने गरी कडाइ गरेपछि उद्योगी व्यवसायीका नेताले समर्थन जनाएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्सारमा कडाइ गरेपछि प्रारम्भिक रुपमा सीमावारिकाे व्यापारमा सकारात्मक प्रभाव परेको बताए ।

    ‘भन्सारमा कडाइ गरेसँगै यसको सकारात्मक प्रभाव परेको छ भने साना व्यवसायीलाई धेरै राहत भएको छ । दीर्घकालीन असर केही समयमा देखिन्छ’, उनले भने। उनले चोरी तस्करीको सामान किन्ने व्यवसायीलाई प्रहरीले सहजै पक्राउ गर्न सक्ने बताए। ‘कसैले पनि तस्करीको समान न किनौँ, कुनै व्यवसायीले बिलबिजक बिनाको समान किनेमा प्रहरी प्रशासनले कारबाही गर्छ’, शर्माले भने । 

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य राजेश अग्रवालले भन्सारमा गरिएको कडाइ सकारात्मक रहेको भन्दै चोरी तस्करी नियन्त्रणमा सबैको सहयोग जरुरी रहेको बताए । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कूलप्रसाद न्यौपानेले तस्करीको समान भैरहवा बुटवल मात्रै नभएर पाल्पा, गुल्मी, चितवन, काठमाडौँसम्म पुग्ने गरेकामा अब त्यो काम रोकिने बताए। 

उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य महेन्द्रकुमार श्रेष्ठले भैरहवा भन्सारले गरेको कडाइले चोरी तस्करी मात्रै नभएर लागूऔषध र अन्य सामाजिक विकृतिमा पनि न्यूनीकरण गरिरहेको बताए। वरिष्ठ पत्रकार माधव ढुंगानाले नेपालको भन्सार ऐन अनुसार संक्षिप्‍त प्रज्ञापनपत्र कार्यन्वयनमा गरिएको कडाइप्रति भारतीय पक्षले टाउको दुखाउनुको अर्थ नहुने बताए । 

लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष नरेश केसीले भन्सारमा कडाइ गर्ने कार्य राम्रो भएको बताउँदै मूल भन्सार भन्दा दायाँबायाँको नाकाबाट भइरहेको चोरी तस्करी नियन्त्रणमा सबैको सहकार्य जरुरी रहेको बताए  । ‘सीमापारीबाट अवैध रुपमा साइकल, मोटरसाइकल, चिनी, दाल, किराना सामान, कपडालगायत अन्य सामग्री खरिद गर्ने काम व्यवसायीले बन्द गर्नुपर्छ’, उनले भने।

लुम्बिनी प्रेस क्लबको अध्यक्ष सम्झना शर्माले सिद्धार्थ उद्योग वाणिज्य सङ्घले सस्तो बजार लगाएर आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्योगी व्यवसायीले बिजबिजक बिनाको समान खरिद नगर्न आग्रह गरे । ‘कसैले पनि बिजबिजक बिनाको समान किन्नु अवैध हो’, उनले भने, ‘अवैध कार्यमा संलग्न जुनसुकै व्यापारीलाई प्रहरी प्रशासनले कारबाही गरेमा हामीले उनीहरूको बचाउमा एक शब्द पनि खर्चिन्नौँ ।’ 

अध्यक्ष श्रेष्ठले भन्सार प्रशासनले संक्षिप्त प्रज्ञापनपत्रको कडाइ गरेकोप्रति स्वागत गर्दै यस कार्यले नेपाली व्यवसायीलाई राहत मिलेको बताए । “यताका किराना पसल, कपडा पसल, हार्डवेयर पसललाई केही राहत मिलेको छ, भन्सार राजस्व बढेको छ । राज्य र नागरिकलाई फाइदा भएको छ । हामी भन्सार र प्रहरी प्रशासनको उक्त कार्यको प्रशंसा गर्दछौँ”, उनले भने ।

अध्यक्ष श्रेष्ठले सीमावर्ती भारतीय व्यापारीले केही दिन अगाडि पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य सङ्घले रोकेको भन्ने गलत प्रचार गरेकोप्रति ध्यानाकर्षण भएको बताए। उनले भने, ‘हामीले बोडरमा गएर रोकेका छैनौँ, यति अनुरोध छ कि सीमापारीबाट अवैध समान आउनु हुँदैन । सामान ल्याउँदा भन्सार तिरेर मात्रै ल्याउनु पर्छ ।’

भैरहवामा जेठ १६ गतेदेखि सीमावर्ती भारतीय बजारबाट एक सय मूल्यभन्दा बढीको समान ल्याउँदा अनिवार्य संक्षिप्‍त प्रज्ञापनपत्र भरेर ल्याउने व्यवस्थामा कडाइ गरेपछि यसको असर सीमापारीको सुनौली नौतनवा बजारमा परेको छ । भारतीय व्यापारीहरूले नेपालमा भन्सार नगरी समान लैजान दिनुपर्ने भन्दै दुई दिन पहिले महापञ्चायत गरेका थिए । 

भन्सार नतिरी तस्करहरूले सीमापारीबाट अवैध रुपमा सामान ल्याइए बिक्री गरेको पाइएमा अवैध समान खरिद, बिक्री गर्ने व्यापारीलाई कारबाही गर्ने उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ३ : ३१ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले