आज साउन ६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २२, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
ड्रोनमार्फत पाकिस्तानबाट भारततर्फ लागूऔषधको तस्करी बढ्दै, झण्डै अढाई किलो हेरोइन बरामद
पछिल्लो समय पाकिस्तानबाट चालकरहित हवाई उपकरण ड्रोनमार्फत भारततर्फ लागूऔषधको तस्करी बढ्न थालेको पाइएको छ । हालै भारतीय सुरक्षा बलले भारतको पञ्जाब राज्यमा पाकिस्तानी सीमानजिकै ड्रोनबाट खसालिएको हेरोइन बरामद गरेको छ ।
पाकिस्तानी ड्रोनले झण्डै अढाई किलो लागूऔषध हेरोइन भारतीय भूमिमा खसालेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पञ्जाब राज्यको त्रण तरण जिल्लामा भारतीय सुरक्षाकर्मीले पाकिस्तानी ड्रोनबाट खसालिएको हेरोइन बरामद गरेका हुन् । सीमा सुरक्षार्थ खटिएका भारतीय सुरक्षाकर्मीले हेरोइन खसालिरहेको ड्रोनको आवाज सुनेको र तत्काल खोजी अभियान सञ्चालन गरी उक्त परिमाणको लागूऔषध बरामद गरेको जनाइएको छ ।
खोजी अभियानका क्रममा कलासियन खुर्द गाउँको खेतमा २ किलो ३५० ग्राम हेरोइन बरामद गरेका थिए । पाकिस्तानबाट पछिल्लो समय ड्रोनको प्रयोग गरी भारततर्फ लागूऔषधको तस्करी बढ्दै गएको बताइन्छ । भारतीय सुरक्षाकर्मीले बेला बेला पाकिस्तानी भूमिबाट ड्रोनमार्फत भारततर्फ तस्करी गरिएका लागूऔषध बरामद गर्दै आएका छन् ।
भारतको सहयोगमा बंगलादेशले पूर्वाधारका तीन वटा परियोजना निर्माण गर्ने
बंगलादेशले भारतको सहयोगमा पूर्वाधारका तीन वटा परियोजना निर्माण गर्ने भएको छ । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको भारत यात्राका क्रममा यसबारे टुङ्गो लाग्ने बंगलादेशको समाचार संस्था बंगलादेश संवाद संस्था बीएसएसले जनाएको छ ।
प्रधानमन्त्री हसिनाले यही सेप्टेम्बरमा जी २० को शिखर सम्मेलनमा सहभागी हुन भारतको भ्रमण गर्ने कार्यक्रम छ । उनको भारत भ्रमणका क्रममा दोस्रो मैत्री सुपर थर्मल उर्जा केन्द्र, ६५ किलोमिटर लामो खुल्ना मोङ्ला बन्दरगाह रेल लिंक र अखाउरा र अगरतादा रेल लिंकको परियोजना सुरु गरिने जनाइएको छ ।
बंगलादेशका लागि भारतीय उच्चायुक्तको कार्यालयका प्रमुख प्रणय वर्माले प्रधानमन्त्री हसिनासँग भेटवार्ता गरी परियोजनामा सहकार्यबारे जानकारी गराएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
‘आफ्नो जलक्षेत्रबाट इन्धन उत्तर कोरिया लैजान नदेऊ’
युरोपेली सङ्घ र अन्य तीन देशसहित सात राष्ट्रको समूहले चीनलाई आफ्नो जलक्षेत्रबाट इन्धन उत्तर कोरिया लैजाने अनुमति खारेज गर्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरूको अवहेलना गर्दै उत्तर कोरियामा इन्धन लैजाँदै गरेको देखिएकाले तेल बोकेका ट्याङ्करलाई आफ्नो जलक्षेत्रबाट हटाउन ती देशले चीनलाई आग्रह गरेका हुन् । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिकाका राजदूतहरूले संयुक्त राष्ट्र संघका लागि चीनका राजदूत झाङ जुनलाई सम्बोधन गर्दै लेखेको पत्रमा चीनको जलक्षेत्रबाट इन्धन आपूर्ति भइरहेकाले त्यसलाई रोक्न आफ्नो सरकारसँग अनुरोध गर्न आग्रह गरिएको छ ।
युरोपेली सङ्घ, दक्षिण कोरिया, अष्ट्रेलिया र न्यजिल्याण्डका राजदूतहरूले पनि पत्रमा हस्ताक्षर गरेका छन् । चिनियाँ राजदूतलाई पत्र पठाइएको भएपनि त्यसको पुष्टि नभएको स्रोतले जनाएको छ । पत्रमा चीनको जलक्षेत्रमा ट्याङ्करहरूको उपस्थिति र आवागमनलाई उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धको पालनाको अनुगमन गर्ने राष्ट्रसङ्घको विज्ञ समूहले अवलोकन गरेको उल्लेख गरिएको छ ।
सन् २००६ देखि संयुक्त राष्ट्रसङ्घले क्षेप्यास्त्र प्रक्षेपण र आणविक कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । २०१७ मा प्योङयाङ उपर कच्चा तेल आयातलगायत थप प्रतिबन्ध लागेको छ ।
यसैबीच, अमेरिकाले चीन र रसियाको समर्थनमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्ने उत्तेजनात्मक गतिविधिलाई निरन्तरता दिएको आरोप लगाएका छन् । चीन र रुसले प्योङयाङमा नयाँ प्रतिबन्ध लगाउने प्रस्तावमाथि भिटो गरेर सुरक्षा परिषद्को एकता पनि खलबल्याएका छन् ।
कुकर, बिरालोको मासु बिक्रीमा प्रतिबन्ध
इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर– बिरालोको मासु बेच्न नपाइने भएको छ । मासुका निम्ति पाशविकरुपमा ती पशु मारिएका भन्दै पशुअधिकारवादीले त्यसको अन्त्यका लागि वर्षौँदेखि कुकुर–बिरालो बचाऊ अभियान थालेका थिए ।
चमेरा, मुसा, सर्प र बाँदरको मासुसँगै कुकुर र बिरालोको मासु पनि बिक्रीमा राखिने गरेको थियो तर हिजो शुक्रबारदेखि कुकर, बिरालोको मासु बेच्न नपाइने प्रतिबन्धात्मक आदेश जारी भएपछि त्यो रोकिएको छ ।
विगतमा निर्दयी बनेका पशुबजारका व्यापारी यसपटक भने कुकुर र बिरालाको मासु नबेच्न सहमत भएका पशुअधिकारकर्मी संस्था ह्युमेन सोसाइटी इन्टरनेश्नलले शुक्रबार जारी गरेको वक्तव्यमा जनाइएको छ ।
कुकुर–बिरालाको मासु बेच्न नपाइने सरकारी आदेशपछि मानव उपभोगका खातिर हजारौँ पशुले चरम यातना खपेर अब मर्नुनपर्ने भएको उल्लेख गर्दै सोसाइटीले सरकारी निर्णयलाई ऐतिहासिक कदम भनेको छ । साथै उसले उक्त निर्णयको स्वागत गरेको छ ।
स्थानीय संस्कृतिका कारण कुकुर–बिरालाको मासु बेच्ने विश्वका अति थोरै मुलुकको सूचीमा इण्डोनेशिया रहेको छ । शुक्रबार पशुबजारका छ जना व्यापारी र तोमोहन नगरका प्रमुखबीच कुकुर–बिरालाको मासु नबेच्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । व्यापारीले अब उप्रान्त कुकुर–बिरालाको मासु नबेच्न प्रतिबद्धतासमेत जनाएका सोसाइटीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
कुकुर–बिरालाको मासु बिक्रीमा रोक लगाउनुपर्ने अभियानको अगुवाइ गरेका सोसाइटीका निर्देशक लोला वेब्बर व्यापारी र नगरप्रमुखबीच भएको सम्झौताले हजारौँ छाउराको ज्यान जोगिने तथा कुकुर–बिरालाको चोरी तस्करी पनि नियन्त्रण हुने बताए । उक्त टापुमा बर्सेनि एक लाख ३० हजार कुकर मासुका लागि मारिने गरेका थिए ।
पशुलाई नमरुञ्जेल कुट्ने, झन्ड्याउने, जिउँदै आगोलगाउनेजस्ता क्रुर एवम् अमानवीय व्यवहारका कारण सुलावेसीको पशुबजार अति आलोचित छ । सन् २०२० मा चिनियाँ शहर वुहानबाट कोरोना भाइरस यस्तै मासुबजारबाट मानवमा सरेको भन्ने जानकारी बारम्बार गराएपछि मासु व्यापारी सहमत भएका बताइएको छ । यसबाट रेबिजको सङ्क्रमण रोक्न पनि मद्दत पुग्ने वास्तविकताबारे उनीहरूलाई अवगत गराइएको थियो ।
तोमोहनमा २५ वर्षदेखि कुकुर–बिरालाको मासु बेच्दै आएका एल्भिनस पोनोग उचित समयमा व्यापार बन्दको निर्णय भएको बताउँछन् । हजारौँ कुकुर मारेका उनी तिनलाई मार्न जाँदा तिनका आखाँमा आफूले त्रास देखेको र त्यसबाट आफूलाई पनि नमज्जा लाग्ने गरेको बताएका छन् । बिक्रीमाथिको प्रतिबन्ध पशु र जनसाधारणको रक्षाका निम्ति अति उत्तम भएको बताएका छन् ।
इराकमा ३०० वर्ष पुरानो मस्जिदको मिनार भत्काइयो
इराकमा सडक फराकिलो बनाउन तीन सय वर्ष पुरानो मस्जिदको मिनार भत्काइएको छ । सो मस्जिदको मिनार भत्काए पछि स्थानीयले विरोध गरेका छन् ।
सरकारको सो निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै स्थानीयले इराकको सांस्कृतिक सम्पदामा ठेस पुगेको बताएका छन् । यो घटना इराकको दक्षिणी सहर बसराको हो । सन् १७२७ मा बनेको ११ मिटर ९३६ फिट० अग्लो मीनारलाई शुक्रबार बिहान बुल्डोजरले भत्काइएको थियो र धुलोको बादलमा यसको सुन्दरता एकाएक हराएको थियो।
सो मिनारका कारण सहरको ट्राफिक समस्या समाधान हुन सकेको थिएन र यो समस्या अन्त्य गर्न बसराका गभर्नरले यसलाई हटाउन आदेश जारी गरेको भनिएको छ ।
तर, सुन्नी मुस्लिम इन्डोमेन्ट र पुरातात्विक अधिकारीहरूसहित धार्मिक र सांस्कृतिक अधिकारीहरूले यो योजनालाई नष्ट गर्नुको सट्टा संरक्षण र स्थानान्तरण गर्नुपर्थ्यो भन्ने तर्क गर्दागर्दै पनि यो मिनार भत्काइएको जनाइएको छ ।
इराकको संस्कृति मन्त्रालयले अब अवशेष निकालेर संरक्षण गर्ने र त्यसैगरी मिनारको नमुना पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।
चीनले किन खन्दैछ १० हजार मिटर गहिरो खाडल ?
यस वर्षको मे महिनामा पृथ्वीको आन्तरिक संरचना अध्ययन गर्ने नाममा करिब दश हजार मिटर गहिरो ड्रिल गरिसकेको चीनले फेरि दोस्रो अल्ट्रा डिप ड्रिलिंग परियोजना सुरु गरेको छ।
यसपटक चिनियाँ परियोजनाको उद्देश्य भने फरक रहेको छ । चीनले पृथ्वीको गहिराइमा रहेको प्राकृतिक ग्याँसको भण्डार पत्ता लगाउने प्रयास गरिरहेको छ । चीनको समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट अनुसार यो परियोजनाको नेतृत्व चाइना नेशनल पेट्रोलियम कर्पोरेसन (सीएनपीसी) ले गरिरहेको छ। जसले सिचुआन प्रान्तको शेन्डी चुआन्के १ इनारको १०, ५२० मिटरको अनुमानित गहिराइको ड्रिलिंग सुरु गरेको हो ।
रुसले यसअघि उत्तरपश्चिमी कोला सुपरदीप बोरेहोलले १२,२६२ मिटरको आश्चर्यजनक गहिराइमा पुग्ने विश्वको सबैभन्दा गहिरो मानव निर्मित प्वालको गौरव प्राप्त गरेको थियो ।
चीनको सिनजियाङमा अघिल्लो इनारको प्रायोगिक फोकस मुख्यतया ड्रिलिंग टेक्नोलोजी परीक्षण गर्न र पृथ्वीको आन्तरिक संरचनामा डाटा सङ्कलन गर्न थियो। सिचुआनमा हालको परियोजना विशेष गरी अति गहिरो प्राकृतिक ग्याँस भण्डारहरू अन्वेषण गर्ने उद्देश्यले हो।
चीनको दक्षिणपूर्वी प्रान्त सिचुआन आफ्नो मसालेदार खाना, मनोरम पहाडी दृश्य र पाण्डाका लागि प्रसिद्ध छ। यससँगै चीनको सबैभन्दा ठूलो सेल ग्यास भण्डार पनि यहाँ अवस्थित छ। तर, अप्ठ्यारो भूभाग र जटिल भौगोलिक अवस्थाका कारण यी ग्यास स्रोतहरू निकासीमा धेरै चुनौतीहरू छन्।
हालैका दिनहरूमा चिनियाँ सरकारले ऊर्जा अभाव, भूराजनीतिक तनाव र विश्व पेट्रोलियम पदार्थको मूल्यमा उतारचढावको प्रतिक्रिया स्वरूप आन्तरिक उत्पादन बढाएर इन्धन सुरक्षा बढाउन ऊर्जा कम्पनीहरूलाई अपिल गरेको छ।
साउदी अरबमा ६४ कैदीलाई मृत्युदण्डको सजाय
साउदी अरबमा हाल कम्तीमा ६४ जनालाई मृत्युदण्ड दिइएको एक अधिकारवादी समूहले शुक्रबार जनाएको छ । युरोपेली ‘साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स ९ईएसओएचआर०’ ले प्रकाशित गरेको प्रतिवेदन साउदी अरबले मृत्युदण्डको निरन्तर प्रयोग गरिरहेको भन्दै पछिल्लो आलोचना गरेको छ ।
आलोचकहरूले ‘भिजन २०३०’ सामाजिक र आर्थिक सुधार एजेन्डामार्फत आफ्नो छवि नरम पार्ने साउदी अरबको प्रयासलाई कमजोर पार्ने बताएका छन् । ईएसओएचआरका अनुसार यस वर्षको पहिलो छ महिनामा ६१ जनालाई मृत्युदण्डको सजायँ भइसकेको छ । एएफपीले सरकारी सञ्चारमाध्यममा आधारित भएर तयार पारेको अर्को तथ्याङ्कअनुसार जुनसम्म ६३ जना र यो महिनासम्म ७४ जनालाई मृत्युदण्ड दिइएको छ ।
ईएसओएचआरले भनेको छ, “यो डरलाग्दो दर र साउदी अरबले प्रतिज्ञा, अन्तर्राष्ट्रिय दायित्व र कानूनको निरन्तर उपेक्षा गर्दा साउदी अरबमा मृत्युदण्डको सजाय भोगिरहेका कैदीहरूको जीवनमाथि खतरा बढ्दै गएको पुष्टि हुन्छ ।” यस वर्ष मारिएकाहरूको वास्तविक सङ्ख्या ‘गोप्य’ वा ‘अघोषित’ मृत्युदण्डका कारण बढी हुन सक्ने बताइएको छ ।
“साउदी अरेबियाले पनि मृत्युदण्ड दिइएका व्यक्तिहरूको शव फिर्ता गर्न परिवारले अनुरोध गरे पनि उनीहरूका शवहरू रोक्ने आफ्नो नीतिमा अडिग रहेको छ,’ समूहले भनेको छ ।
ईएसओएचआर र एएफपी दुवैको तथ्याङ्कले गत वर्ष घोषणा गरिएका कुल १४७ मृत्युदण्डको सङ्ख्यासँग मेल नखाने गरी अहिले साउदी अरब अगाडि बढ्न नसकेको सङ्केत गरेको छ, जुन सन् २०२१ को ६९ को आँकडाभन्दा दोब्बर भन्दा बढी हो । सन् २०२२ मा ‘आतङ्कवाद’ सँग सम्बन्धित अपराधका लागि एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको थियो ।
सन् २०१५ मा राजा सलमानले सत्ता सम्हालेयता एक हजारभन्दा बढीलाई मृत्युदण्ड दिइएको इएसओएचआर र बेलायतस्थित अधिकारवादी समूह रिप्रिभले यसै वर्षको सुरुमा प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि,साउदी अरबले मृत्युदण्ड घटाउने राजा सलमानका छोरा तथा वास्तविक शासक राजकुमार मोहम्मद बिन सलमानले धेरै पटक प्रतिवद्धता जनाएका छन् ।
सन् २०२२ को मार्चमा सरकारी सञ्चारमाध्यममा प्रकाशित ‘द एटलान्टिक’ पत्रिकालाई दिएको अन्तर्वार्ताको ट्रान्सक्रिप्टमा राजकुमार मोहम्मदले हत्या वा कसैले ‘धेरै मानिसको जीवनलाई खतरामा पारेको’ अवस्थामा बाहेक मृत्युदण्डको सजायबाट राज्य मुक्त भएको बताएका थिए ।
प्रतिक्रिया