बैतडी– जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । २५ जनाको क्षमता रहेको कारागारमा अहिले ७५ जना कैदीबन्दी रहेका छन् ।
२०४० सालमा निर्माण गरिएको कारागारको जीर्ण भवनमा कैदीबन्दी राख्न निकै समस्या रहेको कारगारकी जेलर धारा भण्डारीले बताइन् ।
जस्तापाताले छाएको कारागार भवनमा बर्षातको समयमा पानी चुहिने र हिउँदको समयमा शीत चुहिने गर्दछ । खाटमाथि खाट राखेर कैदीबन्दीको बसोबासको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको भण्डारीले बताइन् । जिल्ला कारागार भवन मर्मतका लागि गत आर्थिक वर्षमा ३ लाख बजेट आएकोमा एक भवन मर्मत गरिएको र अर्को भवन मर्मत गर्न बाँकी रहेको छ ।
कारागार भवनमा कैदीबन्दीहरूलाई बसोबासको समस्या रहेको बताइएको छ । कारागार भवनमा ठाउँको अभाव एकातिर छ भने जीर्ण भवन अर्कोतिर रहेको छ । भवनको छानामा प्लास्टिक हालेर व्यवस्थापन गर्नुपरिरहेको भण्डारीले बताइन् ।
कारागार परिसरमा कैदीबन्दीका लागि राखिएको टेन्ट समेत च्यातिएको छ । पुरानो टेन्ट च्यातिएपछि कैदीबन्दीहरुका लागि झन् समस्या भएको छ ।
प्रतिक्रिया