चितवनमा निउरो बेच्नेको गुनासो- ज्यानको बाजी थापेर निउरो टिप्यो, किन्नेले मूल्य घटाउँछन् | Khabarhub Khabarhub

चितवनमा निउरो बेच्नेको गुनासो- ज्यानको बाजी थापेर निउरो टिप्यो, किन्नेले मूल्य घटाउँछन्


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

भरतपुर- चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी बिक्री गर्दै आएकी उनले तीन वर्षदेखि यही पेसा गर्दै आएकी छिन् ।

विकसँगै अन्य आठ–दसजना राजमार्गको छेउमा लस्करै बसेर दैनिक निउरो, सालको पात, बेतलौरीका टुसा बिक्रीका लागि ग्राहक कुरिरहेका देख्न सकिन्छ । विसं २०६१ मा गोरखाबाट चितवन झरेकी विकले सुरुवाती समयमा घर तथा अन्य निर्माण कार्यमा ज्यामीको काम गर्दै आएकी थिइन् ।

त्यस काममा समयमा पैसा नपाउने र स्वास्थ्यमा पनि समस्या आएपछि उनले निउरो बिक्री गर्न थालिन् । “दैनिकी चलाउनकै लागि भए पनि निउरो बेच्नु परेको छ”, उनले भनिन् । दैनिक १५ देखि ३० मुट्ठासम्म निउरो बिक्री हुने बताउँदै विकले यही कमाईले घर र छोरालाई पढाउने खर्च पुगेको बताइन् । “घामपानी नभनी जङ्गलमा गएर निउरो टिपेर ल्याउनु पर्छ, दुःख छ”, उनले भनिन्, “दुःखै गरेर भए पनि आफ्नो दैनिकी सहज रुपमा चलेको छ ।”

५० वर्ष पुगेकी विकले जङ्गलमा निउरो टिप्न जाँदा कहिलेकाहीँ जङ्गली जनावरसँगको जम्काभेटमा अब घर फर्किइन्न कि जस्तो अनुभूति हुने गरेको बताइन् । “अगाडि नै गैँडा भेटिँदा त मुटुले ठाम छोड्छ, आजसम्म त बाँचिरहेकै छु”, उनले भनिन् । मासिक ३ सय रुपैयाँको टिकट काटेर सामुदायिक वनमा निउरो टिप्न जानुपर्ने विकले सुनाइन् । उनले भनिन्, “ज्यानको बाजी थापेर निउरो टिपेर बेच्न बस्यो तर किन्नेहरुले मूल्य घटाउँछन् ।” एक सयको निउरो किन्दा १० रुपैयाँसम्म भए पनि घटाएर लैजाने गरेको उनको गुनासो छ ।

रत्ननगरकी लक्ष्मी पुलामी मगर अहिले ६० वर्ष पुगिसकिन् । उनको दैनिकी पनि अहिले जङ्गली तरकारी बिक्रीमै जाने गरेको छ । पहिला–पहिला हाटबजारमा तरकारी तथा फलफूल बेच्दै आएकी मगर कोरोनासँगै हाटबजारमा तरकारी बिक्री गर्न नपाएपछि सडक छेउमा बसेर व्यापार गर्छिन् । “अहिले उमेर ढल्किँदैदै गयो । अरु काम गर्न सकिदैन । दिनभर सडक छेउमा निउरो, सालको पात र टुसा बेच्छु”, उनले भनिन्, “सके आफैँ जङ्गलमा टिप्न जान्छु, अरूले टिपेर ल्याएको पनि बिक्री गर्ने गरेको छु ।”

आफैँले टिपेर ल्याउन सके फाइदा हुने भन्दै अरूसँग किनेर बेच्दा खासै बचत नहुने उनको भनाइ थियो । उनले गुनासो पोखिन्, “चिल्ला गाडीमा गुडेर आउने ग्राहकले महँगा होटेलमा खाँदा पैसा थपेर दिन्छन भन्ने सुन्छु । हामी ताजा तरकारी बेच्नेसँग १० रुपैयाँमा चित्त नबुझे फालेर हिँड्छन् ।”

सरदरमा दैनिक रू एक हजारदेखि एक हजार दुई सयसम्म कमाउँदै आएकी मगरले साँझ साढे ७ बजेसम्म सडक पेटीमा नै बसेर निउरो बेच्ने गरेको सुनाइन् । भरतपुर महानगरपालिका–८ का ताराबहादुर तामाङ पनि टिकौली सडक छेउमा निउरो बिक्री गर्दै आएका छन् । विगत छ महिनाअघि देखि यो पेसामा लागेका तामाङ आफैँ निउरो, टुसा र सालको पात टिपेर बिक्रीका लागि ल्याउँछन् । घरपरिवार चलाउनकै लागि यो व्यवसायमा लाग्नु परेको उनले बताए ।

उनले भने, “काम भनेको सानो ठूलो केही हुँदैन । पेट पाल्न काम त गर्नै पर्‍यो ।” पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गल चितवन राष्ट्रिय निकुञ्ज बरण्डाभार क्षेत्रमा पर्दछ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने सडकमा बसेर निउरो बिक्री गर्न नपाइने बताए । उनले जङ्गल कटेपछिको सडकमा बिक्री वितरण गर्दा निकुञ्जले कुनै अवरोध नगरेको बताए । अहिले निकुञ्जमा नभई सामुदायिक वनमा मात्रै निउरो टिप्नका लागि अनुमति दिइने गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ६ : ४६ बजे

नेकपा एसका उपाध्यक्ष हमालसहितको टोली बुधबार चीन जाने

काठमाडौं- सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को ८३औं सचिवालय बैठक सोमबार

जबरजस्त संसद् चलाउने कदमको विरोध गर्ने राप्रपाको निर्णय 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सकिएको छ ।

केपी ओलीलाई विश्वप्रकाशको जवाफ : तपाईंले रौद्ररुप देखाउँदा कांग्रेसले मौनधारण गर्दैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टी-स्टेट बिक्री प्रकरणमा

सहकारी प्रकरणमा सहमति खोज्न फेरि बालुवाटार पुगे कांग्रेस नेता

काठमाडौं- सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको कार्यादेशमा सहमति

कतारको आशंका- रफाह हमलाले गाजा युद्धविराम वार्तालाई बाधा पुर्‍याउन सक्छ

काठमाडौं– इजरायलले गाजाको दक्षिणी शहर रफाहनजिकै गरेको पछिल्लो आक्रमणले युद्धविराम वार्तामा