दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा सरकार र शिक्षक महासङ्घबीच सहमति, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ, प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट, धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न २४ धार्मिक सङ्घसंस्थाको अपिललगायतका समाचारले प्रमुख स्थान पाए ।

सरकार र शिक्षक महासङ्घबीच सहमति

नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्तामा सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै ६ बुँदामा सहमति भएको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको वार्तामा सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका व्यवस्थाहरुमा संविधानसँग नबाझिने गरी महासङ्घका मागलाई अधिकतम् सम्बोधन गराउन सरकारले सहजीकण गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सञ्चारकर्मीलाई जानकारी दिइन् ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन् । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन लागिपरेको विश्व समुदायलाई जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालले आफ्नो छुट्टै शैलीबाट शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लागिरहेको छ । प्रधानमन्त्री र बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतमा प्रक्रियामा जोडिएका सबै पक्ष र सरोकारवालाहरूबीच सहमति जुटाउन गम्भीर प्रयास गरिरहेको छु ।’

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकाकी फस्ट लेडी जिल बाइडेनसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री दाहालले अमेरिकी राष्ट्रपति बाइडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि हार्दिक आभार तथा धन्यवाद पनि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड आजदेखि चीन भ्रमणमा

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबारबाट साताव्यापी चीन भ्रमणमा जाने भएका छन् । 

अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ, समकक्षी ली छ्याङलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ । 

भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने

नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप आठ सय मेगावाट बराबरको बिजुली निर्यात गर्न सकिने भएको छ । सो विषयमा दुई देशका उच्च अधिकारीबीच प्रारम्भीक समझदारी भएको छ ।

नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणबीच भएको द्विपक्षीय छलफलका क्रममा हाल सञ्चालनमा रहेका प्रसारण पूर्वाधार र निर्माण सम्पन्न हुने चरणमा रहेका पूर्वाधार प्रयोग गरेर बिहार, उत्तर प्रदेशलगायत भारतीय राज्यमा बिजुली निर्यातबारे कुराकानी भएको हो ।

धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न २४ धार्मिक सङ्घसंस्थाको अपिल

विभिन्न धार्मिक सङ्घसंस्थाले धार्मिक तथा सामाजिक सद्भाव र शान्ति अभिवृद्धि गर्नका लागि संयुक्त अपिल गरेका छन् ।

शुक्रबार सिंहदरबारमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बोलाएको धार्मिक सद्भाव कायम गर्नेसम्बन्धी छलफल कार्यक्रमपछि विभिन्न धार्मिक सङ्घसंस्थाले धार्मिक सद्भाव कायम गर्ने सम्बन्धी संयुक्त अपिल गरेका हुन् ।

अर्को वर्ष नेपालको आर्थिक सूचक सुध्रने एडीबीको अनुमान

एसियाली विकास बैंक (एडीबी) ले ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ को तुलनामा सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको छ । एडीबीले यही बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ ।

उत्पादन तथा निर्माण क्षेत्रमा यस वर्षको तुलनामा आगामी वर्ष उल्लेख्य सुधार देखिने एडीबीको अनुमान छ । आज सार्वजनिक भएको ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ अनुसार नेपालको कृषि क्षेत्रमा सन् २०२२ मा दुई दशमलव दुई प्रतिशतको वृद्धिदर देखिएकोमा सन् २०२३ मा दुई दशमलव सात प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

एडीबीद्वारा नेपाललाई दिने १० करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण स्वीकृत

एसियाली विकास बैंक एडीबीले नेपाललाई दिने १० करोड अमेरिकी डलर अर्थात् करिब १३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । नेपालको वित्तीय व्यवस्थापनलाई सुदृढ तथा विकेन्द्रीकरण गर्नका लागि एडीबीले उक्त ऋण स्वीकृत गरेको हो ।

स्थानीय स्तरमा वित्तीय व्यवस्थापनका लागि स्रोत, योजना तथा व्यवस्थापन सुधार कार्यका लागि यो ऋणमार्फत् प्रदान गरिने रकम खर्च हुने एडीबीले जनाएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन नभएको भन्दै एमाले असन्तुष्ट

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

उच्चस्तरीय छानबिन आयोग गठनका लागि शुक्रबार सिंहदरबारमा बसेको बैठकमा एमालेले यसअघि भएको सहमतिअनुसार आयोग गठन गर्न सरकार तयार नदेखिएको भन्दै आपत्ति जनाएको हो । छलफलपछि एमाले सचेतक महेश बर्तौलाले यसअघि भएको सम्झौता अनुसार असोज ५ गतेभित्रै आयोग गठन हुनुपर्नेमा नभएको भन्दै आपत्ति जनाए । उनले शुक्रबार नै आयोगको घोषणा नभए विश्वासघात भएको ठानिने चेतावनी दिए ।

त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुनल नउडाउन आग्रह

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुनलगायत नउडाउन आग्रह गरेको छ ।

विमानस्थल क्षेत्रमा पटक–पटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले सो कार्य नगर्न सबैमा आग्रह गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ८ : ५९ बजे

सहकारी प्रकरण : सहमति खोज्न तीन दिनपछि सिंहदरबारमा कार्यदल बैठक

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार

आगामी वर्षको बजेटमा कृषिलाई उच्च प्राथमिकता दिइनेछ : प्रधानमन्त्री

ललितपुर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी वर्षको

ओलीले भने : सिरोहियालाई समाचारको विषयमा पक्राउ गरिएको होइन

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया गुप्रका

सीता एयरको ठक्करबाट एक कर्मचारी घाइते

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत

रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते 

मुगु– बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना