सांस्कृतिक धरोहरको रुपमा रहेको नेपालमा कयौँ यस्ता सांस्कृतिक गरिमामय परम्परा छन्, जसको आफ्नै महत्व र विशेषता रहेको पाइन्छ । वास्तवमा सांस्कृतिक वैभवले नै नेपाललाई विश्व सामु परिचित बनाएको छ । विभिन्न चाडपर्व ऐतिहासिक, धार्मिक, पारस्परिक तथा नैतिक दृष्टिलेसमेत गरिमामय छन् । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म धुमधामले मनाइने यो पर्व सांस्कृतिक दृष्टिले समन्वयको प्रतीक मानिन्छ ।
देवी महात्म्य तथा सप्तशती (चण्डी)को कथाअनुसार शुम्भ र निशुम्भ नामक राक्षसको अराजकताबाट त्राण पाउन देवताहरूले माता दुर्गा भवानीको आराधना गरे । सोही अनुसार देवीले अष्टमीको दिन राती दुर्गाकालीको रुपमा प्रकट भएर दशमीका दिन शुम्भ निशुम्भको बध गरिन् । देवीको विजयोल्लासमा टीका लगाउने परम्परा कायम रहेको हुनाले यस चाडलाई विजयादशमी नामकरण गरिएको मान्न सकिन्छ । कालान्तरमा नारीलाई सम्पूर्ण शक्तिको अधिष्ठात्रीको रुपमा व्याख्या गर्न थालियो ।
रामायणमा रामले ९ दिनसम्म देवीको पूजा र आराधना पश्चात नै रावणमाथि विजय प्राप्त गर्ने सामर्थ्य पाएका थिए । दुर्गासप्तसतीको ‘जयन्ती मंगलाकाली भद्रकाली कपालिनी, दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते ।’ भन्ने मंगलाचरणको श्लोकले देवीलाई सम्पूर्ण सृष्टि प्रपञ्च धारिणी मानिएको सन्दर्भ महत्वपूर्ण छ । शक्तिदेवीका ८ स्वरुपा इन्द्रायणी, वैष्णवी, महेश्वरी, कौमारी, चामुण्डा, ब्राह्मी, बाराही र महालक्ष्मी पर्दछन् । जसलाई अष्ट मात्रिका भनिन्छ । यिनीहरूलाई दुर्गाकै अङ्गका रुपमा स्वीकार गरिए पनि महिषासुर मर्दिनी दुर्गा समेत गरी नवदुर्गा नामले पूजा गर्ने परम्परा छ ।
चण्डमुण्ड नामक राक्षसको बध गरेको हुनाले चामुण्डा तथा राक्षसलाई मार्दा यिनले आफ्नो शरीरबाट कालीलाई उत्पत्ति गरेकीले ‘काली’ पनि भन्ने गरिन्छ । यसप्रकार देवीको अनुपम शक्तिलाई प्राप्त गर्न तथा दानवीय शक्ति परास्त गर्न दसैँको महत्व रहेको छ । देवी भागवत तथा सप्तशती ग्रन्थहरूमा देवीको महत्वको प्रशंसा एवं दानवीय शक्तिको पराजय कथा व्यापक उल्लेख रहेको पाइन्छ ।
दसैँको ऐतिहासिक र सांस्कृतिक महत्वका बारेमा विभिन्न विश्लेषण रहेको पाइन्छ । दसैँ शब्द संस्कृतको ‘दशमी’बाट आएको हो । दशमी तिथिको सर्वाधिक महत्व रहेकाले यस चाडलाई दशमी अथवा दसैँ भनिन्छ । यो चाड लिच्छवीकाल पूर्वदेखि नै कुनै न कुनै माध्यमको रुपमा मनाउँदै आएको सत्य इसाको प्रारम्भिक शताब्दीताका बनेका मात्रिकाका मूर्तिहरुबाट अनुमान गर्न सकिन्छ । रामायणकालमा श्रीरामले देवीको आशीर्वाद प्राप्त गरी रावण परास्त गर्न सफल भएको घटनाले त्यसबेलादेखि यसको महत्व रहेको पाइन्छ । पाटन च्यासल टोलको लिच्छवी अभिलेखमा ‘नारायण देवकूल दशमी गोष्ठी’ उल्लेख भएको छ । नारायण मन्दिरमा गरिने पूजासँग सम्बन्धित यो गोष्ठीले दसैँ पूजालाई संकेत गरेको छ । यसबाट लिच्छवी समाजमा दसैँको महत्व रहेको स्पष्ट हुन्छ ।
मल्ल राजाहरूको पालामा यो चाड घटस्थापना, फूलपाती तथा अष्टमीलाई खड्गसिद्धिको रुपमा मनाएको पाइन्छ । जयस्थिति मल्ल र उनका भारदारहरूले आश्विन शुक्ल अष्टमीका दिन ‘खड्ग स्वेंएका’ (खड्ग स्थापना) गरेको गोपाल वंशावलीमा उल्लेख छ । त्यसबेला अष्टमीमा देवीको समीपमा खड्ग स्थापना गरी पर्सिपल्ट दशमीका दिन धार्मिक परम्पराअनुसार खड्ग सञ्चालनको काम हुन्थ्यो । त्यसताका यसलाई पायात, खड्ग जात्रा वा खड्ग चालन पनि भन्ने गरिन्थ्यो । एकातिर खड्ग स्थापनाको परम्परा त्यसबेला पाइन्छ भने अर्कातिर भूपालेन्द्र मल्लका मन्त्री नवमी सिंहले ‘चण्डीभक्त विनोदिनी’ नामक ग्रन्थको रचना गरेको उल्लेख पाइन्छ । सातसय श्लोकको यो चण्डी पुस्तकलाई सप्तशती चण्डी भनिएको छ । यो पुस्तक दसैँमा घरघरमा पाठ गर्ने सर्वमान्य धार्मिक ग्रन्थ बन्यो ।
घटस्थापनादेखि दशमीसम्म सम्पन्न गरिने विभिन्न विधान ठाउँ र जातिअनुसार केही भिन्न रहलान् तर समष्टिमा टीका र जमरा लगाउने परम्पराले दसैँको महत्वलाई स्पष्ट पारेको छ । खासगरी प्रथम दिनमा जमरा राखी नवमीसम्म चण्डीपाठ तथा देवीको स्तुति गर्ने गरिन्छ । सप्तमीमा फूलपाती भित्र्याउने तथा अष्टमीमा विभिन्न हात हतियारको पूजा गर्ने र देवीको नाममा बली दिने परम्परा छ । दशमीलाई टीका भनिन्छ । यस दिन होम गरी दुर्गा स्थापना विसर्जन हुन्छ । नजिकको मन्दिरमा टीका चढाएपछि घरपरिवार तथा गाउँ छिमेकमा ज्येष्ठताको क्रमअनुसार टीका र जमरा ग्रहण गरिन्छ । यस अवसरमा बुढापाकाले देहायको श्लोक उच्चारण गरी आशीर्वचन दिने गर्छन् ।
आयुः द्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने
दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्तीसुते
विज्ञाने विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।
यसैगरी महिलाको हकमा अर्को यस्तो आशिष दिने चलन छ–
जयन्ती मंगलाकाली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते ।
उपत्यकाभित्रको परम्परा
काठमाडौँ उपत्यकाभित्र रहेका मल्लकालीन राजदरबार पनि दसैँ पर्वमा पूजा गर्ने महत्वपूर्ण धार्मिक केन्द्रका रुपमा स्थापित छन् । सयौँ वर्षअघि सुरु परम्परा आज पनि ज्युँका त्युँ बाँचेको छ । हनुमानढोका दरबारभित्र दसैँ पर्व अझ विशेष धुमधामसाथ मनाइन्छ । घटस्थापनाका दिन मूलचोकको पूर्वपट्टि रहेको दसैँघरमा जमरा राख्ने गरिन्छ । त्यसपछि सप्तमीको दिन नुवाकोटको धुनीबेँसीबाट फूलपाती ल्याई त्यसदिन सो फूलपाती रानीपोखरीमा राख्ने र अर्को दिन धुमधामले हनुमान ढोकामा भित्र्याइन्छ । राष्ट्रप्रमुख तथा सरकार प्रमुखको यस अवसरमा उपस्थित हुने चलन छ । फूलपाती उत्सवलाई मल्लकालमा ‘पचीका स्थापना’ भन्ने गरिन्थ्यो ।
अष्टमीमा तलेजु भवानीलाई मूलचोकमा ल्याई स्थापना गरिन्छ । अष्टमीको कालरात्रिमा तलेजुको गोप्य पूजा गरिन्छ । नवमीमा मूलचोकमा प्रतिस्थापित तलेजु भवानीलाई पूजा गरी बली दिइन्छ । यसैदिन भक्तपुर दरबारभित्र रहेको कुमारीचोकमा एकान्त कुमारीको पूजा गर्ने परम्परा कम महत्वपूर्ण छैन । दशमीको दिन हनुमानढोका मूलचोकमा पूजा सकेपछि राष्ट्राध्यक्षलाई टीका पठाउनु पर्छ । यसैदिन खड्ग जात्रा निस्कन्छ । खड्ग जात्रामा सहभागी हुनेले हातमा खुँडा, तरबार, त्रिशूल, ढाल लिएका र जामा लगाएका हुन्छन् । कुनै टोलले छुट्टै खड्ग जात्रा निकाल्ने गरेको पाइन्छ । खड्ग जात्रामा दैत्यको प्रतीक कुभिण्डो काट्ने गरिन्छ । काठमाडौँलगायत देशभरका दसैँ घरमा सेना तथा प्रहरीले बढाइँ गर्ने परम्परा छ ।
विभिन्न जातिमा दसैँ
देशभर बसोबास गर्ने विभिन्न जातिहरुमा दसैँको महिमा र गरिमा महत्वपूर्ण छ । उपत्यकाभित्र रहने नेवार जातिभित्रका हिन्दुले पूजापाठ गरी ब्राम्हण, क्षेत्रीजस्तै टीका धारण गर्छन् । बौद्ध धर्मावलम्बीहरूले टीका नलगाए पनि खड्गजात्रा निकाली घरआँगनमा पूजाआजा गर्छन् । यस्तै पूर्वी र मध्यपहाडी क्षेत्रका मगर र गुरुङले पनि धुमधामकासाथ दसैँ मनाउँछन् । दसैँको टीकालगत्तै मगर समुदायले सोरठीमा बजाउने मूल मादल बजाउने मूल मादल बजाउन सुरु गरी नयाँ ऋतु आगमनको संकेत गर्छन् ।
यस्तै, पूर्वतिर किराँत समुदायमा पनि दसैँ ठूलो उत्सव मानिन्छ । उनीहरु मान्यजनबाट सेतो टीका धारण गरी दसैँ धूमधामसँग मनाउँछन् । नेपालको तराईमा बसोबास गर्ने आदिवासी थारुले दसैँलाई अत्यधिक महत्व दिने गरेका छन् । यस अवसरमा पश्चिमतिरका थारूले ‘दश्यानाच’ नाच्ने गर्छन् । महिलाले नाच्ने यो नाचमा मादल र मुजुराको उपयोग गरिन्छ । थारुहरुमा जौको सट्टा मकैको जमरा राख्ने अलग परम्परा छ । गुरुवाको हातबाट टीका लगाएपछि शुभसाइत आरम्भ हुन्छ । मैथिली क्षेत्रमा पनि दसैँको विशेष उल्लास रहँदै आएको छ ।
नेपालमा मात्र नभई नेपाली समुदाय भएका विश्वभर दसैँको माहोल रहने गर्छ । खासगरी भारत, भुटान, नागाल्याण्ड, मणिपुर, आसाम, दार्जिलिङ, देहरादून, भाक्सुलगायत विश्वका नेपाली डायस्पोरामा रहेकाहरूका लागि दसैँ राम्रो लाउने मीठो खानेका साथै एकताको सूत्र बन्दै आएको छ ।
प्रतिक्रिया