विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

आज मंसिर ६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर २२, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

सम्झौताको राष्ट्रसङ्घद्वारा स्वागत
संयुक्त राष्ट्रसङ्घले इजरायल र हमासबीच बन्धकहरूलाई मुक्त गर्ने र गाजामा जारी युद्ध र बमबारी रोक्ने सम्झौताको स्वागत गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजिप्ट र संयुक्त राज्य अमेरिकाको समन्वय र कतारको मध्यस्थतामा इजरायल र हमासबीच भएको सम्झौताको स्वागत गरेका छन् । गुटेरेसका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो द्वन्द्व अन्त्य गर्ने सही दिशामा एउटा महत्वपूर्ण कदम हो, तर अझै धेरै गर्न बाँकी छ ।’

इजरायल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ ।

‘मानवीय विरामको सुरवाती समय अर्को २४ घन्टाभित्र घोषणा गरिनेछ र विरामको विस्तार चार दिनसम्म हुनेछ’, कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘सम्झौतामा इजरायली कारागारमा थुनिएका प्यालेस्टाइनी महिला तथा बालबालिकाको रिहाइको सट्टामा गाजापट्टीमा हालै बन्धक बनाइएका ५० महिला तथा बालबालिकाको रिहाइ समावेश छ, उक्त सम्झौता कार्यान्वयन भएपछि विभिन्न चरणमा रिहा गरिने मानिसहरूको सङ्ख्या बढाइने सहमति भएको छ ।’ अस्थायी युद्धविराम र मानवीय सहायताकालागि पहुँचको सट्टामा गाजामा बन्दी बनाइएका दुई सय ४० जनामध्ये केहीलाई मुक्त गर्ने उद्देश्यले कतार केही सातादेखि पर्दा पछाडि गहन वार्तामा संलग्न रहेको छ ।

श्रीलङ्कामा अर्को वर्ष राष्ट्रपतीय र संसदीय निर्वाचन हुने
श्रीलङ्कामा अर्को वर्ष राष्ट्रपतीय र संसदीय निर्वाचन हुने भएको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०२४ मा चुनाव गर्नेबारे संसदलाई निर्वाचनबारे जानकारी दिएका हुन् ।

श्रीलङ्काली क्रिकेटमा देखा परेको सङ्कटसहित अन्य विषयबारे संसदमा सम्बोधन गर्दै राष्ट्रपति विक्रमासिङ्घले यसबारे जानकारी दिएका हुन् ।

आफूले निर्वाचन स्थगन गर्न लागेको भन्ने आरोपलाई उनले अस्वीकार गरे । सरकारले सन् २०२५ मा प्रान्तीय परिषद् र स्थानीय सरकारको निर्वाचन गराउने उनको भनाइ छ ।

सरकारले निर्वाचन गराउनका लागि पर्याप्त बजेट नभएको घोषणा गरेपछि निर्वाचन आयोगले यसै वर्षको सुरुमा स्थानीय सरकारको निर्वाचनहरू अनिश्चितकालका लागि स्थगन गरेको छ ।

वृक्षरोपण, उद्यम सुधार तथा अर्थराज्यमन्त्री रञ्जीत सियाम्बलपतियाले भविष्यमा सम्भावित निर्वाचनहरूका लागि १० अर्ब रुपैयाँ ९तीन करोड पाँच लाख अमेरिकी डलर० को बजेट विनियोजन गरिएको घोषणा गरे ।

थाइल्याण्डमा छेपारोको प्रकोप
थाइल्याण्डको ग्रामीण इलाकाहरूमा उपद्रो गर्ने, खेतहरूमा हमला गर्ने र स्थानीय वातावरणलाई हानि पुर्‍याउने १ सय ५० भन्दा बढी इग्वाना (छेपारो) लाई पक्रिएको अधिकारीहरूले बताएका छन् । इग्वाना छेपारोहरु थाइल्याण्डका रैथाने होइनन् । मुख्यगरी मध्य र दक्षिण अमेरिकामा पाइने इग्वाना थाइल्याण्डमा घरपालुवा जनावरका रुपमा लोकप्रिय छन् ।

घरबाट भागेका र जानाजान जङ्गलमा छोडिएका इग्वानाका कारण थाइल्याण्डमा वातावरणीय चिन्ता उत्पन्न भएको छ । थाइल्याण्डको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा वनस्पति संरक्षण विभाग (डीएनपी) ले मङ्गलबार बैङ्ककबाट एक सय ६० किलोमिटर उत्तरमा रहेको पटाना निकोम जिल्लाको लोपबुरीमा एक सय ३४ इग्वाना समातिएको बताएको छ ।

मुलुकको उत्तरपूर्वमा रहेको उडोन थानीमा थप छ वटा र अन्य स्थानबाट थप २३ वटा इग्वाना फेला परेका छन् । “धेरै इग्वाना लोबुरी प्रान्तको जङ्गलमा बस्दै आएका छन् र कृषकहरूको कृषि उपजलाई नष्ट गरिरहेका छन्”, डीएनपीको एक विज्ञप्तिमा भनिएको छ, “तीव्र रूपमा बढिरहेको इग्वानाको सङ्ख्याले पर्यावरण र पारिस्थितिकीय प्रणालीलाई असर गरिरहेको छ, यसबाट स्थानीय बासिन्दालाई समस्या भइरहेको छ ।”

एक दशमलव पाँच मिटरभन्दा बढी लामो हुनसक्ने चिसो रगत भएका इग्वानालाई बैङ्ककको उत्तरपूर्वी नाखोन नयोकस्थित वन्यजन्तु केन्द्रहरूमा राखिने छ । डीएनपीका अनुसार ६१ प्रान्तका करिब दुई सय ६० व्यक्तिले अधिकारीहरूलाई उनीहरूसँग तीन हजार छ सयभन्दा बढी इगुआना भएको जानकारी दिएका छन् ।

यसै साताको सुरुमा अधिकारीहरूले वातावरणीय सरोकारका कारण यस्ता जीवमाथिको आयातमा प्रतिबन्ध लगाएका छन् । अधिकारीहरूका अनुसार उल्लङ्घन गर्नेलाई अधिकतम १० वर्ष जेल र १० लाख भाटसम्म जरिवाना हुनेछ ।

इजरायल र हमासबीच सहमति, पहिलो चरणमा ५० जना बन्दी छाडिने
युद्धरत इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमास गाजामा बन्दी बनाइएका ५० जनालाई रिहा गर्न सहमत भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो सहमतिलाई इजरायली सरकारले अनुमोदन गरेको छ । यो अनुमोदनसँगै पहिलो चरणमा महिला तथा बालबालिका मुक्त हुने छन् ।

आज बिहान इजरायलको मन्त्रिपरिषदले गाजामा अपहरण गरिएका लगभग ५० बन्धकहरूलाई रिहा गर्न सुरक्षित गर्ने सम्झौतालाई अनुमोदन गरेको हो ।

बाँकी बन्दीहरुका बारेमा केही नखुलाइए पनि पहिलो चरणमा ५० बन्दी रिहा गरेपछि इजरायलले प्रत्येक एक दिन युद्धविराम लम्ब्याउने र हमासले १० जनाका दरले बन्दी छाड्ने सहमति भएको छ । सहमति इसराइलले गजामा भैरहेको हवाई तथा अन्य सैन्य आक्रमण चार दिनलाई स्थगित गर्नेछ।

दुई पक्षको सहमतिअनुसार हमास समूहले बन्दीहरू छाडेवापत इजरायलले गाजा क्षेत्रमा गरिरहेको आक्रमण स्थगित गर्नेछ । इजरायलले पहिलो चरणमा गाजा क्षेत्रमा भइरहेको आक्रमण चार दिनलाई स्थगित गर्नेछ ।

गत असोज २० गते हमास समूहले एक्कासि इजरायलमाथि आक्रमण गरेपछि इजरायलले लगातार गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ ।

सो आक्रमणपछि हमास समूहले नेपालीसहित विभिन्न मुलुकका दुईसय भन्दा बढी नागरिकलाई बन्धक बनाएर राखेको छ ।

६० वर्षअघि आजकै दिन भएको थियो अमेरिकी राष्ट्रपति केनेडीको हत्या, को थिए हत्यारा ?

६० वर्षअगाडि आजकै दिन अमेरिकका ३५ औँ राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको थियो । सन् १९६३ नोभेम्बर २२ का दिन टेक्सस राज्यको डालसमा उनको गोली हानी हत्या गरिएको थियो ।

राष्ट्रपति केनेडीको हत्या भएको घटनालाई अमेरिकामा २० औँ शताब्दीकै सबैभन्दा सनसनीपूर्ण राजनीतिक घटनाका रुपमा लिने गरिन्छ । उनको हत्या भएको घटनाले त्यसबेला अमेरिकामात्रै नभई पूरा विश्व नै चकित र स्तब्ध भएको थियो ।

यसरी भएको थियो केनेडीको हत्या

सन् १९६३ नोभेम्बर २१ कादिन अमेरिकी राष्ट्रपति केनेडी श्रीमती ज्याकलिन र उपराष्ट्रपति लिण्डन बी जोनसनसँगै २ दिने टेक्सस भ्रमणमा निस्केका थिए । नोभेम्बर २२ को बिहान झरी परिरहेका बेला उनले फोर्ट वर्थस्थित आफू बसेको टेक्सस होटेलको पार्किङ लटमा समर्थकहरुलाई सम्बोधन गरेका थिए ।

त्यसपछि उनी डालस जानका लागि नजिकैको कार्सवेल हवाइअड्डातर्फ लागे । केनेडी राष्ट्रपतीय जहाज एअर फोर्स १ बाट १३ मिनेटको उडानपछि डालसस्थित लभ फिल्ड विमानस्थल पुगे । समर्थकहरुसँग केही समय हात मिलाएपछि केनेडी दम्पत्ति त्यहीँ नजिकै रोकिराखेको मोटरमा चढे ।

टेक्सस राज्यका गभर्नर जोन कोनली र उनकी श्रीमती नेली त्यही मोटरको अघिल्तिरको सिटमा बसेर उनीहरुलाई पर्खिरहेका थिए । डालसमा त्यस बेला पानी पर्न रोकिएकाले उनीहरु चढेको मोटरको छत हटाइएको थियो । उपराष्ट्रपति जोनसन भने अर्को मोटरमा सवार थिए ।

उनीहरुले त्यही मोटरमा १० माइलको यात्रा गर्ने तय भएको थियो । उनीहरुलाई स्वागत गर्न सडकभरी हजारौँ मानिसहरुको भीड जम्मा भएको थियो । करिब साढे १२ बजेतिर उनीहरुको मोटर मेन स्ट्रिटको डेली प्लाजाबाट टेक्सस स्कुल बुक डिपोजेटरीतिर मोडियो । उक्त डेपोजेटरी पुग्दै गर्दा एक्कासी गोली चल्न थाल्यो ।

राष्ट्रपतिको टाउको र घाँटीमा गोली लाग्यो भने गभर्नरको ढाडमा पनि गोली लाग्यो । राष्ट्रपतिको मोटरसँगै अर्को मोटरमा सवार उपराष्ट्रपति जोनसनलाई हृदयघात भयो । आठ वर्षअघि पनि उनलाई त्यसैगरी हृदयघात भएको थियो ।

गोली लागेका राष्ट्रपति सवार मोटर नजिकैको पार्कल्याण्ड मेमोरियल अस्पतालतर्फ तीव्र गतिमा हुँइकियो । उनको स्वास्थ्य अवस्था बिग्रिसकेको थियो । चिकित्सकहरुले उनलाई बचाउन सकेनन् । राष्ट्रपति केनेडीलाई १ बजे मृत घोषित गरियो । गम्भीर घाइते भएपनि गभर्नर कोनली पछि गएर स्वस्थ भए ।

राष्ट्रपतिको मृत शरीरलाई वाशिंटन लैजान लभ फिल्ड विमानस्थलमा पुर्‍याइयो । केनेडीको मृत शरीरलाई वाशिंटन लैजादै गर्दा विमानभित्रै उपराष्ट्रपति जोनसनलाई २ बजेर ३८ मिनेटमा नयाँ राष्ट्रपतिको सपथ खुवाइयो ।

पछि नोभेम्बर २५ का दिन राजकीय सम्मानका साथ आर्लिङ्टन स्मारक समाधिस्थलमा उनको अन्त्येष्टि गरियो । उनको अन्त्येष्टि सभामा १ सय भन्दा धेरै मुलुकका राष्ट्र एवम् सरकार प्रमुखको उपस्थिति रहेको थियो भने अन्य लाखौँ मानिसले टेलिभिजनमार्फत् उनको प्रत्यक्ष प्रसारण हेरेका थिए ।

केनेडीलाई संदिग्ध कम्युनिष्ट कार्यकर्ता एवम् अमेरिकी सेनाको मरिन कोरका पूर्वसैनिक ली हार्भी ओस्वाल्डले गोली प्रहार गरेको विश्वास गरिन्छ । केनेडीमाथि गोली प्रहार हुनेबित्तिकै सुरक्षाकर्मीले ओस्वाल्डलाई गिरफ्तार गरेका थिए । अमेरिकी संघीय जाँचबुझ ब्युरो तथा राष्ट्रपति जोनसनले गठन गरेको वारेन आयोगले पनि घटनामा ओस्वाल्डकै संलग्नता रहेको पुष्टि गरेको छ ।

पछि २४ नोभेम्बरका दिन डालस प्रहरी मुख्यालयबाट लैजाँदै गर्दा स्थानीय रात्रिक्लबका साहु ज्याक रुबीले ओस्वाल्डमाथि गोली प्रहार गरेका थिए । गोली लागी घाइते भएका उनको पछि मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : ५९ बजे

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी