युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री प्रचण्ड


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवामाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् । 

बिहीबार बिहान काठमाडौंको टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईँहरूमाथि तपाईँका अभिभावकको मात्र आशा र सपना निहित नरही प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ। त्यसैले सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईँहरूले आफ्नो मनोबल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सबल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ।’

यस्तो छ दीक्षान्त समारोहमा प्रधानमन्त्रीले गर्नुभएको सम्बोधनको पूर्णपाठ :

यस दीक्षान्त कवाजमा राष्ट्रिय सेवा दलको प्रमुख संरक्षकको हैसियतले सहभागी हुन पाउँदा हर्षित एवं गौरवान्वित महसुस गरेको छु। युवाहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले वि.सं. २०२२ सालबाट “अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने मान्यतासहित स्थापना भएको राष्ट्रिय सेवा दलको तालिममा छनौट भई तालिम सफलतापूर्वक सम्पन्न गरी दीक्षित हुनुहुने क्याडेट छात्र÷छात्राहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु।
देशलाई “जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी” युक्तिलाई आत्मसाथ गर्दै चन्द्र र सूर्यअंकित झण्डाप्रति सदैव अनुशासित भई देश र जनताको सेवा गर्ने युवाहरूको खाँचो पर्दछ। नेपाल सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।

तपाईहरूमाथि तपाईका अभिभावकको मात्र आशा र सपना निहित नरही प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ। त्यसैले सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईहरूले आफ्नो मनोवल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ।

नैतिकवान्, क्षमतावान् र देशभक्त युवाहरू तयार गरी राष्ट्रको आवश्यकता सम्बोधन गर्ने उद्देश्यसहित राष्ट्रिय सेवा दल स्थापना भएको हो। राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईहरू निःस्वार्थ सेवाभावबाट समर्पित भई एक सच्चा नेपाली नागरिकका रूपमा महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुनेछ र यस तालिमको दौरानमा हासिल गरेका ज्ञानले तपाईहरूलाई लक्ष्य प्राप्तिका लागि अभिप्रेरित गर्ने विश्वास लिएको छु।
यस तालिममा तपाईहरूलाई सैनिक पोसाकमा विभिन्न सैनिक कला तथा समसामयिक विषयमा ज्ञान मात्र दिइँदैन विभिन्न प्राकृतिक भू–बनोट, संस्कृति, परम्परा र संस्कारबाट आई राष्ट्रिय सेवा दलको एउटै छानामुनि बसी एक–अर्काको भावना एवं संस्कृति, परम्परा, संस्कार र इतिहास बुझ्ने मौका पनि मिल्दछ। यसरी देशभित्र विद्यमान विविध भाषा, संस्कृति, भेषभुषा एवं विशेषताहरूको जानकारीले तपाईहरूलाई आफ्नो देशप्रतिको गौरव बढाउनुका साथै राष्ट्रि«य एकताको भावनामा थप प्रतिवद्धताको विकास हुने विश्वास लिएको छु।

आजको अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता हो। यस कार्यक्रमको महत्व पनि राष्ट्रको उल्लेखित कार्यभार पूरा गर्ने जिम्मेवारीसँग जोडिएको छ। यस अवसरमा युवाहरूको शारीरिक, मानसिक, बौद्धिक विकासका निम्ति नेपाल सरकार निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्दछु।

तपाईहरूले प्रदर्शन गरेको जोसिलो कवाज, कला र प्रस्तुतिहरूको अवलोकनले मलाई विगतमा मेलै राष्ट्रिय सेवा दल तालिम गर्दाको सुखद क्षणहरू स्मरण भइरहेको छ। हाल म प्रधानमन्त्रीको रूपमा कार्यरत रहँदा राष्ट्रिय दलको लक्ष्यअनुरूप अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउँदै यस तालिमबाट प्राप्त हुने ज्ञानले देशप्रति थप जिम्मेवारी र कर्तव्यबोधको उर्जा प्राप्त भएको छ। 

राष्ट्रिय आवश्यकताको अनुपातमा राष्ट्रिय दलको तालिमको मात्रात्मक उपस्थिति पर्याप्त देखिँदैन। हाल विद्यमान ७७०० को संख्या बढाएर आगामी दिनमा तालिममा सहभागीको संख्या बिस्तार गर्नुपर्ने आवश्यकताप्रति नेपाल सरकार गम्भीर छ। आगामी दिनमा संख्या वृद्धि गरी तालिमको गुणस्तरमा समेत थप प्रभावकारिता ल्याइने प्रतिवद्धता व्यक्त गर्दछु।

युवाहरूको नेतृत्व विकासमा अग्रणी भूमिका खेल्ने राष्ट्रिय सेवा दल परिवार तथा नेपाली सेनालाई हृदयदेखि आभार व्यक्त गर्दछु। साथै तालिमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने नेपाली सेना, स्थानीय सरकार, विद्यार्थीहरू, तालिममा सहभागी गराउनहुने विद्यालय परिवार तथा आफ्ना छोरारछोरीहरूलाई यस तालिममा सहभागी गराउनुहुने आदरणीय अभिभावकज्यूहरूमा नेपाल सरकारको तर्फबाट आभार प्रकट गर्दछु।
अन्त्यमा, महत्वपूर्ण तालीम सफलतापूर्वक पूरा गरी दीक्षित हुनुभएका तपाई क्याडेट छात्र÷छात्राहरूको निरन्तर प्रगतिसहित उज्वल भविष्यको कामना गर्दछु, धन्यवाद।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  १२ : ४५ बजे

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना

सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन : केपी ओली

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी