आज चैत ९ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च २३, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार छन्:
प्रधानमन्त्री मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई २ वर्षको जेल सजाय
भारतीय अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको मानहानी गरेको आरोपमा भारतीय कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ ।
गुजरातको सुरतस्थित अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको हो । साथै अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ ।
सन् २०१९ मो प्रधानमन्त्री मोदीविरुद्ध दिएको उनको अभिव्यक्तिलाई लिएर अदालतको सो आदेश आएको हो ।
दक्षिण चीन सागरबाट सेना फिर्ता गर्न अमेरिकालाई चीनको चेतावनी
चीनले दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ । चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई दक्षिण चीन सागर छाड्न आज चेतावनी दिएको हो ।
जनमुक्ति सेनाले आफ्नो जलक्षेत्रमा अमेरिकी युद्धपोतलाई फेला पारेको जनाउँदै तत्काल फर्कन चेतावनी दिएको बताइएको छ । चीनले दक्षिण चीन सागरमा आफ्नो अधिकार दाबी गर्दै आएको छ । यद्यपि चीनको उक्त दाबीमा कुनै कानूनी आधार नभएको अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय अदालतले निर्णय छ ।
फिलिपिन्स, भियतनाम, मलेसिया र ब्रुनाइले पनि दक्षिण सागरको जलक्षेत्रमा आफ्नो दाबी गरेका छन् । यता अमेरिकाले अन्तर्राष्ट्रिय जलक्षेत्रमा जहाज चलाउन पाउनु सबैको नैसर्गिक अधिकार भएको बताउँदै आएको छ ।
चीन सरकारको अनुमति बिना चिनियाँ जलक्षेत्रमा गैरकानूनी रुपमा अमेरिकी युद्धपोत प्रवेश गरेर यस क्षेत्रको शान्ति र स्थायित्वमा खलल पुगेको जनमुक्ति सेनाले बताएको छ । यस सम्बन्धमा अमेरिकाले कुनै प्रतिक्रिया दिएको छैन ।
ताइवानले होन्डुरसका लागि आफ्ना राजदूतलाई फिर्ता बोलायो
ताइवानले होन्डुरसका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । होन्डुरसका विदेशमन्त्रीको चीन भ्रमणको विरोधमा ताइवानले आफ्ना राजदूतलाई टेगुसिगाल्पाबाट आज फिर्ता बोलाएको हो ।
ताइवानसँगको आठ दशकभन्दा लामो कूटनीतिक एवम् मैत्रीपूर्ण सम्बन्धलाई बेवास्ता गर्दै होन्डुरसले आफ्ना विदेशमन्त्रीलाई चीन भ्रमणमा पठाएर ताइवानी जनता र सरकारको भावनामा चोट पुर्याएकाले त्यसको विरोध स्वरूप आफ्ना राजदूतलाई तत्काल स्वदेश फर्कने आदेश दिइएको ताइवानी विदेश मन्त्रालयले जनाएको छ ।
होन्डुरसको पछिल्लो कदमप्रति कडा असन्तुष्टि व्यक्त गर्न हामीले होन्डुरसमा रहेका हाम्रा राजदूतलाई तत्काल स्वदेश फिर्ता बोलाउने निर्णय गरेका छौँ, ‘ ताइवानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
होन्डुरसका विदेशमन्त्री एडुआर्डो एनरिके रेना बेइजिङसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने विषयमा वार्ता गर्न चीनतर्फ प्रस्थान गर्नुअघि ताइवानले राजदूत फिर्ता बोलाउने निर्णय गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।
यसअघि विदेशमन्त्री रेनाले देशको बढ्दो आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको बताएका छन् । ताइवानले वार्षिक रूपमा प्रदान गर्दै आएको पाँच करोड डलर अनुदानलाई एक वर्ष १० करोड गर्न तथा तिर्न बाँकी रहेको ६० करोड डलर सहुलियत ऋण पुनः संरचनाका निम्ति गरेको आग्रहप्रति सकारात्मक जवाफ नदिएको उनले उल्लेख गरेका थिए ।
होन्डुरसका जनताको आवश्यकतालाई ध्यानमा राख्दै थप महत्त्वपूर्ण सम्बन्ध प्रस्ताव गरिएको तर ताइवानले त्यसलाई अस्वीकार गरेको उनको कथन थियो । मध्य अमेरिकी राष्ट्र होन्डुरस यो क्षेत्रको सबैभन्दा निर्धन मुलुक हो । एक करोड जनसङ्ख्या भएको होन्डुरसमका करिब ७४ लाख जनता गरिबीको चपेटाबाट मुक्त हुन सकेका छैनन् ।
होन्डुरसको चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णय सार्वजनिक हुने बित्तिकै बेइजिङले त्यसको स्वागत गरेको थियो । गत बुधबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता वाङ बिनले एक चीन सिद्धान्तका आधारमा होन्डुरससहित विश्वका अन्य देशहरूसँग मैत्री एवम् सहयोगात्मक सम्बन्ध विकास गर्न बेइजिङ सधैँ इच्छुक रहेको बताएका थिए ।
राष्ट्रपति जिओमारा क्यास्ट्रोले विदेशमन्त्री रेनालाई जनवादी गणतन्त्र चीनसँग आधिकारिक सम्बन्ध स्थापना गर्न निर्देशन दिएका थिए । राष्ट्रपति क्यास्ट्रोले चुनावी अभियानको क्रममा अघिल्लो साता आफ्नो सरकारले चीनसँग जलविद्युत् बाँध निर्माणका निम्ति वार्ता गरिरहेको घोषणा पनि गरेका थिए ।
होन्डुरस सरकारले ताइवानसँग आधिकारिक रूपमा सम्बन्ध तोडेको हो कि भन्नेबारे तत्काल टिप्पणी भने गरेको छैन । यद्यपि बेइजिङको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध राख्न सक्दैनन् ।
अमेरिकाको मेरिल्याण्डमा सडक दुर्घटना हुँदा छ जनाको मृत्यु
अमेरिकाको मेरिल्याण्ड राज्यमा बुधबार भएको सडक दुर्घटनामा छ जनाको मृत्यु भएको छ । इन्टरस्टेट हाइवे ६९५ मा भएको दुर्घटनमा कारमा सवार सबै छ जनाको घटनास्थलमा नै मृत्यु भएको राज्यका आपत्कालीन स्वास्थ्य सेवाका कर्मचारीले बताएका छन् ।
सडकमा मर्मतसम्भार भइरहेका बेला तीव्र वेगमा हुइँकिएको एउटा कार अस्थायी रुपमा खडा गरिएको पर्खाल लडाएर काम भइरहेको स्थानमा आएर पल्टिएको थियो ।
उक्त कारको ठक्करबाट सडकमा काम गरिरहेका केही कामदार पनि घाइते भएका प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ । गम्भीर घाइते भएका चालकलाई अस्पताल पुर्याइएको छ । दुर्घटनाको अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
यसैबीच, म्यान्माको याङ्गुन–माण्डले राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको तथा अन्य १४ जना घाइते भएका राजमार्ग प्रहरीले बताएको छ । दुवै मृतक पुरुष हुन् ।
साउदी अरब र इरानी विदेशमन्त्रीबीच टेलिफोन वार्ता
साउदी अरब र इरानी विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा उनहरूले हालै भएको ऐतिहासिक द्विपक्षीय मेलमिलाप सम्झौता कार्यान्वयन गर्न शीघ्र भेट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले होसेन अमिर–अब्दुल्लाहियानलाई फोन गरेर आजदेखि प्रारम्भ भएका पवित्र महिना रमजानको अवसरमा बधाई तथा शुभकामना आदानप्रदान गरेको साउदी विदेश मन्त्रालयले ट्विटरमा पोस्ट गरेको विज्ञप्तिमा जनाइएको छ ।
दुवै देशका विदेशमन्त्री आ–आफ्नो मुलुकमा एकअर्काका दूतावास र वाणिज्य दूतावास पुनः सञ्चालनको खाका तयार गर्न चाँडै द्विपक्षीय बैठक गर्न सहमत भएको विज्ञप्तिमा उल्लेख छ ।
इरान र साउदी अरबबीच सात वर्षदेखि चिसिएको एवम् विच्छेद भएको सम्बन्ध चीनको मध्यस्थतामा यसै महिनाको १० तारिखदेखि पुनःस्थापित भएको हो ।
सिया धर्मगुरु निम्र अल–निम्रलाई साउदी अरबले फाँसी दिएपछि इरानी प्रदर्शनकारीहरूले सन् २०१६ तेहरानस्थित साउदी कूटनीतिक नियोगमा आक्रमण गरेका थिए ।
उक्त आक्रमणपछि रियादले तेहरानसँगको सम्बन्ध विच्छेद गरेको हो । दुवै क्षेत्रीय प्रतिद्वन्द्वीलाई सहकार्य र साझेदारीको बाटोमा ल्याएर चीनले विश्वव्यापी प्रशंसा पाएको छ ।
चीनको मध्यस्थतामा भएको तेहरान र रियादबीचको सम्झौताले शिया बहुल इरान र मुख्यतया सुन्नी मुस्लिम भएको साउदी अरबले दुई महिनाभित्र आफ्ना दूतावास पुनः खोल्ने तथा २० वर्ष अघि हस्ताक्षर गरिएका सुरक्षा र आर्थिक सहयोगसम्बन्धी सम्झौता कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ ।
गत आइतबार एक इरानी अधिकारीले बताएअनुसार राष्ट्रपति इब्राहिम रायसीले राजा सलमानबाट साउदी भ्रमणको निमन्त्रणा प्राप्त भएको छ ।
यद्यपि रियादले त्यो पुष्टि गर्न बाँकी छ । दुवै देशले शीर्ष कूटनीतिक तहमा बैठक गर्न सहमति जनाउँदै तीन वटा बैठक स्थानबारेसमेत सुझाव दिएका जनाइएको छ ।
प्रतिक्रिया