साहित्य

‘त्रयम्’  नाटक  शुक्रबारदेखि

By खबरहब

May 23, 2023

काठमाडौँ – तीन युवतीको विगतको यात्रा समेटिएको नाटक ‘त्रयम्’ कौशी थिएटरमा मञ्चन हुने भएको छ। नाटकमा तीन युवतीको विगत कोट्याउँदै महिलाले दैनिक जीवनमा भोग्ने हिंसालाई रोचक तरिकाले देखाइनेछ।

दिलिप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटक आगामी जेठ १२ गते शुक्रबारदेखि त्रिपुरेश्वरस्थित कौशी थिएटरमा मञ्चन हुँदैछ। निर्देशक रानाभाटका अनुसार नाटकमा काठमाडौँका एउटा फ्ल्याटमा एकअर्कासँग स्वभाव नमिल्ने तीन युवतीको कथा देखाइनेछ।

‘एकअर्कासँग पटक्कै नमिल्ने स्वभावका उनीहरूसँग नजिक हुने धेरै कुरा छैनन्। तर पनि सँगै बस्न बाध्य छन्। आफ्नो रुचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा यस्तो घटना घट्छ जसले उनीहरूको एक अर्काप्रतिको बुझाइलाई छिन्नभिन्न पार्छ’, उनी भन्छन्, ‘योसँगै उनीहरूको विगत किताबको पाना झैँ पल्टिँदै जान्छन्। जसले उनीहरू जे देखिन्छन् त्यो नभएको यथार्थ खुल्छ। एक दिनको घटनाले उनीहरूको वर्षौँदेखिको कथा बताउँछ। ’

नाटक थिएटर भिलेजले निर्माण गरेको हो। थिएटर भिलेजले हालसालै ‘पल्पसा क्याफे’ र ‘दि कन्फेसन’ जस्ता नाटक निर्माण गरेको थियो। निर्देशक दिलिप रानाभाटले नाटक एक वर्ष पहिला किङ्स कलेजमा पढाउने सिलसिलामा तयार गरेको बताएका छन्।

‘यो विषय लामो समयदेखि बोकिरहेको थिएँ। एक वर्ष पहिला किङ्स कलेजमा थिएटर पढाउँदा यसलाई थोरै विकास पनि गरेको थिएँ। तर त्यो दर्शकसम्म पुगेको थिएन। यसपल्ट मौका जुर्दै छ, ’उनको भनाइ छ, ’यहाँ उठिरहेका विषय मेरो नजिकका धेरै महिलाहरूले भोगेका विषय हुन्। कतिले मलाई सुनाएका छन्। कतिले नभनी पनि मैले बुझेको छु। यो नाटकले तपाईँहरूको पनि मौनता तोड्न प्रेरित गर्नेछ।’

तीन नारी पात्रको वरिपरि घुम्ने नाटकमा संगीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यले शीर्ष भूमिका निर्वाह गरेका छन्। उनीहरुलाई श्रवण रानामगर र नाथन रायन भण्डारीले साथ दिनेछन्। नाटक १२ गतेबाट सुरु भएर २८ गतेसम्म चल्नेछ। दिलिप रानाभाट कै परिकल्पनामा तयार भइरहेको नाटक निर्माणमा पर्दा पछाडि रहेर आयुष्मा खरेलले सघाएकी छन्।