काभ्रेमा लम्पी स्किनबाट ६८१ पशु मरे | Khabarhub Khabarhub

काभ्रेमा लम्पी स्किनबाट ६८१ पशु मरे


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा ३० हजार सात सय ४३ पशु सङ्क्रमित बनेका छन् । यो रोगबाट जिल्लामा ६ सय ८१ पशुचौपाया मरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

पछिल्ला महिना काभ्रेपलाञ्चोकमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदै पशुचौपायाको अवस्था भयावह बन्दै गएको हो । केन्द्रका अनुसार उक्त रोगबाट जिल्लाको १३ स्थानीय तहमा हालसम्ममा ६ सय ८१ पशु मरेका छन् । 

उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन् । केन्द्रका अनुसार जिल्लामा ३० हजार सात सय ४३ वटा पशु सङ्क्रमित बनेकामध्ये ३० हजार चार सय ६४ गाई, दुई सय ७९ भैँसी रहेका छन् । 

केन्द्रका निमित्त प्रमुख डा. नितेश कार्कीले प्रभावित पशुचौपायाको सङ्ख्या पनि उत्तिकै रहेको बताए । उनका अनुसार ३३ हजार गाई र तीन सय ९९ भैँसी प्रभावित हुँदा हालसम्म ३२ हजार आठ सय पशुमा रोगविरुद्ध खोप लगाइएको छ । खोप लगाइएका पशुमा रोग देखिएको छैन । जिल्लामा तीन लाख गाईभैँसी रहेका छन् ।

जिल्लाको बनेपा नगरपालिकामा सबैभन्दा धेरै सङ्क्रमण दर रहेको छ । बनेपाको छवटा वडामा एक सय १८ पशु मरिसकेको तथ्याङ्कले देखाएको छ । बनेपामा भने गाईको मात्रै मृत्यु भएको नगरको पशु सेवा शाखाले जनाएको छ । 

बनेपामा ६ हजार १५ वटा पशुलाई सङ्क्रमण भएकामध्ये पाँच हजार गाईमा खोप लगाएको छ । यहाँ प्रभावित पशु सङ्ख्या छ हजार दुई सय छन् । वडा नम्बर १ देखि ५ सम्म र १० नम्बर वडामा सङ्क्रमण फैलिएको जनाइएको छ ।

केन्द्रका अनुसार पाँचखाल नगरमा एक सय पशु मरिसकेका छन् । धुलिखेल नगरमा ७२, पनौती नगरमा २५, मण्डनदेउपुर नगरमा ६४, नमोबुद्ध नगरमा ४१ तथा तेमाल गाउँपालिकामा ३५, खानीखोलामा ७९, बेथानचोकमा २५, रोशीमा ३१, भुम्लुमा २०, चौँरीदेउरालीमा ४२ र महाभारत गाउँपालिकामा २९ पशु मरेका छन् । 

चौँरीदेउराली गाउँपालिकाले पीडित कृषकलाई प्रतिपशु मरेवापत १० हजार तत्कालका लागि राहत दिने निर्णय गरेको छ भने धुलिखेलले बाछी खरिदका लागि साझेदारी गर्ने जनाएको छ ।

जिल्लामा महामारीको रूप लिएको उक्त रोग नियन्त्रण बाहिर गएको बताइन्छ । उक्त रोगका कारण अहिले पशुपालन व्यवसाय नै सङ्कटमा परेको कृषक बताउँछन् । सरोकारवाला निकायले किसानलाई पशुहरूलाई सुरक्षित राख्न समयमै खोप लगाउन तथा घरायसी उपचारमा ध्यान दिन अनुरोध गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयले भने जिल्लामा पशुहरूको ओसारपसारमा विशेष सतर्कता अपनाउँदै उपचार, राहत, जनचेतना तथा बीमाको रकम भुक्तानीका लागि तीन तहकै सरकारको समन्वय र सरोकारवाला निकाय सचेत हुनुपर्नेमा जोड दिएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले १३ वटै स्थानीय तहका पशु स्वास्थ्य शाखा तथा सम्पूर्ण कृषकलाई सचेत रहन अनुरोध गर्दै हरेक पालिकाबाट नियमित रिपोर्टिङ गर्न र थप पशु मर्न नदिन खोप लगाउन भनेको बताए ।

उक्त रोग लागेपछि गाईभैँसीले कचेरा निकाल्ने, सिँगान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना–ठूला गिर्खा तथा फोका देखिन्छ । रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन् ।

यो रोगको हालसम्म कुनै ठोस उपचार पत्ता लागेको छैन । लम्पी स्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो । सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो । काभ्रेपलाञ्चोकमा भने सोही सालको साउनमा पनौतीको एक भैँसीमा देखिएको थियो । 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ८ : ५५ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध