हलबाट ‘दिमाग खराब’ नामको सिनेमा नउत्रिँदै सडकमा ‘महेश–दुर्गा अवतार’ नामको अर्को सिनेमा प्रदर्शनमा आएको छ । दिमाग खराब हेरेर मानिस रिफ्रेस होलान् तर सडकको यसखाले लीलाले भने गुण्डाराजको अर्को संस्करण अनुमोदन बाहेक केही नगर्ने निश्चित छ ।
माओवादी, कांग्रेसले सत्ताको रथ चलाइरहँदा एमाले र राजावादीबीच सडक सत्ता कब्जाको कसरतका रुपमा यो अभियानलाई मूल्याङ्कन गर्ने हो भने यसको गजूर कसले लगाउने भन्ने संशय छँदैछ ।
यदि राजावादीको सटरको साँचो दुर्गा प्रसाईंका हातमा पुगेको हो भने झापा जाने यात्रु पोखराको बसमा चढेजस्तै हो । प्रसाईं गाडीका त्यो कन्डक्टर हुन्, जसले नौबिसे नपुग्दै विभिन्न बाहनामा यात्रु ओरालिदिन लाज मान्दैनन् ।
सडक प्रहसनको प्रमुख कलाकारमा बस्नेत-प्रसाईं देखिए पनि यसका निर्माता, निर्देशक सिण्डिकेटमा देश चलाउने पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी ओली हुन् भन्यो भने हजार प्रतिशत सही हुन्छ ।
आधा दशकभित्र प्रचण्ड र ओलीको कमजोरीमा विद्यावारिधि गरेर फर्किएका दुर्गा प्रसाईंले मार्सी चामललाई ‘दुर्गापथ’ बनाए । मूल्य र मान्यताको राजनीति क्षयीकरण हुँदा त्यही नर्सरीमा हलहली हुर्किएको कुनै पात्र हेर्नु छ भने त्यो प्रसाईं चरित्र नै हो । बैंकको ६ अर्ब ऋण खाएका प्रसाईं राजनीतिक सिंगौरीमा उत्रिनु नै केन्द्रीय राजनीति कति प्रदूषित रह्यो भन्ने मापन हो ।
जमिन्दार ससुरालीको झापामा रहेको मूल्यवान जग्गा जमिन हत्याउन माओवादीमा पसेजस्तो गरी आफ्नो अभिष्ट पूरा भएपछि उनी ‘हजारौं छोराछोरीका बा’ ओलीसँग एक पुस्ता पछिल्लो हजुरबा साइनो जोडेर एमालेमा प्रकट भए । उनी उपयोगमा यति माहिर छन् कि केपी बालाई झापा जाँदा चढाउने गरेको गाडी अहिले ३ वर्षे नातिलाई हस्तान्तरणको हल्ला गरेर कुतर्कको खेतीमा रमाइरहेका छन् ।
कांग्रेस नामको कम्पनीमा आफ्नै चरित्रको पात्र सुनील शर्मा भित्रिएकाले प्रसाईंले त्यतातिर जोड बल गरेनन् । शर्मा, प्रसाईं नेपाली राजनीतिमा देखिएको अर्को यस्तो महाभारतको मुसल पात्र हो, जसले चटकमा शासन प्रणालीको छायाँ देख्छ । प्रसाईंका तर्क पाँच मिनेट सुन्दा नै एउटा बुद्धिमान मानिस वाक्क, दिक्क, प्याक्क हुन्छ ।
आफूले चराएका प्रचण्ड, ओलीले सबैभन्दा ठूलो कर्पोरेट मानिने सरकारमा दाइँ गरेको देख्दा प्रसाईंलाई आफ्नो व्यवसायिक दायरा साँघुरो लाग्नु स्वाभाविक हो । त्यसैले राजतन्त्रको कार्ड देखाएर उनी राष्ट्रिय राजनीतिको बिल भर्पाइमा असुल गर्न उत्ताउलो बनेको देखिन्छ । शीर्ष नेतृत्वको रहस्य बुझेका उनी बैंकको अर्बाैं ऋण नतिर्ने मात्र हैन, यही कर्म गर्न जनता उक्साउँछन् ।
बैंक आफैंले पैसा छाप्दैन । निक्षेपकर्ताको पैसा नतिर्ने त्यो अहंकारी सामथ्र्य प्रसाईंले माओवादी, एमालेबाटै आर्जन गरेका हुन् । शीर्ष नेता र पार्टीका छिद्र थाहा पाएपछि नै उनी उपद्रोमा उत्रिएको बुझ्न कठिन छैन ।
मंसिर ६ गतेको दृश्य समीक्षा गरौं । मंसिरको ठिही थाम्न नसकेर जाजरकोटमा १ महिने भूकम्प पीडित शिशुको ज्यान गएको समाचार आएकै दिन मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल सिंहदरबारमा आफ्नो नयाँ कार्यकक्षमा सजाइएको कुर्सी टेबलको नापजाँचमा व्यस्त देखिन्थे । त्यही घडीमा राज्यको सम्पूर्ण शक्ति राजनीतिक बर्को ओढाइएको असभ्य प्रहसन सफल बनाउने अघोषित अभियानमा जुटेको देखिन्थ्यो ।
गृह मन्त्रालय अन्तर्गतका सम्पूर्ण निकाय बैठकमा व्यस्त थिए । ठूलाबडामा कि फोन बिसाउने फुर्सद थिएन, कि फोन नउठाउने दबाब थियो । झन त्यसको अघिल्लो दिन बदनाम निर्माण व्यवसायी पप्पु भनिने हरिनारायण रौनियारले एमालेमा रातो कार्पेटको स्वागतसहित भित्रिने मौका पाएका थिए ।
पप्पु कन्ट्रक्सनका मालिकको प्रवेश भनेको दुर्गा प्रसाईंको शोधभर्ना मात्र हो । हेर्नुस् सडक संघर्षको मिति नतोकिँदै राज्य संयन्त्रमा टाईसीट बनाउने हतारो । स्कुल सञ्चालकमा स्कुलमा आग्लो लगाउने छटपटी । ट्राफिक पुलिसलाई रुट बनाउन भ्याइनभ्याई । राज्यको दुर्बिनले राजहाँसको भूमिका निर्वाह गर्नु पर्दैन ?
राजनीतिक आवरणमा व्यापार–व्यवसायमा राम्रो जमेका महेश बस्नेत चुनाव हारेपछि सडक सदनबाटै बिलाउने अवस्थामा थिए । एमालेको मेची महाकाली अभियानको वार्मअप चलिरहेका बेला दुर्गा प्रसाईंलाई निर्विरोध सडक हस्तान्तरण गर्न नहुने ओली क्याप्सुल बस्नेतले ग्रहण गरेका हुन् ।
यो खेलमा सहभागी भएबापत यथासमयमा बाले ब्याजसहित चुक्ता गर्ने उनको बुझाइ हुनुपर्छ । त्यसो त मुर्झाएको राजनीतिमा यसले जीवनजलको काम गर्ने अनुमान लगाउन सकिन्छ ।
प्रसाईं प्रवृत्तिको चुरीफुरी सत्ता परिवर्तनको गर्जन हो त ? निचोड यसै हो भन्न नसकिए पनि केही तर्कले जबर्जस्ती प्रवेश पाएका छन् । काँग्रेस सांसद सुनील शर्माले राजनीतिक कोर्स फेरिने भविष्यवाणी गरेको महिना दिन नपुग्दै कोशी प्रदेशमा एमालेले आफ्नो जमिनको लालपूर्जा शेखर कोइरालालाई हस्तान्तरण गरेर गठबन्धनका नेताहरुको निद्रा खोस्यो ।
अदालतमा हालिएका कतिपय रिटका पोका खुल्न थाले । अख्तियारले अख्तियारी माग्न थाल्यो । सुनील शर्मा ठाउँ कुठाउँ मन्त्री हुने धमास दिएर हिँड्न थाले ।
दुर्गा प्रसाईं सडकबाट सत्ताको जोडघटाउमा लागे । आखिर सडकको तातो समन गर्न निकाल्ने उपाय भनेकै भागवण्डा हो । आखिर सबै पार्टीभित्र अहिले अर्को पार्टीका एजेन्टको बाहुल्य छ ।
जंगलमा बाघको शासन सुस्ताएपछि वन बिरालाहरुको बिगबिगी अस्वाभाविक होइन । नैतिक धरातलबाट झरेका नेताहरुको अवस्था बुझ्न महाभारतको एउटा प्रसंग काफी छ ।
भीष्म पितामह वाणको शैय्यामा सुतेर प्राण त्याग्न निमित्त शुभमूर्तको प्रतिक्षामा थिए । अर्कातिर महाराज युधिष्ठिरको सम्राट बन्ने तयारी चलिरहेको थियो । तब भगवान श्रीकृष्णले पितामह भीष्म कहाँ अन्तिम उपदेश र आर्शिर्वचन लिन द्रौपदी र पाण्डवलाई पठाए ।
भीष्म पितामह उनीहरुलाई नीति र अनीतिको उपदेश दिन थाले । उपदेश सुनेर द्रौपदी हाँसो रोक्न सकिनन् । भीष्म पितामहले सोधे– ‘छोरी, तिमी किन हाँसेकी ?’
द्रौपदीले साहस बटुलेर भनिन्– ‘क्षमा गर्नुस पितामह ! आज तपाईं हामीलाई नीति र अनीतिको कुरा सिकाउँदै हुनुहुन्छ । तर, जब सभामा दुष्ट दुःशासन मेरो चीरहरण गरिरहको थियो, त्यतिबेला तपाईं शान्त मुद्रामा चुपचाप हेरिरहनुभएको थियो । त्यतिबेला तपाईंलाई नीति र अनीतिको सम्झना किन भएन ? यही सम्झेर मलाई हाँसो उठ्यो ।’
पितामहले भने- ‘पुत्री तिमीले क्षमा माग्नुपर्ने आवश्यकता छैन । तिम्रो कथन सर्वथा सत्य हो । तर, पुत्री त्यतिखेर म दुर्योधनको अधीनमा थिएँ । र उसको अन्न खाइरहेको थिएँ । जुन अन्न अनीति र अधर्मको बलमा कमाइएको थियो ।
तर, आज अर्जुनका वाणले मेरो शरीरबाट सम्पूर्ण रक्त निकालिदिएका छन् । जुन दूषित अन्नबाट बनेको थियो । त्यसैले अब म निश्चल र निर्मल भएर उचित, अनुचित, नीति अनीति छुट्याउन सक्ने भएको छु । जीवनको उत्तराद्र्धमा पितामहको मुखराविन्दमा सत्य प्रकट भएपछि उनीहरु कृत कृत भए ।
दाहाल, देउवा र ओलीको बढ्दो छटपटी त्यस्तै अन्नको हो । थाहा छैन- नेपाली राजनीतिमा कुन धनुधारी अर्जुन निस्किएर त्यो उकुसमुकुसबाट त्राण दिन सक्छ ।
प्रतिक्रिया